खोला थुनिएर पानी एक्कासि बगेको हुन सक्ने मौसम विभागको प्रारम्भिक निष्कर्ष

काठमाडौं । गोरखाको बुढीगण्डकी क्षेत्रमा आइतबार बिहान आएको बाढीको मुख्य कारण सामान्य वर्षा मात्र नभई पहिरोले खोला थुनिएर पानी एक्कासि बगेको हुन सक्ने मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ । 

पछिल्ला दिनमा रेकर्ड गरिएको वर्षाको मात्रा ठूलो बाढी निम्त्याउन पर्याप्त नदेखिएपछि विभागले पहिरोका कारण उत्पन्न विपद्को सम्भावनालाई प्राथमिकतामा राखेर अध्ययन थालेको हो ।

विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठका अनुसार गोरखाका बारपाक, नामरुङ र सेतीबेसीलगायतका वर्षामापन केन्द्रमा पछिल्ला दिनमा सामान्यदेखि मध्यम मात्राको वर्षा रेकर्ड भएको छ । तर, उक्त वर्षाले मात्रै ठूलो बाढी निम्त्याएको हुन सक्ने अवस्था नदेखिएकाले पहिरोले खोला थुनेर बाढी आएको हुन सक्ने प्रारम्भिक आकलन गरिएको उनले बताइन् ।

श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा गोरखाका विभिन्न वर्षामापन केन्द्रमा उल्लेख्य वर्षा रेकर्ड भएको छैन । अक्टोबर ६ मा बारपाकमा २१ मिलिमिटर वर्षा भएको थियो भने अक्टोबर १० मा विभिन्न केन्द्रमा ५ देखि २४ मिलिमिटरसम्म वर्षा मापन गरिएको थियो । अक्टोबर ७ मा घ्याच्चुङ तथा अक्टोबर ८ र ९ मा बारपाकमा पनि छोटो अवधिमा वर्षा भएको तथ्यांकले देखाएको छ ।

‘प्रारम्भिक विश्लेषणअनुसार पछिल्लो वर्षाले पहिरो निम्त्याएको र पहिरोका कारण खोला थुनिएर बाढी आएको हुन सक्ने सम्भावना छ,’  श्रेष्ठले बताइन् ।

यद्यपि, बाढीको कारण पहिरो मात्रै भएको निष्कर्षमा पुग्न नसकिने विभागको भनाइ छ । हालैको आँधीका कारण उच्च हिमाली क्षेत्रमा भएको हिमपात तथा हिमनदीसम्बन्धी घटनाको सम्भावनालाई पनि नकार्न नसकिने भन्दै विभागले थप अध्ययन आवश्यक रहेको जनाएको छ ।

विभागका अनुसार गोरखा क्षेत्रमा ठूलो वर्षा नभए पनि जमिन कमजोर अवस्थामा रहेको हुन सक्ने भएकाले सामान्य वर्षाले समेत पहिरोको जोखिम बढाउन सक्छ । हालको मौसम पूर्वानुमानले उक्त क्षेत्रमा ठूलो वर्षा प्रणाली सक्रिय हुने संकेत नदेखाए पनि छिटपुट वर्षाको सम्भावना भने छ ।

बाढी प्रभावित क्षेत्र र कमजोर भू-भागमा निरन्तर निगरानी तथा सतर्कता आवश्यक रहेको विभागले जनाएको छ । बाढीको वास्तविक कारण पहिचान गर्न पहिरो, खोला थुनिएको अवस्था र उच्च हिमाली क्षेत्रका सम्भावित घटनाबारे थप अध्ययन गरिनेछ ।

Share News