विकासन्युज

कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औं आरएनजीसी बर्थडे कप सम्पन्न

काठमाडौं । गोर्खा ब्रुअरीले आयोजना गरेको कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औं आरएनजीसी बर्थडे कप गल्फ प्रतियोगिता सम्पन्न भएको छ ।  असोज २३ र २४ दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा देशभरका एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहेको थियो । पुरुषतर्फ अज्जर सिम्हा विजेता बने भने सुरज श्रेष्ठ उपविजेता भए । महिलातर्फ अन्वद्या मल्ल विजेता बनिन् भने सम्झना खत्री उपविजेता घोषित भइन् । त्यस्तै, सिनियर पुरुषतर्फ युवराज गुरुङ विजेता बने भने रविन्द्र मान श्रेष्ठ उपविजेता भए । रोयल नेपाल गल्फ क्लबको १०९ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताले नेपालको गल्फ खेलको ऐतिहासिक विरासतलाई सम्मान गर्नुका साथै खेल भावना, स्वस्थ प्रतिस्पर्धा र आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो ।  आफ्नो प्रिमियम ब्रान्ड कार्ल्सबर्गमार्फत गोर्खा ब्रुअरीले नेपाली खेलकुद तथा खेलाडीलाई प्रोत्साहन गर्ने विभिन्न गतिविधिमा सहयोग गर्दै आएको छ । प्रतियोगितामा पुरुष, महिला तथा विभिन्न उमेर समूहका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।  प्रतियोगिताको समापनसँगै आयोजित पुरस्कार वितरण समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिएको थियो ।

अन्यत्र दरबन्दी काटियो, परराष्ट्रका ९ नियोगमा थपिए १३ पद

काठमाडौं । सरकारले दरबन्दी कटौती गर्ने नीति अघि बढाए पनि परराष्ट्र मन्त्रालयका विदेशस्थित नौ नियोगमा १३ नयाँ दरबन्दी थपिएका छन् ।  आठ दूतावास र एउटा महावाणिज्यदूतावासमा विभिन्न तहका कर्मचारीको दरबन्दी थपिएको हो । अन्य निकाय तथा नियोगमा दरबन्दी कटौती भइरहेका बेला परराष्ट्र मन्त्रालयले स्थानान्तरण र व्यवस्थापनका नाममा विदेशस्थित नियोगमा कर्मचारीको संख्या बढाएको छ । वासिङ्गटन डीसीदेखि दुबईसम्मका नियोगमा उपसचिव, शाखा अधिकृत, सहचारी र नायब सुब्बास्तरका पद थपिएका छन् । वासिङ्गटन डीसीमा दुई पद थपिए अमेरिकाको वासिङ्गटन डीसीस्थित नेपाली राजदूतावासमा परराष्ट्र सेवाका दुई पद थपिएका छन् । त्यहाँ उपसचिवस्तरको काउन्सिलर र शाखा अधिकृतस्तरको प्रथम वा द्वितीय सचिवको दरबन्दी थपिएको हो । यसअघि राजदूतसहित आठ दरबन्दी रहेको वासिङ्गटनस्थित दूतावासमा अब नौ दरबन्दी कायम भएको छ ।  जापानको टोकियो, दक्षिण कोरियाको सिओल र अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासमा पनि एक–एक शाखा अधिकृतको दरबन्दी थपिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । टोकियोस्थित दूतावासमा राजदूतसहित पाँच दरबन्दी रहेकामा नयाँ पद थपिएपछि संख्या छ पुगेको छ । सिओल र क्यानबेरास्थित दूतावासमा पनि यसअघि पाँच-पाँच दरबन्दी रहेकामा एक–एक पद थपिएपछि छ पुगेका छन् । कायरो र बर्लिनमा पनि दरबन्दी विस्तार इजिप्टको कायरोस्थित नेपाली राजदूतावासमा एक सहचारीको दरबन्दी थपिएको ती अधिकारीले जानकारी दिए । नियोग उपप्रमुखका रूपमा उपसचिवको दरबन्दी कटौती गर्नुपर्ने विषयमा बहस चलिरहेका बेला कायरोमा भने कर्मचारीको संख्या बढाइएको हो । राजदूतसहित चार दरबन्दी रहेको दूतावासमा अब पाँच दरबन्दी पुगेको छ । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासमा दुई पद थपिएका छन् । परराष्ट्र सेवाको एक शाखा अधिकृत र एक नायब सुब्बाको दरबन्दी थपिएपछि त्यहाँ राजदूतसहित कुल दरबन्दी संख्या छ पुगेको छ । साउदी अरबको रियादस्थित नेपाली राजदूतावासमा पनि उपसचिवस्तरको एक काउन्सिलर थपिएको छ । राजदूतसहित नौ दरबन्दी रहेको रियादमा अब कर्मचारी संख्या १० पुगेको छ । स्पेनको म्याड्रिडस्थित नेपाली राजदूतावासमा पनि उपसचिवस्तरको एक काउन्सिलरको दरबन्दी थपिएको छ । राजदूतसहित तीन दरबन्दी रहेको म्याड्रिडमा अब कर्मचारीहरुको सँख्या चार पुगेको छ ।  पोर्चुगलमा समेत नेपाली राजदूतावास रहेको अवस्थामा म्याड्रिडमा उपसचिवस्तरको दरबन्दी थपिएको हो । दुबईमा एकैपटक तीन पद थपिए संयुक्त अरब इमिरेट्सको दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा एकैपटक तीन दरबन्दी थपिएका छन् । त्यहाँ दुई अधिकृत र एक नायब सुब्बापद थपिएको हो । अघिल्लो वर्ष स्थापना भएको दुबईस्थित महावाणिज्यदूतावासमा महावाणिज्यदूतसहित चार दरबन्दी थिए । तीन पद थपिएपछि त्यहाँको कुल दरबन्दी संख्या सात पुगेको छ ।

महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणनामा महामन्त्रीतर्फ प्रदीप पौडेल र उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन् । कुल ७ हजार ४३ मत खसेको निर्वाचनमा २ हजार २३१ मत गणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका ई. मधु आचार्यले ७१२ मत पाएका छन् । सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन् । खुला उपसभापतिमा दुई जना निर्वाचित हुनेछन् । समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता लिएका छन् । जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन् । यस समूहबाट एक जना निर्वाचित हुनेछन् । महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले १ हजार ३८१ मतसहित अग्रता कायम गरेका छन् । उदयशमशेर राणाले ७८६, अमरसिंह पुनले ६९५, डा. सुनिलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन् । खुला महामन्त्रीमा दुई जना निर्वाचित हुनेछन् । महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गरेकी छन् । महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ र रिता खनालले २५१ मत पाएकी छन् । महिला महामन्त्रीमा एक जना निर्वाचित हुनेछन् । मतगणना जारी रहेकाले यी परिणाम प्रारम्भिक हुन् । अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ । यस्ताे छ पाएकाे मत : कांग्रेस महाधिवेशनमम कूल खसेको मत : ७०४३  गणना : २२३१  उपसभापति (खुल्ला-२ जना) १. गोविन्द भट्टराई - ६०९ २. डा. चन्द्रकान्त भण्डारी - १०५७  ३. प्रा. डा. चन्द्रमोहन यादव - १९३ ४. दीपक गिरी - ३०१ ५. धनराज गुरुङ्ग - ४०६ ६. ई. मधु आचार्य - ७१२ ७. सुरेन्द्रराज पाण्डे - ६८० उपसभापति (समावेशी-१ जना) १. जीवन परियार - ५७८ २. फरमुल्लाह मन्सुर -२८५ ३. विनोद कुमार चौधरी - ६१५ ४. रञ्जित कर्ण -१८३ ५. सीता गुरुङ्ग - ३३४ महामन्त्री (खुल्ला- २ जना ) १. अमरसिंह पुन - ६९५ २. उदय शम्शेर राणा - ७८६ ३. गुरुराज घिमिरे - ३२८ ४. नैनसिंह महर - २७० ५. प्रदीप पौडेल - १३८१ ६. शंकर तिवारी - ४६ ७. डा. सन्तोष उपाध्याय - २८ ८. डा. सुनिल कुमार शर्मा - ५२६ महामन्त्री (महिला-१ जना) १. डा. डिला संग्रौला (पन्त)- ९६५ २. महालक्ष्मी उपाध्याय (डिना) - ९५२ ३. रिता खनाल - २५१

आरुघाट पुलमा बेलिब्रिज राखेर तत्काल आवागमन सञ्चालन गर्ने तयारी

काठमाडौं । आइतबार विहान बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको गोरखा र धादिङ जोड्ने आरुघाट पुलमा तत्काल बेलिब्रिज राखेर आवागमन सञ्चालन गर्न सकिने सडक विभागले जनाएको छ । अहिले आवागमन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।  विभागका अनुसार बाढीले गोरखा र धादिङ जोड्ने पुलसहित दुईवटा पुलमा क्षति पुर्‍याएको छ । प्रारम्भिक विवरणअनुसार गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती खोला पुल पूर्ण रूपमा बगाएको छ भने गोरखा र धादिङ जोड्ने आरुघाट पुलको आरसीसी संरचनामा क्षति पुगेको छ । सोती खोलामाथि रहेको ट्रस पुल बाढीले पूर्ण रूपमा बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ । त्यस्तै, गोरखा र धादिङ जोड्ने आरुघाट पुलको २२ मिटर आरसीसी संरचना बाढीले बगाएको छ । उक्त पुलमा ६० मिटर ट्रस र २५ मिटर आरसीसी संरचना रहेको थियो । बाढीले आरसीसी संरचनाको केही भाग बगाए पनि ट्रस संरचना भने बाँकी रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

बेत्रावतीमा बेलीब्रिज बनेसँगै जोडियो रसुवा र नुवाकोट (तस्बिरसहित)

काठमाडौं । भोटेकोशीको बाढीले बगाएको बेत्रावतीस्थित फलाखु खोलामा नयाँ मोडुलर एक्रो ब्रिज (बेलब्रिज) निर्माणपछि सञ्जालनमा आएको छ ।  रसुवाको उत्तगया गाउँपालिका ५ र नुवाकोटको विदुर नगरपालिका- १० जोड्ने उक्त पुल आइतबार (आज) बिहान ११ बजेदेखि सञ्चालनमा आएको हो ।  भदौ १० गतेको बाढीले बेत्रावती बजार हुँदै त्रिशूलीमा मिसिने उक्त  खोलामा रहेको नयाँ र पुरानो गरी २ पक्की पुल बगाएको थियो ।  उक्त पुल निर्माणसँगै पृथ्वी राजमार्गदेखि स्याफ्रुबेसी बजार वारीसम्म पुग्न सहज हुने वडाअध्यक्ष यमनाथ आचार्यले बताए ।  ‘यो पुल बनेपछि पृथ्वी राजमार्ग हुँदै नुवाकोट र रसुवाको  स्याफु्रवेसीको त्रिशूली वारीसम्म पुग्न सहज हुन्छ,’ उनले भने । लामो समयसम्म सवारी आवागमन ठप्प हुँदा स्थानीयवासी र यात्रुहरूले सास्ती भोग्दै आएका थिए ।  सडक विभाग, स्थानीय प्रशासन एवं नेपाली सेनाले पुल निर्माणलाई प्राथमिकतामा राखेर युद्धस्तरमा काम अगाडि बढाएका थिए ।  पुल सञ्चालनमा आएसँगै उक्त मार्ग हुँदै हुने दैनिक उपभोग्य वस्तुको ढुवानी तथा जनजीवन सामान्य बन्ने अपेक्षा गरिएको छ । अवरुद्ध सडक खण्ड पुनः सञ्चालनमा आएसँगै स्थानीयहरूले राहतको महसुस गरेका छन् ।

बाढी प्रभावितलाई होल्डिङ सेन्टरमा पठाउने तयारी

काठमाडौं । बुढीगण्डकीमा आएको बाढी प्रभावितलाई होल्डिङ सेन्टरमा पठाउने तयारी  भएको छ  ।  प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रप्रसाद मिश्रका अनुसार उद्धार गरिएका १८ जनालाई गोरखा र धादिङको सिमानामा पर्ने आरुघाटमा राखिएको छ ।  ‘उद्धारको क्रम जारी छ । १७–१८ जनालाई उद्धार गरेर आरुघाटकै ओल्लो पल्लो गाउँमा सारिएको छ,’ उनले थपे, ‘उहाँहरुलाई अब होल्डिङ्ग सेन्टर वा इच्छाएको गन्तव्यमा पठाउने निर्णय भएको छ ।’  जिल्ला सुरक्षा समितिको बैठकपछि उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।

बुढीगण्डकीको बाढीले ४ जलविद्युत आयोजनामा क्षति

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पु‍र्याएको छ ।  प्रारम्भिक विवरणअनुसार बाढीबाट कुल ४१२.४१ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना प्रभावित भएका छन् ।  बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, बेलिब्रिज, पहुँच सडक तथा आयोजनास्थल पुग्ने पुलमा क्षति पुगेको हो । तीमध्ये ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनामा सबैभन्दा बढी क्षति पुगेको देखिएको छ ।उक्त आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ ।  आयोजनास्थलमा रहेका केही निर्माण उपकरणसमेत बाढीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ । त्यस्तै, २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पु‍र्याएको छ । उक्त आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ भने बेलिब्रिज बाढीले बगाएको छ । बाढीबाट ३०.९१ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजना पनि प्रभावित भएको छ । आयोजनाको बेलिब्रिजमा क्षति पुगेको जनाइएको छ । आयोजनास्थलमा रहेका निर्माण सामग्री तथा उपकरणसमेत बाढीले बगाएको विवरणमा उल्लेख छ । यसैगरी, १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । बाढीले आयोजनाको पहुँच सडक तथा आयोजनास्थल पुग्ने पुलमा क्षति पुर्‍याएको हो । सडक र पुलमा भएको क्षतिका कारण आयोजनास्थलसम्मको आवागमन तथा निर्माण कार्य प्रभावित हुनसक्ने देखिएको छ। यद्यपि चारवटै आयोजनामा बाढीले पु‍र्याएको कुल आर्थिक क्षतिको यकिन विवरण सार्वजनिक भएको छैन । 

बुढीगण्डकीमा बाढीको जोखिमसँगै स्वास्थ्य आपतकालीन संयन्त्र सक्रिय

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचइओसी) सक्रिय गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ । मन्त्रालयले बुढीगण्डकी नदीसहित जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा जान तथा सम्भावित विपद्बाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएकाे छ ।