स्वीस घडी बजारमा रोलेक्सको एकछत्र राज
काठमाडौं । रोलेक्स किन्नु आफैमा एउटा अनौठो अनुभव हो । स्विस घडी कम्पनीका आधिकारिक विक्रेताकहाँ राखिएका राखिएका जुनसुकै मोडल हेरे पनि तपाईंले एउटै जवाफ पाउनुहुन्छ, ‘यो घडी अहिले उपलब्ध छैन ।’ तपाईं १४ हजार स्विस फ्र्याङ्क (१६ हजार ८०० अमेरिकी डलर) खर्च गर्न चाहनुहुन्छ भने रोलेक्सको एउटा घडीका लागि पनि आफ्नो नाम लेखाउनुपर्ने हुन्छ । यो रकम रोलेक्स घडीको औसत खुद्रा मूल्य हो । हरेक दिन हजारौं मानिस रोलेक्सका लागि आफ्नो नाम लेखाउँछन् । गत वर्ष रोलेक्सले करिब १२ लाख घडी बिक्री गरेको थियो, जसबाट कम्पनीले ११ अर्ब स्विस फ्र्याङ्कभन्दा बढी आम्दानी गर्यो । सन् २०२० को दशकको सुरुतिर कम्पनीको आम्दानी करिब ८ अर्ब स्विस फ्र्याङ्क थियो । घडी बिक्रीको सङ्ख्या भने खासै बढेको थिएन । आम्दानी बढ्नुको मुख्य कारण मूल्यवृद्धि थियो । स्विस घडी उद्योगका अधिकांश कम्पनीका लागि अहिले चुनौतीपूर्ण समय छ । पछिल्लो एक दशकमा स्विस घडीको निर्यात परिमाण आधाले घटेको छ । निर्यातले यस उद्योगको कुल बिक्रीको ९५ प्रतिशत हिस्सा ओगट्छ । रोलेक्सका विभिन्न मोडेलहरू । इलेक्ट्रोनिक प्रणालीबाट चल्ने क्वार्ट्ज घडीको बिक्रीमा स्मार्ट घडीको बढ्दो लोकप्रियताले विशेष असर पारेको छ । अधिकांश स्मार्ट घडी एसियामा उत्पादन हुन्छन् । तर रोलेक्स र केही अन्य विलासी घडी निर्माता कम्पनीका लागि भने अहिलेको समय विगतभन्दा राम्रो छ । निर्यात हुने घडीको सङ्ख्या घटे पनि तिनको कुल मूल्य भने बढिरहेको छ । अगस्टमा स्विस घडीको निर्यात मूल्य अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९.१ प्रतिशत बढी थियो । निर्यात मूल्यमा वार्षिक वृद्धि देखिएको यो लगातार चौथो महिना हो । स्विट्जरल्यान्डमा करिब ४५० घडी ब्रान्ड छन् । तर गत वर्ष सबैभन्दा विलासी मानिएका पाँच ब्रान्ड रोलेक्स, कार्टियर, पाटेक फिलिप, ओमेगा र अडेमार पिगेले मात्रै उद्योगको कुल आम्दानीको ६० प्रतिशत हिस्सा ओगटे । ओमेगाबाहेक यी सबै ब्रान्डले बजारमा आफ्नो हिस्सा बढाएका छन् । विशेषगरी अत्यन्त महँगा घडीको बजार निकै बलियो देखिएको छ । सन् २०२५ मा ५० हजार स्विस फ्र्याङ्कभन्दा बढी मूल्यका घडीले स्विस घडी निर्यातको कुल मूल्यमा ३७ प्रतिशत हिस्सा ओगटे । सन् २०२४ मा यस्तो हिस्सा ३३.५ प्रतिशत मात्रै थियो । यसको एउटा कारण बहुमूल्य धातुको मूल्यमा भएको वृद्धि हो । तर अत्यन्त धनी मानिसहरूको आर्थिक अवस्थाले पनि यसमा महत्त्वपूर्ण भूमिका खेलेको छ । उनीहरू अरूभन्दा फरक र विशेष घडीमा खर्च गर्न तयार छन् । ‘कोभिड महामारी र त्यसपछिका वर्षहरूले घडी उद्योगलाई थप प्रयोगशील बनाएका छन्,’ स्विस पारिवारिक स्वामित्वको कम्पनी नोरकेनका प्रमुख कार्यकारी बेन कुफर भन्छन् । नोरकेनका घडीको औसत मूल्य ४ हजार ५०० स्विस फ्र्याङ्क छा । धेरै घडी ब्रान्डले आफूलाई अरूभन्दा फरक देखाउन नयाँ सामग्री र अझ परिष्कृत घडी सञ्चालन प्रणालीको विकासमा लगानी गर्छन् । नोरकेनले आफ्नो विलासी स्पोट्र्स घडी ‘वाइल्ड वन मेटियोराइट स्पेसल एडिसन’ को बाहिरी कभर बनाउन उच्च कार्यक्षमतायुक्त कार्बन फाइबर मिश्रित सामग्री प्रयोग गरेको छ । त्यसको डायल स्विडेनबाट प्राप्त फलामयुक्त उल्कापिण्ड काटेर बनाइएको हो । कम्पनीले यस घडीका जम्मा ३०० थान मात्रै उत्पादन गरेको छ । उकालो यात्रामा स्वाचलाई भने धक्का महँगा र विलासी घडीप्रतिको बढ्दो आकर्षणले स्विट्जरल्यान्डको सबैभन्दा ठूलो सूचीकृत घडी निर्माता कम्पनी स्वाचलाई भने फाइदा पुर्याएको छैन । सन् १९८० को दशकमा स्वाचले स्विस घडी उद्योगलाई सङ्कटबाट जोगाएको श्रेय पाएको थियो । त्यतिबेला कम्पनीका आकर्षक डिजाइनका प्लास्टिक क्वार्ट्ज घडीले एसियाबाट आउने सस्ता घडीसँग प्रतिस्पर्धा गरेका थिए । तर अहिले स्वाच आफै सङ्घर्ष गरिरहेको छ । बैंक भोन्टोबेलका जाँ फिलिप बर्ट्स्कीका अनुसार स्वाचले बजारमा बढिरहेको ‘प्रिमियमाइजेसन’ अर्थात् उच्च मूल्य र गुणस्तरका उत्पादनतर्फको रूपान्तरणको लहरलाई पर्याप्त रूपमा समात्न सकेन । स्वाचको स्वामित्वमा ओमेगालगायत अन्य विलासी ब्रान्ड पनि छन्, तर ती ब्रान्डको व्यावसायिक नतिजा मिश्रित छ । सन् २०२३ को सुरुतिरको तुलनामा स्वाचको सेयर मूल्य ४० प्रतिशतभन्दा बढी घटेको छ । सन् २०१३ को अन्त्यतिर पुगेको उच्चतम मूल्यबाट तुलना गर्दा यसको सेयर मूल्य झन्डै ७० प्रतिशत तल छ । गत वर्ष कम्पनीको खुद नाफा झन्डै ९० प्रतिशतले घट्यो । स्वाचको उत्पादन संरचना पनि आवश्यकताभन्दा ठूलो छ । कुनै समय कम्पनीले स्विट्जरल्यान्डका १५० वटा कारखानाबाट वार्षिक १ करोड ५० लाखसम्म घडी उत्पादन गर्थ्यो । अहिले वार्षिक उत्पादन घटेर ४० लाखमा सीमित भएको छ । तर कम्पनीले तीमध्ये कुनै पनि कारखाना बन्द गरेको छैन । गत मे महिनामा १५१ वर्ष पुरानो विलासी घडी निर्माता अडेमार पिगेसँगको सहकार्यले स्वाचलाई केही राहत दियो । दुवै कम्पनीले अडेमार पिगेको प्रसिद्ध घडी ‘रोयल ओक’ को डिजाइन झल्किने प्लास्टिकको पकेट घडी ‘रोयल पप’सार्वजनिक गरे । त्यसपछि विश्वभरका खरिदकर्ता घडी किन्न घण्टौंसम्म लाइनमा बसे । सन् २०२२ मा स्वाच र ओमेगाबीच भएको यस्तै सहकार्यले महामारीपछि कम्पनीलाई पुनः नाफामा फर्काउन मद्दत गरेको थियो । पछिल्लो सहकार्यले सन् २०२५ को पहिलो छ महिनामा बिक्री बढायो । यद्यपि, कम्पनीको खुद नाफा भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेकै थियो । कार्टियरबाहेक प्रमुख विलासी घडी ब्रान्डहरू सबै निजी स्वामित्वमा छन् । तीमध्ये धेरै ब्रान्ड अडेमार र पिगे परिवारजस्ता संस्थापक परिवारकै स्वामित्वमा छन् । यीमध्ये अधिकांश ब्रान्ड १०० वर्षभन्दा पुराना छन् । तर बजारमा बढिरहेको महँगा घडीप्रतिको आकर्षणबाट नयाँ कम्पनीहरूले पनि लाभ लिन सक्छन् । सन् २०१८ मा स्थापना भएको नोरकेनले अहिले वार्षिक १० हजारसम्म घडी बिक्री गर्छ । यसकारण महँगा हुन्छन् स्विस घडी विश्व बजारमा स्विस घडीलाई विलासिता, उत्कृष्ट शिल्पकला र उच्च गुणस्तरको प्रतीक मानिन्छ । सामान्य घडीले पनि समय बताउँछ भने स्विस घडीका लागि लाखौंदेखि करोडौं रुपैयाँ किन खर्च गरिन्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । स्विस घडी महँगो हुनुको प्रमुख कारण यसको निर्माण प्रक्रिया हो । विशेषगरी उच्चस्तरीय मेकानिकल घडीमा सयौँ ससाना पुर्जा प्रयोग गरिन्छन् । ती पुर्जालाई अत्यन्त सूक्ष्मताका साथ निर्माण, संयोजन र परीक्षण गर्न दक्ष घडी निर्माताको लामो समय र मेहनत लाग्छ । यस्ता घडीमा प्रयोग हुने जटिल मेकानिकल प्रविधिले पनि मूल्य बढाउँछ । टुरबियोन, पर्पेचुअल क्यालेन्डर र मिनेट रिपिटरजस्ता विशेषताले घडी निर्माणलाई थप चुनौतीपूर्ण बनाउँछन् । टुर्बियोन संसारकै जटिल र प्रतिष्ठित मेकानिकल घडी प्रविधिमध्ये एक हो । त्यस्तै, सुन, प्लाटिनम, बहुमूल्य रत्न र उच्च गुणस्तरका सामग्रीको प्रयोगले पनि लागत बढाउँछ । सीमित उत्पादन, हातैले गरिने सूक्ष्म फिनिसिङ र कडा गुणस्तर परीक्षण यसका अन्य कारण हुन् । रोलेक्स, पाटेक फिलिप र भासेरोन कन्स्टान्टिनजस्ता प्रतिष्ठित ब्रान्डको लामो इतिहास, विश्वसनीयता र प्रतिष्ठाले समेत मूल्य निर्धारणमा ठूलो भूमिका खेल्छन् । यद्यपि, सबै स्विस घडी महँगा हुँदैनन् र महँगो हुँदैमा समय मापनमा सबैभन्दा सटीक हुन्छन् भन्ने पनि होइन । आधुनिक क्वार्ट्ज घडी धेरै मेकानिकल घडीभन्दा सटीक हुन सक्छन् । पर्पेचुअल वाच भन्नाले सामान्यतया दिन, मिति, महिना र लिप वर्षसमेत स्वतः गणना गरी पात्रो मिलाइरहने विशेष प्रकारको घडीलाई बुझिन्छ । रोलेक्स अझै पनि बजारको राजा रोलेक्सको दबदबा भने कायमै छ । यसको बिक्री दोस्रो स्थानमा रहेको कार्टियरको भन्दा तीन गुणा बढी छ । रोलेक्सको स्वामित्व सन् १९४५ मा कम्पनीका सन्तान नभएका संस्थापक हान्स विल्सडोर्फले स्थापना गरेको परोपकारी ट्रस्ट ‘हान्स विल्सडोर्फ फाउन्डेसन’सँग छ । कम्पनीको नाफा अनुसन्धान तथा विकासमा पुनः लगानी गरिन्छ । साथै स्विट्जरल्यान्डको जेनेभा क्यान्टोनमा परोपकारी कार्यलाई पनि सहयोग गरिन्छ । रोलेक्सले आफ्ना घडीको सीमित उपलब्धता नियोजित व्यावसायिक रणनीतिको परिणाम नभएको बताउँदै आएको छ । कम्पनीका अनुसार यसको मुख्य ध्यान उत्कृष्ट कारीगरीमा केन्द्रित छ, जसका कारण उत्पादन बढाउन समय लाग्छ । रोलेक्सको लोकप्रियता र सीमित उपलब्धताले एउटा कुरा शानसँग बताउँछ । त्यो हो, बजारमा सबैभन्दा दुर्लभ वस्तु घडी मात्रै होइन, त्यसलाई बनाउन लाग्ने समय पनि हो ।
तीन महिनापछि आयो सुदूरपश्चिमको बजेट
काठमाडौं । आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सरकारले बल्ल प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । लामो राजनीतिक खिचातानी र सत्ता गठबन्धनभित्रको असहमतिका कारण रोकिएको बजेट आइतबार प्रदेशसभामा पेस गरिएको हो । आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । बजेट पारित हुन नसक्दा लामो समयदेखि अन्योलमा रहेको प्रदेशको आर्थिक गतिविधिले अब गति लिने अपेक्षा गरिएको छ । यसअघि गत असारमा तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको थियो । तर, नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा उत्पन्न समस्याका कारण उक्त बजेट पारित हुन सकेन । त्यसपछि साउन २९ गते नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धनमा खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । तर, नयाँ सरकार बनेपछि पनि बजेटको आकार, प्राथमिकता र बाँडफाँटमा गठबन्धनका दल तथा मन्त्रिपरिषद्का सदस्यबीच सहमति जुट्न सकेन । राजनीतिक सहमति नजुट्दा प्रदेश सरकार बजेटविहीन अवस्थामा रहनुपरेको थियो । आर्थिक वर्ष सुरु भइसकेपछि पनि बजेट पारित नहुँदा विकास निर्माण, सरकारी खर्च र प्रदेशका नियमित कार्यक्रम सञ्चालनमा अन्योल उत्पन्न भएको थियो । अब प्रदेशसभामा बजेट प्रस्तुत भएसँगै त्यसलाई पारित गर्ने प्रक्रिया अघि बढ्नेछ । यद्यपि बजेट कार्यान्वयनका लागि प्रदेशसभाबाट पारित हुनुपर्नेछ । आर्थिक वर्षको सुरुवाती समय नै बजेटविहीन बनेको सुदूरपश्चिममा अब बजेट पारित र कार्यान्वयनको गति कस्तो हुन्छ भन्ने विषयले प्रदेश सरकारको आगामी कार्यसम्पादन निर्धारण गर्नेछ ।
यस्तो छ बुढीगण्डकी बाढीले गरेको क्षति (विवरणसहित)
काठमाडाैं । गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा रहेको सिरिङ्गे हिमालबाट खसेको हिमपहिरोले उइनगुर्लुङ खोला थुनिँदा बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ। आइतबार बिहान ५ :३० बजे आएको बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीका कारण दर्जानौँ घर, गोठ, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने फसेका २७ जना नागरिकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बाढीमा एक सय बढी घरमा क्षति भएको बताइएको छ भने चार वटा पुल र तीन वटा जलविद्युत आयोजनामा पनि क्षति भएको छ । यस्ताे छ क्षतिकाे विवरण :
रोहितको शतक र गुलशनको आक्रामक ब्याटिङमा क्यानडालाई २३६ रनको लक्ष्य
काठमाडौं । पूर्वकप्तान रोहित पौडेलको शतक र गुलशन झाको आक्रामक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्ध २३६ रनको लक्ष्य दिएको छ । टस जितेर बलिङ रोजेको क्यानडाविरुद्ध नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो । अब क्यानडाले जितका लागि २३६ रन बनाउनुपर्नेछ । नेपालका लागि रोहितले सर्वाधिक १०१ रन बनाए । उनले १२७ बलमा आठ चौका र एक छक्का प्रहार गरे । नेपालको इनिङ्स सम्हाल्ने क्रममा रोहितले धैर्यपूर्वक ब्याटिङ गर्दै शतक पूरा गरेका हुन् । गुलशन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन बनाए । उनले चार चौका र तीन छक्का प्रहार गरे । गुलशनको स्ट्राइक रेट १४१.१७ रह्यो । उनी अर्धशतक बनाउन दुई रनले चुके । त्यस्तै, अर्जुन कुमालले ५४ बलमा २३ रन बनाए । उनले चार चौका प्रहार गरे । बासिर अहमदले ५७ बलमा ३० रनको योगदान दिए । उनको ब्याटबाट तीन चौका निस्किए । नेपालका अन्य ब्याटर भने ठूलो स्कोर बनाउन असफल भए । ओपनर आसिफ शेख चार रनमा आउट भए भने इशान पाण्डे खाता नखोली पेभिलियन फर्किए उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६ रन बनाए । करण केसीले चार, नन्दन यादवले दुई र ललित राजवंशीले दुई रन बनाए । सन्दीप लामिछाने दुई रनमा अविजित रहे । क्यानडाका लागि जाहिद शिरजादले रोहित पौडेल र इशान पाण्डेलाई आउट गरे । सुखजिन्दर सिंहले अर्जुन कुमाल, बासिर अहमद र दीपेन्द्रसिंह ऐरीको विकेट लिए । अखिल कुमारले आसिफ शेख, गुलशन झा, करण केसी र ललित राजवंशीलाई आउट गरे । अब नेपालका बलरले क्यानडालाई लक्ष्यमा पुग्नबाट रोक्न सके खेल जित्नेछ ।
चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गर्दै नयाँ बसपार्कमा निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौं । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो । महानगर प्रहरी बल नयाँबसपार्कका प्रमुख महानगर प्रहरी नायब उपरीक्षक प्रकाश पण्डितले काठमाडौं महानगरपालिका स्वास्थ्य सेवा विभागमार्फत चाडपर्वमा घर जाने यात्रुलक्षित गरी निःशुल्क स्वास्थ्य जाँच सुरु गरिएको जानकारी दिए । महानगरले उक्त कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडापखालाको औषधी वितरण गरिरहेको उनको भनाइ छ । उक्त सेवा दशैंभरि सञ्चालन हुने महानगर कार्यालयले जनाएको छ । नयाँ बसपार्कमा हुने भीडभाड नियन्त्रणका लागि महानगर प्रहरीसमेत परिचालन गरिएको छ । प्रहरीले भीडभाड नियन्त्रणका साथै यात्रुलाई सहजै रूपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सहजीकरण गर्नेछ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कमा केही दिनदेखि चाडपर्वका निम्ति घर जाने यात्रु बढेको बताए । उनले अरू समयमा प्रत्येक दिन पाँचदेखि छ हजार यात्रु काठमाडौंबाट बाहिर जाने गरेकामा हाल उक्त सङ्ख्या तेब्बरसम्म पुगेको बताए ।
रोहित पौडेलको शतक
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेलले क्यानडाविरुद्ध शतक प्रहार गरेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आइतबार भइरहेको खेलमा रोहितले १२५ बलको सामना गर्दै सय रन पूरा गरेका हुन् । ओमानको अल अमेरात क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेको क्यानडाले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । क्यानडाको निर्णयपछि ब्याटिङमा उत्रिएको नेपालले रोहितको शतकीय प्रदर्शनमा सम्मानजनक योगफलतर्फ अघि बढेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ४६.४ ओभरमा पाँच विकेट गुमाएर २०८ रन बनाएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको शतक नेपालको इनिङ्सका लागि महत्त्वपूर्ण बनेको छ । रोहितले लामो समय क्रिजमा टिकेर रन बनाउँदै नेपाली ब्याटिङलाई सम्हालेका छन् । सीमित ओभरको क्रिकेटमा विपक्षी बलरको दबाबबीच धैर्यपूर्वक ब्याटिङ गर्दै शतक पूरा गर्नु उनको व्यक्तिगत उपलब्धिसँगै टोलीका लागि पनि महत्त्वपूर्ण बनेको छ । नेपालका लागि यो खेल विश्वकप लिग–२ को प्रतिस्पर्धामा आफ्नो स्थिति बलियो बनाउने अवसरसमेत हो । लिग–२ को शीर्ष टोलीहरू सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रक्रियातर्फ अघि बढ्ने भएकाले प्रत्येक खेलको नतिजा महत्त्वपूर्ण रहन्छ ।
प्राधिकरणले भन्यो : अनुमति नलिई इन्टरनेटको शुल्क बढाए कारबाही हुन्छ
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नियामक निकायको स्वीकृतिविना इन्टरनेटको महसुल दर परिवर्तन तथा मूल्य वृद्धि नगर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । स्वीकृतिविना शुल्क बढाउने वा प्याकेजका विवरण सार्वजनिक नगर्ने इन्टरनेट सेवा प्रदायकहरूलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी प्राधिकरणले दिएको हो । नेपाल दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार सेवा प्रदायकहरूले ग्राहकसँग लिने महसुल दर प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराउनुपर्ने र स्वीकृत महसुल दरको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तर, पछिल्लो समय केही इन्टरनेट सेवा प्रदायकहरूले प्राधिकरणबाट स्वीकृत महसुल दर तथा प्याकेजको विवरण सार्वजनिक नगरेको, अघिल्ला प्याकेजहरू विनास्वीकृति फेरबदल गरेको र मूल्य वृद्धि गरी उपभोक्तालाई मर्कामा पारेको गुनासो प्राप्त भएको प्राधिकरणले जनाएको छ । उपभोक्ताको स्वेच्छिक रूपमा प्याकेज छनौट गर्न पाउने अधिकार संरक्षण गर्न प्राधिकरणले स्वीकृत सम्पूर्ण इन्टरनेट प्याकेज (ब्यान्डविथ/स्पीड, महसुल दर) तथा सर्तहरूको पूर्ण विवरण आ-आफ्नो आधिकारिक वेबसाइट, मोबाइल एप र ग्राहक सेवा केन्द्रहरूमा प्रष्ट एवं पारदर्शी रूपमा प्रकाशित गर्न निर्देशन दिएको छ । प्रचलित कानुन र अनुमतिपत्रका सर्तविपरीत स्वीकृत दरभन्दा फरक हुने गरी सेवा प्रवाह गरेमा वा विवरण सार्वजनिक नगरेको पाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम हदैसम्मको कानुनी कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ ।
नेपालमा भित्रियो भारतीय विद्युतीय स्कुटर ‘रिभर’, इन्डीको मूल्य ३ लाख ७० हजार
काठमाडौं । भारतीय विद्युतीय स्कुटर निर्माता कम्पनी रिभर मोबिलिटीे नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ । कम्पनीले नेपालको व्यावसायिक समूह विशाल ग्रुपसँगको साझेदारीमा काठमाडौंमा आफ्नो पहिलो शोरुम सञ्चालनमा ल्याएको हो । काठमाडौंको नक्सालस्थित एमजी मोटरको शोरुमसँगै रिभरको नयाँ शोरुम सञ्चालनमा आएको हो । शोरुमबाट ग्राहकले टेस्ट राइड, बुकिङ तथा विभिन्न एसेसरिज र मर्चेन्डाइज खरिद गर्न कम्पनीले जनाएको छ । कम्पनीले बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउन काठमाडौंको भीमसेनस्थान–२०, परोपकारस्थित भीजी सुजुकी सर्भिस सेन्टरमा छुट्टै सेवा केन्द्रसमेत स्थापना गरेको छ । रिभर मोबिलिटीले गत महिना काठमाडौंमा सम्पन्न नाइमा एक्स्पो २०२६ मा आफ्नो प्रमुख विद्युतीय स्कुटर ‘इन्डी’ सार्वजनिक गरेको थियो । एक्स्पोमा स्कुटरप्रति ग्राहकको उत्साहजनक आकर्षण देखिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक्स्पोपछि इन्डीका लागि १५० भन्दा बढी अग्रिम बुकिङ प्राप्त भएका छन् । शोरुम उद्घाटनकै अवसरमा बुकिङ गरेका ग्राहकलाई सामूहिक रूपमा स्कुटर हस्तान्तरणसमेत गरिएको छ । नेपाली बजारमा देखिएको उत्साहजनक प्रतिक्रियालाई मध्यनजर गर्दै कम्पनीले सन् २०२८ को मार्चसम्म देशका सबै प्रदेशमा शोरुम विस्तार गर्ने योजना बनाएको छ । विशाल ग्रुपसँगको सहकार्यमा नेपालका प्रमुख सहरमा बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै ग्राहकको पहुँच सहज बनाउने कम्पनीको लक्ष्य छ । एकपटकको चार्जमा १६० किलोमिटरसम्म गुड्ने रिभरको प्रमुख उत्पादन इन्डी दैनिक आवतजावतका साथै विभिन्न सडक अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको विद्युतीय स्कुटर हो । यसमा ४ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार भारतीय ड्राइभिङ साइकल (आईडीसी) मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा स्कुटरले अधिकतम १६० किलोमिटरसम्मको दूरी पार गर्न सक्छ । यसको अधिकतम गति प्रतिघण्टा ९० किलोमिटर रहेको छ । स्कुटरमा १७७ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४ इन्चका पाङ्ग्रा तथा १८ डिग्रीसम्मको उकालो चढ्न सक्ने क्षमता छ । यी विशेषताले नेपाली सडक र पहाडी भूभागमा समेत स्कुटरलाई उपयोगी बनाउने कम्पनीको दाबी छ । यसमा ५५ लिटर क्षमताको लक गर्न मिल्ने सामान राख्ने ठाउँसमेत उपलब्ध छ । दैनिक आवतजावत, किनमेल तथा अन्य प्रयोजनका लागि स्कुटरलाई व्यावहारिक बनाउने उद्देश्यले यस्तो सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । नेपाली बजारमा रिभर इन्डीको सुरुवाती मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकिएको छ । यो काठमाडौंको एक्स–शोरुम मूल्य हो । रिभर मोबिलिटीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरविन्द मणिले नेपालमा प्रवेश गर्नु कम्पनीको अन्तर्राष्ट्रिय विस्तार यात्राको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । उनले भारतबाहिर व्यवसाय विस्तार गर्ने क्रममा नेपाललाई महत्त्वपूर्ण बजारका रूपमा लिइएको उल्लेख गरे । ‘नेपालमा प्रवेश गर्नु रिभरको यात्रामा महत्त्वपूर्ण उपलब्धि हो । हामीले ग्राहकको विश्वास र अनुभवलाई प्राथमिकतामा राख्दै शोरुमसँगै छुट्टै सेवा केन्द्र सञ्चालनमा ल्याएका छौं,’ उनले भने । उनका अनुसार विशाल ग्रुपको अटोमोबाइल क्षेत्रको अनुभव र स्थापित व्यावसायिक सञ्जालले नेपालमा ग्राहककेन्द्रित व्यवसाय विस्तार गर्न सहयोग पुग्नेछ । त्यस्तै, विशाल ग्रुपका निर्देशक निकुञ्ज अग्रवालले रिभरसँगको साझेदारीमार्फत नेपाली ग्राहकलाई नवीन प्रविधिमा आधारित विद्युतीय स्कुटर उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए । उनले विशाल ग्रुपको अटोमोबाइल क्षेत्रको अनुभव र देशव्यापी सञ्जाललाई रिभरको नवीन प्रविधिसँग जोडेर बिक्री तथा बिक्रीपछिको सेवा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘हाम्रो अटोमोबाइल क्षेत्रको अनुभव र देशव्यापी सञ्जाललाई रिभरको नवीन प्रविधिसँग जोड्दै पहिलो दिनदेखि नै ग्राहकलाई सहज र गुणस्तरीय बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउन प्रतिबद्ध छौं,’ अग्रवालले भने । १२ करोड अमेरिकी डलर लगानी जुटाएपछि अन्तर्राष्ट्रिय विस्तार रिभर मोबिलिटीले हालै १२ करोड अमेरिकी डलर लगानी जुटाएको छ । कम्पनीले उक्त लगानीलाई व्यवसाय विस्तार, नयाँ उत्पादन विकास तथा दीर्घकालीन अन्तर्राष्ट्रिय बजार रणनीतिमा उपयोग गर्ने जनाएको छ । सन् २०२१ मार्चमा अरविन्द मणि र विपिन जर्जले स्थापना गरेको रिभर मोबिलिटी भारतको बेङ्गलुरुमा आधारित विद्युतीय सवारीसाधन निर्माता कम्पनी हो । कम्पनीले दैनिक प्रयोगमा उपयोगी, टिकाउ र व्यावहारिक विद्युतीय सवारीसाधन निर्माणलाई प्राथमिकता दिँदै आएको छ । यसको प्रमुख उत्पादन इन्डीलाई दैनिक आवतजावतका साथै विभिन्न प्रयोजनमा उपयोग गर्न सकिने स्कुटरका रूपमा बजारमा प्रस्तुत गरिएको छ । रिभरमा जापानको यामाहा मोटर कर्पोरेसन, मित्सुई एन्ड कम्पनी, मारुबेनी कर्पोरेसन, दुबईको अल फुत्तैम ग्रुप, टोयोटा भेन्चर्स, लोअरकार्बन क्यापिटल, मनिभ मोबिलिटी, ट्रक्स भीसीलगायत अन्तर्राष्ट्रिय लगानीकर्ताको लगानी रहेको छ । नेपालमा रिभरको आधिकारिक साझेदार विशाल ग्रुप आठ दशकभन्दा लामो व्यावसायिक इतिहास भएको समूह हो । यसअन्तर्गत ७० भन्दा बढी कम्पनी सञ्चालनमा छन् । अटोमोबाइल, वित्तीय सेवा तथा उत्पादनमूलक उद्योगलगायत क्षेत्रमा सक्रिय समूहको वितरण सञ्जाल नेपालका ३५ भन्दा बढी सहरमा फैलिएको छ । समूहमा दुई हजारभन्दा बढी कर्मचारी कार्यरत छन् भने यसले ५० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डको प्रतिनिधित्व गर्दै आएको छ ।