८१ वर्षमा पनि राजनीतिमा सक्रिय बराल, भन्छन्– अब नयाँ पुस्तालाई अवसर दिनुपर्छ
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका ज्येष्ठ प्रतिनिधिमध्येका एक हुन्, कास्की क्षेत्र नम्बर २ का शोभाचन्द्र बराल । ८१ वर्षको उमेरमा पनि राजनीतिमा सक्रिय उनी अब नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताउँछन् । २००३ सालमा जन्मिएका बरालले लामो समयदेखि परिवार, व्यापार–व्यवसाय, समाजसेवा र राजनीतिलाई सँगसँगै अघि बढाउँदै आएका छन् । राजनीतिमा पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको जोसलाई बरालको विवाह १२ वर्षको उमेरमै भएको थियो । उनका चार छोरा र दुई छोरी छन् । अहिले उनी नातिनातिना र दुई जना पनातिका हजुरबुबासमेत बनिसकेका छन् । पोखरा महानगरपालिका–७, मासबारका स्थायी बासिन्दा बरालको परिवार बाजेको पालादेखि नै राजनीतिसँग जोडिएको थियो । व्यापार–व्यवसाय गर्दै आएका उनले राजनीतिलाई पनि निरन्तरता दिए । एसएलसीसम्म औपचारिक शिक्षा हासिल गरेका बरालले राजनीतिक अनुभव भने पार्टी संगठन र सामाजिक कामबाट बटुलेका हुन् । बरालले नेपाली कांग्रेसको वडा सभापतिबाट राजनीतिक जिम्मेवारी सुरु गरेका थिए । त्यसपछि उनी क्षेत्रीय सभापतिसम्म पुगे । पटक–पटक महाधिवेशन प्रतिनिधि बनेका उनी प्रजातान्त्रिक सेनानीको केन्द्रीय सदस्यसमेत रहे । लामो राजनीतिक यात्रामा उनले पार्टीभित्र भएका विभिन्न परिवर्तन र नेतृत्वका अनेक चरण नजिकबाट देखेका छन् । राजनीतिलाई पद प्राप्त गर्ने माध्यमभन्दा पनि समाजप्रतिको जिम्मेवारीका रूपमा लिनुपर्ने उनको बुझाइ छ । बराल अब राजनीतिमा नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको बताउँछन् । समयसँगै जनताको अपेक्षा पनि बदलिएकाले राजनीतिक दलहरूले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने उनको धारणा छ । बीपी कोइरालाको विचार र आदर्शलाई समयअनुसार अघि बढाउनुपर्ने बताउँदै उनी पुरानै शैलीमा राजनीति गरिरहन नहुनेमा जोड दिन्छन् । उनका अनुसार देशलाई अहिले निर्भीक, जोसिलो, ऊर्जाशील र चुनौती बुझेर काम गर्न सक्ने नेतृत्व चाहिएको छ । त्यसका लागि युवालाई जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ । नयाँ पुस्तालाई अवसर दिँदा पुरानो पुस्ताको अनुभवलाई पनि उपयोग गर्नुपर्ने उनी बताउँछन् । युवाको ऊर्जा र अग्रजहरूको अनुभव मिलाउन सके पार्टी र देश दुवैलाई फाइदा पुग्ने उनको विश्वास छ । आठ दशक उमेर पार गरिसकेका बराल अझै पनि राजनीतिक परिवर्तनको पक्षमा छन् । नेतृत्वका लागि उमेरभन्दा सोच, क्षमता र काम गर्ने इच्छाशक्ति महत्त्वपूर्ण हुने उनको बुझाइ छ । पुरानो पुस्ताको योगदान र अनुभवलाई सम्मान गर्दै युवालाई अघि बढाउनुपर्नेमा उनी जोड दिन्छन् । समयअनुसार राजनीतिक सोच र काम गर्ने शैली बदल्न सके मात्रै देशले अपेक्षित परिवर्तन हासिल गर्न सक्ने उनको विश्वास छ ।
बुढीगण्डकी बाढीको कहर : ४५ घर पूर्ण क्षतिग्रस्त, पाँचजना बेपत्ता
काठमाडौं । बुढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आइतबार (आज) बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ घरमा आंशिक क्षति पुगेको हो । बाढीले ३४ गोठमा क्षति पुर्याएको छ । यस्तै, तीन सवारीसाधनमा क्षति पुगेको बाढीमा पाँचजना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । बाढीले दुई पक्की पुल, तीन झोलुंगे पुल, तीन जलविद्युत र चार हवन कुण्डमा क्षति पुर्याएको छ । प्रभावित क्षेत्रमा ५० टेन्ट, ५० त्रिपाल, २०० म्याट्रेस पुर्याइएको छ । यस्तै, २०० ब्लांकेट, २०० स्लिपिङ ब्याग सरकारले पठाएको छ । प्रभावित क्षेत्रमा १०० थान सोलार लाइट, १० जेनरेटर र १३२० थान ज्याकेट र २० थान हाइजिन किट पुर्याएको प्राधिकरणको भनाइ छ । यस्तै, ९० थान फुड बास्केट, १० थान बेबी बास्केट र २० थान रोयल ब्याग पुर्याएको प्राधिकरणको भनाइ छ ।
भण्डारी र पौडेलको अग्रता झन् फराकिलो
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो ४ हजार ६०० मतगणनाको परिणामअनुसार खुलातर्फ उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । खुलातर्फ उपसभापतिमा भण्डारीले २ हजार ३४३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका मधु आचार्यले १ हजार ४४१ मत प्राप्त गरेका छन् । भण्डारी आचार्यभन्दा ९०२ मतले अगाडि छन् । त्यस्तै, गोविन्द भट्टराईले १ हजार २१९, सुरेन्द्रराज पाण्डेले १ हजार १५० र धनराज गुरुङले १ हजार ५३ मत प्राप्त गरेका छन् । दीपक गिरीले ६३८ र प्रा.डा. चन्द्रमोहन यादवले ३८७ मत पाएका छन् । समावेशीतर्फको एक उपसभापति पदमा विनोदकुमार चौधरीले अग्रता लिएका छन् । उनले १ हजार १४५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार १०७ मत पाएका छन् । उनीहरूबीच ३८ मतको अन्तर छ । यसैगरी, सीता गुरुङले ७४९, फरमुल्लाह मन्सुरले ६३७ र रञ्जित कर्णले ३५२ मत प्राप्त गरेका छन् । खुलातर्फ महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन् । उनले २ हजार ६५७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी उदयशमशेर राणाले १ हजार ४९१ मत पाएका छन् । पौडेल र राणाबीच १ हजार १६६ मतको अन्तर छ । महामन्त्रीका अर्का उम्मेदवार डा. सुनिलकुमार शर्माले १ हजार ३८७ मत प्राप्त गरेका छन् । त्यस्तै, अमरसिंह पुन मगरले ९२९, गुरुराज घिमिरेले ९२०, नैनसिंह महरले ६६८, शंकर तिवारीले ८८ र डा। सन्तोष उपाध्यायले ७२ मत पाएका छन् । महिलातर्फको एक महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) ले अग्रता लिएकी छन् । उनले २ हजार ३७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ८३८ मत पाएकी छन् । संग्रौला उपाध्यायभन्दा १९९ मतले अगाडि छिन् । अर्की उम्मेदवार रीता खनालले ४६६ मत प्राप्त गरेकी छन् ।
भण्डारी र पौडेलले बढाए मतान्तर, चौधरी झिनो अग्रतामा
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो ४ हजार १०० मतगणनाको परिणामअनुसार खुलातर्फ उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । खुलातर्फ उपसभापतिमा भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका मधु आचार्यले १ हजार २७८ मत प्राप्त गरेका छन् । भण्डारी र आचार्यबीच ७६७ मतको अन्तर छ । त्यस्तै, गोविन्द भट्टराईले १ हजार ९१ र सुरेन्द्रराज पाण्डेले १ हजार ६५ मत प्राप्त गरेका छन् । धनराज गुरुङले ९०८, दीपक गिरीले ५७९ र प्रा.डा. चन्द्रमोहन यादवले ३३५ मत पाएका छन् । समावेशीतर्फको एक उपसभापति पदमा विनोदकुमार चौधरीले अग्रता लिएका छन् । चौधरीले १ हजार २६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले ९७९ मत पाएका छन् । उनीहरूबीच ४७ मतको अन्तर छ । यसैगरी, सीता गुरुङले ६७६, फरमुल्लाह मन्सुरले ५६५ र रञ्जित कर्णले ३११ मत प्राप्त गरेका छन् । महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन् । उनले २ हजार ३९१ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका उदयशमशेर राणाले १ हजार ३३३ मत पाएका छन् । पौडेल र राणाबीच १ हजार ५८ मतको अन्तर छ । महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले १ हजार १७५, अमरसिंह पुन मगरले ८८७ र गुरुराज घिमिरेले ८२३ मत प्राप्त गरेका छन् । यस्तै, नैनसिंह महरले ५३९, शंकर तिवारीले ७१ र डा. सन्तोष उपाध्यायले ५७ मत पाएका छन् । महिलातर्फको एक महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) अग्रस्थानमा छिन् । उनले १ हजार ८१६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना)ले १ हजार ६३१ मत पाएकी छन् । उनीहरूबीच १८५ मतको अन्तर छ । अर्की उम्मेदवार रीता खनालले ४२० मत प्राप्त गरेकी छन् ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ९ हजार बढीलाई स्वास्थ्य सेवा
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित ९ हजार ५६४ जनाले स्वास्थ्य सेवा पाएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई (एचइओसी) का अनुसार प्रभावित क्षेत्रमा ३४ वटा आपतकालीन मेडिकल टोली परिचालन गरी स्वास्थ्य सेवा प्रदान गरिएको हो । बाढीका कारण घाइते तथा बिरामी भएका ३४४ जनालाई १९ वटा स्वास्थ्य संस्थामा उपचार गरिएको छ । उपचार गरिएकामध्ये ३०५ जना डिस्चार्ज भएका छन् भने तीन जनाको उपचार जारी छ । उपचाररत एक जना त्रिवि शिक्षण अस्पताल र दुई जना राष्ट्रिय ट्रमा सेन्टरमा छन् । उपचारका क्रममा चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बाढी प्रभावितलाई आश्रय दिन नुवाकोटमा एक, काठमाडौँमा तीन, धादिङमा तीन र रसुवामा छ गरी चार जिल्लामा १३ वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन् । ती केन्द्रमा हाल एक हजार ६३ जना बसोबास गरिरहेका छन् । उनीहरूमध्ये ५३० जना पुरुष र ५३३ जना महिला छन् । होल्डिङ सेन्टरमा नौ जना गर्भवती, २५ जना स्तनपान गराइरहेका आमा, तीन जना सुत्केरी, ८९ जना ज्येष्ठ नागरिक, ११ जना अपाङ्गता भएका व्यक्ति, दुई वर्षमुनिका १९ जना र पाँच वर्षमुनिका ७७ जना बालबालिका रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ती केन्द्रमा ४२० जनाले स्वास्थ्य सेवा पाएका छन् । विपद्बाट प्रभावित व्यक्तिका लागि मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य सेवा पनि सञ्चालन गरिएको छ । मन्त्रालयका अनुसार यस सेवामार्फत १७ हजार २९० जनासम्म पहुँच पुगेको छ । हाल ७० जना जनशक्ति फिल्डमा परिचालित छन् भने २२ जनालाई प्रत्यक्ष मनोसामाजिक परामर्श प्रदान गरिएको छ । बाढीले सातवटा स्वास्थ्य संस्थामा क्षति पुर्याएको छ । तीमध्ये चारवटामा पूर्ण र तीनवटामा आंशिक क्षति भएको छ । आंशिक क्षति भएका स्वास्थ्य संस्थाबाट सेवा सञ्चालन भइरहेको भए पनि दुईवटा स्वास्थ्य संस्थाको पहुँच मार्ग अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । सम्भावित महामारी तथा सरुवा रोगको जोखिम न्यूनीकरण गर्न प्रभावित क्षेत्रमा रोग निगरानीलाई निरन्तरता दिइएको छ । स्थानीय तहबाट ज्वरो, झाडापखाला लगायतका बिरामीको व्यवस्थापन भइरहेको र जनस्वास्थ्यसम्बन्धी सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।
सहमतिका लागि उम्मेदवारी छाडेका नेताको व्यवस्थापन कसरी गर्लान् गगनले ?
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापालाई सहमति जुटाउन सहयोग गर्दै उम्मेदवारी फिर्ता लिएका तथा उम्मेदवारी नै नदिएका नेताहरूको व्यवस्थापन अब चासोको विषय बनेको छ । १५ औं महाधिवेशनमा सभापतिदेखि उपसभापति र सहमहामन्त्रीसम्मका आकांक्षीहरू प्रतिस्पर्धाबाट पछि हटेपछि उनीहरूलाई पार्टीको भावी संरचनामा कसरी समेट्ने भन्ने प्रश्न थापा नेतृत्वसामु देखिएको हो । सभापतिमा उम्मेदवारी दिएका किशोरसिंह राठौर, खुला उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसे र डा. मीनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका छन् । दलित सहमहामन्त्रीमा उम्मेदवारी दिएकी लक्ष्मी परियार पनि अन्तिममा प्रतिस्पर्धाबाट पछि हटेकी छन् । त्यस्तै, महामन्त्री वा सहमहामन्त्रीमध्ये कुनै एक पदमा उम्मेदवारी दिने घोषणा गरेका मीन विश्वकर्माले उम्मेदवारी नै दिएनन् । उपसभापति पदमा प्रतिस्पर्धाको तयारी गरेका ज्ञानेन्द्रबहादुर कार्की र सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी ईश्वरी न्यौपाने पनि चुनावी प्रतिस्पर्धामा सहभागी भएनन् । यी नेताहरूको उम्मेदवारी फिर्ता र प्रतिस्पर्धाबाट बाहिरिने निर्णयले कांग्रेसको नेतृत्व चयनमा सहमति निर्माणको प्रयासलाई बल पुगेको छ । डा. रिजालले गगन थापासँगको संवादपछि उम्मेदवारी फिर्ता लिएका हुन् । थापाले पदाधिकारीमा प्रतिस्पर्धा नगरे पनि उनको अनुभव र ज्ञान पार्टीका लागि उपयोग गर्न सकिने धारणा राखेका थिए । रिजालले पनि आफ्नो अनुभव पार्टीका लागि उपयोग गर्ने सन्दर्भमा थापाको आग्रहलाई सकारात्मक रूपमा लिएको बताएका थिए । त्यस्तै, राठौरले पनि थापाको आग्रहमा पार्टीलाई एकताबद्ध बनाउन उम्मेदवारी फिर्ता लिएको बताएका थिए । चालिसेले समेत थापाको आग्रहलाई सम्मान गर्दै प्रतिस्पर्धाबाट पछि हटेको जनाएका थिए । तर, उम्मेदवारी फिर्ता लिएका नेताहरूलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा औपचारिक सहमति सार्वजनिक भएको छैन । उनीहरूको व्यवस्थापनलाई पद बाँडफाँटको पूर्वनिर्धारित सहमतिका रूपमा व्याख्या गर्न नहुने गगन निकट एक नेताले जानकारी दिए । कांग्रेसको नयाँ नेतृत्वका लागि यी नेताहरूको व्यवस्थापन राजनीतिक र संगठनात्मक दुवै दृष्टिले महत्त्वपूर्ण हुने ती नेताले बताए । राठौर, कार्की र विश्वकर्माजस्ता नेताहरूको विगतको राजनीतिक सम्बन्ध तथा पार्टीभित्रको प्रभावलाई ध्यानमा राख्दा उनीहरूलाई नेतृत्वको मूलधारमा कसरी समेटिन्छ भन्ने विषयले पार्टीभित्रको भावी शक्ति सन्तुलनलाई पनि प्रभावित गर्न सक्छ । थापाले उनीहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनयन गरेर, पार्टीका विभाग तथा अन्य संगठनात्मक जिम्मेवारी दिएर वा नीति निर्माण र संगठन विस्तारमा भूमिका प्रदान गर्नसक्छन् ? भन्ने हाम्रो जिज्ञासामा ती नेताले भने, ‘यी सम्भावना मात्र हुन् । वास्तविक व्यवस्थापनका लागि नेतृत्वले गर्ने निर्णय र जिम्मेवारी बाँडफाँट नै निर्णायक हुनेछ ।’ नेतृत्व चयनमा सहमति जुटाउनु र त्यसलाई दीर्घकालीन संगठनात्मक एकतामा बदल्नु फरक विषय भएको गगन निकट ती नेताले बताए । उनले भने, ‘उम्मेदवारी फिर्ता लिएका नेताहरूले पार्टीका लागि योगदान गर्ने सार्वजनिक प्रतिबद्धता जनाए पनि उनीहरूको अनुभव, राजनीतिक हैसियत र अपेक्षाअनुसार भूमिका सुनिश्चित गर्नु थापाका लागि चुनौतीपूर्ण विषय बन्न सक्छ ।’
बुढीगण्डकी बाढीको कारण पत्ता लगाउन भूगर्भविद्को टोली परिचालन
काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आइतबार (आज) बिहान आएको बाढीको कारण पत्ता लगाउन भूगर्भविद्को टोली परिचालन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीको कारण पहिचान गर्न ड्रोनसहित भूगर्भविद् सम्मिलित तीन सदस्यीय टोली खटाएको हो । प्राधिकरणका अनुसार बाढीबाट क्षतिग्रस्त सडक पुनः सञ्चालन तथा बेलिब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्न सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली पनि प्रभावित क्षेत्रमा परिचालन गरिएको हो । बाढीमा परी हालसम्म पाँच जना बेपत्ता भएका छन् । गोरखाको चुमनुब्री गाउँपालिका-६ चुम्चेतस्थित उङ्गिलुङका दुई महिला र तीन पुरुष बेपत्ता भएका हुन् । उनीहरूको खोजी कार्य जारी छ । बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टर परिचालन गरिएको छ । धार्चे गाउँपालिका-१ यारुबगरमा फसेका १८ जनालाई पनि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय, गोरखाका अनुसार बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँगै जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको हो । बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रका नागरिकको उद्धारका लागि तीनवटै सुरक्षा निकायका गरी ४३७ सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका अनुसार नेपाली सेनाका तीनवटा स्पेसल फोर्ससहित १२७ जना, नेपाल प्रहरीका १३३ जना र सशस्त्र प्रहरी बलका १७७ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। त्यस्तै, विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा नेपाल प्रहरीका थप ५० जनाको टोली तयारी अवस्थामा राखिएको छ । सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै गोरखा, लमजुङ र तनहुँका जिल्ला तथा प्रदेशस्तरीय द्रुत प्रतिकार्य टोलीलाई पनि तयारी अवस्थामा राखिएको छ । सम्बन्धित अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई समेत आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । यसैबीच, प्राधिकरणले बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नदी किनार तथा जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा रहन र बाढीले क्षति पु‍र्याएका वा जोखिममा रहेका पुल तथा सडक प्रयोग नगर्न प्राधिकरणले अनुरोध गरेको छ ।
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
काठमाडौं । सदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सरकारले बल्ल प्रदेशसभामा बजेट प्रस्तुत गरेको हो । लामो राजनीतिक खिचातानी र सत्ता गठबन्धनभित्रको असहमतिका कारण रोकिएको बजेट आइतबार प्रदेशसभामा पेस गरिएको हो । अघिल्लो सरकारले गत असार १ गते प्रदेशसभामा पेस गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकनसहित नयाँ बजेट प्रस्तुत गरिएको हो । प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजारको बजेट प्रस्तुत गरेका हुन् । बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रहेको छ । यस्तै, सङ्घीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ अर्ब छ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने नौ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने छ अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको छ । यसअघि गत असारमा तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको थियो । तर, नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा उत्पन्न समस्याका कारण उक्त बजेट पारित हुन सकेन । त्यसपछि साउन २९ गते नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धनमा खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । तर, नयाँ सरकार बनेपछि पनि बजेटको आकार, प्राथमिकता र बाँडफाँटमा गठबन्धनका दल तथा मन्त्रिपरिषद्का सदस्यबीच सहमति जुट्न सकेन । राजनीतिक सहमति नजुट्दा प्रदेश सरकार बजेटविहीन अवस्थामा रहनुपरेको थियो । आर्थिक वर्ष सुरु भइसकेपछि पनि बजेट पारित नहुँदा विकास निर्माण, सरकारी खर्च र प्रदेशका नियमित कार्यक्रम सञ्चालनमा अन्योल उत्पन्न भएको थियो ।