कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । खुलातर्फ ५८४ मतगणना हुँदा रामहरि खतिवडाले अग्रता बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार खतिवडाले २८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी डिल्लीराम सुवेदीले १८७ मत पाएका छन् । खतिवडा सुवेदीभन्दा १०२ मतले अगाडि छन् । त्यस्तै, अजय बाबु शिवाकोटी १७४ मतसहित तेस्रो स्थानमा छन् । देवेन्द्रराज कँडेलले १०९ र विकास कोइरालाले १०५ मत प्राप्त गरेका छन् । यसैगरी, राजीव ढुंगानाले ८०, रमेशप्रसाद धमलाले ७७, अमृतकुमार अर्यालले ३२ र विमलराज क्षेत्रीले २१ मत पाएका छन् । आइतबार साँझदेखि सहमहामन्त्रीहरू खुला, सहमहामन्त्री (महिला) र केन्द्रीय सदस्य (महिला) को गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ । विभिन्न ६ ठाउँमा उक्त गणना भइरहेको हो ।
हिमालयन बुलियनले ल्यायो एचबीसी एप, किस्ताबन्दीमा चाँदी किन्न सकिने
काठमाडौं । चाँदी प्रशोधन तथा कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले डिजिटल माध्यमबाट चाँदी खरिद गर्न सकिने ‘एचबीसी एप’ सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई आफ्नो सुविधाअनुसार चरणबद्ध भुक्तानी गरेर वास्तविक चाँदीका सिक्का तथा बार खरिद गर्न सक्ने सुविधा उपलब्ध गराएको हो । सन् २००० मा स्थापना भएको कम्पनीले २६ वर्षको अनुभवलाई डिजिटल प्रविधिसँग जोड्दै चाँदी खरिद प्रक्रियालाई थप सहज र सर्वसुलभ बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याएको जनाएको छ । एपमार्फत ग्राहकले आफूसँग उपलब्ध रकमबाटै चाँदी खरिदको प्रक्रिया सुरु गर्न सक्नेछन् । छनोट गरिएको चाँदीको सम्पूर्ण रकम भुक्तानी भएपछि ग्राहकले उक्त चाँदी आफ्नो स्वामित्वमा प्राप्त गर्नेछन् । एप प्रयोग गर्न ग्राहकले खाता खोलेर ग्राहक पहिचान प्रक्रिया (केवाईसी) पूरा भर्नु पर्नेछ । त्यसपछि दैनिक चाँदीको मूल्य तथा कम्पनीले पुनः खरिद गर्ने दर हेर्न सकिनेछ । ग्राहकले १०, २०, ५० र १०० ग्रामका चाँदीका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिद गर्न सक्नेछन् । एकैपटक अधिकतम तीनवटा खरिद लक्ष्य निर्धारण गर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकले एक ग्राम चाँदी बराबरको रकम, कुल मूल्यको पाँच प्रतिशत वा सम्पूर्ण रकम एकैपटक भुक्तानी गर्न सक्नेछन् । ५०० ग्राम वा सोभन्दा बढी तौलका बारमा निर्माण शुल्क नलाग्ने कम्पनीले जनाएको छ । सम्पूर्ण रकम भुक्तानी नहुँदासम्म ग्राहकले छनोट गरेको चाँदी कम्पनीको सुरक्षित भण्डारण कक्षमा राखिनेछ । एप सार्वजनिक भएको अवसरमा भण्डारण शुल्कसमेत निःशुल्क गरिएको छ । भुक्तानी पूरा भएपछि ग्राहकले आइतबारका लागि समय निर्धारण गरी आफ्नो चाँदी प्राप्त गर्न सक्नेछन् । चाँदी प्राप्त गरेको तीन दिनपछि कम्पनीले तोकेको प्रचलित पुनः खरिद दरमा बिक्री गर्न सकिने सुविधासमेत उपलब्ध छ । १० लाखसम्मको दुर्घटना बीमा एप सार्वजनिक गर्ने अवसरमा कम्पनीले ग्राहकका लागि व्यक्तिगत दुर्घटना बीमा र विशेष उपहार योजना पनि घोषणा गरेको छ । कम्पनीका अनुसार सालिको इन्स्योरेन्स र एचएसबीसीबीचको सहकार्यमा एपका सबै ग्राहकलाई १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुरक्षा उपलब्ध गराइनेछ । उक्त सुविधा सम्बन्धित बीमालेखका सर्त तथा प्रावधानअनुसार लागू हुनेछ । त्यस्तै, आगामी तिहारसम्म एपमार्फत चाँदी खरिद गर्ने ग्राहकलाई टेस्ला मोडल ३ विद्युतीय कार जित्ने अवसरसमेत प्रदान गरिने भएको छ । यस योजनाअन्तर्गत चाँदीको सम्पूर्ण रकम भुक्तानी गरी खरिद पूरा गर्ने ग्राहक स्वतः गोलाप्रथामा सहभागी हुनेछन् । प्रत्येक पूर्ण खरिदबापत एउटा अवसर प्राप्त हुनेछ । एकभन्दा बढी खरिद पूरा गर्ने ग्राहकले सोहीअनुसार थप अवसर पाउनेछन् । योजना सम्पन्न भएपछि योग्य सहभागीमध्ये गोलाप्रथाबाट एक विजेता छनोट गरी टेस्ला मोडल ३ कार प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्षका अनुसार एपले ग्राहकलाई एकमुष्ट रकम जम्मा नगरी चाँदी खरिद सुरु गर्ने अवसर दिनेछ । ग्राहकले अन्ततः डिजिटल अभिलेख मात्र नभई कम्पनीको भण्डारण कक्षमा सुरक्षित राखिएको वास्तविक चाँदी प्राप्त गर्ने उनको भनाइ छ । कम्पनीले एचबीसी एप कुनै सेयर कारोबार गर्ने माध्यम वा निश्चित प्रतिफल दिने लगानी योजना नभएको स्पष्ट पारेको छ । यो चरणबद्ध भुक्तानीमार्फत भौतिक चाँदी खरिद गर्ने डिजिटल माध्यम भएको कम्पनीको भनाइ छ । हाल एचबीसी एप एन्ड्रोइड र आईओएस दुवै प्रणालीका मोबाइलमा उपलब्ध छ । ग्राहकले गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट एप डाउनलोड गरी सेवा लिन सक्नेछन् ।
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब
काठमाडौं । नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ । अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकड्र्स र निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन् । सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ । गीत तथा सङ्गीत भिडियोहरू एक्स्ट्रिम म्युजिक सिरिज युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ । पहिलो सिजनमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ जना कलाकार सहभागी हुनेछन् । प्रत्येक कलाकारले आफ्नो छुट्टै सङ्गीत शैली र सिर्जनात्मक पहिचानमार्फत सिरिजलाई अझ रोमाञ्चक वनाउनेछन । परम्परागत शैलीभन्दा फरक रहेर नयाँ सङ्गीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको हो । एक्स्ट्रिम इनर्जी ड्रिंकले यस सिरिजमार्फत नेपाली सङ्गीत क्षेत्रका प्रतिभालाई उजागर गर्दै स्थानीय सङ्गीत संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरेको छ ।
८१ वर्षमा पनि राजनीतिमा सक्रिय बराल, भन्छन्– अब नयाँ पुस्तालाई अवसर दिनुपर्छ
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका ज्येष्ठ प्रतिनिधिमध्येका एक हुन्, कास्की क्षेत्र नम्बर २ का शोभाचन्द्र बराल । ८१ वर्षको उमेरमा पनि राजनीतिमा सक्रिय उनी अब नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताउँछन् । २००३ सालमा जन्मिएका बरालले लामो समयदेखि परिवार, व्यापार–व्यवसाय, समाजसेवा र राजनीतिलाई सँगसँगै अघि बढाउँदै आएका छन् । राजनीतिमा पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको जोसलाई बरालको विवाह १२ वर्षको उमेरमै भएको थियो । उनका चार छोरा र दुई छोरी छन् । अहिले उनी नातिनातिना र दुई जना पनातिका हजुरबुबासमेत बनिसकेका छन् । पोखरा महानगरपालिका–७, मासबारका स्थायी बासिन्दा बरालको परिवार बाजेको पालादेखि नै राजनीतिसँग जोडिएको थियो । व्यापार–व्यवसाय गर्दै आएका उनले राजनीतिलाई पनि निरन्तरता दिए । एसएलसीसम्म औपचारिक शिक्षा हासिल गरेका बरालले राजनीतिक अनुभव भने पार्टी संगठन र सामाजिक कामबाट बटुलेका हुन् । बरालले नेपाली कांग्रेसको वडा सभापतिबाट राजनीतिक जिम्मेवारी सुरु गरेका थिए । त्यसपछि उनी क्षेत्रीय सभापतिसम्म पुगे । पटक–पटक महाधिवेशन प्रतिनिधि बनेका उनी प्रजातान्त्रिक सेनानीको केन्द्रीय सदस्यसमेत रहे । लामो राजनीतिक यात्रामा उनले पार्टीभित्र भएका विभिन्न परिवर्तन र नेतृत्वका अनेक चरण नजिकबाट देखेका छन् । राजनीतिलाई पद प्राप्त गर्ने माध्यमभन्दा पनि समाजप्रतिको जिम्मेवारीका रूपमा लिनुपर्ने उनको बुझाइ छ । बराल अब राजनीतिमा नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको बताउँछन् । समयसँगै जनताको अपेक्षा पनि बदलिएकाले राजनीतिक दलहरूले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने उनको धारणा छ । बीपी कोइरालाको विचार र आदर्शलाई समयअनुसार अघि बढाउनुपर्ने बताउँदै उनी पुरानै शैलीमा राजनीति गरिरहन नहुनेमा जोड दिन्छन् । उनका अनुसार देशलाई अहिले निर्भीक, जोसिलो, ऊर्जाशील र चुनौती बुझेर काम गर्न सक्ने नेतृत्व चाहिएको छ । त्यसका लागि युवालाई जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ । नयाँ पुस्तालाई अवसर दिँदा पुरानो पुस्ताको अनुभवलाई पनि उपयोग गर्नुपर्ने उनी बताउँछन् । युवाको ऊर्जा र अग्रजहरूको अनुभव मिलाउन सके पार्टी र देश दुवैलाई फाइदा पुग्ने उनको विश्वास छ । आठ दशक उमेर पार गरिसकेका बराल अझै पनि राजनीतिक परिवर्तनको पक्षमा छन् । नेतृत्वका लागि उमेरभन्दा सोच, क्षमता र काम गर्ने इच्छाशक्ति महत्त्वपूर्ण हुने उनको बुझाइ छ । पुरानो पुस्ताको योगदान र अनुभवलाई सम्मान गर्दै युवालाई अघि बढाउनुपर्नेमा उनी जोड दिन्छन् । समयअनुसार राजनीतिक सोच र काम गर्ने शैली बदल्न सके मात्रै देशले अपेक्षित परिवर्तन हासिल गर्न सक्ने उनको विश्वास छ ।
बुढीगण्डकी बाढीको कहर : ४५ घर पूर्ण क्षतिग्रस्त, पाँचजना बेपत्ता
काठमाडौं । बुढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आइतबार (आज) बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ घरमा आंशिक क्षति पुगेको हो । बाढीले ३४ गोठमा क्षति पुर्याएको छ । यस्तै, तीन सवारीसाधनमा क्षति पुगेको बाढीमा पाँचजना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । बाढीले दुई पक्की पुल, तीन झोलुंगे पुल, तीन जलविद्युत र चार हवन कुण्डमा क्षति पुर्याएको छ । प्रभावित क्षेत्रमा ५० टेन्ट, ५० त्रिपाल, २०० म्याट्रेस पुर्याइएको छ । यस्तै, २०० ब्लांकेट, २०० स्लिपिङ ब्याग सरकारले पठाएको छ । प्रभावित क्षेत्रमा १०० थान सोलार लाइट, १० जेनरेटर र १३२० थान ज्याकेट र २० थान हाइजिन किट पुर्याएको प्राधिकरणको भनाइ छ । यस्तै, ९० थान फुड बास्केट, १० थान बेबी बास्केट र २० थान रोयल ब्याग पुर्याएको प्राधिकरणको भनाइ छ ।
भण्डारी र पौडेलको अग्रता झन् फराकिलो
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो ४ हजार ६०० मतगणनाको परिणामअनुसार खुलातर्फ उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । खुलातर्फ उपसभापतिमा भण्डारीले २ हजार ३४३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका मधु आचार्यले १ हजार ४४१ मत प्राप्त गरेका छन् । भण्डारी आचार्यभन्दा ९०२ मतले अगाडि छन् । त्यस्तै, गोविन्द भट्टराईले १ हजार २१९, सुरेन्द्रराज पाण्डेले १ हजार १५० र धनराज गुरुङले १ हजार ५३ मत प्राप्त गरेका छन् । दीपक गिरीले ६३८ र प्रा.डा. चन्द्रमोहन यादवले ३८७ मत पाएका छन् । समावेशीतर्फको एक उपसभापति पदमा विनोदकुमार चौधरीले अग्रता लिएका छन् । उनले १ हजार १४५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार १०७ मत पाएका छन् । उनीहरूबीच ३८ मतको अन्तर छ । यसैगरी, सीता गुरुङले ७४९, फरमुल्लाह मन्सुरले ६३७ र रञ्जित कर्णले ३५२ मत प्राप्त गरेका छन् । खुलातर्फ महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन् । उनले २ हजार ६५७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी उदयशमशेर राणाले १ हजार ४९१ मत पाएका छन् । पौडेल र राणाबीच १ हजार १६६ मतको अन्तर छ । महामन्त्रीका अर्का उम्मेदवार डा. सुनिलकुमार शर्माले १ हजार ३८७ मत प्राप्त गरेका छन् । त्यस्तै, अमरसिंह पुन मगरले ९२९, गुरुराज घिमिरेले ९२०, नैनसिंह महरले ६६८, शंकर तिवारीले ८८ र डा। सन्तोष उपाध्यायले ७२ मत पाएका छन् । महिलातर्फको एक महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) ले अग्रता लिएकी छन् । उनले २ हजार ३७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ८३८ मत पाएकी छन् । संग्रौला उपाध्यायभन्दा १९९ मतले अगाडि छिन् । अर्की उम्मेदवार रीता खनालले ४६६ मत प्राप्त गरेकी छन् ।
भण्डारी र पौडेलले बढाए मतान्तर, चौधरी झिनो अग्रतामा
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो ४ हजार १०० मतगणनाको परिणामअनुसार खुलातर्फ उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । खुलातर्फ उपसभापतिमा भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका मधु आचार्यले १ हजार २७८ मत प्राप्त गरेका छन् । भण्डारी र आचार्यबीच ७६७ मतको अन्तर छ । त्यस्तै, गोविन्द भट्टराईले १ हजार ९१ र सुरेन्द्रराज पाण्डेले १ हजार ६५ मत प्राप्त गरेका छन् । धनराज गुरुङले ९०८, दीपक गिरीले ५७९ र प्रा.डा. चन्द्रमोहन यादवले ३३५ मत पाएका छन् । समावेशीतर्फको एक उपसभापति पदमा विनोदकुमार चौधरीले अग्रता लिएका छन् । चौधरीले १ हजार २६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले ९७९ मत पाएका छन् । उनीहरूबीच ४७ मतको अन्तर छ । यसैगरी, सीता गुरुङले ६७६, फरमुल्लाह मन्सुरले ५६५ र रञ्जित कर्णले ३११ मत प्राप्त गरेका छन् । महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन् । उनले २ हजार ३९१ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका उदयशमशेर राणाले १ हजार ३३३ मत पाएका छन् । पौडेल र राणाबीच १ हजार ५८ मतको अन्तर छ । महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले १ हजार १७५, अमरसिंह पुन मगरले ८८७ र गुरुराज घिमिरेले ८२३ मत प्राप्त गरेका छन् । यस्तै, नैनसिंह महरले ५३९, शंकर तिवारीले ७१ र डा. सन्तोष उपाध्यायले ५७ मत पाएका छन् । महिलातर्फको एक महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) अग्रस्थानमा छिन् । उनले १ हजार ८१६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना)ले १ हजार ६३१ मत पाएकी छन् । उनीहरूबीच १८५ मतको अन्तर छ । अर्की उम्मेदवार रीता खनालले ४२० मत प्राप्त गरेकी छन् ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ९ हजार बढीलाई स्वास्थ्य सेवा
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित ९ हजार ५६४ जनाले स्वास्थ्य सेवा पाएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई (एचइओसी) का अनुसार प्रभावित क्षेत्रमा ३४ वटा आपतकालीन मेडिकल टोली परिचालन गरी स्वास्थ्य सेवा प्रदान गरिएको हो । बाढीका कारण घाइते तथा बिरामी भएका ३४४ जनालाई १९ वटा स्वास्थ्य संस्थामा उपचार गरिएको छ । उपचार गरिएकामध्ये ३०५ जना डिस्चार्ज भएका छन् भने तीन जनाको उपचार जारी छ । उपचाररत एक जना त्रिवि शिक्षण अस्पताल र दुई जना राष्ट्रिय ट्रमा सेन्टरमा छन् । उपचारका क्रममा चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बाढी प्रभावितलाई आश्रय दिन नुवाकोटमा एक, काठमाडौँमा तीन, धादिङमा तीन र रसुवामा छ गरी चार जिल्लामा १३ वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन् । ती केन्द्रमा हाल एक हजार ६३ जना बसोबास गरिरहेका छन् । उनीहरूमध्ये ५३० जना पुरुष र ५३३ जना महिला छन् । होल्डिङ सेन्टरमा नौ जना गर्भवती, २५ जना स्तनपान गराइरहेका आमा, तीन जना सुत्केरी, ८९ जना ज्येष्ठ नागरिक, ११ जना अपाङ्गता भएका व्यक्ति, दुई वर्षमुनिका १९ जना र पाँच वर्षमुनिका ७७ जना बालबालिका रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ती केन्द्रमा ४२० जनाले स्वास्थ्य सेवा पाएका छन् । विपद्बाट प्रभावित व्यक्तिका लागि मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य सेवा पनि सञ्चालन गरिएको छ । मन्त्रालयका अनुसार यस सेवामार्फत १७ हजार २९० जनासम्म पहुँच पुगेको छ । हाल ७० जना जनशक्ति फिल्डमा परिचालित छन् भने २२ जनालाई प्रत्यक्ष मनोसामाजिक परामर्श प्रदान गरिएको छ । बाढीले सातवटा स्वास्थ्य संस्थामा क्षति पुर्याएको छ । तीमध्ये चारवटामा पूर्ण र तीनवटामा आंशिक क्षति भएको छ । आंशिक क्षति भएका स्वास्थ्य संस्थाबाट सेवा सञ्चालन भइरहेको भए पनि दुईवटा स्वास्थ्य संस्थाको पहुँच मार्ग अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । सम्भावित महामारी तथा सरुवा रोगको जोखिम न्यूनीकरण गर्न प्रभावित क्षेत्रमा रोग निगरानीलाई निरन्तरता दिइएको छ । स्थानीय तहबाट ज्वरो, झाडापखाला लगायतका बिरामीको व्यवस्थापन भइरहेको र जनस्वास्थ्यसम्बन्धी सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।