विकासन्युज

सीजेपीको पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीमाथि सीधा निशाना

काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का प्रमुख नेताहरू रिहा भएपछि आइतबार दिउँसो संगठनले पत्रकार सम्मेलन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा प्रहार गरेको छ । पत्रकार सम्मेलनलाई आशुतोष रांका, सौरव दास र रत्ना सिंहले सम्बोधन गरेका थिए ।  सीजेपी प्रमुख अभिजीत दीपके भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन् । हजुरआमाको निधन भएपछि उनी आफ्नो गाउँ फर्किएका छन् । पत्रकार सम्मेलनमा आशुतोष रांकाले भने, ‘नरेन्द्र मोदी भारतको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कायर प्रधानमन्त्री हुन् ।’ त्यस्तै, सौरव दासले सरकारमाथि गम्भीर आरोप लगाउँदै भने, ‘यो त्यही सरकार हो, जसले नीरव मोदी र विजय माल्यालाई विमानमा चढाएर देशबाहिर पठायो । तर, हामीलाई भने विमानभित्रैबाट पक्राउ गर्न लगायो ।’ शनिबार हिरासतमा लिइएको घटनालाई लिएर पनि उनले केन्द्र सरकारमाथि गम्भीर आरोप लगाए । उनले भने, ‘हामीलाई अपहरण गर्दा कुनै कानुनी कागजी प्रक्रिया पूरा गरिएन । बरु माफिया डनको शैलीमा प्रहरी आएर हामीलाई उठाएर लग्यो । हाम्रा मोबाइल फोन जबर्जस्ती जफत गरियो । महिला प्रहरीमार्फत फोन लिइयो ।  तर, फोन जफत गर्दा कुनै कानुनी प्रक्रिया अपनाइएन ।’ दासले आफूहरूलाई अलग–अलग स्थानमा राखिएको पनि बताए । उनले भने, ‘मलाई आरकेपुरममा राखियो । आशुतोषलाई बल्लभगढ लगिएको थियो भने अभिजीतलाई पनि अन्यत्रै लगिएको थियो । हामीलाई लैजाँदै गर्दा आफ्नो वकिलसँग कुरा गर्न पाउनु हाम्रो मौलिक अधिकार भएको बताएका थियौं । तर, हिरासतमा लिने क्रममा कुनै अधिकार नहुने जवाफ दिइयो । दिल्ली प्रहरीले प्रदर्शनकारीहरूमाथि कस्तो बर्बरता गर्दो रहेछ भन्ने यसबाट अनुमान गर्न सकिन्छ ।’ दासले हिरासतमा लिइएका बेला जफत गरिएका मोबाइल फोनको दुरुपयोग हुन सक्ने आशंका पनि व्यक्त गरे । उनले भने, ‘अब हाम्रा मोबाइल फोनमा के–के गरिएको होला भन्ने आशंका छ । हाम्रा फोन क्लोन गरिएको हुन सक्ने डर छ । भोलि हाम्रा फोन क्लोन गरेर त्यसलाई प्रमाणका रूपमा प्रस्तुत गरिन सक्छ ।’

बालविवाह रोक्न एक करोड, चिकित्सा शिक्षामा छात्रवृत्ति दिन साढे चार करोड

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले शिक्षा क्षेत्रको सुधार, विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना, नमुना विद्यालय तथा बालविकास केन्द्र स्थापना र आर्थिक रूपमा विपन्न विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ । प्रदेश सरकारले ‘सानै छु म, पढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ अभियानलाई निरन्तरता दिन बालविवाहविरुद्धको अभियान सञ्चालनका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ ।  अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमअन्तर्गत विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालयमा भर्ना गराउन पनि बजेट व्यवस्था गरिएको छ ।  यसका लागि स्थानीय तह, अभिभावक, विद्यालय, सामुदायिक पुस्तकालय, सामुदायिक सिकाइ केन्द्र, गैरसरकारी संस्था तथा नागरिक समाजसँग सहकार्य गरिने जनाइएको छ । प्रदेश सरकारले प्रदेश सभा निर्वाचन क्षेत्रका एक–एक माध्यमिक विद्यालयलाई प्रदेश नमुना विद्यालयका रूपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।  नमुना विद्यालयको विकास, सञ्चालन तथा व्यवस्थापनका लागि पाँच करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, डोटी जिल्लास्थित निजामती कर्मचारी आवासीय विद्यालयलाई प्रदेशको नमुना विद्यालयका रूपमा विकास गर्न बजेट छुट्याइएको छ । प्रत्येक स्थानीय तहमा एक–एक बालविकास केन्द्रलाई नमुना बालविकास केन्द्रका रूपमा विकास गर्न एक करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ । परम्परागत तथा धार्मिक प्रकृतिका विद्यालयको संरक्षण र प्रोत्साहनका लागि अनुदानको व्यवस्था गरिएको छ । स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमअन्तर्गत भान्सा निर्माणका लागि छ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । अपाङ्गता भएका बालबालिका अध्ययनरत विशेष विद्यालय तथा स्रोत कक्षाको व्यवस्थापन र सुदृढीकरणका लागि पनि बजेट व्यवस्था गरिएको छ ।  यस्तै, वादी समुदायका बालबालिकाको विद्यालय, प्राविधिक तथा व्यावसायिक र उच्च शिक्षामा पहुँच सहज बनाउन ‘वादी उत्थान छात्रवृत्ति कार्यक्रम’का लागि एक करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको गुणस्तर सुधार गर्न प्रादेशिक रणनीति तयार गरिने प्रदेश सरकारले जनाएको छ ।  औद्योगिक प्रशिक्षार्थी तालिम, पूर्वसिकाइको मान्यताका आधारमा सीप परीक्षण तथा प्राविधिक शिक्षालयको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिन पनि बजेट व्यवस्था गरिएको छ । आर्थिक तथा सामाजिक रूपमा कमजोर अवस्थाका जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा र चिकित्सा शिक्षा अध्ययनमा सहयोग पुर्‍याउन ‘मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।  एमबीबीएस तथा एमडीरजीपी अध्ययनका लागि लक्षित उक्त कार्यक्रमअन्तर्गत चार करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । उच्च शिक्षाको पहुँच विस्तार र गुणस्तर सुधारका लागि प्रत्येक जिल्लामा एक–एक नमुना क्याम्पस सञ्चालन गर्ने नीतिगत व्यवस्था गरी कार्यान्वयनका लागि चार करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । प्रदेशभित्रका सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर र क्षमता अभिवृद्धिका लागि सहयोग गरिनेछ ।  साथै स्नातक तथा स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत वा परीक्षा दिएर बसेका विद्यार्थीलाई प्रदेशस्थित क्याम्पस तथा विश्वविद्यालयसँगको समन्वयमा इन्टर्नसिपको अवसर उपलब्ध गराउन ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम सञ्चालन गरिनेछ । यसैगरी, टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न जग्गा प्राप्ति र भौतिक पूर्वाधार निर्माणको काम सुरु गर्न बजेट विनियोजन गरिएको छ । शिक्षासँगै खेलकुद क्षेत्रलाई पनि बजेटले समेटेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानको स्तरोन्नति तथा रंगशाला निर्माणका लागि संघीय सरकारसँग साझेदारी र समन्वय गरिने प्रदेश सरकारले जनाएको छ ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी पदक प्राप्त गर्ने प्रदेशका खेलाडीलाई सम्मान र प्रोत्साहन गर्न पनि बजेट व्यवस्था गरिएको छ ।  प्रदेश सरकारले विद्यालय शिक्षामा पहुँच विस्तार, शैक्षिक गुणस्तर सुधार, प्राविधिक शिक्षाको विकास र विपन्न विद्यार्थीलाई उच्च शिक्षामा अवसर उपलब्ध गराउने कार्यक्रम अघि सारे पनि यी कार्यक्रमको प्रभावकारिता कार्यान्वयन र उपलब्धिमा निर्भर हुने जनाइएको छ ।

उपसभापतिमा भण्डारीको अग्रता कायमै, कसको कति मत ?

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि जारी मतगणनामा उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारी र विनोदकुमार चौधरीको अग्रता कायमै छ ।  महामन्त्रीतर्फ प्रदीप पौडेल र डा. डिला संग्रौला (पन्त) अगाडि देखिएका छन् । हालसम्म ३ हजार ४३५ मतगणना हुँदा खुलातर्फको उपसभापतिमा भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन् । उनलाई ई. मधु आचार्यले १ हजार ९० मतसहित पछ्याइरहेका छन् । उनीहरूबीच ५९६ मतको अन्तर छ । त्यस्तै, सुरेन्द्रराज पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा. डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन् । समावेशीतर्फको उपसभापतिमा विनोदकुमार चौधरी ८९६ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले ८२९ मत प्राप्त गरेका छन् । चौधरी र परियारबीच ६७ मतको अन्तर छ । यसैगरी, फरमुल्लाह मंसुरले ४६९, रञ्जित कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन् । महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन् । उनले २ हजार ५५ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका उदयशमशेर राणाले १ हजार १५९ मत पाएका छन् । उनीहरूबीच ८९६ मतको अन्तर छ । महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन् । महिला महामन्त्रीतर्फ भने डा. डिला संग्रौला (पन्त) र महालक्ष्मी उपाध्याय (डिना) बीच प्रतिस्पर्धा देखिएको छ । संग्रौलाले १ हजार ५१७ मत प्राप्त गर्दा उपाध्यायले १ हजार ३९८ मत पाएकी छन् । उनीहरूबीच ११९ मतको अन्तर छ । अर्की उम्मेदवार रीता खनालले ३६५ मत प्राप्त गरेकी छन् ।

स्वीस घडी बजारमा रोलेक्सको एकछत्र राज

काठमाडौं । रोलेक्स किन्नु आफैमा एउटा अनौठो अनुभव हो । स्विस घडी कम्पनीका आधिकारिक विक्रेताकहाँ राखिएका राखिएका जुनसुकै मोडल हेरे पनि तपाईंले एउटै जवाफ पाउनुहुन्छ, ‘यो घडी अहिले उपलब्ध छैन ।’ तपाईं १४ हजार स्विस फ्र्याङ्क (१६ हजार ८०० अमेरिकी डलर) खर्च गर्न चाहनुहुन्छ भने रोलेक्सको एउटा घडीका लागि पनि आफ्नो नाम लेखाउनुपर्ने हुन्छ । यो रकम रोलेक्स घडीको औसत खुद्रा मूल्य हो । हरेक दिन हजारौं मानिस रोलेक्सका लागि आफ्नो नाम लेखाउँछन् । गत वर्ष रोलेक्सले करिब १२ लाख घडी बिक्री गरेको थियो, जसबाट कम्पनीले ११ अर्ब स्विस फ्र्याङ्कभन्दा बढी आम्दानी ग‍र्यो । सन् २०२० को दशकको सुरुतिर कम्पनीको आम्दानी करिब ८ अर्ब स्विस फ्र्याङ्क थियो । घडी बिक्रीको सङ्ख्या भने खासै बढेको थिएन । आम्दानी बढ्नुको मुख्य कारण मूल्यवृद्धि थियो । स्विस घडी उद्योगका अधिकांश कम्पनीका लागि अहिले चुनौतीपूर्ण समय छ । पछिल्लो एक दशकमा स्विस घडीको निर्यात परिमाण आधाले घटेको छ । निर्यातले यस उद्योगको कुल बिक्रीको ९५ प्रतिशत हिस्सा ओगट्छ ।  रोलेक्सका विभिन्न मोडेलहरू । इलेक्ट्रोनिक प्रणालीबाट चल्ने क्वार्ट्ज घडीको बिक्रीमा स्मार्ट घडीको बढ्दो लोकप्रियताले विशेष असर पारेको छ ।  अधिकांश स्मार्ट घडी एसियामा उत्पादन हुन्छन् । तर रोलेक्स र केही अन्य विलासी घडी निर्माता कम्पनीका लागि भने अहिलेको समय विगतभन्दा राम्रो छ । निर्यात हुने घडीको सङ्ख्या घटे पनि तिनको कुल मूल्य भने बढिरहेको छ । अगस्टमा स्विस घडीको निर्यात मूल्य अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९.१ प्रतिशत बढी थियो । निर्यात मूल्यमा वार्षिक वृद्धि देखिएको यो लगातार चौथो महिना हो । स्विट्जरल्यान्डमा करिब ४५० घडी ब्रान्ड छन् । तर गत वर्ष सबैभन्दा विलासी मानिएका पाँच ब्रान्ड रोलेक्स, कार्टियर, पाटेक फिलिप, ओमेगा र अडेमार पिगेले मात्रै उद्योगको कुल आम्दानीको ६० प्रतिशत हिस्सा ओगटे । ओमेगाबाहेक यी सबै ब्रान्डले बजारमा आफ्नो हिस्सा बढाएका छन् । विशेषगरी अत्यन्त महँगा घडीको बजार निकै बलियो देखिएको छ । सन् २०२५ मा ५० हजार स्विस फ्र्याङ्कभन्दा बढी मूल्यका घडीले स्विस घडी निर्यातको कुल मूल्यमा ३७ प्रतिशत हिस्सा ओगटे ।  सन् २०२४ मा यस्तो हिस्सा ३३.५ प्रतिशत मात्रै थियो । यसको एउटा कारण बहुमूल्य धातुको मूल्यमा भएको वृद्धि हो । तर अत्यन्त धनी मानिसहरूको आर्थिक अवस्थाले पनि यसमा महत्त्वपूर्ण भूमिका खेलेको छ । उनीहरू अरूभन्दा फरक र विशेष घडीमा खर्च गर्न तयार छन् । ‘कोभिड महामारी र त्यसपछिका वर्षहरूले घडी उद्योगलाई थप प्रयोगशील बनाएका छन्,’ स्विस पारिवारिक स्वामित्वको कम्पनी नोरकेनका प्रमुख कार्यकारी बेन कुफर भन्छन् । नोरकेनका घडीको औसत मूल्य ४ हजार ५०० स्विस फ्र्याङ्क छा । धेरै घडी ब्रान्डले आफूलाई अरूभन्दा फरक देखाउन नयाँ सामग्री र अझ परिष्कृत घडी सञ्चालन प्रणालीको विकासमा लगानी गर्छन् । नोरकेनले आफ्नो विलासी स्पोट्र्स घडी ‘वाइल्ड वन मेटियोराइट स्पेसल एडिसन’ को बाहिरी कभर बनाउन उच्च कार्यक्षमतायुक्त कार्बन फाइबर मिश्रित सामग्री प्रयोग गरेको छ । त्यसको डायल स्विडेनबाट प्राप्त फलामयुक्त उल्कापिण्ड काटेर बनाइएको हो । कम्पनीले यस घडीका जम्मा ३०० थान मात्रै उत्पादन गरेको छ । उकालो यात्रामा स्वाचलाई भने धक्का महँगा र विलासी घडीप्रतिको बढ्दो आकर्षणले स्विट्जरल्यान्डको सबैभन्दा ठूलो सूचीकृत घडी निर्माता कम्पनी स्वाचलाई भने फाइदा पु‍र्याएको छैन । सन् १९८० को दशकमा स्वाचले स्विस घडी उद्योगलाई सङ्कटबाट जोगाएको श्रेय पाएको थियो । त्यतिबेला कम्पनीका आकर्षक डिजाइनका प्लास्टिक क्वार्ट्ज घडीले एसियाबाट आउने सस्ता घडीसँग प्रतिस्पर्धा गरेका थिए । तर अहिले स्वाच आफै सङ्घर्ष गरिरहेको छ । बैंक भोन्टोबेलका जाँ फिलिप बर्ट्स्कीका अनुसार स्वाचले बजारमा बढिरहेको ‘प्रिमियमाइजेसन’ अर्थात् उच्च मूल्य र गुणस्तरका उत्पादनतर्फको रूपान्तरणको लहरलाई पर्याप्त रूपमा समात्न सकेन । स्वाचको स्वामित्वमा ओमेगालगायत अन्य विलासी ब्रान्ड पनि छन्, तर ती ब्रान्डको व्यावसायिक नतिजा मिश्रित छ । सन् २०२३ को सुरुतिरको तुलनामा स्वाचको सेयर मूल्य ४० प्रतिशतभन्दा बढी घटेको छ । सन् २०१३ को अन्त्यतिर पुगेको उच्चतम मूल्यबाट तुलना गर्दा यसको सेयर मूल्य झन्डै ७० प्रतिशत तल छ । गत वर्ष कम्पनीको खुद नाफा झन्डै ९० प्रतिशतले घट्यो । स्वाचको उत्पादन संरचना पनि आवश्यकताभन्दा ठूलो छ । कुनै समय कम्पनीले स्विट्जरल्यान्डका १५० वटा कारखानाबाट वार्षिक १ करोड ५० लाखसम्म घडी उत्पादन गर्थ्यो । अहिले वार्षिक उत्पादन घटेर ४० लाखमा सीमित भएको छ । तर कम्पनीले तीमध्ये कुनै पनि कारखाना बन्द गरेको छैन । गत मे महिनामा १५१ वर्ष पुरानो विलासी घडी निर्माता अडेमार पिगेसँगको सहकार्यले स्वाचलाई केही राहत दियो । दुवै कम्पनीले अडेमार पिगेको प्रसिद्ध घडी ‘रोयल ओक’ को डिजाइन झल्किने प्लास्टिकको पकेट घडी ‘रोयल पप’सार्वजनिक गरे । त्यसपछि विश्वभरका खरिदकर्ता घडी किन्न घण्टौंसम्म लाइनमा बसे । सन् २०२२ मा स्वाच र ओमेगाबीच भएको यस्तै सहकार्यले महामारीपछि कम्पनीलाई पुनः नाफामा फर्काउन मद्दत गरेको थियो । पछिल्लो सहकार्यले सन् २०२५ को पहिलो छ महिनामा बिक्री बढायो । यद्यपि, कम्पनीको खुद नाफा भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेकै थियो । कार्टियरबाहेक प्रमुख विलासी घडी ब्रान्डहरू सबै निजी स्वामित्वमा छन् । तीमध्ये धेरै ब्रान्ड अडेमार र पिगे परिवारजस्ता संस्थापक परिवारकै स्वामित्वमा छन् । यीमध्ये अधिकांश ब्रान्ड १०० वर्षभन्दा पुराना छन् । तर बजारमा बढिरहेको महँगा घडीप्रतिको आकर्षणबाट नयाँ कम्पनीहरूले पनि लाभ लिन सक्छन् । सन् २०१८ मा स्थापना भएको नोरकेनले अहिले वार्षिक १० हजारसम्म घडी बिक्री गर्छ । यसकारण महँगा हुन्छन् स्विस घडी विश्व बजारमा स्विस घडीलाई विलासिता, उत्कृष्ट शिल्पकला र उच्च गुणस्तरको प्रतीक मानिन्छ । सामान्य घडीले पनि समय बताउँछ भने स्विस घडीका लागि लाखौंदेखि करोडौं रुपैयाँ किन खर्च गरिन्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । स्विस घडी महँगो हुनुको प्रमुख कारण यसको निर्माण प्रक्रिया हो । विशेषगरी उच्चस्तरीय मेकानिकल घडीमा सयौँ ससाना पुर्जा प्रयोग गरिन्छन् । ती पुर्जालाई अत्यन्त सूक्ष्मताका साथ निर्माण, संयोजन र परीक्षण गर्न दक्ष घडी निर्माताको लामो समय र मेहनत लाग्छ । यस्ता घडीमा प्रयोग हुने जटिल मेकानिकल प्रविधिले पनि मूल्य बढाउँछ । टुरबियोन, पर्पेचुअल क्यालेन्डर र मिनेट रिपिटरजस्ता विशेषताले घडी निर्माणलाई थप चुनौतीपूर्ण बनाउँछन् । टुर्बियोन संसारकै जटिल र प्रतिष्ठित मेकानिकल घडी प्रविधिमध्ये एक हो ।  त्यस्तै, सुन, प्लाटिनम, बहुमूल्य रत्न र उच्च गुणस्तरका सामग्रीको प्रयोगले पनि लागत बढाउँछ । सीमित उत्पादन, हातैले गरिने सूक्ष्म फिनिसिङ र कडा गुणस्तर परीक्षण यसका अन्य कारण हुन् । रोलेक्स, पाटेक फिलिप र भासेरोन कन्स्टान्टिनजस्ता प्रतिष्ठित ब्रान्डको लामो इतिहास, विश्वसनीयता र प्रतिष्ठाले समेत मूल्य निर्धारणमा ठूलो भूमिका खेल्छन् । यद्यपि, सबै स्विस घडी महँगा हुँदैनन् र महँगो हुँदैमा समय मापनमा सबैभन्दा सटीक हुन्छन् भन्ने पनि होइन । आधुनिक क्वार्ट्ज घडी धेरै मेकानिकल घडीभन्दा सटीक हुन सक्छन् । पर्पेचुअल वाच भन्नाले सामान्यतया दिन, मिति, महिना र लिप वर्षसमेत स्वतः गणना गरी पात्रो मिलाइरहने विशेष प्रकारको घडीलाई बुझिन्छ ।  रोलेक्स अझै पनि बजारको राजा रोलेक्सको दबदबा भने कायमै छ । यसको बिक्री दोस्रो स्थानमा रहेको कार्टियरको भन्दा तीन गुणा बढी छ । रोलेक्सको स्वामित्व सन् १९४५ मा कम्पनीका सन्तान नभएका संस्थापक हान्स विल्सडोर्फले स्थापना गरेको परोपकारी ट्रस्ट ‘हान्स विल्सडोर्फ फाउन्डेसन’सँग छ । कम्पनीको नाफा अनुसन्धान तथा विकासमा पुनः लगानी गरिन्छ । साथै स्विट्जरल्यान्डको जेनेभा क्यान्टोनमा परोपकारी कार्यलाई पनि सहयोग गरिन्छ । रोलेक्सले आफ्ना घडीको सीमित उपलब्धता नियोजित व्यावसायिक रणनीतिको परिणाम नभएको बताउँदै आएको छ । कम्पनीका अनुसार यसको मुख्य ध्यान उत्कृष्ट कारीगरीमा केन्द्रित छ, जसका कारण उत्पादन बढाउन समय लाग्छ । रोलेक्सको लोकप्रियता र सीमित उपलब्धताले एउटा कुरा शानसँग बताउँछ । त्यो हो, बजारमा सबैभन्दा दुर्लभ वस्तु घडी मात्रै होइन, त्यसलाई बनाउन लाग्ने समय पनि हो ।

तीन महिनापछि आयो सुदूरपश्चिमको बजेट

काठमाडौं । आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सरकारले बल्ल प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । लामो राजनीतिक खिचातानी र सत्ता गठबन्धनभित्रको असहमतिका कारण रोकिएको बजेट आइतबार प्रदेशसभामा पेस गरिएको हो । आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । बजेट पारित हुन नसक्दा लामो समयदेखि अन्योलमा रहेको प्रदेशको आर्थिक गतिविधिले अब गति लिने अपेक्षा गरिएको छ । यसअघि गत असारमा तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको थियो । तर, नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा उत्पन्न समस्याका कारण उक्त बजेट पारित हुन सकेन । त्यसपछि साउन २९ गते नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धनमा खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । तर, नयाँ सरकार बनेपछि पनि बजेटको आकार, प्राथमिकता र बाँडफाँटमा गठबन्धनका दल तथा मन्त्रिपरिषद्का सदस्यबीच सहमति जुट्न सकेन । राजनीतिक सहमति नजुट्दा प्रदेश सरकार बजेटविहीन अवस्थामा रहनुपरेको थियो । आर्थिक वर्ष सुरु भइसकेपछि पनि बजेट पारित नहुँदा विकास निर्माण, सरकारी खर्च र प्रदेशका नियमित कार्यक्रम सञ्चालनमा अन्योल उत्पन्न भएको थियो । अब प्रदेशसभामा बजेट प्रस्तुत भएसँगै त्यसलाई पारित गर्ने प्रक्रिया अघि बढ्नेछ । यद्यपि बजेट कार्यान्वयनका लागि प्रदेशसभाबाट पारित हुनुपर्नेछ । आर्थिक वर्षको सुरुवाती समय नै बजेटविहीन बनेको सुदूरपश्चिममा अब बजेट पारित र कार्यान्वयनको गति कस्तो हुन्छ भन्ने विषयले प्रदेश सरकारको आगामी कार्यसम्पादन निर्धारण गर्नेछ ।

यस्तो छ बुढीगण्डकी बाढीले गरेको क्षति (विवरणसहित)

काठमाडाैं । गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा रहेको सिरिङ्गे हिमालबाट खसेको हिमपहिरोले उइनगुर्लुङ खोला थुनिँदा बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ। आइतबार बिहान ५ :३० बजे आएको बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण दर्जानौँ घर, गोठ, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने फसेका २७ जना नागरिकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  बाढीमा एक सय बढी घरमा क्षति भएको बताइएको छ भने चार वटा पुल र तीन वटा जलविद्युत आयोजनामा पनि क्षति भएको छ ।  यस्ताे छ क्षतिकाे विवरण :

रोहितको शतक र गुलशनको आक्रामक ब्याटिङमा क्यानडालाई २३६ रनको लक्ष्य

काठमाडौं । पूर्वकप्तान रोहित पौडेलको शतक र गुलशन झाको आक्रामक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्ध २३६ रनको लक्ष्य दिएको छ । टस जितेर बलिङ रोजेको क्यानडाविरुद्ध नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो । अब क्यानडाले जितका लागि २३६ रन बनाउनुपर्नेछ । नेपालका लागि रोहितले सर्वाधिक १०१ रन बनाए । उनले १२७ बलमा आठ चौका र एक छक्का प्रहार गरे । नेपालको इनिङ्स सम्हाल्ने क्रममा रोहितले धैर्यपूर्वक ब्याटिङ गर्दै शतक पूरा गरेका हुन् । गुलशन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन बनाए । उनले चार चौका र तीन छक्का प्रहार गरे । गुलशनको स्ट्राइक रेट १४१.१७ रह्यो । उनी अर्धशतक बनाउन दुई रनले चुके । त्यस्तै, अर्जुन कुमालले ५४ बलमा २३ रन बनाए । उनले चार चौका प्रहार गरे । बासिर अहमदले ५७ बलमा ३० रनको योगदान दिए । उनको ब्याटबाट तीन चौका निस्किए । नेपालका अन्य ब्याटर भने ठूलो स्कोर बनाउन असफल भए । ओपनर आसिफ शेख चार रनमा आउट भए भने इशान पाण्डे खाता नखोली पेभिलियन फर्किए उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६ रन बनाए । करण केसीले चार, नन्दन यादवले दुई र ललित राजवंशीले दुई रन बनाए । सन्दीप लामिछाने दुई रनमा अविजित रहे । क्यानडाका लागि जाहिद शिरजादले रोहित पौडेल र इशान पाण्डेलाई आउट गरे । सुखजिन्दर सिंहले अर्जुन कुमाल, बासिर अहमद र दीपेन्द्रसिंह ऐरीको विकेट लिए । अखिल कुमारले आसिफ शेख, गुलशन झा, करण केसी र ललित राजवंशीलाई आउट गरे ।  अब नेपालका बलरले क्यानडालाई लक्ष्यमा पुग्नबाट रोक्न सके खेल जित्नेछ ।

चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गर्दै नयाँ बसपार्कमा निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो ।  महानगर प्रहरी बल नयाँबसपार्कका प्रमुख महानगर प्रहरी नायब उपरीक्षक प्रकाश पण्डितले काठमाडौं महानगरपालिका स्वास्थ्य सेवा विभागमार्फत चाडपर्वमा घर जाने यात्रुलक्षित गरी निःशुल्क स्वास्थ्य जाँच सुरु गरिएको जानकारी दिए ।  महानगरले उक्त कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडापखालाको औषधी वितरण गरिरहेको उनको भनाइ छ । उक्त सेवा दशैंभरि सञ्चालन हुने महानगर कार्यालयले जनाएको छ । नयाँ बसपार्कमा हुने भीडभाड नियन्त्रणका लागि महानगर प्रहरीसमेत परिचालन गरिएको छ ।  प्रहरीले भीडभाड नियन्त्रणका साथै यात्रुलाई सहजै रूपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सहजीकरण गर्नेछ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कमा केही दिनदेखि चाडपर्वका निम्ति घर जाने यात्रु बढेको बताए ।  उनले अरू समयमा प्रत्येक दिन पाँचदेखि छ हजार यात्रु काठमाडौंबाट बाहिर जाने गरेकामा हाल उक्त सङ्ख्या तेब्बरसम्म पुगेको बताए ।