विकासन्युज

हिमालयन पावर पार्टनरको ५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेड (एचपीपीएल) को ५० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर शुक्रबार सूचीकृत गरिएको हो । यससँगै उक्त हकप्रद सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबारका लागि योग्य हुने भएको छ । कम्पनीले हालका सेयरधनीलाई ५० प्रतिशत अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद बाँडफाँट सम्पन्न भएपछि सोही परिमाणको नयाँ सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।

मुख्यसचिवको बिदाइ शाहले गरेपछि ब्यूरोक्रेसी तरंगित

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालको बिदाइ प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले गरेपछि निजामती प्रशासनभित्र र बाहिर यसले दिने सन्देशबारे चर्चा सुरु भएको छ ।  सरकारको सबैभन्दा वरिष्ठ स्थायी कर्मचारीको बिदाइ राजनीतिक नियुक्तिका व्यक्तिबाट गराइएको घटनालाई धेरैले सामान्य प्रशासनिक कार्यक्रमभन्दा पनि संस्थागत मर्यादा र प्रोटोकलसँग जोडेर हेरेका छन् । पूर्वमुख्यसचिव डा. विमल कोइराला मुख्य सचिव सरकारको प्रशासनिक नेतृत्वकर्ता भएकोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि सबै मन्त्रालय र सरकारी निकायबीच समन्वय गर्ने जिम्मेवारी उनको काँधमा हुने बताउँछन् ।  उनका अनुसार मुख्यसचिवको नियुक्ति र अवकाश दुवैलाई राज्यको संस्थागत संस्कृतिको महत्त्वपूर्ण पक्ष मानिन्छ । यही कारण सुमनराज अर्यालको बिदाइ कार्यक्रममा राजनीतिक सल्लाहकारको प्रमुख भूमिका देखिएपछि प्रशासनिक वृत्तमा विभिन्न प्रश्न उठेको अर्का एक पूर्वमुख्य सचिव बताउँछन् । उनले नाम नलेख्ने सर्तमा भने, ‘मुख्यसचिवको बिदाइमा प्रधानमन्त्री स्वयं उपस्थित हुने वा मुख्यसचिवले प्रधानमन्त्रीलाई भेटेर विदाई लिने चलन हो ।’ अहिलेको राजनीतिक नेतृत्वले निजामती प्रशासनको हुर्मत लिन सल्लाहकार पठाइएको ती पूर्वमुख्यसचिवको ठहर छ ।  ‘विगतमा कि त प्रधानमन्त्रीले नै बिदाइ गर्नुहुन्थ्यो कि त मुख्यसचिवले प्रधानमन्त्रीसँग बिदाइ भेट गर्दथे,’ ती पूर्व मुख्यसचिवले भने ।  उनका अनुसार यसपटक दुवै भएन । पछिल्ला मुख्यसचिव एकनारायण अर्याल प्रधानमन्त्रीबाट बिदाइ हुन पाउने भाग्यमानी प्रशासक हुन् । गत मंसिरमा उनको बिदाइ तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन् ।  पूर्वमुख्यसचिवहरू शंकरदास बैरागी, लोकदर्शन रेग्मी, राजेन्द्रकिशोर क्षेत्री र लीलादेवी गड्तौलालगायतका बिदाइ कार्यक्रमहरूमा प्रधानमन्त्री वा सरकारका जिम्मेवार पदाधिकारीहरू नै मुख्य भूमिकामा देखिएका थिए ।  राजनीतिक सल्लाहकारले मुख्य सचिवलाई औपचारिक रूपमा बिदाइ गरेको उदाहरण भने सार्वजनिक रूपमा नदेखिएको घटना भएको पूर्वसचिव युवराज पाण्डेले जानकारी दिए । निजामती सेवामा लामो समय काम गरेका पूर्वसचिव पाण्डेका अनुसार मुख्य सचिव कुनै राजनीतिक पद होइन । उनी सरकार फेरिए पनि निरन्तर रहने राज्य संयन्त्रका प्रतिनिधि हुन् ।  त्यसैले उनको बिदाइलाई पनि राज्यकै तर्फबाट सम्मान प्रकट गर्ने अवसरका रूपमा लिइन्छ । ‘मुख्यसचिव व्यक्तिभन्दा पनि एउटा संस्था हो । त्यसैले बिदाइ कसले ग‍र्‍यो भन्ने विषयले प्रतीकात्मक अर्थ राख्छ,’ पूर्वसचिव पाण्डेले भने । प्रशासनविद् तथा पूर्वसहसचिव भागिरथ पाण्डेका अनुसार यस घटनाले तत्काल कुनै नीतिगत प्रभाव पार्ने सम्भावना छैन । तर यसले राजनीतिक नेतृत्व र स्थायी प्रशासनबीचको सम्बन्धबारे नयाँ बहस भने जन्माएको छ ।  पाण्डेका अनुसार राजनीतिक सल्लाहकार प्रधानमन्त्रीका निकट सहयोगी भए पनि उनी संवैधानिक वा प्रशासनिक पदाधिकारी होइनन् । त्यसैले स्थायी प्रशासनको सर्वोच्च पदाधिकारीको बिदाइमा उनको अग्रभूमिकाले संस्थागत मर्यादाको प्रश्न उठाउन सक्ने देखिन्छ । यद्यपि सरकारले यसलाई अत्यधिक विवादको विषय बनाउन नहुने तर्क गरेको छ । प्रधानमन्त्री व्यस्त भएका बेला उनका प्रतिनिधिका रूपमा राजनीतिक सल्लाहकार सहभागी हुनु अस्वाभाविक नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको भनाइ छ ।  मुख्य कुरा बिदाइको सम्मान र औपचारिकता भएको हो, सहभागी व्यक्ति को थिए भन्ने विषयलाई अनावश्यक रूपमा राजनीतिक रंग दिन नहुने प्रधानमन्त्री कार्यालयको तर्क छ । कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार विगतदेखिकै परम्पराअनुसार मुख्यसचिवको बिदाइ भएको हो । निजामती प्रशासनमा परम्परा र संस्थागत संस्कृतिको विशेष महत्त्व हुन्छ ।  त्यसैले सुमनराज अर्यालको बिदाइलाई भविष्यमा सामान्य घटनाका रूपमा लिइने कि प्रशासनिक अभ्यासमा आएको नयाँ संकेतका रूपमा व्याख्या गरिने भन्ने कुरा आगामी दिनका प्रतिक्रिया र अभ्यासले निर्धारण गर्ने धेरैको बुझाइ रहेको छ ।

असारमा मात्रै ११ प्रतिशत बढी खर्च, एकै दिन ३३ अर्ब १६ करोड खर्च

काठमाडौं । नेपालमा आर्थिक वर्षको अन्तिम समय असारमा आएर विकासे पैसा खर्च गर्ने परम्परालाई राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले पनि निरन्तरता दिएको छ । ३–३ जना अर्थमन्त्रीले बजेट खर्च गर्दा समेत चालु आर्थिक वर्ष २०८२–८३ मा जम्मा ७९.०४ प्रतिशत मात्र बजेट खर्च भएको छ । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँको बजेट ल्याएका थिए । उक्त बजेट पूर्वअर्थ सचिवसमेत रहेका विज्ञ अर्थमन्त्री रामेश्वर खनाल र त्यसपछि अर्थमन्त्री बनेका अर्थविद् डा. स्वर्णिम वाग्लेले समेत कार्यान्वयन गरे । तर पनि कुल बजेट खर्च १२ खर्ब १२ अर्ब ८ करोड ८७ लाख रुपैयाँ मात्र रहेको छ । सरकारले अन्तिम समयमा हुने खर्चको परम्परा कम गर्न आर्थिक वर्ष सकिनुभन्दा एक हप्ता अगाडि बजेट खर्च गर्न नपाइने व्यवस्था गरेको छ । लेखा नियन्त्रकको कार्यालयले बिहीबारबाटै सर्कुलर जारी गरेर बजेट खर्चमा रोक लगाइसकेको छ । आजबाट सरकारी खाता एक हप्ताका लागि बन्द हुनेछ । चालु आर्थिक वर्षमा पुँजीगततर्फ मात्र ४४.५१ प्रतिशत बजेट खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि १ खर्ब ८१ अर्ब ५६ करोड ४१ लाख रुपैयाँ मात्र खर्च गरेको छ । यता चालुतर्फ भने केही बढी खर्च भएको देखिएको छ । चालुतर्फ आर्थिक वर्षमा ८८.३ प्रतिशत बजेट खर्च भएको लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा १० खर्ब ४२ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ ९०.८ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थापनको लक्ष्य ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्षको अन्त्यसम्म ३ खर्ब ४० अर्ब ७२ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ । असारमा मात्रै ११ प्रतिशत खर्च बालेन्द्र साह नेतृत्वको सरकारका अर्थविद् अर्थमन्त्रीले समेत अन्तिम समय अर्थात् असारमा मात्रै ११.१३ प्रतिशत बजेट खर्च गरेका छन् । जेठ मसान्तसम्म कुल बजेटको ६९.५६ प्रतिशत खर्च भएकोमा आर्थिक वर्षको अन्तिम दिनसम्म ७९.०४ प्रतिशत बजेट खर्च भएको छ । यो एक महिनाको अवधिमा मात्र २ खर्ब १८ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बजेट खर्च भएको लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । अन्तिम समयमा हुने पुँजीगत बजेट खर्च हेर्ने हो भने झन् भयावह देखिन्छ । एक महिनामा मात्र करिब २१ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । जेठ मसान्तसम्म पुँजीगत खर्च १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ (२३.५३ प्रतिशत) रहेकोमा एक महिनामै ४८ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ (२०.९८ प्रतिशत) खर्च भएको छ । चालुतर्फ भने केही कम खर्च भएको छ । चालुतर्फ एक महिनामा ११.३९ प्रतिशत बजेट खर्च भएको लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । जेठ मसान्तसम्म चालुतर्फ ९ खर्ब ८ अर्ब २६ करोड ८१ लाख रुपैयाँ (७६.९१ प्रतिशत) खर्च भएकोमा असारमा मात्र १ खर्ब ३४ अर्ब ५८ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । एकै दिन ३३ अर्ब १६ करोड बजेट खर्च सरकारी खाता सञ्चालन हुने अन्तिम दिन मात्रै बजेटको ठूलो रकम खर्च भएको छ । बिहीबार मात्र एकै दिन सरकारी खाताबाट ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । जसमा पुँजीगततर्फ १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ, चालुतर्फ १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ २ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ ।  

गणेश आत्मदाह प्रकरणमा तीन नगर प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले गणेश नेपाली आत्मदाह प्रकरणमा तीन जना काठमाडौं नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ । सोधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । मुगुको सोरु गाउँपालिका– १ निवासी २५ वर्षीय नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए । उनको केहीबेरअघि उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको छ ।   नेपाली ‘राइड सेयरिङ’ मार्फत जीविकोपार्जन गर्दै आएका थिए । उनको बाइकमा नगर प्रहरीले ‘ह्वील लक’ लगाइदिएका थिए ।  प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले भनेका थिए- राज्य असफल भयाे बाइकमा ह्विल लक गरेकै कारण गणेशले आत्मदाहको प्रयास गरेका हुन् ?

हालान्डको नाममै उन्माद

काठमाडौं । विश्व फुटबलका चर्चित स्ट्राइकर अर्लिङ हालान्ड सधैंजसो चर्चाको केन्द्रमा रहने गरेका छन् । तर यसपटक उनको लोकप्रियता नयाँ उचाइमा पुगेको छ । नर्वे आफ्नो इतिहासकै सबैभन्दा ठूलो खेल, विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग भिड्न तयारी गरिरहँदा हालान्डप्रतिको आकर्षण चरम सीमामा पुगेको हो । २५ वर्षीय हालान्डले अहिले सम्पूर्ण राष्ट्रको आशा बोकेका छन् । तर उनी भने यस क्षणको भरपुर आनन्द लिइरहेका देखिन्छन् । उनको लोकप्रियताको स्तर यति धेरै बढेको छ कि त्यसलाई बेवास्ता गर्नै सकिँदैन । ‘आज गर्ने एउटा काम... गुगलमा मेरो नाम खोज्नूहोस्,’ हालान्डले सामाजिक सञ्जालमार्फत लेखेका थिए ।   One thing to do today… search my name on Google 😉 — Erling Haaland (@Erling) July 9, 2026 गुगलमा उनको नाम खोज्दा अहिले चर्चित बनेको ‘भाइकिङ रो’ विशेष प्रभावसहित देखिन्छ, जसमा नर्वेको विश्वकप यात्राको प्रतीक बनेको दमदार ड्रमको ताल पनि समावेश गरिएको छ । २८ वर्षपछि विश्वकपमा स्थान बनाएको नर्वेले प्रतियोगितामा ऐतिहासिक प्रदर्शन गर्दै ब्राजिललाई पराजित गरेपछि हालान्ड राष्ट्रिय नायक बनेका हुन् । फुटबलमा खासै रुचि नराख्ने समर्थकहरू पनि उनको प्रदर्शनबाट प्रभावित भएका छन् । सामाजिक सञ्जालमा हालान्डलाई इंग्ल्यान्डविरुद्ध भाइकिङ सेनाको नेतृत्व गरिरहेको देखाइएका कृत्रिम बौद्धिकता (एआई) बाट बनाइएका भिडियोदेखि उनलाई के–पप  स्टारका रूपमा पुनःकल्पना गरिएका सामग्रीसम्म भाइरल भइरहेका छन् । यसले उनी अहिले विश्वकै सबैभन्दा चिनिने व्यक्तिमध्ये एक बनेको पुष्टि गर्छ। उनका सामाजिक सञ्जालमा करोडौं फलोअर छन् भने ‘हालान्ड’गीत विश्वकपका मीम, हाइलाइट्स र उत्सवका भिडियोहरूमा व्यापक रूपमा प्रयोग भइरहेको छ । नर्वेको प्रशिक्षण शिविर, इन्टर मियामीमा पनि सञ्चारमाध्यमको अभूतपूर्व भीड देखिएको छ । क्यामेरा र पत्रकारहरूको उपस्थितिले हालान्डको लोकप्रियताको स्तर स्पष्ट देखाउँछ । ‘सायद यो अहिलेसम्मकै सबैभन्दा ठूलो पत्रकार सम्मेलन हो,’ मिडफिल्डर मोर्टेन थोस्र्बीले सञ्चारकर्मीहरूको भीडतर्फ हेर्दै भने । ‘मैले यस्तो हुने कल्पना गरेको थिइनँ’ हालान्ड गोल्डेन बुटको दौडमा समेत रहेका छन् । उनले नर्वेसँगको आफ्नो सफलताको यस्तो रूप आउने कल्पना नगरेको स्वीकार गरे । ‘मैले यो बिल्कुलै अपेक्षा गरेको थिइनँ । ब्राजिलसँगको खेलअघि पनि मैले यस्तो सोचेकै थिइनँ,’ उनले भने, ‘विश्वकपमा नर्वेसँग क्वार्टरफाइनलसम्म पुग्नु मेरो लागि पनि निकै आश्चर्यको विषय हो ।’ उनले विश्वकप खेल्न पाउनु आफ्नो करिअरकै ठूलो सपना र सम्मान भएको बताए । ‘विश्वकै उत्कृष्ट टोलीहरूविरुद्ध आफ्ना नर्वेजियन साथीहरूसँग विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा खेल्न पाउनु अत्यन्त विशेष अनुभव हो,’ उनले भने । ‘हालान्ड सेलिब्रिटी होइनन्, प्रेरणा हुन्’ हालान्डका सहकर्मीहरू भने उनको गोलभन्दा बढी उनको सरल स्वभावको प्रशंसा गर्छन् । मिडफिल्डर क्रिस्टियन थोर्स्टभेटका अनुसार हालान्ड उनीहरूका लागि सेलिब्रिटीभन्दा प्रेरणाका स्रोत हुन् । ‘हरेक खेलाडीको आफ्नो जीवनशैली र अभ्यास गर्ने तरिका हुन्छ । हामी एकअर्काबाट व्यावसायिकता सिक्छौं र फुटबलबाहिर मानसिक रूपमा कसरी सन्तुलित रहने भन्ने कुरा पनि बुझ्छौं,’ उनले भने । ‘अर्लिङको आफ्नै शैली छ । उनी यति सफल भइरहेका बेला उनीबाट के सिक्न सकिन्छ भन्ने जान्न हामी सबै उत्सुक हुन्छौं ।’ ‘यो नर्वेका लागि सामान्य होइन’ अन्तिम १६ मा पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएको क्षण नर्वेली समर्थकहरूका लागि अझै अविश्वसनीयजस्तै लागिरहेको छ । त्यस जितले टोलीको आत्मविश्वास पनि निकै बढाएको हालान्ड बताउँछन् । ‘ब्राजिलविरुद्ध खेल्नु नै हाम्रो लागि असाधारण थियो । त्यसपछि ब्राजिललाई हराएर अमेरिकामा विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग खेल्न पाउनु झन् विशेष अनुभव हो,’ उनले भने । ‘यदि तपाईं नर्वेका दृश्यहरू हेर्नुहुन्छ भने यो हाम्रो देशका लागि सामान्य कुरा होइन। यो साँच्चै असाधारण क्षण हो,’ उनले थपे । नर्वेली समर्थकहरूले आफ्नो परीकथाजस्तै विश्वकप यात्राको खुसी न्यूयोर्कको टाइम्स स्क्वायरदेखि बोस्टनका एस्केलेटरसम्म ‘भाइकिङ रो’ प्रदर्शन गरेर मनाइरहेका छन् । हालान्ड स्वयं पनि यस माहोलको खुलेर आनन्द लिइरहेका छन् । ‘ठट्टा–मजाक गर्न सक्नु महत्त्वपूर्ण हुन्छ । मलाई रमाइलो गर्न मन पर्छ । दैनिक जीवनमा खुसी रहन, राम्रो प्रशिक्षण गर्न र उत्कृष्ट तयारी गर्न यही मेरो मन्त्र हो,’ उनले भने । ‘हामी अहिले विश्वकप खेलिरहेका छौं । त्यसैले यो क्षणलाई भरपुर आनन्द लिनुपर्छ, किनकि कुनै पनि कुरा सधैं रहँदैन । यहाँ रहुञ्जेल यसलाई मनभरि बाँच्नुपर्छ,’ उनले थपे ।  अन्य सान्दर्भिक सामग्रीहरू : ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती  यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]  विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान  मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेखे

त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको मृत्यु

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ । वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको केही बेरअघि निधन भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले विकासन्युजलाई जानकारी दिए । मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय बिहीबार (असार २५ गते) नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका थिए । घटनालगत्तै प्रहरीले उनको उद्धार गरी वीर अस्पताल पुर्याएको थियो । उनी राइड सेयरिङको काम गर्दै आएका थिए । प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले भनेका थिए- राज्य असफल भयाे बाइकमा ह्विल लक गरेकै कारण गणेशले आत्मदाहको प्रयास गरेका हुन् ?

काठमाडौंमा गुडिरहेको गाडीबाट सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको माकलबारीस्थित सडकमा गुडिरहेको गाडीमा अचानक अक्सिजन सिलिन्डर र अग्नि नियन्त्रक उपकरण (फायर एक्सटिंगजिगर) विष्फोट हुँदा पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार (आज)  बिहान करिब १०: २० बजेको समयमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको बा.प्र. ०६- ००१ झ ००१७ नम्बरको गाडीमा दुर्घटना हुँदा ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो ।  दुर्घटनामा परेर बाग्लुङ घर भएका माकलबारी थापाको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी पुष्टि गरे । प्रहरीका अनुसार काभ्रेको पनौतीस्थित नवज्योती अक्सिजनबाट अक्सिजन सिलिन्डर र अग्नि नियन्त्रक उपकरण लोड गरी सिन्धुपाल्चोक लैजाने क्रममा सो दुर्घटना भएको थियो । नेपाल मेडिकल कलेज पछाडि रहेको पञ्चकुमारी फार्मेसीबाट थप औषधी लोड गरी पाँचपोखरी प्राथमिक अस्पतालतर्फ जान लागेको उक्त गाडीमा रहेका दुई वटा फायर एक्स्टिङ्विसर र एउटा सानो अक्सिजन सिलिन्डर पड्किएका थिए । भट्टराईका अनुसार विष्फोटबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्कालै नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो । अस्पताल पुर्‍याउन साथ बिहान १०: ४६ मा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।  चालक सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका- ४ का ४२ वर्षीय कृष्ण अधिकारी हुन् । प्रहरीको सम्पर्कमा रहेका भट्टराईले बताए । सवारी साधन घटनास्थलमै रहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

१० निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । सरकारले १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २५ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१०) बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्नेहरूमध्ये नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहको निर्माण कम्पनी ‘महादेव खिम्ती निर्माण सेवा प्रा.लि.’ लाई ३ वर्षका लागि प्रतिबन्ध लगाइएको छ । सिंहको सोही कम्पनी र सुमित रौनियारको ‘पप्पु कन्स्ट्रक्सन प्रा.लि.’ मिलेर बनेको ‘पप्पु–महादेव जेभी’ लाई पनि हुलाकी राजमार्ग निर्देशनालय, इटहरीको सिफारिसमा ३ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। त्यसैगरी, इटहरी कार्यालयकै सिफारिसमा सुभाष श्रेष्ठको ‘श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (हेटौँडा) प्रा.लि.’ लाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ । बाजुराको त्रिवेणी नगरपालिकाले पठाएको पत्रका आधारमा ताराप्रसाद पुडासैनीको ‘ग्लोबल ड्रग्स सप्लायर्स (धनगढी)’ लाई १ वर्षका लागि कालोसूचीमा सूचीकृत गरिएको छ । अन्य कालोसूचीमा परेका कम्पनीहरूमा दीपेन्द्रबहादुर शाहीको ‘भारत–सिद्धसाई जेभी’ लाई १ वर्ष ६ महिनाका लागि, कमला अधिकारी शर्माको ‘लुम्बिनी मोटर्स एण्ड पम्प इन्डस्ट्रिज’ लाई १ वर्षका लागि, रनवीर नेपालीको ‘हीरा नेपाली निर्माण सेवा (जुम्ला)’ लाई २ वर्षका लागि, रोशन राईको ‘मयुमी कन्स्ट्रक्सन’ लाई १ वर्षका लागि र रवि श्रेष्ठको ‘शुभम् निर्माण सेवा (गोरखा)’ लाई २ वर्षका लागि प्रतिबन्ध लगाइएको छ । कालोसूचीमा परेका यी कम्पनीहरूले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद वा निर्माण प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।