काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले सडक पूर्वाधारमा ठूलो भौतिक क्षति पुर्याएको छ । बुधबार बिहान आएको बाढीका कारण नदी कोरिडोर तथा आसपासका क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
सडक विभागको प्रारम्भिक विवरण अनुसार बाढीले नदी तटीय क्षेत्रमा रहेका कम्तीमा ४० किलोमिटर सडक र १९ वटा पुलहरूमा क्षति पुर्याएको छ । विशेष गरी गल्छी-मैलुङ-रसुवागढी सडक खण्डका विभिन्न ठाउँमा कटान गर्नुका साथै कयौं किलोमिटर सडक पूर्ण रूपमा बगाएको छ ।
यस्तै, भोटेकोशी र त्रिशूली नदी माथि निर्माण गरिएका दर्जनभन्दा बढी पुलहरू बाढीले बगाएको छ भने अन्य कैयौं पुलहरूमा आंशिक क्षति पुगेको छ । क्षतिको अन्तिम र पूर्ण विवरण सङ्कलन भइरहेको विभागले जनाएको छ ।
बाढीका कारण सडक र पुल तहसनहस भएपछि सो क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन र पहिरो पन्छाउनका लागि सडक विभागले प्रभावित क्षेत्रमा ठूला तथा हेभी मेसिनरी उपकरणहरू तीव्र रूपमा परिचालन गरेको छ ।
संवेदनशील मानिएका स्थानहरूमा प्राविधिक टोलीसहित आवश्यक जनशक्ति र उपकरण तैनाथ गरी मर्मत तथा बाटो खुलाउने काम द्रुत गतिमा सुरु गरिएको छ ।