बाढीपछि कांग्रेसका पूर्वनिर्धारित कार्यक्रम स्थगित, उद्धार र राहतमा जुट्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी त्रिशूली बाढीबाट ठूलो जनधनको क्षति भएपछि पार्टीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्दै उद्धार तथा राहतमा केन्द्रित हुने निर्णय गरेको छ ।

बाढीबाट विभिन्न क्षेत्रमा जनधनको क्षति भएको विवरण आएपछि कांग्रेसले बुधबार केन्द्रीय कार्यालय सानेपामा आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । 

बैठकमा सभापति गगन थापाले केही दिनका लागि पार्टीका सबै राजनीतिक तथा सांगठनिक कार्यक्रम स्थगित गरी विपद् व्यवस्थापन, उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् ।

सभापति थापाले बाढीबाट ठूलो क्षति भएको भए पनि क्षतिको विस्तृत विवरण अझै प्राप्त भइनसकेको बैठकलाई जानकारी गराए । 

विपद्को समयमा राजनीतिक दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको भन्दै उनले सरकारलाई आवश्यक सहयोग गर्न पार्टी तयार रहेको बताए ।

‘यसबेला हामी सबै राजनीतिक दल एकजुट हुनुपर्छ । सरकारलाई नै यो बेला सबैले सहयोग गर्नुपर्छ,’ थापाले भने, ‘घटनापछि संसदीय दलका नेता, रसुवाका सांसदलगायतले सरकारले बोलाएको बैठकमा पुगेर सरकारलाई सम्पूर्ण रूपमा साथ र सहयोग रहने कुरा बताइसक्नुभएको छ ।’

कांग्रेसले स्थानीय जनप्रतिनिधि, प्रभावित क्षेत्रका पार्टी नेता–कार्यकर्ता तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।

सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई आफू सुरक्षित रहँदै उद्धार तथा राहतका काममा परिचालन हुन निर्देशन दिएका छन् ।

‘जसले जहाँ जे सक्छ, त्यहीँबाट समन्वय गर्ने, उद्धार र राहतमा खटिन साथीहरूलाई भनेका छौं,’ थापाले भने ।
 

Share News