विकासन्युज

कुवेती दिनार ५०३ रुपैयाँ, यस्तो छ सोमबारको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा कायम गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७९ पैसा तोकिएको छ। राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ६२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ। त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ १२ पैसा र बिक्रीदर ४१ रुपैयाँ २८ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा रहेको छ। केन्द्रीय बैंकले थाई भाट एकको खरिददर ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४ रुपैयाँ ६३ पैसा तोकेको छ। युएई दिराम एकको खरिददर ४२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २२ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा कायम गरिएको छ। दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११ रुपैयाँ ५७ पैसा रहेको छ। स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५ रुपैयाँ ५१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १५ पैसा र बिक्रीदर २३ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ। यस्तै, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा कायम गरिएको छ। बहराइन दिनार एकको खरिददर ४०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४१० रुपैयाँ ६४ पैसा रहेको छ। ओमनी रियाल एकको खरिददर ४०१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ८० पैसा तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछन्। अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ। 

विश्वासको शिर कहिल्यै झुक्ने छैन: डा. चन्द्रकान्त भण्डारी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् । उनले आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन् । ‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ उनले भने, ‘सधैँ म होइन, हामी र हाम्रो भन्ने भावनाका साथ अघि बढ्नेछु ।’ भण्डारीले आफ्नो निर्वाचनमा साथ र समर्थन दिने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनी ३ हजार ७ सय ३५ मत प्राप्त गर्दै कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका हुन्।

हिम पर्वत हाइड्रोले कात्तिक ११ गतेदेखि आईपीओ बिक्री खुला

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत अर्थात् १६ करोड ९० लाख रुपैयाँ बराबरको १६ लाख ९० हजार कित्ता सेयर छुट्याएको छ । यसमध्ये ६० प्रतिशत अर्थात् १० लाख १४ हजार कित्ता सेयरअति प्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिका-५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका-२, ३ र ४ का स्थानीय र बाँकी ४० प्रतिशत अर्थात् ६ लाख ७६ हजार कित्ता सेयर बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन दिने अवधि छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गतेसम्म तोकिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी बैंक र मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

जनकपुर चुरोट कारखानासँगको बाँकी हिसाब मिलाउन २१ दिनको ताकेता

काठमाडौं । जनकपुर चुरोट कारखाना लिमिटेडले आफूसँग लेनदेन, कारोबार वा अन्य दायित्व बाँकी रहेका व्यक्ति तथा संस्थालाई प्रमाणसहित दाबी पेस गर्न आग्रह गरेको छ । कारखानाले सार्वजनिक सूचना जारी गर्दै दायित्वसम्बन्धी दाबी पेस गर्न २१ दिनको समय दिएको हो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कारखानाले सम्पत्ति तथा दायित्व मूल्याङ्कनसम्बन्धी काम सम्पन्न भएपछि दाबी पेस गर्न आह्वान गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार कारखानामा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले सम्पत्ति तथा दायित्व मूल्याङ्कनसम्बन्धी कार्य सम्पन्न गरेको सूचनामा उल्लेख छ । कारखानासँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाले आफ्नो लेनदेन, कारोबार र बाँकी दायित्वसम्बन्धी विवरण प्रमाणसहित पेस गर्नुपर्नेछ । अदालत वा अन्य निकायबाट भएका फैसला तथा निर्णयअनुसार लिनुपर्ने वा दिनुपर्ने रकम, जग्गा रोक्का, बीमा, कर्मचारीका सेवा-सुविधालगायत विषयमा कुनै दाबी भएमा सम्बन्धित व्यक्ति वा संस्थाले तोकिएको समयभित्र सम्पर्क गर्नुपर्नेछ । त्यस्तै, कारखानालाई तिर्न वा बुझाउन बाँकी बक्यौता तथा अन्य दायित्व रहेका व्यक्ति वा संस्थाले पनि प्रमाणसहित विवरण पेस गर्नुपर्नेछ । कारखानाले तोकिएको २१ दिनभित्र कुनै दाबी प्राप्त नभएमा प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने जनाएको छ । त्यसपछि कारखानामाथि कुनै दाबी गर्न नपाइने व्यहोरासमेत सूचनामा उल्लेख छ । दाबी पेस गर्न चाहने व्यक्ति तथा संस्थाले जनकपुर चुरोट कारखाना लिमिटेडको उद्योग स्थल, जनकपुर, धनुषामा सम्पर्क गर्न सक्नेछन् ।

कांग्रेसमा लोकतन्त्रवादी र जेनजी पुस्तालाई जोड्छौँ: मधु आचार्य

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति पदमा विजयी मधु आचार्यले पार्टीबाहिर रहेका लोकतन्त्रवादी र जेनजी पुस्तालाई कांग्रेससँग जोड्ने पहल गर्ने बताएका छन् । पार्टीको रूपान्तरणसँगै नयाँ पुस्ता र लोकतन्त्रमा विश्वास राख्ने नागरिकका एजेन्डामा सहकार्य गर्नु आफ्नो जिम्मेवारी भएको उनले बताए । महाधिवेशनबाट विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै आचार्यले पार्टीभित्र आफूहरूले उठाउँदै आएको परिवर्तन र रूपान्तरणको आवाजलाई महाधिवेशन प्रतिनिधिहरूले अनुमोदन गरेको बताए । आफूहरूले अघि सारेका एजेन्डामा काम गर्न र प्रतिबद्धता पूरा गर्न प्रतिनिधिहरूले थप जिम्मेवार बनाएको उनको भनाइ थियो । पार्टीका नेता, कार्यकर्ता र जनताबाट प्राप्त भरोसालाई परिणाममा बदल्न अझ बढी मेहनत र ऊर्जाका साथ काम गर्नुपर्ने आचार्यले उल्लेख गरे । महाधिवेशनबाट प्राप्त जिम्मेवारीले पार्टीलाई रूपान्तरण गर्न आफूहरू थप सक्रिय हुनुपर्ने दायित्व बढाएको उनले बताए । आचार्यका अनुसार कांग्रेसको रूपान्तरण पार्टीभित्रको संरचना र कार्यशैलीमा परिवर्तन ल्याउने विषयमा मात्र सीमित हुनु हुँदैन । पार्टीबाहिर रहेका लोकतन्त्रवादी नागरिकलाई पनि कांग्रेससँग जोडेर लोकतान्त्रिक विचारमा विश्वास राख्ने व्यापक जनमतलाई एकताबद्ध गर्न आवश्यक छ । ‘लोकतन्त्रमा विश्वास राख्ने तर कुनै पनि पार्टीमा आबद्ध नभएका ठूलो जनमतलाई कांग्रेससँग जोड्नुपर्छ,’ भन्ने उनको धारणा छ । कांग्रेसले त्यस्ता नागरिकका विचार र अपेक्षालाई समेट्दै अघि बढ्नुपर्ने उनले बताए । मुलुकको परिवर्तनका लागि विभिन्न एजेन्डासहित अघि आएको जेनजी पुस्ताका अपेक्षा पूरा हुन नसकेको उल्लेख गर्दै उनले एजेन्डामा सहकार्य गर्नुपर्ने बताए ।

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिपूर्वक घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । आज दोस्रो दिन ब्रह्मचारिणी देवीको आह्वान गरी पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यही मान्यताअनुसार वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेपछि प्रसादस्वरूप जमरा र टीका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ । संसारका समग्र प्राणीलाई सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउन निरन्तर साधनामा लागिरहने देवीका रूपमा नवदुर्गामध्येकी दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको धार्मिक मान्यता छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

अर्बपतिको राजनीतिक उडान

काठमाडौं । एउटा चाउचाउको ब्रान्डले घरघरमा चिनाएको नाम । उद्योग, बैंकिङ र होटल व्यवसायमा फैलिएको व्यावसायिक साम्राज्य । फोर्ब्सको अर्बपति सूचीमा सूचीकृत नेपाली उद्यमी । अब त्यही नाम नेपाली कांग्रेसको उपसभापतिको जिम्मेवारीमा पुगेको छ । विनोदकुमार चौधरीको परिचय यतिमै सीमित छैन । उनी व्यवसायी, उद्योग क्षेत्रका संस्थागत नेतृत्वकर्ता, संविधानसभा सदस्य, सांसद र राजनीतिज्ञ हुन् । व्यापारबाट आर्थिक शक्ति आर्जन गरेका चौधरीले त्यसलाई राजनीतिक यात्रासँग पनि जोडेका छन् । कांग्रेसको उपसभापतिमा उनको निर्वाचित यात्राले यही बहुआयामिक परिचयलाई फेरि चर्चामा ल्याएको छ । १ हजार ७४५ मतसहित उपसभापति नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चौधरी समावेशी समूहबाट उपसभापति पदका उम्मेदवार बनेका थिए । अन्तिम मतपरिणामअनुसार उनले १ हजार ७४५ मत प्राप्त गर्दै उक्त पद जिते । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाए । त्यस्तै, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे । पाँच उम्मेदवारबीचको प्रतिस्पर्धामा चौधरीले परियारलाई ८७ मतले पछि पारे । उद्योग–व्यवसायमा स्थापित उनको परिचय अब कांग्रेसको संगठनात्मक नेतृत्वसँग जोडिएको छ । पारिवारिक व्यवसायदेखि अन्तर्राष्ट्रिय बजारसम्म वि.सं. २०१२ साल चैत ३१ गते काठमाडौंमा जन्मिएका चौधरी चौधरी ग्रुपका अध्यक्ष हुन् । उनले पारिवारिक व्यवसायलाई विस्तार गर्दै विभिन्न क्षेत्रमा फैलिएको व्यावसायिक समूहका रूपमा विकास गरेका छन् । वाइवाई चाउचाउ उनको व्यावसायिक पहिचानको प्रमुख आधार हो । नेपालमा लोकप्रिय बनेको यो ब्रान्डले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति विस्तार गरेको छ । खाद्य उद्योगसँगै चौधरी ग्रुप बैंकिङ, होटल तथा आतिथ्य सेवा, रियल इस्टेट, सिमेन्ट, ऊर्जा र अन्य क्षेत्रमा पनि संलग्न छ । चौधरीको व्यावसायिक सफलताले उनलाई नेपालका चर्चित उद्योगपतिमध्ये स्थापित गरेको छ । सन् २०१३ मा अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले उनलाई अर्बपतिको सूचीमा समावेश गरेको थियो । उनी फोर्ब्सको अर्बपति सूचीमा सूचीकृत हुने पहिलो नेपाली बने । उनको व्यावसायिक यात्रा उत्पादन र व्यापारमा मात्र सीमित छैन । नेपालमा निजी क्षेत्रको विस्तार, लगानी र औद्योगिक विकाससम्बन्धी बहसमा पनि उनको संलग्नता रहँदै आएको छ । उद्योग क्षेत्रको नेतृत्व चौधरीले आफ्नो व्यावसायिक अनुभवलाई उद्योग क्षेत्रका संस्थागत गतिविधिमा पनि उपयोग गरे । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् भने नेपाल उद्योग परिसंघका संस्थापक अध्यक्षका रूपमा पनि परिचित छन् । निजी क्षेत्रको लगानी विस्तार, उद्यमशीलता प्रवर्द्धन र औद्योगिक विकाससँग सम्बन्धित मुद्दामा उनको भूमिका रहँदै आएको छ । व्यावसायिक क्षेत्रमा स्थापित पहिचानले उनलाई राजनीतिक वृत्तमा पनि छुट्टै परिचय दिएको छ । एमालेबाट राजनीतिक यात्रा सुरु चौधरीको राजनीतिक यात्रा नेकपा एमालेबाट सुरु भएको थियो । वि.सं. २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी एमालेबाट समानुपातिकतर्फ सभासद् बने । त्यसबेला उनी उद्योग–व्यवसायसँगै संसदीय राजनीतिमा पनि प्रवेश गरेका थिए । वि.सं. २०७४ सालमा उनी नेपाली कांग्रेसमा प्रवेश गरे । सोही वर्षको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सांसद बने । यसरी उनको राजनीतिक यात्रा एमालेबाट सुरु भएर कांग्रेसको संसदीय तथा संगठनात्मक राजनीतिसम्म आइपुग्यो । वि.सं. २०७८ सालमा भएको कांग्रेसको १४औँ महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय सदस्य बने । त्यसपछि पार्टीका गतिविधिमा संलग्न रहँदै आएका चौधरीले वि.सं. २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचनको प्रतिस्पर्धा गरे । नवलपरासीबाट संसद्सम्म वि.सं. २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरी नेपाली कांग्रेसका तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ मा उम्मेदवार बने । उनले २९ हजार ४९५ मत प्राप्त गर्दै जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पराजित गरे । त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका थिए । चौधरी ७ हजार १८७ मतको अन्तरले निर्वाचित भएका थिए । समानुपातिक निर्वाचन प्रणालीबाट संसद् प्रवेश गरेका उनी त्यसपछि प्रत्यक्ष निर्वाचन जितेर प्रतिनिधिसभामा पुगे । यसले उनको राजनीतिक यात्रामा अर्को चरण थप्यो । तर, उनको संसदीय यात्रा सधैँ सहज रहेन । वि.सं. २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी-१ बाटै उम्मेदवार बनेका चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनालसँग पराजित भए । खनालले ४५ हजार २४१ मत प्राप्त गर्दा चौधरीले ९ हजार ५०२ मत पाए । निर्वाचनमा पराजय भोगे पनि चौधरी पार्टी राजनीतिबाट बाहिरिएनन् । कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै उनले उपसभापति पदमा प्रतिस्पर्धा गरे र अन्ततः निर्वाचित भए । व्यवसायीबाट पार्टीको नेतृत्वमा चौधरीको राजनीतिक यात्रालाई हेर्दा उनले संसदीय प्रतिनिधित्व र पार्टी संगठन दुवैमा भूमिका निर्वाह गरेको देखिन्छ । एमालेबाट समानुपातिक सभासद् बनेका उनी कांग्रेसमा प्रवेश गरेपछि समानुपातिक सांसद, प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य र केन्द्रीय सदस्य बने । अहिले उनी उपसभापति भएका छन् । उनको व्यावसायिक पृष्ठभूमि राजनीतिक क्षेत्रमा चर्चाको विषय बन्ने गरेको छ । निजी क्षेत्रको लगानी, रोजगारी सिर्जना, औद्योगिक उत्पादन र आर्थिक विकाससम्बन्धी अनुभवलाई राजनीतिक नीतिनिर्माणमा उपयोग गर्न सकिने सम्भावना छ । तर त्यसको प्रभावकारिता उनले पार्टीभित्र र सार्वजनिक नीतिमा निर्वाह गर्ने भूमिकाबाट मापन हुनेछ । व्यवसायमा हासिल गरेको सफलता आफैमा राजनीतिक सफलताको सुनिश्चितता होइन । त्यस्तै, निर्वाचनमा पराजित हुनु पनि पार्टीभित्रको संगठनात्मक भूमिका समाप्त हुनु होइन । चौधरीको पछिल्लो यात्राले यी दुई फरक क्षेत्रबीचको सम्बन्धलाई देखाउँछ । अबको परीक्षा कांग्रेसको उपसभापति बनेपछि चौधरीका अगाडि पार्टी संगठनमा भूमिका निर्वाह गर्ने, आर्थिक तथा औद्योगिक मुद्दालाई राजनीतिक बहसमा उठाउने र निजी क्षेत्र तथा राज्यबीचको सम्बन्धलाई नीतिगत तहमा कसरी अघि बढाउने भन्ने प्रश्न छन् । उनको अनुभवले आर्थिक विकास, लगानीमैत्री वातावरण, रोजगारी र उद्यमशीलतासम्बन्धी बहसमा योगदान दिन सक्ने सम्भावना छ । तर त्यसलाई व्यवहारमा उतार्न पार्टीको सामूहिक नेतृत्व, नीतिगत स्पष्टता र सार्वजनिक जवाफदेहितासँग जोडिन आवश्यक हुन्छ । वाइवाईको ब्रान्डबाट अन्तर्राष्ट्रिय व्यावसायिक पहिचान बनाएका चौधरी अब कांग्रेसको नेतृत्व तहमा पुगेका छन् । उद्योगपतिको पहिचानबाट राजनीतिमा प्रवेश गरेका उनको यात्राले नयाँ जिम्मेवारी पाएको छ । अब उनको भूमिका व्यवसायमा हासिल गरेको सफलताको चर्चा मात्र होइन, पार्टी संगठन र सार्वजनिक नीतिमा उनले पुर्‍याउने योगदानबाट पनि मूल्यांकन हुनेछ ।

उपसभापतिमा चन्द्रकान्त र मधु आचार्य विजयी, महामन्त्री बने प्रदीप, उदय र डिला

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीको मतगणनामा उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन् ।  त्यस्तै, महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् । उपसभापति खुलातर्फ भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दा आचार्यले २ हजार ३४२ मत पाए । उक्त पदका उम्मेदवार गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे । उपसभापतिको समावेशी एक पदमा विनोदकुमार चौधरी विजयी भएका छन् । उनले १ हजार ७४५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाए । महामन्त्री खुलातर्फ प्रदीप पौडेल सर्वाधिक ४ हजार १९४ मतसहित विजयी भए । अर्का विजयी उम्मेदवार उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गरे ।  डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, अमरसिंह पुन मगरले १ हजार १२५, नैनसिंह महरले १ हजार १३४, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे । महामन्त्री महिलातर्फ डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन् । उनले ३ हजार ११८ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरिन् । यससँगै सार्वजनिक मत परिणामअनुसार उपसभापति खुला, उपसभापति समावेशी, महामन्त्री खुला र महामन्त्री महिलातर्फका विजेताको टुंगो लागेको छ ।