नेपाली सेनाले रातभर जारी राख्नेछ उद्धार र खोज, बिहीबार बिहान टिमुरेबाट हवाई उद्धार गरिने
काठमाडौं । नेपाली सेनाले बुधबार रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको छ । बाढीबाट प्रभावितहरुको सङ्ख्या अत्यधिक भएको र उद्धारका लागि चौतर्फी अपिल भइरहेको सन्दर्भमा नेपाली सेनाले उद्धार तथा खोज कार्यलाई रातभर जारी राख्ने भएको हो । आज रातभर ११ एक्स टिमबाट जमिनबाटै उद्धार जारी रहने छ । साथै भोलि बिहान टिमुरे माथि रहेको ठूलो संख्यालाई हवाई उद्धार गरिनेछ भने विभिन्न टनेलमा अड्किएका व्यक्तिहरुको उद्धारको प्रयास पनि जारी रहने छ । नेपाली सेनाले उद्धारका लागि थप समन्वय साथ हवाई साधनहरुको असरदार परिचालन, राहत सामग्री वितरण, मित्रराष्ट्रहरुबाट प्राप्त हुन आउने राहत सामग्रीको ढुवानीलाई सहयोग, जमिनमा थप फौज तैनाथ साथ विस्तृतमा खोज तथा उद्धार गर्नुका साथै अन्य सुरक्षा निकाय, सरोकारवाला संस्थाहरु तथा जनमानससँगको समन्वयमा लक्षित वर्गको उद्धार जारी राख्नेछ । आज दिनभर एक हजार १६९७ परिचालन गरिएको थियो भने थप तयारीका लागि ६५६ जना फौज तयारी अवस्थामा राखिएको छ । सेनाका अनुसार आज दिनभर उद्धार, खोज तथा राहतका कार्यक्रममा ६ वटा सैनिक हेलिकप्टरबाट ९४ जनाको उद्धार तथा ५ वटा गैरसैनिक हेलिकप्टरबाट १२ जनाको उद्धार गरिएको छ । साथै जमिनबाट २७ जनाको उद्धार गरिएको छ । आज ८०० केजी टेन्ट, २०० केजी मेडिकल सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ भने उद्धारका लागि खटिएका हेलिकप्टरहरुबाट खाना तथा पानी उपलब्ध गराई राखिएको थियो ।
नर्भिक अस्पताल पुगेर अर्थमन्त्रीले लिए घाइते र उद्धार गरिएकाको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका क्रममा उद्धार गरिएका घाइतेहरूको काठमाडौंस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अस्पतालमा रसुवागढी भन्सार कार्यालयका नायब सुब्बाद्वय धर्मराज शाही र तिलक पराजुलीको सघन उपचार जारी छ । यसैगरी, उनीहरूसँगै उद्धार गरी ल्याइएका जलविद्युत् आयोजना (हाइड्रोपावर) का कर्मचारी धनबहादुर थापा मगर पनि सोही अस्पतालमा उपचाररत छन् । यसैबिच, अर्थमन्त्रीले नर्भिक अस्पताल पुगेर उपचाररत नासुद्वय शाही र पराजुलीका साथै हाइड्रोपावरका कर्मचारी थापा मगरलाई भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भेटका क्रममा अर्थमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।
नाडा अटो शोमा नयाँ नामी बक्स ई२ सार्वजनिक, सुरुवाती मूल्य २९ लाख ९९ हजार
काठमाडौं । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ का अवसरमा नयाँ विद्युतीय कार नामी बक्स ई२ को बिक्री तथा बुकिङ सुरु गरेको छ । कम्पनीले बक्स ई२ ३३० र बक्स ई२ ४३० गरी दुई भेरियन्टमा यो कार बजारमा ल्याएको हो । नाडा अटो शोको अवधिभरका लागि बक्स ई२ ३३० को विशेष मूल्य २९ लाख ९९ हजार र बक्स ई२ ४३० को मूल्य ३१.९९ लाख रुपैयाँ कायम गरिएको छ । प्रदर्शनीपछि यी भेरियन्टको मूल्य क्रमशः ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँ हुनेछ भने सिल्भर तथा डुअल–टोन रङका लागि थप ५० हजार रुपैयाँ लाग्नेछ । सन् २०२४ मा नेपाली बजारमा प्रवेश गरेको नामी बक्सले आफ्नो आकर्षक डिजाइन, फराकिलो क्याबिन र व्यावहारिक रेन्जका कारण राम्रो पहिचान बनाएको थियो । सोही सफलतालाई निरन्तरता दिँदै परिमार्जित फिचरसहित ल्याइएको नयाँ बक्स ई२ ले युवा, सहरी प्रयोगकर्ता र पहिलो कार खोजिरहेका परिवारलाई लक्षित गरेको छ । नयाँ संस्करणमा अघिल्लो मोडलका लेभल २ एडास, अटोमेटिक पार्किङ र एम्बियन्ट लाइटिङ हटाइए पनि डार्क मोड, इन–बिल्ट कारप्ले र सुरक्षाका लागि ६ वटा एयरब्याग समावेश गरिएको छ । रेन्जका हिसाबले बक्स ई२ ३३० ले २३७ किलोमिटर र बक्स ई२ ४३० ले ३१७ किलोमिटर (डब्लुएलटीपी) रेन्ज प्रदान गर्छन्, जसले ग्राहकलाई आवश्यकता अनुसार रोज्ने सुविधा दिएको छ । हाल नेपालका सडकमा २ हजार भन्दा बढी नामीका विद्युतीय गाडी सञ्चालनमा रहेका छन् । इच्छुक ग्राहकले भदौ ९ गतेदेखि जारी नाडा अटो शोको स्टल नम्बर ए६ र ए७ मा गई नयाँ नामी बक्स ई२ को अवलोकन, अनुभव र बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।
१० टन राहत र औषधिसहित भारतीय वायुसेनाको जहाज काठमाडौं आउँदै
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूका लागि उद्धार तथा राहत सामग्री बोकेर भारतीय वायुसेनाको विशेष जहाज काठमाडौं आउने भएको छ । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले १० टन बराबरको राहत र अत्यावश्यक औषधिजन्य सामग्री काठमाडौं पठाइएको जानकारी दिएका हुन् । सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराउँदै विदेशमन्त्री जयशंकरले नेपालको बाढीप्रभावित क्षेत्रका लागि मानवीय सहायता सामग्री परिचालन गरिएको बताएका छन् । विपद्को यस कठिन घडीमा भारत सरकार र भारतीय जनता नेपाल तथा नेपाली नागरिकहरूको साथमा रहेको समेत उनले पुनः दोहोर्याएका छन् । बुधबार बिहान भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म कम्तीमा ९५ जनाको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा नागरिकहरू प्रभावित बनेका छन् ।
भोटेकोशी बाढीले उत्पादन र प्रसारण ध्वस्त, मन्त्री श्रेष्ठ भन्छन्- 'आगामी दिन थप चुनौतीपूर्ण छ'
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ । बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि विद्युत् आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताए । मन्त्री श्रेष्ठकाअनुसार हालसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न प्राधिकरण सफल भए पनि बाढीबाट भएको ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई तीव्र बनाइएको छ । प्रारम्भिक विवरणअनुसार बाढीका कारण ४३१.१ मेगावाट क्षमताका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भई विद्युत् प्रणालीबाट बाहिरिएका छन् । त्यस्तै, निर्माणाधीन १५ वटा जलविद्युत् आयोजनामा कुल ४७० मेगावाट क्षमतामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्री श्रेष्ठले जानकारी दिए । प्रसारणतर्फ त्रिशूली २२० केभी ३ बी हब सबस्टेशन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । विभिन्न १३२, ६६ तथा २२० केभी प्रसारण लाइन र टावरमा समेत क्षति पुगेको छ । भीषण बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ भने नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको छ । मन्त्री श्रेष्ठका अनुसार विभिन्न विद्युत् आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा मजदूर सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ । उद्धार तथा विद्युत् सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका १५ वटाभन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । थप उद्धार तथा प्राविधिक टोलीसमेत प्रभावित क्षेत्रमा खटाइएको मन्त्री श्रेष्ठले बताए । वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने, क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना गर्ने र सम्पर्कविहीन कर्मचारी तथा मजदूरको खोजी तथा उद्धार गर्ने काम स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँगको समन्वयमा भइरहेको छ । मन्त्री श्रेष्ठले अहिले मानवीय सुरक्षा, खोज तथा उद्धार र अत्यावश्यक विद्युत् सेवा पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । क्षतिको विस्तृत विवरण संकलन तथा प्राविधिक मूल्यांकनको कामसमेत भइरहेको उनले जानकारी दिए । ‘अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएका छौं । तर, यति ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ,’ मन्त्री श्रेष्ठले भने ।
बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले तिब्बततर्फबाट भोटेकोशी हुँदै रसुवा क्षेत्रमा आएको भीषण बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले बाढीको जोखिम अझै कायम रहेकाले अनावश्यक जोखिम नलिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेका छन् । उनले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका तथा जोखिममा रहेका व्यक्तिहरूको सुरक्षामा परिवार र समुदायले विशेष ध्यान दिनुपर्ने बताए । खोज तथा उद्धार वा अन्य कुनै प्रकारको सहायता आवश्यक परे सम्बन्धित निकायको टोल फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न संघले आग्रह गरेको छ । अध्यक्ष मोक्तानले विपद्को यस कठिन परिस्थितिमा राज्यका सुरक्षा निकाय, स्थानीय प्रशासन तथा उद्धार टोलीलाई तत्काल परिचालन गरी जोखिममा रहेका नागरिकको शीघ्र उद्धार, राहत तथा आवश्यक सहयोगलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरे । उनले बाढी प्रभावित सम्पूर्ण नेपालीको सुरक्षा तथा कल्याणप्रति ऐक्यबद्धता जनाउँदै सबैलाई संयमित, सुरक्षित र उच्च सतर्कताका साथ रहन आग्रह गरे ।
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षति, उद्धार र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक भोलि (बिहीबार) बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ । बैठकमा भोटेकोशी बाढीले पुर्याएको क्षति, बेपत्ताहरूको खोजी, प्रभावितहरूको तत्काल उद्धार, राहत सामग्री वितरण र दीर्घकालीन पुनस्र्थापनाका विषयमा केन्द्रित रहेर राजनीतिक दलहरूबिच छलफल हुनेछ ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, विभिन्न जिल्लामा फेला परे शव
काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ । बाढीपछि विभिन्‍न जिल्लाका नदी किनारमा प्रहरी तथा उद्धार टोलीले खोजतलास गर्दा हालसम्म २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ जना बालक र पहिचान नखुलेका २० जना गरी कुल ९५ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । प्रहरीको अद्यावधिक तथ्याङ्क अनुसार बाढीको बहावले बगाएर ल्याएका शवहरू विभिन्‍न जिल्लामा भेटिएका छन् । जसमध्ये रसुवामा १ पुरुष, नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जना तथा धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जना गरी १८ जनाको शव फेला परेको छ । यसैगरी, गोरखामा १ महिला, ४ पुरुष, १ बालक र पहिचान नखुलेका १० जना गरी १६ जना तथा चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र पहिचान नखुलेका ८ जना गरी ३३ जनाको शव भेटिएको छ । यस्तै, तनहुँमा ३ पुरुष, १ बालिका र १ बालक गरी ५ जना तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ८ पुरुष र ३ बालिका गरी ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रहरूसहित तटीय इलाकामा अझै पनि बेपत्ताहरूको खोजी कार्य निरन्तर जारी रहेको छ ।