प्रस्तावित राजदूत थापाविरुद्ध संसदीय समितिमा उजुरी
काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता गरिएको छ । जापानमै बसोवास गर्दै आएका अरुण पराजुलीले इमेलमार्फत उजुरी दर्ता गराउँदै थापासँग जापानको स्थायी आवासीय अनुमति (पीआर) रहेको, घरसम्पत्ति भएका कारण स्वार्थको द्वन्द्व हुने र राजनीतिक प्रभावका आधारमा सिफारिस गरिएको दाबीसहित उनको नाम अनुमोदन नगर्न माग गरेका हुन् । संसदीय सुनुवाइ समितिको सोमवारको बैठकमा समिति सचिव तुलबहादुर कँडेलले पढेर सुनाएको उजुरीअनुसार थापाले सन् २०१८ मा जापानको स्थायी आवासीय अनुमति प्राप्त गरेको र कानागावा प्रिफेक्चरमा आफ्नै घर रहेको विवरण सार्वजनिक रूपमै स्वीकार गरेका छन् । परराष्ट्र मन्त्रालयले राजदूत पदका लागि तोकेको कार्यशर्त (टीओआर) मा कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति नभएको व्यक्ति हुनुपर्ने अनिवार्य व्यवस्था रहेको उल्लेख गर्दै उजुरीकर्ताले थापाको उम्मेदवारी मापदण्डविपरीत रहेको दाबी गरेका छन् । उजुरीमा प्रस्तावित राजदूतको जापानमा रहेको घरजग्गा, लगानी र सम्भावित आर्थिक दायित्वका कारण नेपाल सरकारको तर्फबाट आर्थिक तथा कुटनीतिक वार्ता गर्दा गम्भीर स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सिर्जना हुने जिकिर गरिएको छ । सम्बन्धित देशमै आवासीय हैसियत र सम्पती भएको व्यक्तिलाई राजदूत प्रस्ताव गर्दा जापान सरकारबाट ‘एग्रिमेन्ट’ (सहमति) प्राप्त नहुने र त्यसले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा धक्का पुग्ने जोखिम औंल्याइएको छ । यसैगरी, खुला प्रतिष्पर्धा र मेरिटका आधारमा राजदुत छनोट गर्ने दाबी गरिए पनि थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँगको राजनीतिक निकटताका आधारमा सिफारिस गरिएको आरोप उजुरीमा लगाइएको छ । छनोट प्रक्रियाको पारदर्शिता परीक्षण गर्न र प्रस्तावित कार्यक्षेत्रका नेपाली समुदायको असन्तुष्टिलाई सम्बोधन गर्न समितिले सम्पूर्ण कागजात झिकाई छानबिन गर्नुपर्ने माग गरिएको छ । बैठकमा भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेका सम्बन्धमा प्राप्त पत्रलाई भने समितिले उजुरी नभई सकारात्मक ‘सुझाव’ को रूपमा स्वीकार गरेको छ । त्यस्तै, साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध परेको उजुरीका विषयमा उजुरीकर्ताको अनुरोधमा समितिले गोप्य रूपमा छलफल अघि बढाएको छ ।
दशैंका लागि यी ११ ठाउँबाट साटिँदैछ ग्यासका सिलिण्डर
काठमाडौं । दशैंमा उपभोक्तालाई ग्यास सिलिन्डर साट्न सहज होस् भनेर नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा साटफेर केन्द्रको संख्या बढाएको छ । आइतबार ६ स्थानबाट सुरु भएको सेवा सोमबारदेखि थप पाँच ठाउँमा विस्तार गरिएको हो । नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा संघले उपत्यकाका ११ स्थानबाट फरक कम्पनीका ग्यास सिलिन्डर साट्न सकिने व्यवस्था मिलाएको हो । संघका अनुसार सोमबारदेखि थपिएका केन्द्रमा बुढानीलकण्ठको चपलीस्थित भानु ग्यास, ललितपुरको हरिसिद्धिस्थित नेपाल र एचपी ग्यास, कलंकीस्थित गीता ग्यास, खसीबजारको आरके ट्रेडर्समार्फत सीताश्री ग्यास तथा सतुंगलस्थित श्रीमाया ग्यास रहेका छन् । यसअघि आइतबारदेखि नै ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा सुकेधारामा बाबा र श्री ग्यासका सिलिन्डर साट्ने सुविधा उपलब्ध गराइएको थियो । त्यस्तै, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासका सिलिन्डर साट्न सकिनेछ । पेप्सीकोलास्थित केन्द्रबाट सगर ग्यास तथा सिफलचौरको ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यासका सिलिन्डर साट्न सकिने संघले जनाएको छ । संघले सिलिन्डर साटफेर गर्ने अवधिसमेत एक दिन घटाएको छ । यसअघि असोज ३१ गतेसम्म सेवा सञ्चालन गर्ने भनिए पनि संशोधित व्यवस्थाअनुसार असोज ३० गतेसम्म मात्रै सिलिन्डर साट्न पाइनेछ । उपभोक्ताले तोकिएका केन्द्रमा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म पुगेर सेवा लिन सक्नेछन् । यसअघि बिहान ९ः३० बजेदेखि सेवा उपलब्ध गराउने सूचना जारी गरिएको थियो । संघले तोकिएका ११ केन्द्रबाहेक अन्य खुद्रा पसल वा स्थानबाट फरक कम्पनीका सिलिन्डर साट्न नमिल्ने स्पष्ट पारेको छ । त्यसैले उपभोक्ताले आफूले साट्न चाहेको ग्यास कम्पनीअनुसार सम्बन्धित केन्द्रमा पुग्नुपर्नेछ ।
बुढीगण्डकीमा बाढीले टाइम्स इनर्जीको आयोजनामा क्षति
काठमाडौं । बुढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले टाइम्स इनर्जी लिमिटेडले प्रवर्द्धन गरिरहेको ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको अस्थायी क्याम्प र पहुँचमार्गमा क्षति पुर्याएको छ । आयोजनामा कुनै मानवीय क्षति नभएको साहस ऊर्जा लिमिटेडले जनाएको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज २५ गते आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकास्थित आयोजनाको अस्थायी क्याम्प र पहुँचमार्गमा क्षति पुर्याएको हो । आयोजनामा कार्यरत सबै कर्मचारी सम्पर्कमा रहेको पनि कम्पनीले जानकारी दिएको छ । यसैबीच, साहस ऊर्जाले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएको भन्ने समाचारको खण्डन गरेको छ । कम्पनीले सोलुखोला (दूधकोशी) आयोजनास्थलमा बाढी नआएको र आयोजनाका संरचनामा कुनै क्षति नभएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा सत्यता नरहेको भन्दै कम्पनीले ती सूचनालाई भ्रामक भनेको छ ।
चीनले किन थुपार्दै छ सुनको पहाड ?
काठमाडौं । चीनको केन्द्रीय बैंकले लगातार २३ महिनादेखि सुन खरिद गरिरहेको छ । यससँगै चीनले अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा सुन आयात गरेको छ । चीनले यसरी आक्रामक तरिकाले सुन खरिद गर्नुको पछाडि अमेरिकी डलरमाथिको निर्भरता घटाउने बेइजिङको रणनीति प्रमुख कारण हो । अर्कोतर्फ चिनियाँ नागरिकसँग लगानीका सुरक्षित विकल्प सीमित हुनु पनि सुनको माग बढ्नुको कारण हो । विश्लेषकहरूका अनुसार आर्थिक सुस्ततासँग जुधिरहेको चीनमा आगामी दिनमा पनि सुनको माग उच्च रहने सम्भावना छ । चीनको विदेशी मुद्रा विनिमय प्रशासन (एसएएफई) को तथ्यांकअनुसार पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले सेप्टेम्बरमा करिब २३ टन सुन थपेको छ । यो झन्डै तीन वर्षयताकै सबैभन्दा ठूलो मासिक खरिद हो । यससँगै चीनको केन्द्रीय बैंकले कम्तीमा सन् २०१५ यताकै सबैभन्दा लामो लगातार सुन खरिद गर्ने क्रमलाई निरन्तरता दिएको छ । चिनियाँ घरपरिवार र कम्पनीहरूले सुनलाई सुरक्षित लगानीको माध्यमका रूपमा रोज्न थालेका छन् । भन्सार विभागको तथ्यांकअनुसार सन् २०२६ को पहिलो आठ महिनामा चीनले १ हजार टनभन्दा बढी सुन आयात गरेको छ । यसका लागि उसले कीर्तिमानी १ खर्ब ५८ अर्ब ८० करोड अमेरिकी डलर खर्च गरेको छ । यो परिमाण सन् २०२५ को पूरै वर्षमा भएको आयातभन्दा बढी हो । सन् २०२५ मा चीनले ९६ अर्ब ५० करोड डलर खर्चेर ८८६ टन सुन आयात गरेको थियो । स्टेट स्ट्रिट इन्भेस्टमेन्ट म्यानेजमेन्टका सुन रणनीति प्रमुख आकाश दोषीका अनुसार यस वर्षको पहिलो आठ महिनामा चीनको उपभोग प्रयोजनका लागि हुने सुन आयातले नयाँ कीर्तिमान बनाएको छ । चीनको घरेलु बजारमा अन्तर्राष्ट्रिय मूल्यको तुलनामा सुनको मूल्यमा देखिएको अतिरिक्त बढोत्तरीले जाडोयाममा माग अझ बलियो हुनसक्ने दोषीले बताएका छन् । चीनले ठूलो परिमाणमा सुन सञ्चय गरिरहँदा अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ । जनवरीमा प्रतिऔंस ५ हजार ५०० डलरभन्दा माथि पुगेर कीर्तिमान बनाएको सुनको मूल्य सेप्टेम्बरमा ८ प्रतिशतभन्दा बढी घटेर करिब ४ हजार १७६ डलरमा झरेको थियो । यद्यपि, दोषीले बलियो मागका कारण सन् २०२७ को पहिलो त्रैमासिकको अन्त्यसम्ममा सुनको मूल्य प्रतिट्रय औंस ४ हजार ७५० देखि ५ हजार ५०० डलरसम्म पुग्ने अनुमान गरेका छन् । धेरै सुन किन्नुको कारण ? जुलियस बेयर समूहका विश्लेषक कार्स्टेन मेन्केका अनुसार चीनको केन्द्रीय बैंकले सुन खरिद गर्नुको मुख्य कारण राजनीतिक हो । उनका अनुसार अमेरिकाले डलरलाई राजनीतिक तथा आर्थिक दबाब सिर्जना गर्ने हतियारका रूपमा प्रयोग गर्न सक्ने जोखिमका कारण चीन अमेरिकी सरकारी ऋणपत्रमाथिको निर्भरता घटाउन चाहन्छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा मुलुकहरूले रुसी केन्द्रीय बैंकको विदेशमा रहेको सम्पत्ति रोक्का गरेका थिए । उक्त घटनाले भूराजनीतिक तनावका बेला विदेशमा राखिएको सञ्चित सम्पत्तिमा पहुँच प्रतिबन्धित हुन सक्ने जोखिम छर्लङ्ग देखाएको थियो । तर, कुनै देशले आफ्नै भण्डारमा राखेको सुन यस्तो प्रतिबन्धबाट तुलनात्मक रूपमा सुरक्षित रहन्छ । यसैकारण चीनले अमेरिकी सरकारी ऋणपत्रमा गरेको लगानी घटाउँदै लगेको छ । अमेरिकी अर्थ मन्त्रालयको तथ्यांकअनुसार जुलाईमा चीनसँग रहेको अमेरिकी सरकारी ऋणपत्रको मूल्य घटेर ६१८ अर्ब डलरमा झरेको थियो । यो १८ वर्षयताकै न्यून स्तर हो । बेइजिङले आफ्नो विदेशी मुद्रा सञ्चितिलाई विविधिकरण गर्ने रणनीतिअन्तर्गत अमेरिकी ऋणपत्रमाथिको निर्भरता घटाइरहेको हो । अर्कोतर्फ आर्थिक अनिश्चितताका कारण चिनियाँ नागरिकले पनि सुनलाई सुरक्षित लगानीका रूपमा हेर्न थालेका छन् । उनीहरूले सुनका गरगहना, बिस्कुट र सिक्कामा लगानी बढाइरहेका छन् । चीनमा लगानीका वैकल्पिक अवसर सीमित छन् । कुनै समय चिनियाँ घरपरिवारको सम्पत्ति सञ्चय गर्ने प्रमुख माध्यम रहेको घरजग्गा बजार लामो समयदेखि मन्दीमा छ । चीनको प्रमुख सेयर सूचकांक सीएसआई ३०० यस वर्ष करिब ८ प्रतिशत घटेको छ । यसको विपरीत अमेरिकी सेयर बजारको एसएन्डपी ५०० सूचकांक १३ प्रतिशत बढेको छ । त्यसैगरी, कर्जाको माग कमजोर हुँदा बैंक निक्षेप र ऋणपत्रबाट प्राप्त हुने प्रतिफल पनि घटेको छ । चीनको एकवर्षे सरकारी ऋणपत्रको प्रतिफल करिब १.२ प्रतिशतमा झरेको छ । अमेरिकामा भने यस्तो प्रतिफल करिब ४.४६ प्रतिशत छ । साक्सो बैंकका वस्तु बजार रणनीति प्रमुख ओले हान्सेनका अनुसार पश्चिमा मुलुकहरूको तुलनामा चीनमा सुन राख्दा अन्य लगानीबाट प्राप्त हुनसक्ने प्रतिफल गुमाउनुपर्ने लागत निकै कम छ । यसको अर्थ चीनमा बैंक निक्षेप वा ऋणपत्रको प्रतिफल न्यून भएकाले ब्याज नदिने सुनमा लगानी गर्दा तुलनात्मक रूपमा कम अवसर गुम्छ । मेन्केका अनुसार चीनले घरेलु सुन बजारलाई थप व्यापक र विकसित बनाउने योजना अघि सारेको छ । यही योजनाका कारण पनि सुनको भण्डार बढाउन उसले खरिद तीव्र पारेको हो । उनको अनुमानअनुसार अगस्टको अन्त्यसम्ममा चीनको केन्द्रीय बैंकले यस वर्ष करिब १९० टन सुन खरिद गरेको थियो । यसमध्ये करिब ११० टन सुनको खरिद आधिकारिक तथ्यांकमा सार्वजनिक गरिएको थिएन । सुनको मूल्यलाई चीनको मागले दिएको आड चीनमा सुनको बढ्दो मागले अन्तर्राष्ट्रिय बजारमा यसको मूल्यलाई ठूलो गिरावटबाट जोगाउन सहयोग गरेको विश्लेषकहरू बताउँछन् । अमेरिकामा सरकारी ऋणपत्रको प्रतिफल उच्च रहँदा ब्याज नदिने सुनप्रतिको आकर्षण सामान्यतया घट्ने गर्छ । प्रायः ब्याजदर बढ्दा सुनको मूल्य घट्ने प्रवृत्ति हुन्छ । तर, चीनको निरन्तर खरिदले सुनको मूल्यमा पर्ने यस्तो दबाबलाई केही हदसम्म कम गरेको छ । आईएनजी बैंककी वस्तु बजार रणनीतिकार इवा मान्थेका अनुसार चिनियाँ खरिद सुनको मूल्यलाई दीर्घकालीन रूपमा आड दिने महत्त्वपूर्ण आधार बनेको छ । उनले केन्द्रीय बैंकहरूले सामान्य लगानीकर्ताको तुलनामा दीर्घकालीन उद्देश्यका लागि सुन खरिद गर्ने भएकाले मूल्यको उतारचढावप्रति कम संवेदनशील हुने बताइन् । मेन्केले पनि यही धारणा व्यक्त गरेका छन् । उनका अनुसार ब्याजदरसम्बन्धी अपेक्षा र सरकारी ऋणपत्रको प्रतिफल उल्लेखनीय रूपमा बढे पनि सुनको मूल्य गर्मीयामको स्तरभन्दा माथि नै टिकेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले सन् २०२६ मा थप एकपटक ब्याजदर बढाउन सक्ने संकेत गरेको छ । विश्व स्वर्ण परिषद्का अनुसार अगस्टसम्ममा चीनसँग २ हजार ३८७ टन सुन सञ्चिति थियो । चीन विश्वमा पाँचौं ठूलो सुन सञ्चिति भएको देश हो । यद्यपि, उसको सञ्चिति अमेरिकासँग रहेको सुनको एकतिहाइभन्दा पनि कम छ । सुनको माग कहिले घट्न सक्छ ? विश्लेषकहरूका अनुसार चीनको घरजग्गा र सेयर बजारप्रति लगानीकर्ताको विश्वास पुनः बढेमा सुनको माग कमजोर हुन सक्छ । साक्सो बैंकका हान्सेनका अनुसार चिनियाँ मुद्रा युआन कमजोर भएमा घरेलु बजारमा सुन महँगो पर्छ । यसले पनि माग घटाउन सक्छ । त्यसैगरी, ब्याजदर बढेर बैंक निक्षेपबाट आकर्षक प्रतिफल प्राप्त हुन थालेमा लगानीकर्ता सुनबाट अन्य वित्तीय साधनतर्फ आकर्षित हुन सक्छन् । तर, सुन बजारमा ठूलो परिवर्तन आउन केन्द्रीय बैंकहरूले विदेशी मुद्रा सञ्चितिलाई विविधिकरण गर्ने रणनीतिप्रतिको रुचि घट्नुपर्ने र विश्वव्यापी भू-राजनीतिक तनाव कम हुनुपर्ने हान्सेनको भनाइ छ । उनका अनुसार तत्काल यी दुवै अवस्था सिर्जना हुने सम्भावना देखिँदैन । यसको अर्थ चीनको निरन्तर खरिद र केन्द्रीय बैंकहरूको सुन सञ्चिति बढाउने रणनीतिले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यलाई आड दिइरहने सम्भावना छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित) पश्चिमी प्रतिबन्धपछि हङकङमा रुसी सुनको बाढी स्वीस घडी बजारमा रोलेक्सको एकछत्र राज
हिमालयन लाइफको कार्यवाहक सीईओमा कवि फुयाँल नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कवि फुयाँल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ७९औँ बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत फुयाँललाई कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवारी तोकेको जनाएको छ ।
मिथिला लघुवित्तका सञ्चालक विनोदकुमार साहले दिए राजीनामा
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक विनोदकुमार साहको राजीनामा स्वीकृत भएको छ । संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायतका निकायलाई दिएको जानकारीअनुसार सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने सञ्चालक साहले व्यक्तिगत तथा स्वास्थ्य समस्याका कारण राजीनामा दिएका थिए । उनको राजीनामा असोज २३ गते शुक्रबार बसेको संस्थाको सञ्चालक समितिको २९४औँ बैठकले स्वीकृत गरेको हो । संस्थाले असोज २४ गते पत्र जारी गर्दै राजीनामा स्वीकृत भएको जानकारी सम्बन्धित निकायलाई गराएको हो ।
राजनीतिक दबाबबाट मुक्त भएर नागरिकको सुरक्षामा खटिनुहोस् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले प्रहरी निरीक्षकको आधारभूत तालिम (१८४औँ समूह) पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानुनको शासन कायम गर्न निर्देशन दिएका छन् । सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीको छवि उच्च राख्न इमानदारी र अनुशासन नै मुख्य आधार भएको बताएका हुन् । करिब १६ महिनाको कठोर तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई बधाई दिँदै प्रधानमन्त्री साहले पेसागत मर्यादा र नैतिकतामा जोड दिए । उनले बदलिँदो अपराधको प्रकृतिलाई मध्यनजर गर्दै सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । प्रहरी सङ्गठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे । प्रधानमन्त्री साहले प्रहरी अधिकारीहरूलाई सङ्गठनको प्रोटोकलविपरीतका व्यक्तिगत स्वार्थ र अनुचित प्रभावमा नपरी निर्भीकताका साथ कर्तव्य निर्वाह गर्न सचेत गराए । नागरिकको जिउधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको प्रमुख जिम्मेवारीमा कुनै पनि प्रकारको सम्झौता नगर्न उनले आग्रह गरे । प्रधानमन्त्री साहले भने, ‘यस तालिमबाट प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान, सीप र क्षमता हासिल गर्नुभएको छ भन्ने विश्वास लिएको छु । अब प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नैतिकता, निष्ठा, इमानदारी, अनुशासन र जवाफदेहितालाई आफ्नो कार्यसम्पादनको आधार बनाउनुहुनेछ भन्ने अपेक्षा गर्दछु । संविधान, प्रचलित कानुन र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गर्दछु ।' कार्यक्रममा प्रशिक्षार्थीका अभिभावक र प्रहरी नेतृत्वको उपस्थिति रहेको थियो । तालिम पूरा गरेका अधिकृतहरूले अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन् ।
एकैदिन सुन प्रतितोला २१ सय र चाँदी २५ रुपैयाँले सस्तियो
काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।