राजनीतिक दबाबबाट मुक्त भएर नागरिकको सुरक्षामा खटिनुहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले प्रहरी निरीक्षकको आधारभूत तालिम (१८४औँ समूह) पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानुनको शासन कायम गर्न निर्देशन दिएका छन् ।

सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीको छवि उच्च राख्न इमानदारी र अनुशासन नै मुख्य आधार भएको बताएका हुन् ।

करिब १६ महिनाको कठोर तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई बधाई दिँदै प्रधानमन्त्री साहले पेसागत मर्यादा र नैतिकतामा जोड दिए । उनले बदलिँदो अपराधको प्रकृतिलाई मध्यनजर गर्दै सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । प्रहरी सङ्गठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे ।

प्रधानमन्त्री साहले प्रहरी अधिकारीहरूलाई सङ्गठनको प्रोटोकलविपरीतका व्यक्तिगत स्वार्थ र अनुचित प्रभावमा नपरी निर्भीकताका साथ कर्तव्य निर्वाह गर्न सचेत गराए । नागरिकको जिउधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको प्रमुख जिम्मेवारीमा कुनै पनि प्रकारको सम्झौता नगर्न उनले आग्रह गरे ।

प्रधानमन्त्री साहले भने, ‘यस तालिमबाट प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान, सीप र क्षमता हासिल गर्नुभएको छ भन्ने विश्वास लिएको छु । अब प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नैतिकता, निष्ठा, इमानदारी, अनुशासन र जवाफदेहितालाई आफ्नो कार्यसम्पादनको आधार बनाउनुहुनेछ भन्ने अपेक्षा गर्दछु । संविधान, प्रचलित कानुन र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गर्दछु ।' 

कार्यक्रममा प्रशिक्षार्थीका अभिभावक र प्रहरी नेतृत्वको उपस्थिति रहेको थियो । तालिम पूरा गरेका अधिकृतहरूले अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन् । 

Share News