विकासन्युज

आईसीएफसी फाइनान्सको कायम मुकायम सीईओमा अमित श्रेष्ठ

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिको ३७७औँ बैठकले श्रेष्ठलाई असोज २५ गतेदेखि लागू हुने गरी कायम मुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल असोज २४ गते समाप्त भएको थियो । सोही कारण नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कायम मुकायम सीईओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ । श्रेष्ठ यसअघि कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।  अमित श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) र दिल्ली विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पूरा गरेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा २६ वर्षभन्दा बढीको अनुभव छ, जसमा नेपाल एसबीआई बैंक लिमिटेडमा काम गरेको ६ वर्षको अनुभवसमेत समावेश छ ।  उनले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड (एफएमडीबीएल) को सञ्चालकका रूपमा समेत काम गरिसकेका छन् । उनीकाे शासन व्यवस्था, संस्थागत सञ्चालन, कर्जा व्यवस्थापन तथा संस्थागत व्यवस्थापनका क्षेत्रमा अनुभव रहेको छ।  

सुपरमाई हाइड्रोपावरले ल्याउँदै ५९ करोड ४० लाखको हकप्रद सेयर

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको करिब ९२.५२ प्रतिशत अर्थात् प्रतिकित्ता अनुपातमा ०.९२५२ बराबर हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले जारी गरेको सूचनाअनुसार आयोगले असोज २३ गते ५९ लाख ४० हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति दिएको हो । कम्पनीको हालको चुक्ता पुँजी ६४ करोड २० लाख रुपैयाँ छ । कम्पनीले यसअघि कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको थियो । तर, विद्युत् नियमन आयोगले कर्जा भुक्तानीको प्रयोजनका लागि मात्र हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो । कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकममध्ये ५१ करोड ४० लाख रुपैयाँ नबिल बैंकको कर्जा भुक्तानीमा र बाँकी ४ करोड ८० लाख रुपैयाँ मेसिनरी उपकरणको मर्मत तथा सम्भारमा खर्च गर्ने प्रस्ताव गरेको थियो । तर, आयोगको अभ्यासअनुसार मर्मतसम्भारमा खर्च गर्ने प्रयोजनका लागि हकप्रद सेयर निष्कासन गर्न नदिइने भएकाले बैंकको कर्जा तिर्न आवश्यक रकमका लागि मात्रै स्वीकृति दिइएको हो । आयोगले हकप्रद सेयरबाट प्राप्त रकम नबिल बैंकको कर्जा भुक्तानीमा प्रयोग गरी १५ दिनभित्र प्रमाणित कागजातसहित जानकारी गराउन कम्पनीलाई निर्देशन दिएको छ । त्यस्तै, आवश्यक अन्य निकायको सहमति लिनुपर्ने भएमा सहमति प्राप्त गरी आयोगलाई जानकारी गराउनुपर्ने सर्त पनि राखिएको छ । आयोगको निर्देशनअनुसार कम्पनीले पहिलो चरणमा संस्थापक सेयरधनीका लागि निश्चित समय तोकेर हकप्रद सेयर निष्कासन गर्नुपर्नेछ । संस्थापक सेयरधनीले रकम चुक्ता गरे–नगरेको विवरण सार्वजनिक गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नुपर्ने व्यवस्था गरिएको छ । इलाम जिल्लामा ७.८ मेगावाट क्षमताको सुपरमाई जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले हकप्रद सेयर निष्कासनका लागि अब नेपाल धितोपत्र बोर्डलगायत सम्बन्धित निकायको आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । 

पूर्वी नेपाल घुम्न पर्यटकलाई प्रेरित गर्दै रामाडा इटहरी

काठमाडौं । अन्तर्राष्ट्रिय होटल ब्रान्ड विन्डह्याम होटल्स एन्ड रिसोर्ट्सअन्तर्गतको रामाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ । सन् २०२६ जनवरीदेखि सञ्चालनमा आएको होटलले आफ्ना सेवा विस्तारसँगै पूर्वी नेपालका प्राकृतिक सौन्दर्य, वन्यजन्तु, सांस्कृतिक सम्पदा र पर्यटकीय गन्तव्यलाई चिनाउने अभियान अघि बढाएको हो । होटलले सञ्चालनमा आउनुअघि नै सामाजिक सञ्जालमार्फत पूर्वी नेपालका विभिन्न पर्यटकीय स्थलको प्रचार सुरु गरेको थियो । यस क्षेत्रको प्राकृतिक विविधता र यात्रासम्बन्धी अनुभवलाई उजागर गर्दै पर्यटकलाई पूर्वी नेपाल भ्रमणका लागि प्रेरित गर्ने प्रयास भइरहेको होटलले जनाएको छ । रामाडा बाइ विन्डह्याम इटहरीलाई औपचारिक रूपमा साँचो हस्तान्तरण गर्ने कार्यक्रम मार्चमा सम्पन्न भएको थियो । कार्यक्रममा विन्डह्याम होटल्स एन्ड रिसोर्ट्सका युरेसिया क्षेत्रका सञ्चालन प्रमुख अनिमेश कुमारले होटलको भ्रमण गरी साँचो हस्तान्तरण गरेका थिए । होटलका अध्यक्ष देशबन्धु बस्नेतसहित टोलीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले पूर्वी नेपालमा अन्तर्राष्ट्रिय होटल ब्रान्डको उपस्थिति औपचारिक बनाएको थियो । होटलले पूर्वी नेपाल पुग्ने पर्यटकलाई बसोबास र खानपानको सुविधा उपलब्ध गराउनुका साथै आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ । यस अभियानमा कोशीटप्पु वन्यजन्तु आरक्षलाई विशेष प्राथमिकता दिइएको छ । जैविक विविधता र विभिन्न प्रजातिका चराचुरुङ्गीका लागि परिचित कोशीटप्पुको प्रचारप्रसारका लागि होटलले आरक्षका संरक्षण अधिकृत भूपेन्द्र यादवसँग सहकार्य गर्दै आएको छ । यस सहकार्यबाट आरक्षको पारिस्थितिक महत्त्वबारे जनचेतना बढाउनुका साथै पर्यटकको आकर्षण वृद्धि गर्ने उद्देश्य राखिएको छ । यसै क्रममा होटलले ‘कोशीटप्पु वाइल्डरनेस एस्केप’ प्याकेज पनि सञ्चालनमा ल्याएको छ । उक्त प्याकेजमार्फत पाहुनाले पूर्वी नेपालको प्राकृतिक सम्पदा अन्वेषण गर्ने अवसर पाउने होटलले जनाएको छ । वन्यजन्तु तथा चरा अवलोकन, सांस्कृतिक सम्पदा र प्राकृतिक दृश्य पूर्वी नेपालका प्रमुख पर्यटकीय आकर्षण हुन् । होटलले आफ्ना सञ्चारमाध्यममा यस्ता गन्तव्यलाई प्राथमिकता दिँदै परिचित पर्यटकीय मार्गभन्दा बाहिरका स्थलसमेत पर्यटकमाझ चिनाउने प्रयास गरिरहेको  छ। पर्यटन प्रवर्द्धनसँगै होटलले खानपान तथा पेय पदार्थसम्बन्धी सेवामा पनि ध्यान दिएको छ । होटलका रेस्टुरेन्ट तथा खानपानका अनुभवले त्यहाँ बस्ने पाहुनासँगै स्थानीय ग्राहकलाई समेत आकर्षित गरिरहेको जनाइएको छ । यसले रामाडालाई बसोबास गर्ने स्थानका अतिरिक्त खानपान र फुर्सद बिताउने गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको छ । होटलको विशेषता यसको सञ्चालन सुरु हुनुअघि नै पूर्वी नेपालको प्रवर्द्धन अभियान थालिनु र सञ्चालनपछि पनि त्यसलाई निरन्तरता दिनु हो । होटलले आफ्नै ब्रान्डको पहिचान विस्तारसँगै समग्र क्षेत्रको पर्यटन विकासलाई पनि महत्त्व दिएको छ । पूर्वी नेपालमा पर्यटन तथा अन्वेषणका नयाँ सम्भावना बढिरहेका बेला रामाडा बाइ विन्डह्याम इटहरीले गन्तव्य प्रवर्द्धन, स्थानीय तहका सरोकारवालासँगको सहकार्य र खानपान सेवामार्फत यस क्षेत्रको आतिथ्य व्यवसायमा आफ्नो भूमिका विस्तार गर्ने लक्ष्य राखेको छ । होटलका लागि यो प्रयास केवल इटहरीमा आवास सुविधा उपलब्ध गराउनेमा सीमित छैन । पूर्वी नेपालका पर्यटकीय आकर्षण चिनाउने, यहाँका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अनुभव लिन प्रेरित गर्ने र यस क्षेत्रलाई भ्रमणयोग्य गन्तव्यका रूपमा स्थापित गर्न योगदान पुर्‍याउने उद्देश्यसमेत यसमा जोडिएको छ । 

भेस्पाको नयाँ १५० सीसी स्कुटर आज सार्वजनिक हुँदै

काठमाडौं । नेपालमा भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ १५० सीसी भेस्पा स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले असोज २६ गते काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नो शोरुममा नयाँ स्कुटर सार्वजनिक गर्न लागेको हो । नयाँ मोडल सार्वजनिक भएसँगै नेपाली बजारमा भेस्पाका स्कुटरको सूचीमा अर्को मोडल थपिनेछ । इटालियन डिजाइन र फरक राइडिङ अनुभवका लागि परिचित भेस्पाले नयाँ स्कुटरमार्फत ग्राहकलाई थप विकल्प उपलब्ध गराउने कम्पनीको अपेक्षा छ । डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले नयाँ १५० सीसी मोडल सार्वजनिक गर्न पाउँदा उत्साहित रहेको बताएका छन् । उनका अनुसार भेस्पाले कालजयी इटालियन डिजाइन, विशिष्ट व्यक्तित्व र फरक राइडिङ अनुभवलाई प्राथमिकता दिँदै आएको छ । नयाँ मोडलले नेपालमा ब्रान्डको उपस्थिति थप सुदृढ बनाउने विश्वास पनि उनले व्यक्त गरेका छन् । नयाँ स्कुटर सार्वजनिक गर्ने कार्यक्रममा आमन्त्रित अतिथि तथा शुभचिन्तकहरूको उपस्थिति रहने कम्पनीले जनाएको छ । नयाँ मोडलका विशेषता, मूल्य र उपलब्धताबारे थप जानकारी सार्वजनिक कार्यक्रममा दिइनेछ । डेल्टा अटोकर्पले आफ्नो बिक्री सञ्जालमार्फत देशभरका ग्राहकलाई भेस्पाका स्कुटर उपलब्ध गराउँदै आएको छ । 

एमालेका १३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै

काठमाडौं । नेकपा (एमाले) का १३ मनोनीत केन्द्रीय कमिटी सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराउनेछन् । गत शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार मनोनीत भएका सदस्यहरूलाई आज शपथ गराउन लागिएको हो । मनोनीत हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा) र डा. पुष्पा केसी भण्डारी (कास्की) छन् । त्यस्तै, धर्मनाथप्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) पनि मनोनीत भएका छन् । मनोनीत १३ सदस्यले शपथ लिएपछि एमालेको केन्द्रीय कमिटीमा उनीहरूको औपचारिक जिम्मेवारी सुरु हुनेछ । 

निफ्राको साधारण सभाबाट ५.२६ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले बैंकको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित प्रस्तुत सबै प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । असोज २३ गते शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा बैंकका अध्यक्ष महेशप्रसाद दहालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिका सदस्यहरू बन्धुप्रसाद बाँस्तोला, सुरेन्द्रराज रेग्मी, दीपककुमार अग्रवाल, विशाल उप्रेती, डा. मनीष थापा र अनिता रायमाझीलगायतको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीसहित सेयरधनी तथा सम्बन्धित पदाधिकारीहरू पनि सभामा सहभागी थिए । सभालाई सम्बोधन गर्दै अध्यक्ष दहालले समीक्षा अवधिमा बैंकले हासिल गरेका उपलब्धि, चालु आर्थिक वर्षका योजना तथा लक्ष्य र भावी रणनीतिबारे शेयरधनीलाई जानकारी गराएका थिए । सभामा सहभागी सेयरधनीहरूले बैंकको व्यावसायिक गतिविधि विस्तार गरी लगानीकर्ताको प्रतिफल बढाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले आगामी दिनमा संस्थागत सुशासन, पारदर्शिता र व्यावसायिक दक्षता अभिवृद्धि गर्दै बैंकलाई सबल वित्तीय संस्थाका रूपमा स्थापित गर्न सुझाव दिएका थिए । बिहान ९ बजे सुरु भएको बैंकको साधारण सभा दिउँसो करिब १२ बजे सम्पन्न भएको थियो । 

कुवेती दिनार ५०३ रुपैयाँ, यस्तो छ सोमबारको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा कायम गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७९ पैसा तोकिएको छ। राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ६२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ। त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ १२ पैसा र बिक्रीदर ४१ रुपैयाँ २८ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा रहेको छ। केन्द्रीय बैंकले थाई भाट एकको खरिददर ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४ रुपैयाँ ६३ पैसा तोकेको छ। युएई दिराम एकको खरिददर ४२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २२ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा कायम गरिएको छ। दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११ रुपैयाँ ५७ पैसा रहेको छ। स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५ रुपैयाँ ५१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १५ पैसा र बिक्रीदर २३ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ। यस्तै, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा कायम गरिएको छ। बहराइन दिनार एकको खरिददर ४०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४१० रुपैयाँ ६४ पैसा रहेको छ। ओमनी रियाल एकको खरिददर ४०१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ८० पैसा तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछन्। अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ। 

विश्वासको शिर कहिल्यै झुक्ने छैन: डा. चन्द्रकान्त भण्डारी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् । उनले आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन् । ‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ उनले भने, ‘सधैँ म होइन, हामी र हाम्रो भन्ने भावनाका साथ अघि बढ्नेछु ।’ भण्डारीले आफ्नो निर्वाचनमा साथ र समर्थन दिने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनी ३ हजार ७ सय ३५ मत प्राप्त गर्दै कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका हुन्।