विकासन्युज

उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न राष्ट्रपतिको प्रधानमन्त्रीलाई निर्देशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण प्रभावित बनेका नागरिकको खोज, उद्धार र राहत कार्यमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी बाढीबाट भएको क्षति र उद्धारका प्रयासबारे जानकारी लिँदै पीडामा परेका जनताको उद्धार तथा राहतलाई तीव्रता दिन निर्देशन दिएका हुन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कुराकानीका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई विस्तृत गराएका थिए । सो क्रममा प्रधानमन्त्री शाहले विपद्मा परेका नागरिकलाई सहयोग पुर्‍याउन, उद्धार गर्न र राहत वितरणका लागि सरकारका तर्फबाट हरसम्भव प्रयास गरिने र राज्यका सबै संयन्त्रहरू प्रभावकारी रूपमा परिचालन भइसकेको आश्वस्त पारेका थिए । यसअघि राष्ट्रपति पौडेलले भोटेकोसी नदीमा अकस्मात आएको बाढीले पुर्‍याएको ठूलो क्षतिप्रति गहरा दुःख व्यक्त गरेका थिए । विपद्को यस कठिन समयमा उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न उनले सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकाय र आम नागरिकहरूसँग आह्वान गरे । राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी सो विपदबारे जानकारी लिएका थिए । उनले पीडामा परेका जनताको उद्धार, राहत र खोज कार्यलाई तीव्रता दिन आग्रह गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवामा गएको बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै सरकारले विपद्मा परेकालाई सहयोग, उद्धार राहतका लागि राज्यका सबै सयन्त्र परिचालन गरी हरसम्भव सबै सहयोग जुटाउन कुनै कमी नगर्ने बताएका थिए । यसअघि राष्ट्रपति पौडेलले भोटेकोसी नदीमा अकस्मात गएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका थिए । उनले विपद्को यस घडीमा उद्धार र राहतलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गरेका थिए । 

प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति र विनाश भएकोप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक पर्ने सबै प्रकारका मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।  भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सँग टेलिफोन वार्ता गर्दै बाढीबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा, स्वास्थ्य र कुशलताका लागि प्रार्थना गरेका छन् ।  टेलिफोन संवादका क्रममा उनले संकटको यस कठिन घडीमा भारत सरकार नेपाललाई हरसम्भव सहयोग गर्न पूर्ण रूपमा तयार रहेको विश्वास दिलाएका छन् ।  नेपालमा परेको यो विपद्को समयमा भारत नेपालको साथमा रहेको उल्लेख गर्दै नेपाल एक्लो छैन, यो दुःखको घडीमा भारत नेपालसँगै उभिएको छ भन्दै भारतीय पक्षले ऐक्यबद्धता व्यक्त गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ जना सम्पर्क विहीन

काठमाडौं । रसुवामा आएको बाढीका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका टिमुरे र स्याफ्रुबेसी शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बाढीले शाखा कार्यालय नै बगाएपछि त्यहाँ केही पनि बाँकी नरहेको बैंकले जनाएको छ । बैंकका अनुसार टिमुरे शाखामा कार्यरत एक जना कर्मचारी र स्याफ्रुबेसी शाखाका पाँच जना कर्मचारी सम्पर्कविहीन छन् । टिमुरे शाखाका दुई जना कर्मचारी भने सम्पर्कमा आएका छन् । स्याफ्रुबेसीमा तीन जना नियमित कर्मचारीसहित बाह्य स्रोतबाट कार्यरत सुरक्षागार्ड र सहयोगी तथा सहयोगीका एक जना बच्चासमेत सम्पर्कविहीन रहेको जानकारी आएको बैंकले जनाएको छ । यद्यपि, उनीहरूको अवस्थाबारे औपचारिक पुष्टि हुन बाँकी रहेको बैंकले स्पष्ट पारेको छ । सम्पर्कविहीन कर्मचारीहरू सुरक्षित स्थानमा पुगेका भए भोलिसम्म सम्पर्कमा आउने अपेक्षा बैंकले गरेको छ । बैंकले सम्पर्क विहीन कर्मचारीको खोजीका लागि हेलिकप्टरसमेत पठाएको थियो । हेलिकप्टरबाट दुई पटक प्रयास गरिए पनि सम्पर्क स्थापित हुन नसकेको बैंकले जनाएको छ । बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको बैंकले जनाएको छ । 

उद्धार, उपचार र पुनर्वासको पूर्ण जिम्मेवारी सरकारले लिने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले पुर्‍याएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले सम्पूर्ण क्षति र प्रभावितको पूर्ण जिम्मेवारी लिने बताएका छन् ।  बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यो प्राकृतिक विपद्को अप्रत्याशित बज्रपातले सिंगो देशलाई नै स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन् ।  बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री बालेनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।  ‘तपाईंहरूको यो असैह्य पीडामा सिंगो नेपाल सरकार र सम्पूर्ण देशवासी साथमा छौं,’ उनले भनेका छन् ।  साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ताहरूको खोजी गर्नु र प्रभावित नागरिकलाई सुरक्षा दिनु नै अहिले सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पारेका छन् ।  प्रधानमन्त्री शाहले विपद् लगत्तै हजारौंको संख्यामा राज्यका सम्पूर्ण शक्ति र संयन्त्रहरू उद्धार कार्यमा परिचालन भइसकेको जानकारी दिएका छन ।  प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै उनले भनेका छन्, ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न; राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ ।’ उनले बाढी प्रभावितहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता जनाउँदै यस्तो संवेदनशील समयमा सबैलाई एक ढिक्का भएर उभिन आह्वान समेत गरेका छन् । 

भोटेकोशी बाढी: क्षति संकलन जारी, उद्धार कोषमा सहयोग गर्न सरकारको आह्वान

काठमाडौं । बुधबार बिहान ८ः४० बजे रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।  बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखा लगायतका तटीय क्षेत्रहरू गम्भीर रूपमा प्रभावित बनेका छन् ।  घटनालगत्तै सरकारले प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत सामग्री वितरणको कार्यलाई तीव्रता दिएको छ भने बाढीबाट पुगेको मानवीय र भौतिक क्षतिको अन्तिम विवरण संकलन गर्ने काम निरन्तर जारी राखिएको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने र दीर्घकालीन रूपमा पुनःस्थापना गर्नुपर्ने चुनौती छ ।  यसै सन्दर्भमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका तोकिएका बैंक खाताहरूमा यथाशक्य आर्थिक सहयोग गरी हातेमालो गर्न स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण संघ-संस्था एवं नागरिकहरूमा अपिल गरेको छ ।

लक्ष्मी सनराइज बैंकको टिमुरे शाखा बाढीले बगायो, सम्पर्कमा आए सबै कर्मचारी

काठमाडौं । रसुवाको टिमुरेमा रहेको लक्ष्मी सनराइज बैंकको शाखा बाढीले बगाएको छ । शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भए पनि त्यहाँ कार्यरत सबै कर्मचारी सुरक्षित रहेको बैंकले जनाएको छ । बाढीपछि केही समय कर्मचारीसँग सम्पर्क हुन नसक्दा बैंकमा चिन्ता बढेको भए पनि उनीहरू डाँडामा गएर सुरक्षित बसेको जानकारी प्राप्त भएको बैंकले जनाएको छ । हाल सबै कर्मचारी सम्पर्कमा आइसकेका छन् । बैंकका अनुसार टिमुरे शाखामा दैनिक १०–१२ वटा मात्रै कारोबार हुने गरेको थियो । अपेक्षाअनुसार कारोबार हुन नसकेपछि उक्त शाखा बन्द गर्ने तयारीसमेत भइरहेको थियो । शाखा बन्द गर्न राष्ट्र बैंकसँग अनौपचारिक रूपमा छलफल भइरहेको भए पनि प्रक्रिया पूरा हुनुअघि नै बाढीले शाखा बगाएको हो । उक्त शाखा तत्कालीन सनराइज बैंकका पालामा राम्रो कारोबार हुने अपेक्षासहित खोलिएको थियो । तर अपेक्षाअनुसार कारोबार हुन नसकेपछि बन्द गर्ने योजना बनाइएको बैंकले जनाएको छ । यसैबीच, बट्टार शाखामा भौतिक क्षति नभए पनि सञ्चार तथा कनेक्सन विच्छेद भएका कारण शाखाको सेवा बन्द गर्नुपरेको बैंकले जनाएको छ । 

हाइड्रोमा कार्यरत २२५ जना सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेको छ ।  बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाको विद्युत् आपूर्ति प्रभावित हुनुका साथै कुल ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भोटेकोशी नदी बेसिनमा प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित १२ वटा उत्पादन केन्द्र बन्द भएका छन् । बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनाको १११ मेगावाट, सालासुंगी (सान्जेन) जलविद्युत् आयोजनाको ७८ मेगावाट, माथिल्लो सान्जेनको १४.८ मेगावाट, सान्जेनको ४२.५ मेगावाट र चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । त्यस्तै लाङटाङ जलविद्युत आयोजनाको २० मेगावाट, माथिल्लो त्रिशूली–३ ए को ६० मेगावाट, माथिल्लो मैलुङको १४.८ मेगावाट, मैलुङको ५ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्रको २४ मेगावाट, देवीघाट जलविद्युत् केन्द्रको १४ मेगावाट तथा प्राधिकरणको २५ मेगावाट क्षमताको सोलार आयोजना पनि प्रणालीबाट बाहिरिएका छन् । यसैगरी, भोटेकोशी नदी बेसिनमा प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवद्र्धकबाट निर्माणाधीन कुल ४७० मेगावाट क्षमताका १५ वटा आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । दर्जनौं कर्मचारी सम्पर्कविहीन बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा कार्यरत दर्जनौं कर्मचारी र कामदार सम्पर्कविहीन भएका छन् । त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन छन् । चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना तथा आवास क्षेत्र वरपर रहेका एक जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत भई त्रिशूली–३ बीको निर्माणस्थलमा खटिएका ११ जना पनि सम्पर्कमा छैनन् । त्यसैगरी, रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ । त्यस्तै, माथिल्लो त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् । प्राधिकरणका त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक/एक जना कर्मचारी पनि सम्पर्कविहीन छन् ।  रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्वीचयार्डमा कार्यरत एक जना तथा गोटागन्तीका एक जना मिटर रिडर पनि सम्पर्कमा छैनन् । त्रिशूली २२० केभी ३ बी हबमा कन्ट्र्याक्टरका तर्फबाट कार्यरत १६ जना र रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न कन्ट्र्याक्टरमार्फत मर्मत, सम्भार तथा निर्माण कार्यमा संलग्न २९ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । बाढीले प्रसारण प्रणालीका महत्त्वपूर्ण संरचनामा समेत गम्भीर क्षति पुर्‍याएको छ । त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । चिलिमे २२० केभी हबको टावर अवरुद्ध भएपछि उक्त संरचना बन्द भएको छ । त्यसैगरी समुद्रटार–त्रिशूली १३२ केभी प्रसारण लाइन, चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी प्रसारण लाइन तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन अवरुद्ध भएका छन् । प्राधिकरणका अनुसार केही अन्य प्रसारण लाइनका टावरमा समेत समस्या देखिएको छ । रसुवामा पूर्णरूपमा विद्युत् अवरुद्ध बाढीका कारण रसुवा जिल्लामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ । नुवाकोट, धादिङ र गोरखामा भने आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको छ । धादिङको जहरे ३३ केभी सबस्टेसनमा करिब पाँच फिट लेदो जमेको छ । अहिले डोजर प्रयोग गरेर लेदो हटाउने काम भइरहेको छ । विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ । बाढीबाट प्रभावित संरचनाको अवस्था बुझ्न प्राधिकरणका कार्यकारी निर्देशकसहितको टोली प्रभावित क्षेत्रमा पुगेर अनुगमन गरी फर्किएको छ ।  जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न अर्को टोली स्थानीय क्षेत्रमा परिचालन गरिएको छ । सम्पर्कविहीन रहेका कर्मचारी तथा प्रसारण र उत्पादन संरचनामा सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ ।  स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेका व्यक्तिको विवरण संकलन गर्दै खोज तथा उद्धार कार्य अघि बढाइएको छ । बाढीका कारण अवरुद्ध भएको विद्युत् प्रणालीलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सकिने स्थानमा तत्काल विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ । यस क्रममा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रको प्रणाली सञ्चालनमा ल्याइएको छ भने चौघोडा सबस्टेसन सञ्चालन गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, गुजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ ।  सम्भव भएका अन्य क्षेत्रमा प्राविधिक टोली परिचालन गरी पेट्रोलिङ, मर्मत तथा लाइन पुनः सञ्चालनको काम भइरहेको छ । सम्पर्कविहीन कर्मचारी तथा सर्वसाधारणको खोज तथा उद्धारका लागि प्राधिकरणले १५ वटाभन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरिसकेको छ । प्राधिकरणले राहत तथा उद्धारसम्बन्धी समन्वयका लागि सहायक प्रशासकीय अधिकृत रामशरण उप्रेती (९८४१३०६६७८) र सहायक इन्जिनियर टंक पौडेल (९८५१४७४५५५) लाई सम्पर्क गर्न अनुरोध गरेको छ । बाढीका कारण ठूलो विद्युत् उत्पादन तथा प्रसारण संरचना प्रभावित भएपछि विद्युत् प्रणालीलाई सम्भव भएसम्म स्थिर र सञ्चालनमा राख्न विद्युत् प्रणाली सञ्चालन विभागलाई आवश्यक निर्देशनसमेत दिइएको प्राधिकरणले जनाएको छ । बाढीबाट क्षतिग्रस्त संरचनाको वास्तविक क्षतिको विवरण तथा सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे थप विवरण खोज तथा उद्धार कार्यसँगै क्रमशः प्राप्त हुने प्राधिकरणले जनाएको छ ।

रेमिट्यान्स साढे २३ खर्ब भित्रियो, विदेशी मुद्रा सञ्चिति ३९ खर्ब, महँगी ५.१४ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको बाह्य क्षेत्रका प्रमुख सूचकमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह बढ्नुका साथै चालु खाता र शोधनान्तर स्थिति उच्च बचतमा रहेका छन् । विदेशी विनिमय सञ्चितिसमेत उल्लेख्य बढेको छ । यद्यपि, असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ । मूल्यवृद्धि ५.१४ प्रतिशत गत असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको असारमा यस्तो मुद्रास्फीति २.२० प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२/८३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.०६ प्रतिशत रहेको थियो ।  समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य १०.०५ प्रतिशत, फलफूलको ७.०९ प्रतिशत र गैरमादक पेय पदार्थको ३.२८ प्रतिशतले बढेको छ । तरकारीको मूल्य सूचकांक ३.९५ प्रतिशत, मरमसलाको ३.६६ प्रतिशत र दाल तथा गेडागुडीको ३.४१ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य १७.६१ प्रतिशत, शिक्षाको ७.०४ प्रतिशत, यातायातको ५.८० प्रतिशत तथा कपडा तथा जुत्ताचप्पलको ५.५६ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवाको मूल्य सूचकांक भने ०.०१ प्रतिशतले घटेको छ । गत वर्ष खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति १.०४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ४.६९ प्रतिशत रहेको थियो । यस्तै, खाद्य तथा पेय पदार्थ समूहको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२५ प्रतिशत पुगेको छ। २०८२ असारमा भने उक्त समूहको मुद्रास्फीति १.१९ प्रतिशतले ऋणात्मक रहेको थियो ।  त्यस्तै, गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.२१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत थियो । गैरखाद्य तथा सेवा समूहको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०८ प्रतिशत रहेको छ । २०८२ असारमा यस्तो मुद्रास्फीति ४.१२ प्रतिशत थियो ।  क्षेत्रगत रूपमा आर्थिक वर्ष २०८२/८३ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.१६ प्रतिशत, तराईको ३.२८ प्रतिशत, पहाडको २.८१ प्रतिशत र हिमालको २.७३ प्रतिशत रहेको छ । २०८३ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ४.८० प्रतिशत, तराईमा ५.६३ प्रतिशत, पहाडमा ४.९७ प्रतिशत र हिमालमा ४.०४ प्रतिशत रहेको छ । भित्रियो साढे २३ खर्ब रेमिट्यान्स नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०८२/८३ को असार महिनामा मात्रै २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २८.१ प्रतिशतले वृद्धि भई १६ अर्ब १९ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो ।  यस्तै, समीक्षा वर्षमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर २५ खर्ब ८१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।  यसैबीच, समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६ हजार ५१९ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५ लाख ५ हजार ९५७ रहेको थियो । पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने समीक्षा वर्षमा ३ लाख ८५ हजार ७८३ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३ लाख ३३ हजार ३०९ रहेको थियो । चालु खाता ९.२३ खर्ब र शोधनान्तर स्थिति १० खर्बले बचतमा गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्ष चालु खाता ४ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब १ करोड डलरले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा ६ अर्ब ३३ करोड डलरले बचतमा रहेको छ । समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर १८ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, २८ अर्ब ४९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो लगानी १२ अर्ब २ करोड रुपैयाँ रहेको थियो ।  यसैगरी, समीक्षा वर्षमा नेपालको शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो आर्थिक वर्ष ४ अर्ब ३७ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ७ अर्ब ५ करोड डलरले बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ । विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब पुग्यो नेपालको कुल विदेशी विनिमय सञ्चिति एक वर्षमा ४५.६ प्रतिशतले वृद्धि भई ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा बढेर ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो  अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तको १९ अर्ब ५० करोड डलरबाट २९.८ प्रतिशतले वृद्धि भई २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड डलर पुगेको छ ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ४३.८ प्रतिशतले वृद्धि भई ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा राष्ट्र बैंकसँग यस्तो सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ६१.४ प्रतिशतले वृद्धि भई ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको थियो ।  २०८३ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ । यस्तै, २०८३ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ६३.८ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेको छ  । २०८२ असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेको थियो ।