धौलागिरी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ४ अंकले बढेर २५९५ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३५४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारीको २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै घलेम्दी हाइड्रोको १९ करोड ८० लाख, साहस उर्जाको १९ करोड ७३ लाख, लक्ष्मी सनराइज बैंकको १५ करोड र प्राइम कर्मसियल बैंकको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज धौलागिरी लघुवित्तको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । नेप्सेमा कारोबार भएका उपसूचकमध्ये बैंकिङ, विकास बैंक, वित्त, जीवन बीमा र व्यापार समूह बढेका छन् । होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहका उपसूचक भने घटेका छन् । व्यापार उपसूचक सबैभन्दा धेरै १.०२ प्रतिशतले बढेर ३ हजार २१०.३७ विन्दुमा पुगेको छ । बैंकिङ उपसूचक १.०१ प्रतिशतले बढेर १ हजार ५३२.५८ विन्दुमा पुगेको छ । विकास बैंक उपसूचक ०.५३ प्रतिशतले बढेर ५ हजार ४००.३४ विन्दुमा कायम भएको छ । त्यस्तै, वित्त उपसूचक ०.२१ प्रतिशतले बढेर २ हजार १८८.०६ विन्दुमा पुगेको छ । जीवन बीमा उपसूचक सामान्य ०.०५ प्रतिशतले बढेर ११ हजार ६१८.९० विन्दुमा कायम भएको छ । घट्ने समूहमा होटल तथा पर्यटन उपसूचक सबैभन्दा धेरै ०.८७ प्रतिशतले घटेर ६ हजार ९१०.६९ विन्दुमा झरेको छ । जलविद्युत् उपसूचक ०.४६ प्रतिशतले घटेर ३ हजार ५२६.४४ विन्दुमा पुगेको छ । लगानी उपसूचक ०.२८ प्रतिशत, म्युचुअल फन्ड ०.२८ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसूचक ०.१९ प्रतिशतले घटेका छन् । निर्जीवन बीमा उपसूचक ०.१२ प्रतिशत, अन्य समूह ०.४२ प्रतिशत र लघुवित्त उपसूचक ०.०१ प्रतिशतले घटेका छन् ।
कांग्रेस सहमहामन्त्री : २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ । २ हजार ३९० मत गणना गर्दा खतिवडाले १ हजार ७५ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले ७७२ मत ल्याएका छन् । तेस्रो स्थानका डिल्लीराम सुवेदीले ५८३ मत ल्याएका छन् । चौथो स्थानका देवेन्द्रराज कँडेलले ४९९ मत ल्याएका छन् । पाँचौं स्थानका विकास कोइरालाले ३९४ मत पाएका छन् । छैटौं स्थानका राजीव ढुंगानाले ३५३ मत पाएका छन् । सातौं स्थानका रमेशप्रसाद धमलाले २८२ मत पाएका छन् । आठौं स्थानका अमृतकुमार अर्यालले २५७ मत पाएका छन् । पुछारमा रहेका विमलराज क्षेत्रीले ९३ मत पाएका छन् । खुलामा नौ जनाबीच प्रतिस्पर्धा भइरहेको हो, जसमध्ये दुई जनामात्र सहमहामन्त्रीमा निर्वाचित हुनेछन् ।
संसदीय चुनावमा पटक-पटक हार, पार्टी राजनीतिमा बहार
काठमाडौं । मधु आचार्य नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट लोकप्रिय मतसहित उपसभापतिमा निर्वाचित भएका छन् । उनी २ हजार ३४२ मत प्राप्त गरेर विजयी भएका हुन् । उनको राजनीतिक यात्रालाई बुझ्न उनको विद्यार्थी जीवन र काभ्रेपलाञ्चोकको जिल्ला राजनीतिसम्म फर्किनुपर्छ । सिभिल इन्जिनियरिङमा स्नातक तथा समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका आचार्य प्राविधिक र सामाजिक अध्ययनको पृष्ठभूमि भएका नेता हुन् । उनको राजनीतिक सक्रियता विद्यार्थी आन्दोलनसँग जोडिएको छ । २०३५ सालको विद्यार्थी आन्दोलनका क्रममा हिरासतमा परेका आचार्यले २०४६ सालको जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनमा पनि सहभागिता जनाएका थिए । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षदेखि बहुदलीय व्यवस्था पुनःस्थापनापछिको पार्टी राजनीतिसम्म उनको यात्रा फैलिएको छ । आचार्यको राजनीतिक पहिचान निर्माणमा काभ्रे कांग्रेसको संगठनात्मक नेतृत्वले महत्त्वपूर्ण भूमिका खेलेको बताउँछन् स्थानीय नेताहरू । जिल्ला सभापतिको जिम्मेवारीमा रहँदा उनले स्थानीय तहको पार्टी संरचना र कार्यकर्तासँग प्रत्यक्ष सम्बन्ध राख्ने अवसर पाए । जिल्ला राजनीतिमा स्थापित हुनु र केन्द्रीय नेतृत्वमा प्रभाव जमाउनु फरक कुरा भएपनि आचार्यको यात्रामा यी दुई तहबीचको सम्बन्ध महत्त्वपूर्ण देखिन्छ । पार्टी सत्तामा लामो समयदेखिका बागी नेता आचार्य राजकिय सत्ताको स्वादबाट पनि वेखबर नेता हुन् । आचार्य २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी काभ्रे–२ बाट प्रतिस्पर्धामा उत्रिएका थिए । संसदीय निर्वाचनमा सफलता हात नपरे पनि पार्टी संगठन र नीतिगत काममा उनको सक्रियता जारी रह्यो । उनले कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाले । राजनीतिक दलका लागि नीति अनुसन्धान र प्रशिक्षण प्रायः संगठनात्मक गतिविधिको छायामा पर्ने क्षेत्र हुन् । तर पार्टीको घोषणापत्र, सार्वजनिक नीति, राजनीतिक दृष्टिकोण र कार्यकर्ताको वैचारिक प्रशिक्षण निर्माणमा यिनको महत्व हुने भएकोले आचार्यको पृष्ठभूमिलाई यही पक्षबाट पनि मूल्यांकन गर्न सकिन्छ । गगन थापासँगको निकटता र पार्टीभित्रको नेतृत्व परिवर्तनको अभियानमा सक्रियताले उनलाई नयाँ नेतृत्वको महत्त्वपूर्ण पात्र बनाएको छ । तर उनको राजनीतिक मूल्यांकनलाई थापासँगको सम्बन्धमा मात्र सीमित गर्नु उचित हुँदैन । जिल्ला संगठनमा गरेको काम र नीतिगत जिम्मेवारीमा पुर्याएको योगदान पनि त्यसका आधार हुन् जसले आचार्यलाई पार्टी उपसभापति तहमा पुर्याएको छ । उपसभापतिको जिम्मेवारीले अब आचार्यलाई अर्को परीक्षामा उभ्याएको छ । जिल्ला तहको अनुभवलाई केन्द्रीय संगठनमा कसरी उपयोग गर्ने, पार्टीका निर्णयलाई नीतिगत आधार कसरी दिने र नेतृत्व परिवर्तनपछि देखिन सक्ने आन्तरिक असन्तुष्टिलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उनको कार्यकालसँग जोडिनेछन् ।
स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त
काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त भएका छन् । बोर्डको रिक्त रहेको सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका हुन् । नवनियुक्त सदस्यहरूले सोमबार आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त सदस्यहरुलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
भारतका लागि प्रस्तावित राजदूतलाई रास्वपा सांसदहरूको प्रश्नः तपाईं ‘नेपो बेबी’ हो कि होइन ?
काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत डा.निश्चलनाथ पाण्डेमाथि संसदीय सुनुवाइ समितिमा पारिवारिक राजनीतिक प्रभाव (नेपो बेबी) को आरोप र वर्षौंदेखि नेपालमा थन्किएका प्रतिवन्धित भारतीय नोट सटहीको एजेण्डालाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रश्न उठाएका छन् । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रश्तावित राजदुतको कुटनीतिक दक्षता, स्वार्थको द्वन्द्व र दिल्लीसँगका पेचिला आर्थिक–सामरिक विषयमा स्पष्ट कार्ययोजना माग गर्दै र्‍याखर्‍याख्ती पारेका हुन् । बैठकमा रास्वपा सांसद राजीव खत्रीले पूर्वमन्त्रीको पारिवारिक पृष्ठभूमिलाई इंगित गर्दै राजनीतिक पहुँच र ‘नेपो बेबी’ को लाभ पाएर राजदुत सिफारिस भएको हो वा योग्यताको आधारमा भन्नेबारे प्रस्टीकरण माग गरे । उनले विगतमा प्रस्तावित राजदूतले ‘नेपालको कुटनीतिक संयन्त्रमा खिया लागेको’ भनी दिएको सार्वजनिक अभिव्यक्ति स्मरण गराउँदै कार्यकाल सकिँदा त्यो संयन्त्र कति धारिलो बन्ला भनी प्रश्न गरे । साथै लामो समय एउटै गैरसरकारी थिंकट्यांकमा नेतृत्व गर्दा पदीय स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) हुने वा नहुने विषयमा पनि उनले जवाफ खोजे । सांसद मधुकुमार चौलागाईंले भारतले नोटबन्दी गर्दा नेपालमै अड्किएका पाँच सय र एक हजार दरका करोडौं भारु सटही गराउन अहिलेसम्म ठोस नतिजा नआएको भन्दै राजदुतको रूपमा खेल्ने भूमिकाबारे प्रश्न तेस्र्याए । उनले सीमावर्ती भारतीय बाँध र सडकका कारण तराईमा हुने वर्षेनी डुबान, चिनियाँ संलग्नता रहेका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली खरिदमा भारतले देखाएको अनिच्छा, दशकौँदेखि अलपत्र पञ्चेश्वर र हुलाकी राजमार्गको प्रगति तथा भारतमा कार्यरत असंगठित नेपाली श्रमिकको सामाजिक–कानुनी सुरक्षाबारे ठोस योजना माग गरे । अर्का सांसद डा. लेखजंग थापाले जलविद्युत सम्भाव्यतालाई आर्थिक र कुटनीतिक लाभमा बदल्ने रणनीति तथा सुनौली नाका आसपास नेपाली भूभाग भएर पनि सडक विस्तार गर्न नपाएको यथार्थ औंल्याए । विगतमा कोभिड महामारीका बेला सीमामा अलपत्र नागरिकको उद्धारको उदाहरण दिँदै उनले आपतकालीन अवस्थामा शुरुवाती २४ घण्टाभित्र दुतावासले गर्ने कुटनीतिक पहल र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको अवरोध हटाउने समयसीमाबारे प्रश्न गरे । रास्वपाकै सांसद पुनमकुमारी अग्रवालले लिपुलेक, लिम्पियाधुरा र कालापानी सीमा विवादको समाधान, नेपालको हितविपरित आउने कुटनीतिक दबाब थेग्ने आधार र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि भारतीय एयरस्पेस सहजीकरणको खाका प्रस्तुत गर्न माग गरिन् । सांसदहरूले मौखिक प्रतिवद्धताभन्दा पनि दुई देशीय पेचिला समस्या सुल्झाउन समयवद्ध र मापनयोग्य कार्ययोजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।
गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा, बिमस्टेकको बैठकमा सहभागी हुने
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । उनी सोमबार अपरान्ह भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् । गुरुङ बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास बिमस्टेक अन्तर्गत सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारत जान लागेका हुन् । उक्त बैठक मंगलबार, अक्टोबर १३ मा नयाँदिल्लीमा हुँदैछ । बैठकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरू सहभागी हुने कार्यक्रम छ । सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा गृहमन्त्रीस्तरीय बैठक पहिलोपटक हुन लागेको हो। बैठकमा क्षेत्रीय सुरक्षा, आतङ्कवाद नियन्त्रण, सीमापार अपराध तथा सुरक्षा निकायबीचको समन्वय र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। गृहमन्त्रीको पदभार सम्हालेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो ।
कांग्रेस सहमहामन्त्रीको मतगणना : रामहरि खतिवडाको फराकिलो अग्रता
काठमाडौं । नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले फराकिलो अग्रता बनाएका छन् । हालसम्म २ हजार ८९ मत गणना हुँदा खतिवडाले ९५५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । उनलाई पछ्याइरहेका अजयबाबु शिवाकोटीले ६९२ मत प्राप्त गरेका छन् । खतिवडा शिवाकोटीभन्दा २६३ मतले अगाडि छन् । त्यस्तै, डिल्लीराम सुवेदी ५१९ मतसहित तेस्रो स्थानमा छन् भने देवेन्द्रराज कँडेलले ४१८ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् । यसैगरी, विकास कोइरालाले ३४९, रमेशप्रसाद धमलाले २४७, अमृतकुमार अर्यालले २०९ र राजीव ढुंगानाले २०३ मत प्राप्त गरेका छन् । सहमहामन्त्री खुलातर्फका अर्का उम्मेदवार विमलराज क्षेत्रीले ७७ मत प्राप्त गरेका छन् ।
सरकारले फिर्ता गर्यो एमाले केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरी
काठमाडौं । सरकारले नेकपा एमालेको केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरीलाई आजदेखि फिर्ता बोलाएको छ । आज बिहानैदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलको सुरक्षामा तैनाथ सुरक्षाकर्मी हटाइएको हो । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार प्रहरी नायव निरीक्षक सईको कमाण्डमा रहेको सुरक्षा तैनाथी आजबाट एक्कासी हटाइएको हो । सरकारको निर्णयसँगै एमाले केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरीलाई फिर्ता गरिएको हुनसक्ने आछार्यको बुझाई छ । यसअघि एमाले पार्टी कार्यालयको सुरक्षाका लागि प्रहरी आवाशियरुपमै च्यासलमा रहने गरेको आचार्यले जानकारी दिए । ११ जनाभन्दा धेरै प्रहरी सुरक्षकर्मी कार्यालयको पछिल्लो भागमा आवाशियरुपमै बस्ने गरेको आचार्यले जानकारी दिए । उनले भने आज एक्कासि प्रहरी दिइरहेको सुरक्षा हटेको छ ।