मानसिक स्वास्थ्यमा न्यून लगानी, ८० प्रतिशत नागरिक उपचार बाहिर
काठमाडौं । नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गए पनि आवश्यक उपचार सेवा पाउने नागरिकको संख्या न्यून रहेको भन्दै सरोकारवालाहरूले सरकारी लगानी, संस्थागत संरचना र जनशक्ति व्यवस्थापनमा सुधार गर्न माग गरेका छन् । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा.कृष्णप्रसाद पौडेलका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी उपचार आवश्यक पर्ने नागरिकमध्ये करिब ८० प्रतिशतले सेवा पाउन सकेका छैनन् । करिब २० प्रतिशतले मात्र आवश्यक सेवा प्राप्त गरिरहेको उनले बताए । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. पौडेलले नेपालमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्ने भनिए पनि बजेट विनियोजन र कार्यक्रम कार्यान्वयनमा पर्याप्त ध्यान पुग्न नसकेको बताए । डा.कृष्णप्रसाद पौडेल । मानसिक स्वास्थ्यलाई व्यक्तिगत समस्याका रूपमा मात्र नहेरी राष्ट्रिय जनस्वास्थ्यको महत्त्वपूर्ण मुद्दाका रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । डा. पौडेलका अनुसार नेपालमा करिब १० प्रतिशत नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको छ । सन् २०२० को सर्वेक्षणलाई उद्धृत गर्दै उनले ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको जानकारी दिए । नेपालमा वार्षिक करिब सात हजार दुई सय जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले आत्महत्या न्यूनीकरणलाई प्रमुख चुनौतीका रूपमा औंल्याए । हाल प्रति एक लाख जनसङ्ख्यामा २४ जनाको आत्महत्याबाट मृत्यु हुने गरेको उल्लेख गर्दै उनले दिगो विकास लक्ष्य हासिल गर्न यो दरलाई पाँचभन्दा तल झार्नुपर्ने बताए । ‘दिगो विकासको लक्ष्य हासिल गर्न अहिले प्रति एक लाख जनामा २४ जनाको आत्महत्या हुने दरलाई पाँचभन्दा तल पुर्याउने ठूलो कार्यभार छ । मानसिक स्वास्थ्य प्राथमिकतामा भए पनि बजेट विनियोजन पर्याप्त छैन,’ डा. पौडेलले भने । उनका अनुसार आत्महत्याका कतिपय घटना प्रहरी तथा स्वास्थ्य संस्थासम्म नपुग्ने भएकाले यकिन तथ्याङ्क सङ्कलन र विश्लेषणका लागि प्रभावकारी संयन्त्रको आवश्यकता छ । प्राकृतिक विपद्, बाढीपहिरो र भूकम्पजस्ता घटनाले पनि नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यसलाई स्वास्थ्य क्षेत्रसँगै सामाजिक क्षेत्रका कार्यक्रममार्फत सम्बोधन गर्नुपर्ने उनले बताए । स्वास्थ्य बजेटको पाँच प्रतिशत लगानी स्वास्थ्य क्षेत्रमा सरकारी लगानी न्यून हुँदा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन र सेवा विस्तारमा कठिनाइ भइरहेको डा. पौडेलले जानकारी दिए । सरकारले स्वास्थ्य वित्त रणनीति स्वीकृत गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको उनको भनाइ छ । तीनै तहका सरकारले स्वास्थ्य क्षेत्रमा १० प्रतिशत लगानी गर्ने लक्ष्य राखिए पनि रणनीतिमा ‘क्रमशः’ भन्ने शब्द थपिएपछि बजेट वृद्धि हुन नसकेको उनले उल्लेख गरे । रणनीति स्वीकृत भएको लामो समय बितिसक्दा पनि स्वास्थ्य क्षेत्रमा सरकारी लगानी करिब पाँच प्रतिशतमा सीमित रहेको उनले बताए । ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको करिब ५२ करोड रुपैयाँको बजेटबाट मानसिक स्वास्थ्य तालिम, एमएच ग्याप कार्यक्रम तथा समुदायमा आधारित गतिविधि सञ्चालन गर्नुपर्ने अवस्था छ,’ डा. पौडेलले भने । सरकारी बजेट अपर्याप्त हुँदा मानसिक स्वास्थ्यसम्बन्धी कतिपय कार्यक्रम साझेदार संस्थाहरूको सहयोगमा सञ्चालन गर्नुपरेको उनले बताए । मानसिक स्वास्थ्य सेवा विस्तारका लागि सरकारी लगानी बढाउनुका साथै विभिन्न निकायबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो । नीति बने पनि कार्यान्वयन फितलो मानसिक स्वास्थ्य अधिकारकर्मी तथा कोसिसका संस्थापक मातृकाप्रसाद देवकोटाले मानसिक स्वास्थ्यका क्षेत्रमा लामो समयदेखि काम भइरहे पनि नीतिगत प्रतिबद्धता कार्यान्वयनमा समस्या रहेको बताए । मातृकाप्रसाद देवकोटा । उनका अनुसार २०५३ सालमै मानसिक स्वास्थ्य नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयन र सम्बन्धित मन्त्रालयको स्वामित्वमा कमजोरी देखिएको छ । मानसिक स्वास्थ्यसम्बन्धी नीतिलाई व्यवहारमा उतार्न संघ र प्रदेश तहमा प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने उनले बताए । देवकोटाले सर्वोच्च अदालतको परमादेशअनुसार मानसिक स्वास्थ्यका लागि छुट्टै महाशाखा वा विभाग स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए । मानसिक स्वास्थ्यलाई नीतिगत बहसमा मात्र सीमित नराखी कार्यान्वयनका लागि जिम्मेवार निकाय, पर्याप्त बजेट र स्पष्ट कार्ययोजना आवश्यक रहेको उनको भनाइ थियो । परामर्श सेवा विस्तार गर्नुपर्ने कार्यक्रमका वक्ताहरूले मानसिक स्वास्थ्यसम्बन्धी सेवा स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार पालिका तथा वडा तहका स्वास्थ्य संस्था र अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी तालिमप्राप्त जनशक्ति परिचालन गरी मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन आवश्यक छ । आधारभूत स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिएर सेवा विस्तार गर्ने ‘टास्क सिफ्टिङ’ विधि, टेलिमेडिसिन तथा साझेदार संस्थासँगको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा पनि सरोकारवालाहरूले जोड दिएका छन् । त्यस्तै, मानसिक स्वास्थ्य सेवाका लागि मनोपरामर्शदाता तथा मनोसामाजिक परामर्शदाताको स्थायी दरबन्दी सिर्जना गर्नुपर्ने र आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । मानसिक स्वास्थ्यसम्बन्धी नीति तथा कार्यक्रम बने पनि पर्याप्त बजेट, संस्थागत जिम्मेवारी र प्रभावकारी कार्यान्वयनको अभावले सेवा विस्तारमा चुनौती देखिएको कार्यक्रममा औंल्याइएको थियो । सरोकारवालाहरूले मानसिक स्वास्थ्यलाई अन्य शारीरिक रोगसरह प्राथमिकता दिँदै कानुनी, नीतिगत तथा संरचनागत सुधार गर्न सरकारसँग आग्रह गरेका छन् ।
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु
काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको छ। नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको अवस्थामा ग्राहकलाई बिक्रीपछिको सेवा सहज बनाउन सर्भिस नेटवर्क विस्तार गरिएको कम्पनीले जनाएको छ। यी दुई परियोजनाले बीवाईडीका ग्राहकलाई सवारीसाधनको मर्मतसम्भार तथा अन्य सेवा थप सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ। बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी र असिस्टेन्ट जनरल म्यानेजर तथा आफ्टर सेल्स प्रमुख फेङ एरदोङले भक्तपुरस्थित सर्भिस सेन्टर उद्घाटन गरेका हुन्। २५ हजार वर्गफिटभन्दा बढी क्षेत्रफलमा सर्भिस सेन्टर भक्तपुरमा निर्माण गरिएको नयाँ सर्भिस सेन्टर २५ हजार ७२.६० वर्गफिट क्षेत्रफलमा फैलिएको छ। यसलाई बिक्री, सर्भिस र स्पेयर पार्ट्ससम्बन्धी सुविधा एउटै स्थानबाट उपलब्ध गराउने ‘थ्रीएस’ सेन्टरका रूपमा विकास गरिएको हो। सेन्टरमा आठवटा सर्भिस बे रहेका छन्। तीमध्ये पाँचवटा सञ्चालनमा आइसकेका छन् भने बाँकी तीनवटा सवारीसाधनको सर्भिससम्बन्धी आवश्यकता बढ्दै जाँदा सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ। यसै स्थानमा सवारीसाधन बिक्रीका लागि शोरुम पनि चाँडै सञ्चालनमा आउनेछ। भक्तपुरको सांस्कृतिक तथा वास्तुकलागत पहिचानबाट प्रेरित भएर सर्भिस सेन्टरको डिजाइन तयार गरिएको कम्पनीले जनाएको छ। बीवाईडीको अन्तर्राष्ट्रिय ब्रान्ड मापदण्ड र स्थानीय सम्पदालाई जोड्ने उद्देश्यले यसलाई ‘बीवाईडी हेरिटेज शोरुम एन्ड सर्भिस सेन्टर’ अवधारणामा विकास गरिएको हो। डल्लुमा पनि सर्भिस नेटवर्क विस्तार भक्तपुरको सर्भिस सेन्टर उद्घाटनकै दिन काठमाडौंको डल्लुमा नयाँ सर्भिस सेन्टर निर्माणका लागि शिलान्यास गरिएको हो। डल्लुमा बन्ने सेन्टरले काठमाडौं उपत्यकामा बीवाईडीको बिक्रीपछिको सेवा क्षमता बढाउने कम्पनीको विश्वास छ। शिलान्यास कार्यक्रममा बीवाईडी एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका प्रतिनिधिहरूसहित साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ सहभागी थिए। कम्पनीका अनुसार विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै दक्ष प्राविधिक जनशक्ति, सक्कली स्पेयर पार्ट्स र भरपर्दो मर्मतसम्भार सेवाको आवश्यकता पनि बढ्दै गएको छ। त्यसलाई ध्यानमा राख्दै नेपालमा बीवाईडीको सर्भिस पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो। भक्तपुरमा नयाँ थ्रीएस सेन्टर सञ्चालनमा आउनु र डल्लुमा निर्माण सुरु हुनुले ग्राहकलाई सवारीसाधन खरिददेखि नियमित मर्मतसम्भारसम्म सहज सेवा उपलब्ध गराउने कम्पनीको योजनालाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।
४१ जना बीमा अभिकर्ता कारवाहीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ४१ जना बीमा अभिकर्ता परीक्षार्थीलाई कारवाही गरेको छ । प्राधिकरणबाट सञ्चालित बीमा अभिकर्ताको अनलाइन परीक्षामा परीक्षार्थीले बीमा ऐन विरुद्ध काम गरेको भन्दै कारबाही गरेको हो । प्राधिकरणले ती परीक्षार्थीको परीक्षा रद्द गर्दै तीन महिनासम्मको लागि अभिकर्ता परीक्षाको लागि आवेदन दिन र परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेको छ । परीक्षामा परीक्षार्थीहरूले अनलाइन प्रणालीमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति भन्दा फरक व्यक्ति परीक्षामा सहभागी भई परीक्षा दिँदै गरेको तथा परीक्षामा अनियमितता गरेको अवस्थामा परीक्षा निरीक्षण गर्न खटिएको निरीक्षण समूहले पत्ता लगाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको निर्णयानुसार बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ को दफा ८ को उपदफा (५) बमोजिम परीक्षा रद्द गरी उपदफा (६) बमोजिम तीन महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सामेल हुन नपाउने गरी रोक लगाउने गरी कारबाही गरिएको जनाएको छ ।
आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक
काठमाडौं । आत्महत्याको जोखिम समयमै पहिचान गरी जोखिममा रहेका व्यक्तिलाई उपयुक्त सहयोग, उपचार तथा सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले ‘आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका, २०८३’ सार्वजनिक गरिएको छ । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्ण पौडेललगायतले उक्त निर्देशिका सार्वजनिक गरेका हुन् । निर्देशिकाले आत्महत्याको जोखिम पहिचान, जोखिमको स्तर निर्धारण, सुरक्षा योजना निर्माण, आत्महत्या रोकथामका लागि प्राथमिक सहयोग तथा आवश्यकताअनुसार थप उपचारका लागि रिफरल गर्ने प्रक्रियालाई व्यवस्थित बनाउने लक्ष्य राखेको छ । निर्देशिकाले स्वास्थ्यकर्मीलाई आत्महत्याको जोखिममा रहेका व्यक्तिको अवस्था मूल्याङ्कन गरी सम्मानजनक, सुरक्षित तथा प्रमाणमा आधारित सेवा प्रदान गर्न प्राविधिक मार्गदर्शन गर्नेछ । साथै जोखिममा रहेका व्यक्तिलाई समयमै पहिचान गरी आवश्यक सहयोग र उपचार उपलब्ध गराउन स्वास्थ्य सेवा प्रणालीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । निर्देशिकामा तहगत सेवा पद्धति अनुरूप जोखिम मूल्याङ्कन तथा व्यवस्थापन गर्ने व्यवस्था समेटिएको छ । यसले स्वास्थ्य संस्थामा जोखिम पहिचान र व्यवस्थापन प्रणाली सुदृढ गर्ने, स्वास्थ्यकर्मी तथा समुदायमा परिचालित गेटकिपरको क्षमता विकास गर्ने र आवश्यकताअनुसार समयमै रिफरल तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्ने आधार प्रदान गर्नेछ । मन्त्री मेहेताले निर्देशिका जारी हुनु आत्महत्याको जोखिम समयमै पहिचान तथा उपयुक्त सम्बोधन गर्न स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउने महत्त्वपूर्ण पहल भएको बताउनु भएको छ । स्वास्थ्य सेवा विभागले निर्देशिकालाई सातै प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संरचनामार्फत प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक सहजीकरण गर्ने जनाएको छ । निर्देशिकाको कार्यान्वयनका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग तथा नियमित अनुगमनलाई प्राथमिकता दिइनेछ । आत्महत्या तथा आत्महानीसम्बन्धी घटनाको व्यवस्थित अभिलेखीकरण, प्रतिवेदन र तथ्याङ्कको प्रयोगमार्फत अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई समेत प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । संघ, प्रदेश र स्थानीय तहका सरकार, स्वास्थ्यकर्मी तथा समुदायबीचको समन्वय र सहकार्यमार्फत निर्देशिकाको प्रभावकारी कार्यान्वयन गरी आत्महत्याको जोखिममा रहेका व्यक्तिको समयमै पहिचान, आवश्यक सहयोग र उपचारमा पहुँच सुनिश्चित गर्ने विभागले अपेक्षा गरेको छ ।
एमजी हेक्टर टोमहक ईभी नेपालमा, मूल्य ५७ लाख ९९ हजारदेखि
काठमाडौं । एमजीले नेपाली बजारमा नयाँ विद्युतीय एसयूभी ‘एमजी हेक्टर टोमहक ईभी’ सार्वजनिक गरेको छ। नेपालका लागि जेएसडब्लू एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले यसको मूल्य सार्वजनिक गरेको हो। कम्पनीका अनुसार एमजी हेक्टर टोमहक ईभीको नियमित मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, सुरुवाती चरणमा पहिलो ५० जना ग्राहकले यो गाडी ५७ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा खरिद गर्न सक्नेछन्। कम्पनीले मूल्यमा पारदर्शिता कायम गर्ने उद्देश्यले गाडीका स्पेयर पार्ट्सको मूल्यसूचीसमेत सार्वजनिक गरेको जनाएको छ। एक पटकको चार्जमा ५१७ किलोमिटरसम्म रेन्ज एमजी हेक्टर टोमहक ईभीमा ६९.२ किलोवाट आवर क्षमताको ब्याट्री र १५० किलोवाटको विद्युतीय मोटर रहेको छ। उक्त मोटरले ३१० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यसले एक पटकको चार्जमा एमआईडीसी प्रमाणित मापदण्डअनुसार ५१७ किलोमिटरसम्म रेन्ज दिन्छ। यो एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.२ सेकेन्डमा हासिल गर्न सक्छ। यसमा ९० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा छ। उक्त चार्जरबाट ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३५ मिनेट लाग्ने कम्पनीले जनाएको छ। त्यस्तै, ७.४ किलोवाटको एसी चार्जर प्रयोग गर्दा ब्याट्रीलाई १० देखि १०० प्रतिशतसम्म चार्ज गर्न करिब १२.५ घण्टा लाग्छ। पाँच र सात सिटको विकल्प एमजी हेक्टर टोमहक ईभी पाँच र सात सिटको विकल्पमा उपलब्ध हुनेछ। पाँच सिटे संस्करणमा ६१० लिटरसम्मको बुट स्पेस रहेको छ। गाडीमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा २२.३ सेन्टिमिटरको मल्टिइन्फर्मेसन डिस्प्ले दिइएको छ। सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ट्र्याक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, एबीएससहित ईबीडी, चारवटै पाङ्ग्रामा डिस्क ब्रेक, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, आइसोफिक्स चाइल्ड सिट एंकर, रियर पार्किङ सेन्सर र रिभर्स पार्किङ क्यामेरा जस्ता सुविधा छन्। जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले नेपाली बजारमा स्मार्ट र वातावरणमैत्री यातायातप्रतिको आकर्षण बढ्दै गएको बताए। उनका अनुसार एमजी हेक्टर टोमहक ईभीले प्रविधि, आराम र विद्युतीय कार्यक्षमताको संयोजन प्रस्तुत गर्नेछ। कम्पनीले गाडी बिक्रीसँगै बिक्रीपछिको सेवा पनि प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। ग्राहकले एमजी हेक्टर टोमहक ईभीको बुकिङ र टेस्ट ड्राइभका लागि काठमाडौंको थापाथलीस्थित एमजी काठमाडौंमा सम्पर्क गर्न सक्नेछन्।
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय र पहुँचयोग्य बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । विश्व मानसिक स्वास्थ्य दिवस, २०२६ का अवसरमा सोमबार मन्त्रालयले आयोजनाको गरेको कार्यक्रममा उनले मानसिक स्वास्थ्यसम्बन्धी विषय सरकारको प्राथमिकतामा रहेको बताएकी हुन् । ‘सरकारका तर्फबाट म स्पष्ट पार्न चाहन्छु, मानसिक स्वास्थ्यको विषय हाम्रो प्राथमिकतामा छ । हाम्रो लक्ष्य मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिले उपचार र सहयोग खोज्दा अपमानित वा उपेक्षित महसुस गर्नुपर्ने अवस्थाको अन्त्य गर्नु हो,’ उनले भनिन् । उनले प्रत्येक नागरिकले आफ्नो मानसिक स्वास्थ्यसम्बन्धी समस्या खुलेर व्यक्त गर्न सक्ने, समयमै आवश्यक सहयोग पाउने र सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन आवश्यक कानुनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री मेहताले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्‌बाट पारित भइसकेकाले त्यसैका आधारमा ऐन निर्माणको अघि बढाइने स्पष्ट पारिन् । उनले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिले उपचारका लागि भौतारिनुपर्ने अवस्था अन्त्य गर्दै प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवासम्म सहज पहुँच स्थापित गर्नुपर्नेमा जोड दिइन् । उनले १०० शय्याभन्दा बढी क्षमताका अस्पतालमा मानसिक स्वास्थ्य सेवाका लागि आवश्यक शय्या छुट्याउने तथा सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता जनाइन् ।
सिटिजन्स बैंकले जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर बाँड्यो
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशको जुम्लास्थित पातारासी गाउँपालिका–७, रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वेटर वितरण गरेको हो । बैंकको जुम्ला शाखामार्फत विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरिएको हो। ग्रामीण क्षेत्रका विपन्न परिवारका विद्यार्थीलाई जाडोमा विद्यालय आउन सहज बनाउने उद्देश्यले स्वेटर वितरण गरिएको बैंकले जनाएको छ । यस पहलले ग्रामीण क्षेत्रका विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ । बैंकका अनुसार हाल २० लाख ७८ हजारभन्दा बढी ग्राहकले यसका बैंकिङ सेवा उपयोग गरिरहेका छन् ।
कांग्रेस महाधिवेशन : खुलातर्फ केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहानदेखि
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहानदेखि सुरु हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतपत्र नम्बर ४ अन्तर्गतका खुलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणना भोलिबाट सुरु गर्ने भएको हो । मतगणना नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा हुने जनाइएको छ ।