विकासन्युज

नाटाले भन्योः मानवीय र सवारीसाधन क्षति भए जानकारी दिनू

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)ले रसुवामा आएको बाढीले बेपत्ता भएका मानिस र क्षति भएका सवारीसाधनको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।  बुधबार बिहान रसुवामा आएको बाढीले ठूलो धनजनको क्षति भएको थियो । नेपाल पर्यटन बोर्डका अनुसार विभिन्न ट्राभल एजेन्सीहरूमार्फत यात्रामा रहेका कुल ३८४ जना यात्रुहरू ( २९१ विदेशी र ९३ नेपाली) सम्पर्कविहीन रहेका छन् । 'कुनै पनि नाट्टा सदस्य कम्पनीहरूमार्फत गएका पर्यटकहरू वा कर्मचारीहरू सम्पर्कविहीन, कुनै मानवीय क्षति र सवारी साधनलगायत कुनै पनि प्रकारको भौतिक नोक्सानी भएमा नाट्टाको सचिवालयमा वा गुगल फारम भरी जानकारी गराउनु पर्नेछ,'नाटाले जारी विज्ञप्तिमा बताइएको छ । त्यसैगरी नाट्टाले विभिन्न टुर एण्ड ट्राभल्सबाट गएका पर्यटकको संख्या सार्वजनिक गरेको छ । स्मार्ट टुर एण्ड ट्राभल्स ७१, ट्रेकर्स सोसाइटी ९२, काठमाडौं होलिडे टुर एण्ड ट्राभल्स १७, रिचा टुर एण्ड ट्राभल्स १२, लिफ ट्राभल्स ५५, फिस्टेल एण्ड ट्राभल्स २७, कैलाश जोर्नी ३१, हिमालयन ग्लासियर ५२, एक्सपोल्र भ्याकेसन ७ र अल्पाइन इको ट्रेकबाट २० जना गएका थिए । यस्तै रोशा ट्राभल्स एण्ड टुर्सको ६३७३ नम्बर बसको चालक टिमुरेबाट भरत लामा सम्पर्कविहिन भएका छन् । हालसम्म लामा कसैको सम्पर्कमा नआएका नाटाका अध्यक्ष भरतजंग पाण्डेले जानकारी दिए । नाटाको टिमले सम्पर्क नभएका व्यक्तिहरूको खोजी गरिरहेको उनले बताए । बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र  गोर्खामा क्षति पुर्याएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ । २८ जना प्रहरीहरू सम्पर्कविहिन भएका छन् । 

यी हुन् सर्वदलीय बैठकका १० निर्णय

काठमाडौं । सर्वदलीय बैठकले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र परिचालन गर्नुपर्नेमा जोड दिँदै १० बुँदे साझा संकल्प गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार (आज) सर्वदलीय बैठक बसेको हो । बैठकले विपद्को कठिन परिस्थितिमा राजनीतिक मतभेदभन्दा माथि उठेर उद्धार, राहत र पुनःस्थापनाका काममा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । बैठकले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन दलका नेता तथा कार्यकर्तालाई मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।  त्यस्तै, विपद् प्रभावितका लागि आर्थिक सहयोग संकलन गर्दा एकद्वार प्रणाली लागू गर्ने सहमति भएको छ । बैठकले हिमतालहरूको जोखिम र अवस्थाबारे वैज्ञानिक अध्ययन गर्न पहल गर्ने तथा भविष्यमा यस्ता विपद्का कारण हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । त्यसैगरी, विपद्बाट क्षतिग्रस्त संरचना तथा क्षेत्रको पुनःनिर्माणका लागि राष्ट्रिय पुनर्निर्माण अभियान सञ्चालन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।  आवश्यक स्रोत जुटाउन अन्तर्राष्ट्रिय संघसंस्था तथा सहयोगी निकायलाई सहयोगका लागि अपिल गर्ने निर्णयसमेत भएको छ । बैठकले विपद्पछिको उद्धार, राहत, उपचार र पुनःस्थापनामा राज्यका सबै संयन्त्रलाई समन्वयात्मक रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएको छ । सर्वदलीय बैठकले विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्दै प्रभावित नागरिकको जीवनरक्षा र पुनःस्थापनालाई प्राथमिकतामा राखेर अघि बढ्ने साझा प्रतिबद्धतासमेत व्यक्त गरेको छ । हेर्नूहोस् १० निर्णयहरू :

पुर्व प्रहरी महानिरीक्षक खापुङको प्रधानमन्त्री राहत कोषमा एक महिनाको पेन्सन

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले प्रधानमन्त्री राहत कोषमा एक महिनाको पेन्सन रकम जम्मा गरेका छन् । उनले कोषमा ४८ हजार ५५ रुपैयाँ जम्मा गरेको सार्वजनिक गरेका छन् । खापुङ नेपाल प्रहरीको महानिरीक्षक पदमा ७१ दिन बहाल रहेका थिए ।  बुधबार बिहान रसुवामा आएको बाढीले ठूलो धनजनको क्षति गरेको थियो । बाढीले नुवाकोट, रसुवा, धादिङ र गोर्खामा असर गरेको थियो । बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र  गोर्खामा क्षति पुर्याएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ । २८ जना प्रहरीहरू सम्पर्कविहिन भएका छन् ।  खापुङ ३० वर्षे सेवा अवधिका कारण २०८२ कात्तिकमा प्रहरी सेवाबाट विदा भएका थिए ।

बाढीपीडितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार र पुनर्स्थापनाका लागि कुल ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ । यससँगै विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार र अनुगमन कार्यलाई प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका पाँच वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, तीन वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको बैंकले जनाएको छ । हालैको बाढी र प्राकृतिक प्रकोपबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो क्षति पुगेको छ । प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी सहयोग गरिएको बैंकले जनाएको छ । कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गर्दै यस सहयोगले राहत, उद्धार र पुनर्स्थापना अभियानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । बैंकले विपद्को यस कठिन घडीमा प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै राहत, उद्धार र पुनर्स्थापना कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय जारी राख्ने जनाएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता भएकाहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ ।

बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा व्यापक कटान र डुबान निम्त्याई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । नदीको तीव्र बहावले सयौं नागरिकको अकालमै ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा सयौं परिवार घरवारविहीन भई विस्थापित हुनुपरेको छ । साथै, नदीले स्थानीय बस्ती, पुल, सडक सञ्जाल तथा जलविद्युत आयोजनाहरू बगाएर अभूतपूर्व विनाश निम्त्याएको छ । बाढी र पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै बैंकले बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूलाई तत्काल खाद्यान्न एवं बासस्थानको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सघाउ पुर्‍याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्वलाई राष्ट्रिय संकट र विपद्को घडीमा नागरिकको घाउमा मलम लगाउने मुख्य कर्तव्यका रूपमा लिँदै आएको छ । यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्हरूमा बैंकले अग्रपङ्क्तिमा रहेर आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको छ । विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको यस बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत हात पारेको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले ३४१ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।

उद्धारका लागि हिँड्यो महासचिव पोखरेल नेतृत्वको एमाले टोली

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालयबाट प्रस्थान गरेको टोलीमा सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, प्रचार विभाग प्रमुख निरज आचार्य, पूर्वउपमहासचिव विष्णु रिमाल र केन्द्रीय सदस्य पार्वत गुरुङ सहभागी छन् । त्यस्तै, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष अवकाश प्राप्त सहायक रथी विनोद पाण्डे, मोर्चा संगठन प्रमुख विशाल भट्टराई तथा युवा तथा खेलकुद विभाग प्रमुख अमित लामासमेत टोलीमा छन् । एमाले प्रचार विभाग प्रमुख आचार्यका अनुसार टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्नेछ ।  टोलीले स्थानीय तहका जनप्रतिनिधिसँग उद्धार तथा राहत वितरणको अवस्थाबारे जानकारी लिनेछ । यस्तै, स्थानीय प्रशासनसँग उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए । उनका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि एमालेका स्थानीय नेता तथा कार्यकर्तालाई समेत परिचालन गरिनेछ ।  टोलीले स्थलगत अवस्थाको जानकारी लिएपछि प्रभावित क्षेत्रमा आवश्यक सहयोग र पार्टीको तर्फबाट गर्नुपर्ने कामबारे थप निर्णय गर्ने बताइएको छ ।

विपद्पछि दलहरूको साझा एजेन्डा : उद्धार, राहत र पूर्वसूचना प्रणाली सुधार

काठमाडौं । बिहीबार (आज) बसेको सर्वदलीय बैठकले उद्धार, राहत, पूर्वसूचना प्रणाली र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारलाई विभिन्न प्रस्ताव अघि सारेको छ । तिब्बतको विनाशकारी बाढीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो । बैठकमा सहभागी प्रमुख राजनीतिक दलका नेताहरूले विपद् प्रतिकार्यलाई तीव्र र समन्वित बनाउनुपर्ने, बेपत्ता तथा मृतकको खोजी र पहिचानका लागि विशेष संयन्त्र गठन गर्नुपर्ने तथा क्षतिग्रस्त पूर्वाधार तत्काल पुनःस्थापना गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्को विषय केही दिनपछि ओझेलमा पर्न सक्ने भन्दै यसलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकता बनाउनुपर्ने बताए । जलवायु परिवर्तन, हिमताल विस्फोट र हिमाली क्षेत्रमा बढ्दो विपद् जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो । उनले राजनीतिक दललाई आफ्ना प्रभावकारी संयन्त्रमार्फत राहत तथा सहयोग रकम संकलन गर्न अनुमति दिनुपर्ने प्रस्ताव पनि राखे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले विपद्का बेला सबै राजनीतिक दल एकजुट रहेको सन्देश जनतामाझ पु‍र्याउनुपर्ने बताए ।  उनले जलवायु न्यायका विषयमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्ने तथा पूर्वसूचना प्रणालीलाई विश्वसनीय र समयमै सूचना प्रवाह गर्न सक्ने बनाउनुपर्नेमा जोड दिए । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बेपत्ता तथा मृत्यु भएका व्यक्तिको पहिचान र शव खोजीका लागि विशेष कार्यदल बनाउनुपर्ने बताए ।  उद्धारलाई तीव्र र समन्वित बनाउँदै खानेपानी, विद्युत् लगायत अत्यावश्यक सेवा तथा जनजीवनसँग प्रत्यक्ष जोडिएका पूर्वाधार तत्काल पुनःस्थापना गर्नुपर्ने उनको भनाइ थियो । पूर्वसूचना प्रणाली अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको विषयमा गम्भीर समीक्षा र अनुसन्धान आवश्यक रहेको पोखरेलले बताए ।  नेपालले भोगिरहेको विपद्लाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै छिमेकी मुलुकसँग सूचना आदानप्रदान तथा समन्वयको प्रभावकारी संयन्त्र बनाउनुपर्ने उनले बताए ।  सरकारको आह्वानमा स्वयंसेवक परिचालन गर्न एमाले तयार रहेको पनि उनले उल्लेख गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले उद्धार तथा प्रतिकार्यमा हुने राजनीतिकरण अन्त्य गर्नुपर्ने बताए ।  राहत तथा उद्धारका लागि सहयोग संकलनदेखि वितरणसम्म एकद्वार प्रणाली लागू गर्नुपर्ने र प्रभावित तथा विस्थापित नागरिकको अस्थायी पुनःस्थापना तत्काल सुरु गर्नुपर्ने उनको प्रस्ताव थियो । चीनबाट प्राप्त पूर्वसूचनासमेत अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको उल्लेख गर्दै लिङ्देनले नेपाल, चीन र भारतबीच विपद् पूर्वतयारी तथा पूर्वसूचनाका लागि त्रिपक्षीय सूचना तथा समन्वय संयन्त्र बनाउनुपर्ने बताए । बैठकमा रसुवागढी भन्सार क्षेत्रमा १५ जना बेपत्ता रहेको जानकारी दिइएको थियो। करिब ७०० मेगावाट क्षमताका विद्युत् आयोजनामा ठूलो क्षति पुगेको तथा प्रभावित क्षेत्रको पूर्वाधार र अर्थतन्त्र पुनःस्थापनाका लागि तत्काल आर्थिक प्याकेज घोषणा तथा कार्यान्वयनको तयारी भइरहेको सरकारको तर्फबाट जानकारी गराइएको थियो । सरकारका अनुसार सुरुङ तथा अन्य संवेदनशील क्षेत्रमा उद्धार र सुरक्षा कार्यका लागि सुरक्षा निकाय परिचालन गरिएको छ ।  ठूलो भौतिक क्षतिका कारण यकिन विवरण संकलनमा चुनौती देखिए पनि मानवीय क्षति र बेपत्ताको विवरण पहिचान गर्ने काम विभिन्न संयन्त्रमार्फत भइरहेको छ । बैठकमा अन्तर्राष्ट्रिय सहयोगबारे पनि जानकारी गराइएको थियो । विश्व बैंकबाट १७ करोड अमेरिकी डलर बराबरको सहयोग र बीमा सहायता उपलब्ध गराउने प्रतिबद्धता आएको तथा चीन, भारत, अमेरिका र एसियाली विकास बैंक (एडीबी) लगायतबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको जानकारीसमेत गराइएको थियो । अमेरिकाबाट ५ लाख र एडीबीबाट ५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध हुने बताइएको छ ।  भारतले आवश्यक सामग्री तथा उपकरणसहित सहयोग गर्ने भएको तथा संयुक्त राष्ट्रसंघका महासचिवसहित अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति ऐक्यबद्धता जनाएको जानकारी बैठकमा दिइएको थियो । बैठकमा चीनसँगको व्यापार तथा आवागमन सहज बनाउन वैकल्पिक सीमा नाका सञ्चालनमा ल्याउने तयारी गर्ने विषयसमेत उठेको छ ।  साथै हिमताल तथा हिमाली क्षेत्रबाट भविष्यमा उत्पन्न हुन सक्ने जोखिमको अध्ययन, अनुसन्धान र पूर्वानुमानका लागि विशेष टोली गठन गर्नुपर्नेमा सहभागी नेताहरूले जोड दिएका छन् । बैठकको अन्त्यमा रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय विपद्को गम्भीरतालाई आत्मसात् गर्दै जिम्मेवारीपूर्वक प्रस्तुत भएकोमा सबै राजनीतिक दललाई धन्यवाद दिए ।  उनले विपद्सँग प्रभावकारी रूपमा जुध्न सबै दलको साझा धारणा र प्रतिबद्धता समेटिएको संयुक्त वक्तव्य जारी गरिने जानकारी दिए ।

राष्ट्रिय संकटमा सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिको सामना गर्न सबै राजनीतिक शक्ति एकजुट भएर साझा संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन् । सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले विपत्तिमा परेका नागरिकले आफूलाई एक्लो महसुस गर्न नपाउने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले मुलुक अहिले गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको भन्दै यस्तो अवस्थामा राजनीतिक आग्रह–पूर्वाग्रह र लामो बहसभन्दा उद्धार, खोजी तथा राहतलाई प्राथमिकता दिनुपर्ने बताए । ‘राष्ट्रिय संकटको सामना गर्न एकजुट बनौँ,’ प्रचण्डले भने, ‘अहिले देश एउटा गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको छ । यस्तो अवस्थामा लामो बहस वा राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिने होइन, सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर खोजी, उद्धार र राहतमा जुट्ने समय हो ।’ उनले विपत्तिबाट प्रभावित नागरिकको जीवनरक्षा तथा राहतका लागि राज्यका संयन्त्रसँगै राजनीतिक दलहरू पनि समन्वयात्मक रूपमा परिचालित हुनुपर्ने धारणा राखे ।