विकासन्युज

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको छ । सोमबार (आज) आरूघाट गाउँपालिका ३, केउरपानी र ढुंगेमा गरी २ वटा ट्रान्सफर्मर थप चार्ज गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।  नेपाल विद्युत प्राधिकरण आरूघाट वितरण केन्द्र, गोरखाका अनुसार हालसम्म यस वितरण केन्द्रअन्तर्गत आरूघाट गाउँपालिका ३ सोती, लिदिङ र स्यामराङका ३ वटा ट्रान्सर्फमर र धार्चेका पुरै क्षेत्रहरूमा लाइन अवरुद्ध छ ।  बाँकी क्षेत्रहरूमा लाइन सुचारू भइसकेको छ । कर्मचारीहरू बिहानै कार्यस्थलमा पुगे पनि सडक अपरान्ह ३ बजे मात्र खुलेकाले काममा अवरुद्ध हुन गएको हो ।  ‘अझै रातिसम्म आरूघाटका सम्पूर्ण क्षेत्रहरू चार्ज गर्ने प्रयास जारी रहनेछ । सडक जति खुल्दै जान्छ, सोहीअनुसार लाइन मर्मत गरि सुचारु गर्दै जानेछौं,’ आरूघाट वितरण केन्द्रले भनेको छ ।  मन्त्रालयका अनुसार बाढीले गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ ।  बाढीबाट बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मेगावाट), दोभान खोला (२४.५ मेगावाट), यारु खोला (३०.५) मेगावाट), माछा खोला (१६ मेगावाट) लगायतका जलविद्युत् आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ । त्यसैगरी, गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेज पोलसहित सोती, आर्खेत तथा आरुघाट बजार क्षेत्रमा वितरण लाइनका पोलहरूमा क्षति पुगेको छ ।  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजार क्षेत्रमा समेत न्यून भोल्टेजका ६ वटा पोलमा क्षति पुगेको छ । मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार बाढीले अवरुद्ध भएलगत्तै प्राधिकरणले विद्युत सेवा सुचारु गर्न काम थालेको थियो ।  करिब १० घण्टामै भीमसेन थापा गाउँपालिका वडा नम्बर २, ३ र ४ मा विद्युत् सेवा सुचारु भएको थियो । यसैगरी, आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको थियो ।  मन्त्रालयले यसै हप्ताभित्र सबै ठाउँमा विद्युत् सेवा सुचारु गर्नेगरी काम भइरहेको जनाएको छ ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई

काठमाडौं । सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले सोमबार (आज) उनीहरूलाई समष्टिगत आर्थिक स्थायित्वका सूक्ष्म आर्थिक आधारसम्बन्धी अनुसन्धानका लागि पुरस्कार दिने घोषणा गरेको हो । हल अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय र वुडफोर्ड कोलम्बिया विश्वविद्यालयसँग आबद्ध अर्थशास्त्री हुन् । उनीहरूको अनुसन्धानले आर्थिक उतारचढाव, मुद्रास्फीति र आर्थिक मन्दीको कारण बुझ्न तथा प्रभावकारी मौद्रिक नीति निर्माण गर्न महत्त्वपूर्ण योगदान पु‍र्याएको छ । विशेषगरी केन्द्रीय बैंकले ब्याजदर परिवर्तन गर्दा उपभोक्ता, व्यवसाय र समग्र अर्थतन्त्रमा पर्ने प्रभाव विश्लेषण गर्न उनीहरूले विकास गरेका आर्थिक मोडेल उपयोगी मानिन्छन् । यस वर्ष पुरस्कारको राशि एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ । उक्त रकम दुवै विजेताले बराबर बाँड्नेछन्। अर्थशास्त्रतर्फको नोबेल पुरस्कार स्विडेनको केन्द्रीय बैंकले अल्फ्रेड नोबेलको स्मृतिमा स्थापना गरेको हो ।

सामसङका घरायसी उपकरणमा एनसेलका ग्राहकलाई ३१ प्रतिशतसम्म छुट

काठमाडौं । एनसेलले सामसङ नेपालसँगको सहकार्यमा आफ्ना ग्राहकलाई घरायसी विद्युतीय उपकरण खरिदमा विशेष छुट उपलब्ध गराउने भएको छ ।  यस सहकार्यअन्तर्गत एनसेलका ग्राहकले सामसङका टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरण खरिद गर्दा अतिरिक्त छुट प्राप्त गर्नेछन् । दशैं, तिहार र छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले सामसङले प्रदान गर्दै आएको चाडपर्व विशेष छुटमा थप १२ प्रतिशतसम्म छुट पाउनेछन् ।  यसबाट ग्राहकले उपकरण खरिदमा कुल ३१ प्रतिशतसम्म रकम बचत गर्न सक्ने एनसेलले जनाएको छ । ग्राहकले पाउने अतिरिक्त छुट भने उनीहरूले प्रयोग गरिरहेको एनसेलको प्याक वा रेन्टल प्याकका आधारमा निर्धारण हुनेछ । यसअनुसार योग्य ग्राहकले ५, ८ वा १२ प्रतिशत अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन् । यो छुट योजना असोज २२ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । योजनामा सहभागी हुन ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर आफू छुटका लागि योग्य भएरनभएको जाँच गर्नुपर्नेछ ।  योग्य ग्राहकले त्यसपछि नेपालभर रहेका सामसङका सहभागी आधिकारिक बिक्री केन्द्रमध्ये आफूलाई पायक पर्ने केन्द्रबाट उपकरण खरिद गर्दा छुट प्राप्त गर्न सक्नेछन् । यस सहकार्यबाट ग्राहकले विश्वसनीय ब्रान्डका घरायसी विद्युतीय उपकरण खरिद गर्दा अतिरिक्त छुटको लाभ लिन सक्ने कम्पनीको विश्वास छ ।

विश्व बाथरोग दिवसको अवसरमा सचेतना ‍र्‍याली

काठमाडौं । विश्व बाथरोग दिवस, २०२६ को अवसरमा र्‍युमाटोलोजी एन्ड आर्थराइटिस सेन्टरले बाथरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा सचेतना र्‍याली गरेको छ ।  ‘आफ्ना सपनाहरू पूरा गरौं’ भन्ने नाराका साथ आयोजित कार्यक्रमले बाथरोगबारे जनचेतना अभिवृद्धि गर्ने, समयमै रोगको पहिचान तथा उपचारको महत्त्व बुझाउने र बाथरोगसम्बन्धी भ्रम हटाउने उद्देश्य राखेको थियो । कार्यक्रममा बाथरोगलाई सामान्य जोर्नी दुखाइका रूपमा मात्र नलिई समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्ने सन्देश दिइएको थियो ।  उचित पहिचान, नियमित उपचार र चिकित्सकीय सल्लाहको पालना गर्न सके रोगबाट हुने जटिलता कम गर्न तथा जीवनको गुणस्तर सुधार गर्न सकिनेमा जोड दिइएको थियो । कार्यक्रमका आयोजक र्‍युमाटोलोजी एन्ड आर्थराइटिस सेन्टर, नक्साल, काठमाडौंका तर्फबाट डा. अरुण कुमार गुप्ता, कन्सल्टेन्ट र्‍युमाटोलोजिस्ट तथा क्लिनिकल इम्युनोलोजिस्ट, ले बाथरोगसम्बन्धी जनचेतना फैलाउन, समयमै उपचार गर्न र विशेषज्ञ परामर्श लिन सबैलाई आग्रह गरे ।  बाथरोगसम्बन्धी सही जानकारी समुदायसम्म पुर्‍याउँदै रोगको समयमै पहिचान र उपचारप्रति जनचेतना बढाउनु नै विश्व बाथरोग दिवसको मुख्य सन्देश रहेको छ । के हो बाथ रोग ?    डा. गुप्ताका अनुसार बाथरोग एक प्रकारको अटोइम्युन डिजिज हो । जब हाम्रो शरीरमा रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आउँछ त्यसपछि बाथ रोग देखा पर्छ । यसले शरीरका विभिन्न जोर्नीहरुमा असर पुराएर समयमै उपचार नगरेमा अपांग समेत बनाउने गर्छ ।  बाथरोग धेरै प्रकारका हुन्छन् । त्यसको प्रकार अनुसार विभिन्न भिन्न खालका लक्षण देखाउँछन् । तर सबैजसो बाथरोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नीहरु दुख्ने, सुन्निने र हिंडडुलमा समस्या हुने हो ।  यसले जोर्नी बाहेक शरीरका भित्री अंगहरु मुटु, मिर्गौला, फोक्सो, मस्तिष्क, कलेजोलाई हानी गर्न सक्छ। समयमा सही उपचार नपाए बाथरोगले अपांग बनाउने मात्र होइन ज्यानसमेत लिने गर्छ । बाथ रोगलाई तराई तिर गठिया रोग भनेको पाइन्छ । यो भर्खर जन्मेको नवजात शिशुदेखि लिएर ८०-९० वर्षका मानिसमा समेत हुने रोग हो ।  प्राय यो रोग माहिलामा बढी हुने गर्दछ । नवजात शिशुदेखि १० वर्षको उमेरका बच्चा बाथ देखियो भने यसलाई जुभिनाइल आरथ्राइटिस भनिन्छ ।  यो बाल्यकालमा हुने बाथ हो । त्यसै गरी यो एडल्ट र उमेर ढल्केका मानिसमा पनि हुने गर्छ । त्यसैले यो जोसुकैलाई र जुनसुकै उमेरमा पनि हुन सक्ने रोग हो । कारण र लक्षण र उपचार  यो रोग यही कारणले नै लाग्ने गर्दछ भनेर अहिले सम्म पत्ता लाग्न सकेको छैन । यो कुनै जीवाणु र किटाणुले गर्दा हुने रोग होइन। यो कुनै संकामक रोग पनि होइन । यो अटो इम्युन रोग हो । यसले हाम्रो शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई कमजोर पारिदिएर शरीरमा आघात पुर्याउने काम गर्छ । त्यसपछि शरीरमा बाथको उत्पत्ति हुन्छ । यो रोग वंशाणुगत कारणले पनि हुनसक्छ । घरमा यदि कोहीमा बाथ देखिएको छ भने परिवारका अन्य सदस्यमा पनि देखा पर्न सक्छ । ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा यो समस्या बढी देखिने गर्दछ । सामान्यतया यो दुखाइबाट हुने रोग भएको हुँदा यसको मुख्य लक्षण भनेको दुखाइ नै हो । शरीरको जुनसुकै अंगमा दुखाइको महसुस हुन्छ जस्तै हाडजोर्नी, टाउको, गर्दन, पाखुरा दुख्ने, चलाउन गाह्रो पर्ने, औंलाहरू सुन्निएर दुख्ने, कुहिनो दुखेर चलाउन नमिल्ने आदि जस्ता पनि बाथका लक्षण हुन् ।  यसैगरी बिहान उठ्दा हाडगोडाको जोर्नी सुनिने, दुख्ने वा कक्रक्क हुने समस्या पनि हुन्छ जसले हिँडडुल गर्न, उठ्न बस्न नै समस्या पार्दछ । जसरी दिन बित्दै जान्छ यसले हड्डीलाई मात्र नभएर मुटु, फोक्सो, कलेजो, आँखा चारै तिर असर गर्दछ ।  जस्तै फोक्सोमा यो समस्या देखियो भने पछि गएर खोकी लाग्ने, स्याँ स्याँ बढ्ने आदि समस्या निम्त्याएर फोक्सोलाई नै यसले नष्ट पारिदिन्छ । यसको लक्षण सबै उमेर समूहका व्यक्तिमा एउटै हुने गरेको पाइन्छ । रोग लागिसकेपछि औषधी उपचार गर्नुको विकल्प रहँदैन । त्यसैले औषधिको माध्यमबाट बाथरोग सजिलै नियन्त्रण गर्न सकिन्छ । बाथरोगको सुरुवाती चरणमा उपचार गराउन सके जीवनयापन सहज बनाउन सकिन्छ ।  बिरामीको अवस्था हेरेर औषधि प्रयोग गर्ने, बायोलोजिकल एजेन्टस्बाट उपचार गर्ने, बाथरोगको अर्को उपचार पद्धति फिजियोथेरापी गर्नुपर्छ । यसले जोर्नी वरपरको लिगामेन्ट र मासंपेशीलाई बलियो बनाउने काम गर्छ । जसले गर्दा जोर्नीको दुखाइ विस्तारै कम हुँदै जान्छ ।

इन्डोनेसियाकी प्रस्तावित राजदूतसँग ढकालको भेट, द्विपक्षीय सम्बन्ध विस्तारमा जोड

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका लागि इन्डोनेसियाकी प्रस्तावित राजदूत लिस्टियोवातीलाई स्वागत गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका ढकालले सोमबार (आज) आईएमई समूहमा आयोजित भेटघाटका क्रममा प्रस्तावित राजदूत लिस्टियोवातीलाई स्वागत गरेका हुन् ।  बंगलादेशको ढाकामा कार्यरत लिस्टियोवाती नेपालका लागि समेत राजदूतका रूपमा प्रस्तावित छिन् । भेटपछि सामाजिक सञ्जालमार्फत ढकालले नेपाल र इन्डोनेसियाबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरेका छन् । दुई देशबीचको सम्बन्ध आपसी सहयोग र साझा मूल्य–मान्यतामा आधारित रहेको बताउँदै उनले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने लिस्टियोवातीको प्रतिबद्धताको प्रशंसा गरेका छन् । ‘नेपाल र इन्डोनेसियाबीच आपसी सहयोग र साझा मूल्य–मान्यतामा आधारित लामो समयदेखिको मित्रता छ,’ ढकालले लेखेका छन्, ‘द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने उहाँको प्रतिबद्धता वास्तवमै प्रेरणादायी छ । ढकालले प्रस्तावित राजदूत लिस्टियोवातीको कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामनासमेत व्यक्त गरेका छन् ।

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न साधारणसभाले प्रस्तावित बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समेटेर लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको बैंकले जनाएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ । प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ । गरिमा विकास बैंकले देशभरका १२६ शाखा कार्यालय, ५१ एटीएम तथा डिजिटल बैंकिङ सेवामार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं । एनएमबी बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को अवसरमा र्‍यापिड टेक प्रालिसँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ । व्यावसायिक संस्थाले प्रयोग गर्दै आएका सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको हो । सम्झौतापछि एनएमबी बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकले आफ्नै बैंकिङ प्रणालीभित्रबाट रकम भुक्तानी, हिसाब मिलान तथा अन्य बैंकिङ कारोबार गर्न सक्नेछन् । यसले कारोबारलाई छिटो र सहज बनाउनुका साथै समय बचत गर्न सहयोग पुग्ने बैंकले जनाएको छ । त्यस्तै, साना तथा मझौला व्यवसायीले पनि व्यापारिक केन्द्र तथा विभिन्न डिजिटल प्लेटफर्ममार्फत छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्। उक्त सुविधा निकट भविष्यमा सञ्चालनमा ल्याउने तयारी रहेको बैंकले जनाएको छ। यस सहकार्यले व्यावसायिक कारोबारमा हुने अनावश्यक झन्झट कम गर्नुका साथै डिजिटल माध्यमबाट वित्तीय सेवा प्रयोग गर्न सहज बनाउने अपेक्षा गरिएको छ। एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

जनता टीभीका अध्यक्ष पौडेलको निधन

काठमाडौं । जनता टीभीका अध्यक्ष विजय पौडेलको निधन भएको छ ।  सोमबार (आज) कीर्तिपुर अस्पताल पु‍र्याउँदा पु‍र्याउँदै उनको निधन भएको अस्पतालका चिकित्सक डा. किरण नकर्मीले जानकारी दिए । जनता टीभीका सम्पादक टंक पन्तका अनुसार पौडेलले विष सेवन गरेका थिए । अस्पतालमा उपचार गर्न पु‍र्याएपछि उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।