विकासन्युज

सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ

काठमाडौं । डडेल्धुराको आलीताल गाउँपालिका वडा नं. ८ स्थित डोलागाउँलाई आगामी दुई वर्षभित्र पूर्ण रूपमा ‘वातावरणमैत्री नमुना गाउँ’ का रूपमा विकास गरिने भएको छ ।  किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय सरकार र गाउँबासीसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । ‘प्रकृतिमै रमाऔं, प्रकृतिमै कमाऔं, वातावरणमैत्री डोला गाउँ मिलेर बनाऔं’ भन्ने नाराका साथ सुरु गरिएको यस कार्यक्रमका लागि प्रारम्भिक घरधुरी सर्वेक्षण सम्पन्न भइसकेको छ ।  १६५ घरधुरी रहेको यस गाउँलाई नमुना बनाउन संस्थाले सुदूरपश्चिम प्रदेश सरकार र आलीताल गाउँपालिकासँग सम्झौता समेत गरिसकेको छ । निःशुल्क कफी बेर्ना वितरण र व्यावसायिक तालिम अभियानकै कार्यक्रम स्वरूप संस्थाले डोलागाउँका स्थानीयलाई व्यावसायिक कफी उत्पादनसम्बन्धी व्यावहारिक तालिम प्रदान गरेको छ ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्राविधिक सहकार्यमा डोलागाउँमा कफी खेतीको सम्भाव्यता अध्ययन र  तालिम पश्चात् शुक्रबार आयोजित एक कार्यक्रमका बीच प्रस्तावित नमुना गाउँका सदस्यहरूलाई निःशुल्क कफीका बेर्नाहरू वितरण गरिएको छ । बेर्ना वितरण कार्यक्रममा बोल्दै आलीताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्ष मैनाकुमारी रावलले सहकारी संस्थाको यस उदाहरणीय कार्यको प्रशंसा गरिन् ।  उनले वातावरणमैत्री गाउँ विकासका लागि स्थानीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता दोहोर्‍याइन्। सम्झौताअनुसार वातावरणमैत्री गाउँ विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा आलीताल गाउँपालिकाले बजेट विनियोजन गर्नेछ ।  यस्तै, सहकारी संस्थाले हरित कर्जा मार्फत कृषि तथा वातावरणमैत्री उद्यमशीलता प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । संस्थाले स्थानीय उत्पादनको बजारीकरण, नमुना गाउँका सदस्यहरूलाई सहकारीको सेवा उपभोगमा विशेष अनुदान, कार्बन उत्सर्जन न्यूनीकरणका उपाय र सरसफाइ सामग्री तथा उपकरणहरू वितरण गर्नेछ ।  यसका साथै वृक्षारोपण, प्राकृतिक स्रोत संरक्षणमा स्थानीयको क्षमता अभिवृद्धि, र ‘शून्य प्रदूषण, शून्य फोहोर’ सम्बन्धी तालिम एवं सामुदायिक सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिने संस्थाले जनाएको छ । संस्थाका अनुगमन विभाग प्रमुख प्रकाश जिसीको अध्यक्षतामा सम्पन्न बेर्ना वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका कोषाध्यक्ष भक्तबहादुर गाहा, स्थानीय समाजसेवी रामचन्द्र पुन, संस्थाका सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाको १ अर्ब ७६ करोडको बजेट पारित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका  लागि प्रस्तुत रु. १ अर्ब ७६ करोडको बजेट पारित गरेको छ । नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार सम्पन्न १९औं नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान् मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा  प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।  नेपालगञ्ज चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) शीघ्र सम्पन्न गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने भएको छ।  नगरको दिगो विकास, राजस्व आय वृद्धि, सेवा प्रवाहमा सुधार, ताल र उद्यान संरक्षण एवं हरियाली प्रवर्द्धन तथा सञ्चालन हुने परियोजनाको प्रभावकारी अनुगमनलाई बजेटले प्राथमिकता दिएको छ । 

सुकुम्बासी व्यवस्थापनमा सरकार असफल भएको कांग्रेसको आरोप

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाउँदै प्रधानमन्त्री वालेन्द्र शाहलाई आफ्नै सार्वजनिक प्रतिबद्धताको जवाफ दिन आग्रह गरेका छन् । आङ्देम्बेले जोखिमयुक्त बस्तीबाट हटाइएका सुकुम्बासी नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने सरकारको दाबी व्यवहारमा असफल भएको बताएका हुन् ।  उनले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि सरकारले नागरिकलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा पु‍र्‍याएको आरोप लगाएका हुन् । प्रधानमन्त्री शाहले यसअघि जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित तथा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सार्वजनिक प्रतिबद्धता जनाएको स्मरण गराउँदै आङ्देम्बेले त्यसको कार्यान्वयनबारे प्रश्न उठाए । ‘प्रधानमन्त्रीजीले जोखिममा रहेका नागरिकलाई सुरक्षित र व्यवस्थित स्थानान्तरण गर्ने प्रतिबद्धता गर्नुभएको थियो । आज म सोध्न चाहन्छु, त्यो प्रतिबद्धता कहाँ हरायो? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित व्यवस्थापन ?,’ उनले भने । आङ्देम्बेका अनुसार सुरक्षित आश्रयको आश्वासन दिएर कीर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी नागरिक अहिले डुबान, हिलो, अभाव र असुरक्षाबीच बस्न बाध्य भएका छन् ।  उनले यसलाई सरकारको गैरजिम्मेवारी र कमजोर व्यवस्थापनको परिणाम भएको दाबी गरे । उनले होल्डिङ सेन्टरमा पुगेर विस्थापितहरूको अवस्था बुझ्न तथा सरकारसँग जवाफ माग्न गएका युवालाई नियन्त्रणमा लिइएको घटनाप्रति पनि आपत्ति जनाए ।  माजिद अन्सारीसहितका युवालाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउने अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाए ।  लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो ?  भन्ने प्रश्न गर्दै सरकार नागरिकका आवाज दबाउने दिशामा गएको टिप्पणी गरे । प्रधानमन्त्रीले आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको अवस्थामा आत्मसमीक्षा गर्नुको सट्टा आलोचना गर्ने नागरिकमाथि दमन गर्न खोजेको आरोप पनि उनले लगाए ।  यस्तो प्रवृत्तिले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार कमजोर हुने उनको भनाइ थियो ।

शैक्षिक परामर्श नियमावली संशोधन नगरे आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्था तथा समूहहरूले सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ तत्काल पुनरावलोकन गरी संशोधन गर्न माग गरेका छन् । संयुक्त बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा हालको स्वरूपमा लागू गरिएको नियमावलीले विद्यार्थीको सुरक्षा, निजी क्षेत्रको संरक्षण तथा अन्तर्राष्ट्रिय शिक्षामा नेपाली विद्यार्थीको पहुँच सुदृढ गर्ने उद्देश्य पूरा गर्न नसक्ने निष्कर्ष निकालिएको छ ।  नियमावलीका केही व्यवस्थाले विद्यार्थी, अभिभावक, वैधानिक व्यवसाय, निजी लगानी, रोजगारी, स्वस्थ प्रतिस्पर्धा तथा नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको विश्वसनीयतामा नकारात्मक असर पार्न सक्ने उनीहरूको भनाइ छ । संघ–संस्थाहरूले आफूहरू नियमनको विरोधमा नभई शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र विद्यार्थीमैत्री बनाउन स्पष्ट तथा प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन्  ।  तर नियमनका नाममा अत्यधिक प्रशासनिक नियन्त्रण, असमान आर्थिक दायित्व, दोहोरो क्षेत्राधिकार र जटिल प्रक्रिया लागू गरिनु उपयुक्त नहुने उनीहरूको भनाइ छ । विज्ञप्तिमा नियमावलीको धरौटीसम्बन्धी व्यवस्थाप्रति विशेष असहमति जनाइएको छ  ।  ठूलो रकम धरौटी राख्दैमा विद्यार्थीको सुरक्षा वा गुणस्तरीय सेवा सुनिश्चित नहुने उल्लेख गर्दै धरौटीको सट्टा प्रभावकारी बीमा, क्षतिपूर्ति तथा संरक्षण प्रणाली लागू गर्नुपर्ने माग गरिएको छ ।  यस्तो व्यवस्थाले विशेषगरी साना तथा स्वरोजगारमूलक शैक्षिक परामर्श संस्थालाई विस्थापित गर्ने र नयाँ उद्यमलाई निरुत्साहित गर्ने दाबी गरिएको छ । त्यसैगरी, नियमावलीमा प्रशासनिक प्रक्रिया जटिल बनाइएको, कानुनी प्रावधानहरू अस्पष्ट रहेको, संघीय शासन प्रणालीसँग मेल नखाने व्यवस्था समावेश गरिएको तथा नियमावली निर्माणका क्रममा सरोकारवालासँग पर्याप्त परामर्श नगरिएको आरोप पनि लगाइएको छ । व्यवसायीहरूले वैधानिक रूपमा सञ्चालन भइरहेका संस्थालाई सहजीकरण र संरक्षण गर्न तथा अनुमति बिना सञ्चालन हुने संस्था, फ्रिलान्सर, अनधिकृत एजेन्ट र डिजिटल माध्यमबाट गैरकानुनी रूपमा सेवा दिने गतिविधिमाथि प्रभावकारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। संस्थाको नवीकरण अवधि पाँच वर्ष कायम गर्न र भवन मापदण्ड व्यवहारिक बनाउनुपर्ने उनीहरूको भनाइ छ । संयुक्त रूपमा सरकारसमक्ष पेश गरिएका मागहरूमा विवादास्पद धरौटी व्यवस्था हटाउने, बीमा तथा संरक्षण प्रणाली लागू गर्ने, विद्यार्थी, अभिभावक, निजी लगानी र रोजगारीमा प्रतिकूल असर पार्ने प्रावधान संशोधन गर्ने, विवादास्पद व्यवस्थाको कार्यान्वयन तत्काल स्थगन गरी पुनरावलोकन गर्ने, सरोकारवालासँग उच्चस्तरीय नीति संवाद सुरु गर्ने तथा अनुमति, नवीकरण, शाखा स्वीकृति, अनुगमन र अभिलेखीकरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने विषय समावेश छन् । माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी पनि संघ–संस्थाहरूले दिएका छन् । आफ्ना मागहरू निरन्तर बेवास्ता गरिए देशभरका शैक्षिक परामर्श संस्था बन्द गरी सरकारलाई कार्यालयको साँचो हस्तान्तरण गर्दै सडक आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलका सबै खेल सकिएसँगै अर्जेन्टिना, इङ्ग्ल्यान्ड, फ्रान्स र स्पेनले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।  अब उपाधि यात्राका लागि अर्जेन्टिना र इङ्ग्ल्यान्ड तथा फ्रान्स र स्पेनबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ । विश्व फुटबलका दुई ऐतिहासिक प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको सेमिफाइनल सबैभन्दा बढी प्रतीक्षित खेलका रूपमा हेरिएको छ ।  सन् १९८६ को मेक्सिको विश्वकपको क्वार्टरफाइनलमा डिएगो म्याराडोनाले गरेको चर्चित ‘ह्यान्ड अफ गड’ गोल र त्यसको केही मिनेटपछि गरेको ‘गोल अफ द सेन्चुरी’का कारण यी दुई टोलीबीचको प्रतिस्पर्धाले विशेष ऐतिहासिक महत्त्व पाएको थियो ।  त्यसयता विश्वकपमा यी दुई टोलीबीच भएका प्रत्येक भेट फुटबल समर्थकमाझ विशेष आकर्षणको केन्द्र बन्दै आएका छन् । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।  उता इङ्ग्ल्यान्डले नर्वेमाथि जित निकाल्दै विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको छ । युवा स्टार जुड बेलिङ्घम र कप्तान ह्यारी केनको प्रभावशाली प्रदर्शन इङ्ग्ल्यान्डका लागि निर्णायक बन्दै आएको छ । अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन आमनेसामने हुनेछन् । फ्रान्सले मोरक्कोलाई हराउँदै अन्तिम चारमा स्थान बनाउँदा स्पेनले बेल्जियमलाई रोमाञ्चक खेलमा पराजित गर्दै उपाधिको आशा कायम राखेको हो ।  दुवै टोली आक्रामक शैलीको फुटबल खेल्ने भएकाले यो खेल पनि उच्च प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । सेमिफाइनलमा पुगेका चारै टोली विश्व फुटबलका स्थापित शक्ति हुन् । अर्जेन्टिना तीन पटक (१९७८, १९८६ र २०२२), फ्रान्स दुई पटक (१९९८ र २०१८), स्पेन एक पटक (२०१०) र इङ्ग्ल्यान्ड एक पटक (१९६६) विश्वकप च्याम्पियन बनिसकेका छन् ।  चारवटै टिम फिफा वरीयताको शीर्ष चार स्थानमा रहेका छन् । पहिलो स्थानमा फ्रान्स, दोस्रो स्थानमा अर्जेन्टिना, तेस्रो स्थानमा स्पेन र चौंथो स्थानमा इंङ्ग्ल्यान्ड रहेको छ ।  अब विश्वकपमा दुई सेमिफाइनल, तेस्रो स्थानका लागि हुने एक खेल र फाइनल गरी चार खेल मात्र बाँकी छन् ।  सेमिफाइनलबाट विजयी हुने दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् भने पराजित टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।  अन्य सान्दर्भिक सामग्रीहरू : यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती  यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]  विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान  मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेखे

ढिला तर सकारात्मक सम्वाद

प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्रीको पदभार समालेको चौथो महिनामा निजी क्षेत्रका प्रतिनिधिसँग पहिलो पटक भेटघाट र छलफल गरेका छन् । शाह नेतृत्वको सरकारले निजी क्षेत्रमैत्री नीतिगत व्यवस्था गरेपनि कार्यकलाप निजी क्षेत्रमैत्री थिएनन् । ठूला व्यवसायिक घरानाको अगुवाहरुसहित झण्डै २०० जना व्यवसायीहरुमाथि गैरकानुनी कारोबारको मुद्दा वर्तमान सरकारले चलाएको छ । यसले निजी क्षेत्रलाई त्रसित बनाएको छ । साथै, सरकार प्रमुख र निजी क्षेत्रका प्रतिनिधिबीच प्रत्यक्ष संवाद शुन्य थियो । परिणाम निजी क्षेत्रको मनोवल गिरोको थियो ।  आर्थिक गतिविधिलाई गति दिन, नीतिगत सुधारका आवश्यकता पहिचान गर्न र लगानीमैत्री वातावरण निर्माण गर्न यस्तो संवाद अपरिहार्य हुन्छ । अर्थमन्त्रीसहित सम्बन्धित विषयगत मन्त्रीहरुसँग निजी क्षेत्रको भेटघाट र सम्वाद निमित भए पनि प्रधानमन्त्री तहमा सम्वाद शुन्य हुँदा सरकार प्रमुखको चाहाना निजी क्षेत्रले बुझ्‌न सकेका थिएनन् । गत साता प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न व्यवसायिक संघसंस्थाका प्रतिनिधिसँग निरन्तर गरिरहेका भेटघाट र सम्वादले सकारात्मक सन्देश दिएको छ । जसजसले प्रधानमन्त्रीसँग भेटेर सम्वाद गरेका छन्, उनीहरु प्रधानमन्त्रीसँगको सम्वाद र विचारबाट प्रोत्साहित नै भएको देखिन्छ । यसले निजी क्षेत्रको मनोवल बुष्ट गर्न मद्दत गर्दछ ।  प्रधानमन्त्री शाह सीमित घेराभित्र काम गर्न रुचाउँछन्, सार्वजनिक संवादमा कम देखिन्छन् र सरोकारवालासँगको प्रत्यक्ष अन्तर्क्रियाभन्दा निर्णय प्रक्रियालाई बढी प्राथमिकता दिन्छन् । अहिलेसम्मको उनको परिचय यहि हो । तर पछिल्ला भेटघाटलाई केवल औपचारिक कार्यक्रमका रूपमा मात्र होइन, नेतृत्व शैलीमा देखिएको परिवर्तनको संकेतका रूपमा पनि हेरिएको छ । पदीय जिम्मेवारीले मान्छेलाई जिम्मेवार बनाउँछ भने झै प्रधानमन्त्रीले निजी क्षेत्रको भूमिकालाई बुझ्‌ने र उचित कदम लिने दिशामा गएको देखिन्छ । शाह मेयर हुँदा पनि निजी क्षेत्रका प्रतिनिधिसँग भेटघाट र सम्वादमा बसेनन् । प्रधानमन्त्री भएपछि पनि लामो समय यस्तो सम्वाद नहुँदा निजी क्षेत्रले उपेक्षित भएको महसुस गरिरहेको थियो ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न व्यवसायिक संस्थाका प्रतिनिधिहरूसँग भएका छलफलमा उद्योग, व्यापार, लगानी, कर प्रणाली, प्रशासनिक सहजीकरण, वित्तीय पहुँच, पर्यटन र उत्पादनशील क्षेत्रका विविध चुनौती उठेका छन् । सरकारका तर्फबाट पनि निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। यस्तो संवादले सरकार र निजी क्षेत्रबीचको विश्वासको वातावरण सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । अहिले नेपालको अर्थतन्त्र पुनरुत्थानको चरणमा छ। आर्थिक गतिविधिमा आएको सुस्तता, लगानी विस्तारमा देखिएको संकोच, घट्दो बजार माग र नीतिगत अन्योलले निजी क्षेत्रलाई निरन्तर दबाबमा राखेको छ । यस्तो अवस्थामा सरकारको उच्च नेतृत्वले प्रत्यक्ष रूपमा व्यवसायिक समुदायका अनुभव र सुझाव सुन्नु आफैंमा सकारात्मक संकेत हो । निर्णय प्रक्रियालाई यथार्थसँग जोड्ने एउटा प्रभावकारी माध्यम पनि यही संवाद बन्न सक्छ । निजी क्षेत्रले वर्षौंदेखि उठाउँदै आएका व्यवसाय अनुमति प्रक्रियाको जटिलता, कर प्रशासनमा देखिने असहजता, नीतिगत अस्थिरता, प्रशासनिक ढिलासुस्ती र नियामकीय अस्पष्टता अझै पनि पूर्ण रूपमा समाधानतर्फ यस्तो सम्वादले सकारात्मक योगदान पुग्नेछ । नेतृत्वको मूल्याङ्कन केवल निर्णय गर्ने क्षमताले मात्र होइन, सुन्ने, बुझ्ने र सहकार्य गर्ने संस्कृतिले पनि हुन्छ । लोकतान्त्रिक नेतृत्वको बल संवादमा हुन्छ । फरक विचारलाई स्थान दिन सक्ने, आलोचनाबाट सिक्न सक्ने र आवश्यक सुधार गर्न सक्ने नेतृत्वले नै दीर्घकालीन विश्वास आर्जन गर्छ । अहिले प्रधानमन्त्रीको कार्यालय संवादका लागि केही खुला भएको अनुभूति भएको छ । अब त्यस संवादलाई निरन्तरता, संस्थागत स्वरूप र परिणामसँग जोड्न सकियो भने त्यसको लाभ केवल निजी क्षेत्रले मात्र होइन, समग्र अर्थतन्त्र र मुलुकले नै प्राप्त गर्नेछ। अन्ततः लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण कुरा भेटघाटको संख्या होइन, त्यसबाट सिर्जना हुने विश्वास, सुधार र परिणाम हो ।

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा उत्कृष्ट प्रदर्शन गर्दै स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।  यससँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकप उपाधि रक्षा गर्ने अभियानलाई निरन्तरता दिएको छ । खेलको १०औं मिनेटमै एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा स्विट्जरल्यान्डका डान एनडोयेले ६७औं मिनेटमा बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । तर, ७२औं मिनेटमा स्विट्जरल्यान्डका फरवार्ड ब्रिल एम्बोलो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भयो । त्यसपछि अर्जेन्टिनाले खेलमा दबाब बढाए पनि निर्धारित ९० मिनेटमा विजयी गोल निकाल्न सकेन । अतिरिक्त समयको ११२औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । त्यसपछि इन्जुरी समयमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले ३–१ को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । कान्सास सिटी स्टेडियममा भएको यस जितसँगै अर्जेन्टिना लगातार दोस्रो विश्वकपमा सेमिफाइनल पुगेको छ । सन् २०२२ को कतार विश्वकप जितेको अर्जेन्टिना अब लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छ । यदि अर्जेन्टिनाले यसपटक पनि उपाधि जितेमा सन् १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो राष्ट्र बन्नेछ । अर्जेन्टिनाले यसअघि १९७८, १९८६ र २०२२ मा विश्वकपको उपाधि जितिसकेको छ । साथै टोली पछिल्ला चार विश्वकपमध्ये तीन पटक (२०१४, २०२२ र २०२६) सेमिफाइनल पुग्न सफल भएको छ, जसले विश्व फुटबलमा उसको निरन्तर उत्कृष्ट प्रदर्शनलाई पुष्टि गर्छ । यता इतिहासमै पहिलो पटक विश्वकप सेमिफाइनल पुग्ने लक्ष्य बोकेको स्विट्जरल्यान्डको यात्रा भने क्वार्टरफाइनलमै टुंगिएको छ ।  अब सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डको चुनौती सामना गर्नेछ । विश्व फुटबलका यी दुई शक्तिशाली राष्ट्रबीच हुने यो प्रतिस्पर्धाले फेरि एकपटक दशकौं पुरानो प्रतिद्वन्द्वितालाई विश्वकपको मञ्चमा ब्युँताउने भएको छ ।  सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा डिएगो म्याराडोनाको 'ह्यान्ड अफ गड' र 'गोल अफ द सेन्चुरी'ले गर्दा अर्जेन्टिना–इङ्ग्ल्यान्ड प्रतिस्पर्धा विश्व फुटबलकै सबैभन्दा चर्चित भिडन्तमध्ये एक मानिन्छ ।  साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा रहँदा इङ्ग्ल्यान्ड भने सन् १९६६ यता पहिलो पटक विश्वकप जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

बेलिङ्घमको डबल प्रहारमा इङ्ग्ल्यान्ड सेमिफाइनलमा, हालान्डको नर्वे बाहिरियो

काठमाडौं । । जुड बेलिङ्घमले दुई महत्त्वपूर्ण गोल गरेपछि इङ्ग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । क्वार्टरफाइनलको रोमाञ्चक खेलमा नर्वेले ३६औं मिनेटमा एन्ड्रियास स्केल्डेरुपको गोलमार्फत अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा बेलिङ्घमले बराबरी गोल फर्काउँदै इङ्ग्ल्यान्डलाई खेलमा फर्काए । निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसपछि ९३ औं मिनेटमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ को जित दिलाए ।  जारी विश्वकपमा उनले ६ गोल गरिसकेका छन् । यससँगै उनले गोल्डेन बुटको दौडमा आफूलाई बलियो दाबेदारका रूपमा कायम राखेका छन् । यो जितसँगै इङ्ग्ल्यान्ड आठ वर्षपछि पुनः विश्वकपको सेमिफाइनलमा पुगेको छ । सन् २०१८ को विश्वकपपछि पहिलो पटक अन्तिम चारमा स्थान बनाएको इङ्ग्ल्यान्डले ६० वर्षपछि दोस्रो विश्वकप उपाधि जित्ने आशा जीवित राखेको छ । यता अर्लिङ हालान्डको प्रेरणामा पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको नर्वेको ऐतिहासिक यात्रा भने अन्त्य भएको छ ।  ब्राजिललाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको नर्वे इङ्ग्ल्यान्डविरुद्ध अन्तिम समयसम्म संघर्षरत रहे पनि बेलिङ्घमको निर्णायक गोलले उसको सपना साकार हुन सकेन  । अब इङ्ग्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।