विकासन्युज

बाढी प्रभावितको उद्धारमा ड्रोनसहित ६ जना एसएसपी खटिए

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा उद्धार गर्न ६ जना एसएसपी खटिएका छन् । भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्धार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा थप जनशक्ति परिचालन गरिएको छ । घाइतेको उद्धार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिति सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली परिचालन गरिएको हो । प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवन खटाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीलाई मुग्लिङमा वेश रहने गरी तनहुँ, गोरखा, चितवन र गोरखा तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको कमाण्डमा ४ जनाको टोलीलाई गल्छीमा वेश रही धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ । यस्तै, प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्‍चिम, प्रहरी वरिष्ठ उपरीक्षक विमलराज कँडेलको कमाण्डमा ४ जनाको टोलीलाई नुवाकोटमा वेश रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा ४ जनाको टोली रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको क्रममा क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा प्रभावित सडकखण्डमा आवतजावत संचालनको लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ ।

मुक्तिनाथ विकास बैंकका दुई कर्मचारी सम्पर्कविहीन

काठमाडौं । गोसाइँकुण्ड तीर्थयात्राका क्रममा मुक्तिनाथ विकास बैंकमा कार्यरत दुई कर्मचारी सम्पर्कविहीन भएका छन् । बैंकका अनुसार भदौ १० गते बिहान करिब ९ः१५ बजे नुवाकोटको बेत्रावतीबाट गोसाइँकुण्डतर्फ जाने क्रममा उनीहरू सम्पर्कविहीन भएका हुन् ।  सम्पर्कविहीन हुनेमा बैंकको नयाँ बानेश्वर शाखामा कार्यरत बिजेता अवाले र माछापोखरी शाखामा कार्यरत सुन्दरी श्रेष्ठ रहेकी छिन् ।  बैंकले उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भए नजिकको मुक्तिनाथ विकास बैंकको शाखा वा बैंकमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीको २५ लाख सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ सहयोग गरिएको हो । बैंकका अनुसार उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । सहयोगले प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता पूरा गर्न तथा राहत र उद्धार कार्यमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विपद्बाट प्रभावित समुदाय, मानवीय सहायता तथा सामाजिक हितका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ । बैंकले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको सुरक्षित र सहज जीवनयापनका लागि शुभेच्छा व्यक्त गरेको छ । विपद्का बेला उद्धार, राहत तथा व्यवस्थापनमा सक्रिय रूपमा खटिएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, स्वयंसेवक तथा सहयोगी सबैप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ । प्राकृतिक विपद्को कठिन घडीमा सबै पक्षको समन्वय, सहकार्य र मानवीय सहयोगबाट प्रभावित समुदायलाई राहत तथा पुनःस्थापनामा थप टेवा पुग्ने भन्दै बैंकले सम्पूर्ण सरोकारवालालाई सहयोगमा जुट्न आह्वानसमेत गरेको छ ।

जब ३२ पुलसँगै तीन जिल्लाको लय नै बग्यो

काठमाडौं । बुधबार बिहानको त्यो समय, आकाशमा घाम लागिरहेको मात्र थिएन, भोटेकोशी र त्रिशूलीको पानीमा अनौठो गर्जन सुनिँदै थियो । हेर्दाहेर्दै त्रिशूलीले आफ्नो धार मात्र फेरेन, आसपासका बस्ती, वर्षौंदेखि उभिएका कङ्क्रिटका संरचना र हजारौं मानिसको लाइफलाइन मानिने सडक सञ्जाललाई समेत एकै झट्कामा ध्वस्त पारिदियो । आज रसुवा, नुवाकोट र धादिङका डाँडापाखाहरू मूकदर्शक बनेर आफ्ना शरीरबाट उखेलिएका पुलहरू हेरिरहेका छन् । त्रिशूली करिडोरका ३२ वटा प्रमुख पुलहरू अहिले इतिहास बनेका छन् । कतै पिलर मात्रै बाँकी छ, कतै त पुलको नामनिसान समेत छैन । विपत्तिको घाउ कति गहिरो छ भनेर बुझ्न प्रधानमन्त्री बालेन्द्र शाह, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहितको टोली गाडीबाट नुवाकोट ओर्लियो । त्रिशूलीको तिरैतिर पुग्दा दृश्यहरू कहालीलाग्दा थिए ।  प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको अवलोकन गरिरहँदा स्थानीयका आँखामा आँसु र अनुहारमा अन्योल प्रष्ट देखिन्थ्यो । सडक विभागको प्रारम्भिक प्रतिवेदनले भन्छ ‘हामीले अर्बौंको भौतिक क्षति मात्र बेहोरेका छैनौं, हामीले राजधानीलाई उत्तरी नाकासँग जोड्ने मेरुदण्ड नै गुमाएका छौं ।’ हाल प्रधानमन्त्री शाह र मन्त्री लम्साल विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ब्रिफिङमा बसेका छन् । छलफलमा प्रधानमन्त्री बालेन र लम्सालसहित सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल छन् । उनीहरूलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराएका छन् । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार यो बाढीले सडक पूर्वाधारमा २० अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको छ । तर यो त केवल अंक मात्र हो । ती ३२ पुलहरू बग्दा हजारौं किसानका उत्पादन बजार पुग्न रोकिएका छन्, बिरामीहरू अस्पताल पुग्न वञ्चित भएका छन् । सबैभन्दा बढी क्षति नुवाकोटले भोगेको छ । यहाँका १५ वटा पुलहरू बाढीले बगाइदिएको छ । ऐतिहासिक बेत्रावतीका पुराना र नयाँ पुलदेखि त्रिशूली बजार जोड्ने प्रमुख पुलहरू अब सम्झनामा मात्र सीमित छन् । देवीघाटको सस्पेन्सन ब्रिज र मिडहिल हाइवेका पुलहरू बग्दा जिल्लाको आन्तरिक यातायात पूर्ण रूपमा विच्छेद भएको छ । यसैगरी, चीनसँगको व्यापारिक नाका जोड्ने रसुवामा १३ वटा पुलहरू बगेका छन् । मितेरी पुलदेखि चिलिमे र मैलुङका पुलहरू बग्दा नेपाल-चीन व्यापार ठप्प भएको छ । यसले राष्ट्रिय अर्थतन्त्रमै ठूलो असर पुर्‍याउने निश्चित छ । धादिङमा पनि १० मध्ये ४ पुल पूर्ण रूपमा ध्वस्त भएका छन् । बैरेनी, घाटबेसी र मलेखुका पुलहरू त्रिशूलीको भेलले बगाएपछि पृथ्वी राजमार्गको वैकल्पिक मार्गहरू समेत अवरुद्ध भएका छन् । सडक विभागका प्रवक्ता न्यौपानेका अनुसार बाढीले हालसम्म साना-ठुला गरी कुल ३२ वटा पुल पूर्ण रूपमा बगाएको छ । बगाइएका पुलहरूमा आर्क ब्रिज, सस्पेन्सन (झोलुङ्गे) ब्रिज, ट्रस ब्रिज र आरसिसी ब्रिजहरू रहेका छन् ।  त्रिशूली नदी र त्यसका सहायक नदीहरू फलाखु खोला, तादी खोला र कोल्पु खोलामा रहेका पुलहरूमा बढी क्षति पुगेको जानकारी दिए । यो क्षेत्रको यातायात सञ्जाल पूर्ण रूपमा ध्वस्त भएको छ भने यसले राजधानीको उत्तरी नाका र आन्तरिक सम्पर्क समेत विच्छेद भएको उनको भनाइ छ ।  उनले भने, ‘पुलसँगै सडक पूर्वाधारमा पनि गम्भीर असर परेको छ । करिब ४० किलोमिटर राजमार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । कतिपय दुर्गम स्थानमा अझै पुग्न नसकिएकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको र यो संख्या अझै बढ्न सक्छ ।’ ४० किलोमिटर सडक पूर्ण रूपमा क्षति बाढीले पुल मात्र बगाएको छैन, त्रिशूलीको किनारैतिर खनिएको करिब ४० किलोमिटर राजमार्गलाई पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । सडक विभागका अनुसार कतिपय ठाउँमा त सडकको नामनिसान समेत छैन । प्रवक्ता न्यौपाने भन्छन्, ‘हामी तथ्याङ्क सङ्कलन गर्दैछौं, तर दुर्गम ठाउँका थप विवरण आउन बाँकी छ । यो क्षति अझै बढ्न सक्छ ।’ अहिले यी तीन जिल्लाका बासिन्दाहरू काटिएका छन् । राजधानीसँगको उत्तरी सम्पर्क विच्छेद भएको छ । सडक विभागले वैकल्पिक व्यवस्था गर्ने प्रयास त गरिरहेको छ, तर ३२ वटा पुलहरू पुनः निर्माण गर्नु कुनै सानो चुनौती होइन । पुलहरू बगेका छन्, सडकहरू भत्किएका छन् । बाढीले छोडेर गएको २० अर्बको भौतिक क्षति र त्यसले निम्त्याएको सामाजिक-आर्थिक खाडल पुर्न वर्षौं लाग्ने देखिन्छ । अहिलेलाई सरकारको ध्यान उद्धार, राहत र अस्थायी मार्ग खोल्नेतर्फ मोडिएको छ ।

भोटेकोशी बाढीबाट चीनका तीन जनाको मृत्यु, ५५८ बेपत्ता

काठमाडौं । चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमा नाकामा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन् ।  स्थानीय अधिकारीहरूले बिहीवार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पहिरोमा परेका दुई जना स्थानीय बासिन्दालाई भने सकुशल उद्धार गरिएको छ ।  जिरोङ (केरुङ) काउन्टीस्थित सीमा नाकामा बुधवार बिहान पहिरो गएको हो । आधिकारिक जानकारीअनुसार पहिरो नेपाली भू–भागबाट सुरु भई सीमावर्ती नाका क्षेत्रमा ठोक्किएको थियो ।   बिहीवार बिहान ८ बजे आयोजित पत्रकार सम्मेलनमा स्थानीय अधिकारीले घटनाबारे जानकारी दिँदै बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताएका छन् ।  सिजाङको जिरोङ काउन्टी नेपालसँगको व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण नाका मानिन्छ । 

‘सस्तो हवाई भाडामा यात्रुलाई सेवा दिइरहेका छौं’

काठमाडौं । वायुसेवा सञ्चालक संघले सरकारले तोकेको भाडा दरमा उडान भरिरहेको जनाएको छ । यात्रुको चाप केही सेक्टरमा बढेकाले सस्तो टिकटको मूल्य बढेको भए पनि सरकारले तोकेको मूल्यमा यात्रुलाई सेवा दिएको संघले जनाएको छ ।  ‘यात्रुचापका कारण सस्तो दरका हवाई टिकट सकिएता पनि मानवीय तथा सामाजिक उत्तरदायित्वभित्र रही साविककै भाडादर कायम गरी हवाई टिकट बिक्री वितरण गरिएको छ,’ संघले भनेको छ। संघका अनुसार रसुवामा आएको बाढीले क्षति गरेपछि विभिन्न ठाउँमा निजी वायुसेवा कम्पनीका हेलिकोप्टरले सेवा दिएका छन् । स्वास्थ्य सामग्री, उद्धार सामग्री तथा सुरक्षाकर्मीलाई सम्बन्धित ठाउँमा पुर्‍याउने गरिरहेको छ । ‘बाढीमा परेर घाइते भएकालाई संघका हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याउने काम गरिरहेको छ,’ संघले भनेको छ । बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र  गोर्खामा क्षति पुर्याएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ । २८ जना प्रहरीहरू सम्पर्कविहीन भएका छन् ।

बाढीपछि ईक्यानको ३०औँ स्थापना दिवस स्थगित, राहतका लागि १५ लाख १ हजार सहयोग

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिँदै आफ्नो ३०औँ स्थापना दिवस तथा वार्षिकोत्सव समारोह स्थगित गरेको छ । ईक्यानले भदौ १३ गते काठमाडौंको होटल एभरेस्टमा आयोजना गर्ने तय गरेको ३०औँ स्थापना दिवस समारोह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो । राष्ट्र प्राकृतिक विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका बेला उत्सवभन्दा मानवीय सेवा, उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने भएकाले कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ । बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ईक्यानले प्रारम्भिक चरणमा १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यसमध्ये संघको केन्द्रीय कोषबाट १० लाख १ हजार रुपैयाँ र केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको संयुक्त योगदानबाट ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ । उक्त रकम सरकारमार्फत सञ्चालन हुने प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराइने संघले जनाएको छ । ईक्यानले आफ्ना सदस्य, शैक्षिक परामर्श संस्था, विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्था, अन्तर्राष्ट्रिय शिक्षा प्रदायक, साझेदार संस्था, सरोकारवाला र शुभेच्छुकलाई आफूले सक्ने सहयोग गरी राष्ट्रिय राहत अभियानमा सहभागी हुन आग्रह गरेको छ । संघले आर्थिक, भौतिक तथा अन्य आवश्यक सहयोगमार्फत प्रभावित नागरिकको जीवनमा आशा र भरोसा जगाउन सबैलाई अपिल गरेको छ । बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ईक्यानले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै बेपत्ता नागरिकको शीघ्र सकुशल उद्धारको कामना गरेको छ । ईक्यानका महासचिव भवनाथ हुमागाईँले उत्सव स्थगित गरिए पनि सामाजिक दायित्व स्थगित नभएको बताएका छन् । विपद्को यस कठिन घडीमा राष्ट्र र नागरिकका लागि सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् ।

बाढीका कारण बैंकिङ सेवा प्रभावित, बैंकर्स संघद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवालगायतका जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्बाट भएको मानवीय क्षति, जनधन तथा भौतिक संरचनाको क्षतिप्रति नेपाल बैंकर्स संघले दुःख व्यक्त गरेको छ । संघले विपद्मा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै प्रभावित सबैलाई यस कठिन परिस्थितिमा धैर्यताका साथ अघि बढ्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ । बैंकर्स संघका अनुसार बाढी प्रभावित जिल्लामा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित रहेका छन् । यद्यपि, केही कर्मचारीसँग भने हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन । बाढीका कारण प्रभावित जिल्लामा बैंकका केही शाखासमेत प्रभावित भएका छन् । विद्युत्, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित क्षेत्रमा नियमित बैंकिङ सेवा सञ्चालनमा समेत चुनौती देखिएको संघले जनाएको छ । यद्यपि, बैंकहरूले उपलब्ध स्रोत, साधन तथा वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै सेवा निरन्तरता कायम राख्न र प्रभावित सेवाग्राहीलाई आवश्यक सहयोग उपलब्ध गराउन प्रयास गरिरहेको संघले जनाएको छ । संघले विपद्को समयमा सरकार, राष्ट्र बैंक तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढिरहेको जनाएको छ । नेपालको बैंकिङ क्षेत्र सरकारको राहत, उद्धार तथा पुनःस्थापनाको प्रयासमा साथ दिन पूर्ण रूपमा प्रतिबद्ध रहेको संघको भनाइ छ । प्रभावित कर्मचारी, उनीहरूका परिवार तथा आम नागरिकलाई आवश्यक सहयोग पु¥याउन बैंकिङ क्षेत्रले आफ्नोतर्फबाट सक्दो योगदान गर्ने संघले जनाएको छ । संघले सरकारसँगको सहकार्यमा राहत, उद्धार, बैंकिङ सेवा निरन्तरता तथा पुनःस्थापनाका लागि आफ्ना सदस्य बैंकसँग समन्वय गरी आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता पनि जनाएको छ ।