काठमाडौं । भारतीय विद्युतीय स्कुटर निर्माता कम्पनी रिभर मोबिलिटीे नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ ।
कम्पनीले नेपालको व्यावसायिक समूह विशाल ग्रुपसँगको साझेदारीमा काठमाडौंमा आफ्नो पहिलो शोरुम सञ्चालनमा ल्याएको हो ।
काठमाडौंको नक्सालस्थित एमजी मोटरको शोरुमसँगै रिभरको नयाँ शोरुम सञ्चालनमा आएको हो ।
शोरुमबाट ग्राहकले टेस्ट राइड, बुकिङ तथा विभिन्न एसेसरिज र मर्चेन्डाइज खरिद गर्न कम्पनीले जनाएको छ ।
कम्पनीले बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउन काठमाडौंको भीमसेनस्थान–२०, परोपकारस्थित भीजी सुजुकी सर्भिस सेन्टरमा छुट्टै सेवा केन्द्रसमेत स्थापना गरेको छ ।
रिभर मोबिलिटीले गत महिना काठमाडौंमा सम्पन्न नाइमा एक्स्पो २०२६ मा आफ्नो प्रमुख विद्युतीय स्कुटर ‘इन्डी’ सार्वजनिक गरेको थियो । एक्स्पोमा स्कुटरप्रति ग्राहकको उत्साहजनक आकर्षण देखिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक्स्पोपछि इन्डीका लागि १५० भन्दा बढी अग्रिम बुकिङ प्राप्त भएका छन् । शोरुम उद्घाटनकै अवसरमा बुकिङ गरेका ग्राहकलाई सामूहिक रूपमा स्कुटर हस्तान्तरणसमेत गरिएको छ ।
नेपाली बजारमा देखिएको उत्साहजनक प्रतिक्रियालाई मध्यनजर गर्दै कम्पनीले सन् २०२८ को मार्चसम्म देशका सबै प्रदेशमा शोरुम विस्तार गर्ने योजना बनाएको छ ।
विशाल ग्रुपसँगको सहकार्यमा नेपालका प्रमुख सहरमा बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै ग्राहकको पहुँच सहज बनाउने कम्पनीको लक्ष्य छ ।

एकपटकको चार्जमा १६० किलोमिटरसम्म गुड्ने
रिभरको प्रमुख उत्पादन इन्डी दैनिक आवतजावतका साथै विभिन्न सडक अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको विद्युतीय स्कुटर हो ।
यसमा ४ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार भारतीय ड्राइभिङ साइकल (आईडीसी) मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा स्कुटरले अधिकतम १६० किलोमिटरसम्मको दूरी पार गर्न सक्छ ।

यसको अधिकतम गति प्रतिघण्टा ९० किलोमिटर रहेको छ ।
स्कुटरमा १७७ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४ इन्चका पाङ्ग्रा तथा १८ डिग्रीसम्मको उकालो चढ्न सक्ने क्षमता छ ।
यी विशेषताले नेपाली सडक र पहाडी भूभागमा समेत स्कुटरलाई उपयोगी बनाउने कम्पनीको दाबी छ ।
यसमा ५५ लिटर क्षमताको लक गर्न मिल्ने सामान राख्ने ठाउँसमेत उपलब्ध छ । दैनिक आवतजावत, किनमेल तथा अन्य प्रयोजनका लागि स्कुटरलाई व्यावहारिक बनाउने उद्देश्यले यस्तो सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा रिभर इन्डीको सुरुवाती मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकिएको छ । यो काठमाडौंको एक्स–शोरुम मूल्य हो ।
रिभर मोबिलिटीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरविन्द मणिले नेपालमा प्रवेश गर्नु कम्पनीको अन्तर्राष्ट्रिय विस्तार यात्राको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
उनले भारतबाहिर व्यवसाय विस्तार गर्ने क्रममा नेपाललाई महत्त्वपूर्ण बजारका रूपमा लिइएको उल्लेख गरे ।
‘नेपालमा प्रवेश गर्नु रिभरको यात्रामा महत्त्वपूर्ण उपलब्धि हो । हामीले ग्राहकको विश्वास र अनुभवलाई प्राथमिकतामा राख्दै शोरुमसँगै छुट्टै सेवा केन्द्र सञ्चालनमा ल्याएका छौं,’ उनले भने ।
उनका अनुसार विशाल ग्रुपको अटोमोबाइल क्षेत्रको अनुभव र स्थापित व्यावसायिक सञ्जालले नेपालमा ग्राहककेन्द्रित व्यवसाय विस्तार गर्न सहयोग पुग्नेछ ।
त्यस्तै, विशाल ग्रुपका निर्देशक निकुञ्ज अग्रवालले रिभरसँगको साझेदारीमार्फत नेपाली ग्राहकलाई नवीन प्रविधिमा आधारित विद्युतीय स्कुटर उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए ।
उनले विशाल ग्रुपको अटोमोबाइल क्षेत्रको अनुभव र देशव्यापी सञ्जाललाई रिभरको नवीन प्रविधिसँग जोडेर बिक्री तथा बिक्रीपछिको सेवा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
‘हाम्रो अटोमोबाइल क्षेत्रको अनुभव र देशव्यापी सञ्जाललाई रिभरको नवीन प्रविधिसँग जोड्दै पहिलो दिनदेखि नै ग्राहकलाई सहज र गुणस्तरीय बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउन प्रतिबद्ध छौं,’ अग्रवालले भने ।
१२ करोड अमेरिकी डलर लगानी जुटाएपछि अन्तर्राष्ट्रिय विस्तार
रिभर मोबिलिटीले हालै १२ करोड अमेरिकी डलर लगानी जुटाएको छ । कम्पनीले उक्त लगानीलाई व्यवसाय विस्तार, नयाँ उत्पादन विकास तथा दीर्घकालीन अन्तर्राष्ट्रिय बजार रणनीतिमा उपयोग गर्ने जनाएको छ ।
सन् २०२१ मार्चमा अरविन्द मणि र विपिन जर्जले स्थापना गरेको रिभर मोबिलिटी भारतको बेङ्गलुरुमा आधारित विद्युतीय सवारीसाधन निर्माता कम्पनी हो ।
कम्पनीले दैनिक प्रयोगमा उपयोगी, टिकाउ र व्यावहारिक विद्युतीय सवारीसाधन निर्माणलाई प्राथमिकता दिँदै आएको छ । यसको प्रमुख उत्पादन इन्डीलाई दैनिक आवतजावतका साथै विभिन्न प्रयोजनमा उपयोग गर्न सकिने स्कुटरका रूपमा बजारमा प्रस्तुत गरिएको छ ।
रिभरमा जापानको यामाहा मोटर कर्पोरेसन, मित्सुई एन्ड कम्पनी, मारुबेनी कर्पोरेसन, दुबईको अल फुत्तैम ग्रुप, टोयोटा भेन्चर्स, लोअरकार्बन क्यापिटल, मनिभ मोबिलिटी, ट्रक्स भीसीलगायत अन्तर्राष्ट्रिय लगानीकर्ताको लगानी रहेको छ ।
नेपालमा रिभरको आधिकारिक साझेदार विशाल ग्रुप आठ दशकभन्दा लामो व्यावसायिक इतिहास भएको समूह हो । यसअन्तर्गत ७० भन्दा बढी कम्पनी सञ्चालनमा छन् ।
अटोमोबाइल, वित्तीय सेवा तथा उत्पादनमूलक उद्योगलगायत क्षेत्रमा सक्रिय समूहको वितरण सञ्जाल नेपालका ३५ भन्दा बढी सहरमा फैलिएको छ ।
समूहमा दुई हजारभन्दा बढी कर्मचारी कार्यरत छन् भने यसले ५० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डको प्रतिनिधित्व गर्दै आएको छ ।