अन्यत्र दरबन्दी काटियो, परराष्ट्रका ९ नियोगमा थपिए १३ पद

काठमाडौं । सरकारले दरबन्दी कटौती गर्ने नीति अघि बढाए पनि परराष्ट्र मन्त्रालयका विदेशस्थित नौ नियोगमा १३ नयाँ दरबन्दी थपिएका छन् । 

आठ दूतावास र एउटा महावाणिज्यदूतावासमा विभिन्न तहका कर्मचारीको दरबन्दी थपिएको हो ।

अन्य निकाय तथा नियोगमा दरबन्दी कटौती भइरहेका बेला परराष्ट्र मन्त्रालयले स्थानान्तरण र व्यवस्थापनका नाममा विदेशस्थित नियोगमा कर्मचारीको संख्या बढाएको छ ।

वासिङ्गटन डीसीदेखि दुबईसम्मका नियोगमा उपसचिव, शाखा अधिकृत, सहचारी र नायब सुब्बास्तरका पद थपिएका छन् ।

वासिङ्गटन डीसीमा दुई पद थपिए

अमेरिकाको वासिङ्गटन डीसीस्थित नेपाली राजदूतावासमा परराष्ट्र सेवाका दुई पद थपिएका छन् । त्यहाँ उपसचिवस्तरको काउन्सिलर र शाखा अधिकृतस्तरको प्रथम वा द्वितीय सचिवको दरबन्दी थपिएको हो ।

यसअघि राजदूतसहित आठ दरबन्दी रहेको वासिङ्गटनस्थित दूतावासमा अब नौ दरबन्दी कायम भएको छ । 

जापानको टोकियो, दक्षिण कोरियाको सिओल र अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासमा पनि एक–एक शाखा अधिकृतको दरबन्दी थपिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

टोकियोस्थित दूतावासमा राजदूतसहित पाँच दरबन्दी रहेकामा नयाँ पद थपिएपछि संख्या छ पुगेको छ । सिओल र क्यानबेरास्थित दूतावासमा पनि यसअघि पाँच-पाँच दरबन्दी रहेकामा एक–एक पद थपिएपछि छ पुगेका छन् ।

कायरो र बर्लिनमा पनि दरबन्दी विस्तार

इजिप्टको कायरोस्थित नेपाली राजदूतावासमा एक सहचारीको दरबन्दी थपिएको ती अधिकारीले जानकारी दिए ।

नियोग उपप्रमुखका रूपमा उपसचिवको दरबन्दी कटौती गर्नुपर्ने विषयमा बहस चलिरहेका बेला कायरोमा भने कर्मचारीको संख्या बढाइएको हो । राजदूतसहित चार दरबन्दी रहेको दूतावासमा अब पाँच दरबन्दी पुगेको छ ।

जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासमा दुई पद थपिएका छन् । परराष्ट्र सेवाको एक शाखा अधिकृत र एक नायब सुब्बाको दरबन्दी थपिएपछि त्यहाँ राजदूतसहित कुल दरबन्दी संख्या छ पुगेको छ ।

साउदी अरबको रियादस्थित नेपाली राजदूतावासमा पनि उपसचिवस्तरको एक काउन्सिलर थपिएको छ । राजदूतसहित नौ दरबन्दी रहेको रियादमा अब कर्मचारी संख्या १० पुगेको छ ।

स्पेनको म्याड्रिडस्थित नेपाली राजदूतावासमा पनि उपसचिवस्तरको एक काउन्सिलरको दरबन्दी थपिएको छ । राजदूतसहित तीन दरबन्दी रहेको म्याड्रिडमा अब कर्मचारीहरुको सँख्या चार पुगेको छ । 

पोर्चुगलमा समेत नेपाली राजदूतावास रहेको अवस्थामा म्याड्रिडमा उपसचिवस्तरको दरबन्दी थपिएको हो ।

दुबईमा एकैपटक तीन पद थपिए

संयुक्त अरब इमिरेट्सको दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा एकैपटक तीन दरबन्दी थपिएका छन् । त्यहाँ दुई अधिकृत र एक नायब सुब्बापद थपिएको हो ।

अघिल्लो वर्ष स्थापना भएको दुबईस्थित महावाणिज्यदूतावासमा महावाणिज्यदूतसहित चार दरबन्दी थिए । तीन पद थपिएपछि त्यहाँको कुल दरबन्दी संख्या सात पुगेको छ ।

Share News