बुढीगण्डकीको बाढीले ४ जलविद्युत आयोजनामा क्षति

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । 

प्रारम्भिक विवरणअनुसार बाढीबाट कुल ४१२.४१ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना प्रभावित भएका छन् । 

बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, बेलिब्रिज, पहुँच सडक तथा आयोजनास्थल पुग्ने पुलमा क्षति पुगेको हो ।

तीमध्ये ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनामा सबैभन्दा बढी क्षति पुगेको देखिएको छ ।उक्त आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ । 

आयोजनास्थलमा रहेका केही निर्माण उपकरणसमेत बाढीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

त्यस्तै, २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ । उक्त आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ भने बेलिब्रिज बाढीले बगाएको छ ।

बाढीबाट ३०.९१ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजना पनि प्रभावित भएको छ । आयोजनाको बेलिब्रिजमा क्षति पुगेको जनाइएको छ । आयोजनास्थलमा रहेका निर्माण सामग्री तथा उपकरणसमेत बाढीले बगाएको विवरणमा उल्लेख छ ।

यसैगरी, १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । बाढीले आयोजनाको पहुँच सडक तथा आयोजनास्थल पुग्ने पुलमा क्षति पुर्याएको हो ।

सडक र पुलमा भएको क्षतिका कारण आयोजनास्थलसम्मको आवागमन तथा निर्माण कार्य प्रभावित हुनसक्ने देखिएको छ।

यद्यपि चारवटै आयोजनामा बाढीले पुर्याएको कुल आर्थिक क्षतिको यकिन विवरण सार्वजनिक भएको छैन । 

Share News