विकासन्युज

४ लाख ७६ हजार रुपैयाँको भ्रष्टाचार मुद्दामा वडाध्यक्षविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । बाराको पचरौता नगरपालिका–६ का वडाध्यक्ष मकबुल मियाँ अंसारीसमेत प्रतिवादी रहेको सार्वजनिक सम्पत्ति हिनामिना तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । विशेष अदालत, काठमाडौंले सफाइ दिने गरी गरेको फैसलाप्रति चित्त नबुझेपछि आयोगले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएको हो । आयोगका अनुसार सार्वजनिक सम्पत्ति हिनामिना तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अंसारीसमेतका प्रतिवादीविरुद्ध ४ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार बिगो असुलउपर गर्न तथा कसुरअनुसार कैद र जरिवाना सजायको मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ । तर, विशेष अदालतले २०८३ वैशाख ७ गते उक्त मुद्दामा प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको थियो । सोही फैसलामा चित्त नबुझेपछि आयोगले २०८३ असोज २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको  छ। 

निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन् । सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उनले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए । ‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ । यो जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ । यो परिवर्तनका लागि गरिएको विश्वास हो । यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छौँ,’ उनले भने । विशेष महाधिवेशनपछि भएको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उनको भनाइ थियो । अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनुपर्ने उनले बताए । ‘महाधिवेशनमा प्रतिस्पर्धा भयो। कोही जित्छौँ, कोही हार्छौँ । यो कसैले विजय प्राप्त गर्ने र कसैले हार्ने विषय होइन। अब हामी सबै साथी मिलेर नागरिकको विश्वास जित्न जाने हो,’ थापाले भने । सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीलाई धन्यवाद दिँदै उनले लोकतान्त्रिक अभ्यासले पार्टीलाई जीवन्त बनाउने बताए । खड्गीसहित प्रतिस्पर्धामा रहेका सबैलाई सँगै लिएर अघि बढ्ने उनको भनाइ थियो । थापाले अहिले नागरिक र कांग्रेसबीचको विश्वास टुटेको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताए । किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्ने पार्टी बनाउने उनको प्रतिबद्धता थियो । ‘नेपाली कांग्रेसलाई माया गर्ने लाखौँ शुभेच्छुकलाई फेरि कांग्रेसमा फर्कन र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ । नयाँ इतिहास बनाउने तागत लिएर आएका छौँ,’ उनले भने, ‘बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ ।’ महाधिवेशनबाट पारित प्रतिवेदनहरू अध्ययन गर्न एक साताको समय दिइएको जानकारी दिँदै थापाले सबैको सुझाव प्राप्त भएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताए । कांग्रेसले गलत व्यक्तिको पक्षमा नबोल्ने र कसैको अनुचित भार नबोक्ने पनि उनले स्पष्ट पारे । कानुन सबैका लागि समान हुने उल्लेख गर्दै उनले कुनै व्यक्तिले गल्ती गरे त्यसको जवाफदेहिता सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताए । ‘कांग्रेस गलत मान्छेको पक्षमा बोल्दैन, उभिँदैन । कसैको पनि भारी कांग्रेसले बोक्दैन,’ उनले भने । कांग्रेसलाई विगतमा व्यक्तिगत फाइदा लिनेहरूको स्वार्थभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए। १५औँ महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई व्यवहारमा उतार्दै पार्टीप्रति नागरिकको विश्वास फर्काउने र कामबाट परिवर्तन प्रमाणित गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो । 

कांग्रेस निर्वाचन समिति र उम्मेदवारबीच बैठक सुरु, केही बेरमै मतगणना हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन समिति र उम्मेदवारबीच बैठक सुरु भएको छ । बैठकपछि केही बेरमै मतगणना सुरु हुने तयारी गरिएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा उपसभापति र महामन्त्री पदका उम्मेदवार मात्रै सहभागी छन् । मतगणना सुरु गर्नुअघि निर्वाचन प्रक्रिया र व्यवस्थापनका विषयमा छलफल भइरहेको जनाइएको छ ।

विद्युत् निर्यातमा मात्रै भर पर्नु हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छ : पूर्वसचिव घिमिरे

काठमाडौं । पूर्वसचिव तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रमुख विज्ञ सल्लाहकार दिनेशकुमार घिमिरेले नेपालमा उत्पादित विद्युत् आन्तरिक खपतमा नै जोड दिनुपर्ने बताएका छन् । इप्पान र क्यानडा फर लोकल इनिसिएटिभले आयोजना गरेको नेपालको हरित भविष्य निर्माणसम्बन्धी नियमित ‘फ्राइडे फोरम’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अन्तरदेशीय विद्युत् निर्यातको भर परेर मात्रै विद्युत् उत्पादनमा जोड दिन नहुने बताए । तत्कालका लागि भने भारत र बंगलादेशमा विद्युत् निर्यात गर्नु बाध्यता रहेको उनको भनाइ छ । दीर्घकालीन रूपमा भने विद्युत् निर्यातको भर पर्न नहुने उनले बताए । उनले प्रसारण पूर्वाधार निर्माण गरेर नेपालमै आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिए । नेपालको आन्तरिक खपतका लागि हालको विद्युत् माग वास्तविक सम्भावनाभन्दा कम रहेको उनको भनाइ छ । उनले प्रसारण पूर्वाधार, औद्योगिक करिडोर र अन्य विद्युत् खपत बढाउने संरचना निर्माण हुन नसक्दा माग खुम्चिएको बताए । उनले विद्युत् खपत बढाउन विद्युतीय यातायात, सार्वजनिक यातायातको विद्युतीकरण तथा घरायसी खाना पकाउने र ताप उत्पादनका लागि विद्युत्को प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए । यसबाट उत्पादित विद्युत् देशभित्रै खपत गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘अहिलेको समस्या भनेको जेनेरेटेड पावरलाई म्यानेज गर्न हो । देशभित्रको ट्रान्समिसन र डिस्ट्रिब्युसन संरचना पनि हामीसँग पर्याप्त छैन । त्यसले गर्दा जेनेरेट भएको विद्युत् पनि उपयोग हुन सकेको छैन । निर्यात गर्न पनि हाम्रा आफ्नै चुनौती छन्, ट्रान्समिसन बोटलनेकहरू छन् । अहिले एउटा मात्रै अपरेसनल ट्रान्समिसन इन्टरकनेक्सन लाइन छ, जुन पनि अलरेडी एक्जस्टेड भइसकेको छ ।'  उनले जलाशययुक्त आयोजना र सौर्य ऊर्जाको विकासमा ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गरे । तत्कालीन प्राथमिकताका रूपमा ठूला क्षमताका सौर्य विद्युत् आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) को विकासलाई अघि बढाउनुपर्ने उनको भनाइ छ । जलाशययुक्त आयोजना निर्माण गर्न लामो समय लाग्ने भएकाले त्यसको अध्ययन तथा कार्यान्वयनसँगै सौर्य ऊर्जाको उत्पादन शीघ्र विस्तार गर्नुपर्ने उनले बताए । उनका अनुसार सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीले विद्युत् आपूर्तिमा हुने उतारचढाव व्यवस्थापन गर्न सहज हुनेछ । उनले वर्षायाममा उत्पादन हुने विद्युत् व्यवस्थापन गर्न भने सीमापार विद्युत् व्यापारको बजार विस्तार आवश्यक रहेको बताए ।

गाडी-मोबाइल किन्न हुलास फिनसर्भले दियो १२.३४ अर्ब कर्जा

काठमाडौं । कर्जा विस्तार तीव्र बनाउँदै आम्दानी बढाएको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको वित्तीय आकार उल्लेख्य रूपमा विस्तार भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको कुल सञ्चालन आम्दानी करिब ५८ प्रतिशतले बढेर डेढ अर्ब रुपैयाँ पुगेको छ भने व्यवस्थापनमा रहेको कुल सम्पत्ति १२ अर्ब ८५ करोड रुपैयाँ नाघेको छ । अर्कोतर्फ, निष्क्रिय कर्जा अनुपात घटेर १.७४ प्रतिशतमा झरेको छ । तर, घट्दो ब्याज मार्जिन र ऋणमा आधारित तीव्र विस्तारले कम्पनीको वित्तीय व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको छ । गोल्छा अर्गनाइजेसनअन्तर्गत सञ्चालित कम्पनीको आम्दानी, सम्पत्ति र कर्जा पोर्टफोलियोमा आएको वृद्धिले हायर पर्चेज बजारमा यसको व्यवसाय विस्तार भइरहेको देखिन्छ । सवारीसाधन, मोबाइल फोन तथा घरेलु उपकरणको वित्तपोषणमा केन्द्रित कम्पनीको व्यवसायमा समूहभित्रका अन्य कम्पनीसँगको व्यावसायिक सम्बन्धले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । आम्दानी डेढ अर्ब, एक वर्षमै ५४ करोड वृद्धि हुलास फिनसर्भले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ५० करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ९५ करोड १० लाख रुपैयाँको तुलनामा आम्दानी ५४ करोड ९० लाख रुपैयाँ अर्थात् ५७.७२ प्रतिशतले बढेको हो । कर्जा पोर्टफोलियो विस्तार र व्यवसायको आकार बढ्दै जाँदा प्राप्त भएको सञ्चालनगत लाभले योगदान गरेको कम्पनीले जनाएको छ ।  आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ४८ करोड ८० लाख, आव २०७८/७९ मा ५२ करोड १० लाख, आव २०७७/७८ मा ६१ करोड ३० लाख र आव २०७६/७७ मा ५४ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । व्यवस्थापनमा रहेको सम्पत्ति १२ अर्ब ८५ करोड कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा व्यवस्थापन गरेको कुल सम्पत्ति १२ अर्ब ८५ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो सम्पत्ति ८ अर्ब ६४ करोड ७० लाख रुपैयाँ थियो । एक वर्षमै व्यवस्थापनमा रहेको सम्पत्ति करिब ४ अर्ब २० करोड ५० लाख रुपैयाँले बढेको छ । यसअघि कम्पनीको व्यवस्थापनमा रहेको कुल सम्पत्ति आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ७० करोड ३० लाख, आव २०७९/८० मा २ अर्ब ८५ करोड ६० लाख, आव २०७८/७९ मा ३ अर्ब ९१ करोड ४० लाख, आव २०७७/७८ मा ४ अर्ब २५ करोड ५० लाख र आव २०७६/७७ मा ३ अर्ब ५१ करोड ३० लाख रुपैयाँ थियो । कम्पनीको कुल कर्जा पोर्टफोलियो पनि बढेर गत आर्थिक वर्षमा १२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यो पोर्टफोलियो ८ अर्ब १८ करोड १० लाख रुपैयाँ थियो । त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ४६ करोड ९० लाख, आव २०७९/८० मा २ अर्ब ६१ करोड, आव २०७८/७९ मा ३ अर्ब ६२ करोड २० लाख, आव २०७७/७८ मा ३ अर्ब ८१ करोड २० लाख र आव २०७६/७७ मा ३ अर्ब २६ करोड ८० लाख रुपैयाँ थियो । नेटवर्थ १ अर्ब ८८ करोड, प्रवर्द्धकको बलियो साथ गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको नेटवर्थ १ अर्ब ८८ करोड ८० लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४८ करोड ९० लाख रुपैयाँ रहेको नेटवर्थ एक वर्षमा ३९ करोड ९० लाख रुपैयाँले बढेको हो । कम्पनीको नेटवर्थ आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब २४ करोड ५० लाख, आव २०७९/८० मा १ अर्ब १९ करोड १० लाख, आव २०७८/७९ मा १ अर्ब १९ करोड ७० लाख, आव २०७७/७८ मा १ अर्ब ४ करोड ८० लाख र आव २०७६/७७ मा ८९ करोड ६० लाख रुपैयाँ थियो । सन् २०१२ मा ‘हुलास इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’का रूपमा स्थापना भएको कम्पनी सन् २०२१ जुलाईमा पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो । त्यसपछि ‘हुलास फिन सर्भ लिमिटेड’ नामबाट सञ्चालन भएको कम्पनीले नेपाल राष्ट्र बैंकको नियामकीय आवश्यकताअनुरूप सन् २०२३ नोभेम्बरमा नाम परिवर्तन गरी ‘हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड’ कायम गरेको हो । कम्पनीमा गोल्छा अर्गनाइजेसनको प्रमुख एकाइ हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडको करिब ८२ प्रतिशत सेयर स्वामित्व छ । उक्त कम्पनी नेपालका लागि बजाजका दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक बिक्रेता हो । हुलास फिनसर्भमा बाँकी १८ प्रतिशत सेयर अन्य ४५ जना सेयरधनीको रहेको छ । तीमध्ये बजाज ब्रान्डका दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन एसेम्बल गर्ने हुलास अटोक्राफ्ट प्राइभेट लिमिटेडको करिब ५ प्रतिशत र सामसङका मोबाइल तथा घरेलु उपकरणको आयात तथा वितरणमा संलग्न हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडको करिब २ प्रतिशत सेयर छ । कम्पनीका अध्यक्ष शेखर गोल्छाको पनि करिब ५ प्रतिशत सेयर स्वामित्व रहेको छ । ब्याज मार्जिन घट्दै, नाफामा दबाब  कम्पनीको खुद ब्याज मार्जिन गत आर्थिक वर्ष २०८२/८३ मा घटेर ९.९ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मार्जिन ११.४ प्रतिशत थियो । कम प्रतिफल दिने कर्जा क्षेत्रमा बढ्दो एकाग्रता र बैंकिङ क्षेत्रमा कर्जा लिने लागत घटेसँगै बढेको प्रतिस्पर्धाले ब्याज मार्जिनमा दबाब परेको हो । यद्यपि, दुवै वर्षको मार्जिनमा सब्सिडीबाट प्राप्त आम्दानीसमेत समावेश भएकाले प्रतिस्पर्धी कम्पनीको तुलनामा यो स्तर तुलनात्मक रूपमा राम्रो रहेको कम्पनीले जनाएको छ । ब्याज मार्जिन घटे पनि कम्पनीको व्यवसाय विस्तारले कुल आम्दानी र नाफालाई सहयोग गरेको छ । तर, आगामी दिनमा कर्जाको लागत, प्रतिस्पर्धा र ऋणको स्रोत व्यवस्थापनले नाफाको दिगोपन निर्धारण गर्नेछन् । निष्क्रिय कर्जा १.७४ प्रतिशतमा झर्यो हुलास फिनसर्भको सम्पत्ति गुणस्तरमा पछिल्लो वर्ष सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको कुल निष्क्रिय कर्जा अनुपात (एनपीए) १.७४ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ३.०८ प्रतिशत थियो । कम्पनीको निष्क्रिय कर्जा अनुपात आर्थिक वर्ष २०८०/८१ मा ५.२३ प्रतिशत र आव २०७९/८० मा ५.९८ प्रतिशत पुगेको थियो । त्यसपछि घट्दै आर्थिक वर्ष २०७८/७९ मा २.२१ प्रतिशत, आव २०७७/७८ मा २.५८ प्रतिशत र आव २०७६/७७ मा १.९३ प्रतिशत रहेको थियो । त्यस्तै, ९० दिनभन्दा बढी भुक्तानी अवधि नाघेको कर्जाको अनुपात पनि अघिल्लो वर्ष ६ प्रतिशतबाट घटेर गत वर्ष ३ प्रतिशतमा आएको छ । कर्जा असुलीमा सुधार, कर्जाको निगरानीमा कडाइ र प्रविधिमा आधारित नियन्त्रण प्रणालीको प्रयोगले निष्क्रिय कर्जा घटाउन सहयोग गरेको कम्पनीको भनाइ छ ।  साना कर्जामा विविधीकरण  कम्पनीको कर्जा पोर्टफोलियो सवारीसाधन, मोबाइल फोन र घरेलु उपकरणजस्ता क्षेत्रमा फैलिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कुल कर्जामा दुई पाङ्ग्रे सवारीसाधनको हिस्सा करिब ४५ प्रतिशत, मोबाइल फोनको १८ प्रतिशत र घरेलु उपकरणको ५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यी क्षेत्रको हिस्सा क्रमशः ३८ प्रतिशत, २६ प्रतिशत र २ प्रतिशत थियो । यस अवधिमा दुईपाङ्ग्रे सवारीसाधन तथा घरेलु उपकरण कर्जाको हिस्सा बढेको छ भने मोबाइल फोन कर्जाको हिस्सा घटेको छ । समूहका भगिनी कम्पनीहरूले बिक्री गरेका सवारीसाधन, मोबाइल फोन र घरेलु उपकरणको वित्तपोषणबाट कुल कर्जा पोर्टफोलियोको करिब ५३ प्रतिशत सिर्जना भएको छ । यसले समूहभित्रको व्यावसायिक सम्बन्ध कम्पनीको व्यवसाय विस्तारमा महत्वपूर्ण मानिएको छ ।  कर्जा पोर्टफोलियो बढे पनि थपिएको व्यवसाय तुलनात्मक रूपमा साना कर्जामा फैलिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म प्रतिकर्जा औसत रकम करिब ७० हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको करिब ६० हजार रुपैयाँभन्दा केही बढी हो ।  साथै, नियामकीय परिवर्तनले कम्पनीको आम्दानी बढाउने सम्भावना देखिएको छ । सेवा शुल्क लिन पाउने व्यवस्था, कर्जाको ब्याजदर अन्तरमा रहेको ४ प्रतिशतको सीमा हटाइनु र कोषको लागतमा आधारित ब्याजदर प्रणाली लागू हुनुले कर्जाको मूल्य निर्धारणमा थप लचकता दिन सक्ने कम्पनीको अपेक्षा छ । 

जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

काठमाडौं । जापानमा चालु आर्थिक वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा कर्पोरेट टाट पल्टिने घटना १३ वर्षयताकै उच्च विन्दुमा पुगेका छन् । क्रेडिट अनुसन्धान संस्था ‘टोकियो शोको रिसर्च’का अनुसार यस अवधिमा कम्तीमा १० मिलियन येन (करिब ६३ हजार अमेरिकी डलर) ऋण भएका ५ हजार ३७३ कम्पनी टाट पल्टिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.९ प्रतिशतले बढी हो । सन् २०१३ को पहिलो छ महिनामा ५ हजार ५०५ कम्पनी टाट पल्टिएयता यो संख्या सबैभन्दा उच्च हो । तथ्यांकअनुसार टाट पल्टिएका कम्पनीहरूको कुल दायित्व २३.५ प्रतिशतले बढेर ८५६.१ अर्ब येन पुगेको छ । विगत चार वर्षमा पहिलोपटक यस्तो दायित्वमा वृद्धि देखिएको हो । यो संकटको मुख्य मारमा साना व्यवसाय परेका छन् । १० जनाभन्दा कम कामदार रहेका साना फर्मले टाट पल्टिएका कुल कम्पनीमध्ये ९० प्रतिशत हिस्सा ओगटेका छन् । आर्थिक दबाब बढ्नुमा श्रमिकको अभाव र बढ्दो मूल्यवृद्धि प्रमुख कारण देखिएका छन् । प्रतिवेदनअनुसार श्रमिक अभावसँग सम्बन्धित टाट पल्टिने घटना १७.१ प्रतिशतले बढेर २४० पुगेका छन् भने महँगीका कारण समस्यामा परेका व्यवसायको संख्या १७.८ प्रतिशतले बढेर ४३६ पुगेको छ । क्षेत्रगत रूपमा हेर्दा सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ १ हजार ८२८ कम्पनी टाट पल्टिएका छन् । त्यसपछि निर्माण क्षेत्रमा १ हजार ३५ कम्पनी टाट पल्टिएका छन् । आगामी दिनमा थप जोखिम बढ्न सक्ने अर्थशास्त्रीहरूले संकेत गरेका छन् । बैंक अफ जापानले ब्याजदर बढाएपछि ऋणको लागत बढेको छ । टोकियो शोको रिसर्चले चालु आर्थिक वर्षको दोस्रो छ महिनामा ब्याजदर वृद्धिको प्रत्यक्ष प्रभाव व्यापारिक टाट पल्टिने घटनाको संख्यामा देखिने अनुमान गरेको छ । 

गगन–विश्वलाई योगेशले भने– सत्ता गठबन्धनको म्युजिकल चेयरबाट मुलुकलाई मुक्त गर्नुपर्छ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन् । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै आशा, भरोसा र विश्वासको जगमा नेतृत्वमा आएका थापा र शर्माले जनताको विश्वास टुट्न नदिने अपेक्षा व्यक्त गरेका छन् । उनले लोकतन्त्र र संविधानको रक्षा, विकास तथा कार्यान्वयनमा सहकार्य गर्दै स्वस्थ राजनीतिक प्रतिस्पर्धाको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् । भट्टराईले व्यक्ति र स्वार्थ केन्द्रित सत्ता गठबन्धनको ‘म्युजिकल चेयर’बाट मुलुकलाई मुक्त गर्नुपर्नेमा जोड दिएका छन् । साथै, सम्मानित र मर्यादित राजनीतिक संस्कृतिको निर्माण गर्नुपर्ने उनको भनाइ छ । उनले कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा समस्त कांग्रेसजनलाई पनि बधाई दिएका छन् । 

गगनलाई बधाई दिँदै प्रदीपले भने– ‘इमानदार सहयात्रीका रूपमा सँगै हुनेछौँ’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका प्रदीप पौडेलले पार्टीका नवनिर्वाचित सभापति गगनकुमार थापालाई बधाई तथा शुभकामना दिएका छन् । पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत थापालाई बधाई दिँदै कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक जिम्मेवारी प्राप्त गरेको बताएका छन् । उनले कांग्रेसमा परिवर्तन र देशमा रूपान्तरण गर्ने संकल्पसहित आफूहरू अघि बढेको उल्लेख गरेका छन्। बाटो सहज नभए पनि चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ,’ पौडेलले लेखेका छन् । उनले अब अलमलिने र थाक्ने छुट नभएको उल्लेख गर्दै थापाको नेतृत्वमा पार्टीलाई नयाँ दिशामा अघि बढाउन आफू इमानदार सहयात्रीका रूपमा सँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।