काठमाडौं । चुमनुब्री गाउँपालिकाले बुढीगण्डकीमा आएको बाढीका कारण पर्यटक फसेको हुनसक्ने बताएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार मनास्लु ट्रेकिङ रुटमा रहेका पर्यटक फसेको आशंका गरिएको जानकारी दिए ।
उद्धारका लागि भने यतिबेला उक्त क्षेत्रमा ४ हेलिकप्टर खटाइएको उनले बताए ।
‘३–४ ठाउँमा फसेकालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । मनास्लु, लार्केतिर जानु भएका पर्यटकहरू पनि फस्नुभएको छ । मानवीय क्षति यति नै भन्ने यकिन छैन,’ उनले भने ।
उक्त क्षेत्र हुँदै दैनिक ढेडसयसम्मको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मनास्लु ट्रेकिङका लागि जाने गर्थे ।
यतिबेला केही सुरक्षित रहेको खबर आएपनि बाटोमै रहेका केही बाढीमा परेको हुनसक्ने उनले बताए ।
‘बाटोमा जाँदै गरेका के-कति परेका छन् त्यसको खोजी हुँदै छ । बाढी आएको क्षेत्र हुँदै दैनिक सय/डेढसय जना जति पर्यटक सधैं मनास्लु, लार्के जाने हो,’ उनले भने ।