काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीको जोखिम बढेपछि गोरखाको आरुघाट आधारभूत अस्पतालमा भर्ना भएका बिरामीलाई एम्बुलेन्समार्फत सुरक्षित स्थानमा सारिएको छ ।
बाढीको पहिलो र दोस्रो लहरपछि नदी आसपासका बस्तीमा जोखिम बढेसँगै अस्पतालमा भर्ना भएका बिरामीलाई आज बिहानैदेखि सुरक्षित स्थानमा सार्न थालिएको हो ।
अस्पतालका सबै कर्मचारीलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गोरखा अस्पतालका निमित्त मेसु डा. शम्भु अधिकारीले जानकारी दिए ।
बाढीले विभिन्न स्थानमा पुल बगाउनुका साथै घर तथा संरचनामा क्षति पुर्याएको छ । बाढीका कारण केही बस्ती जोखिममा परेका छन् भने गोरखा र धादिङ जोड्ने सडकसमेत अवरुद्ध भएको छ ।
प्राप्त विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ ।
त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ ।
माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा रहेका टहरामा क्षति पुगेको छ । धार्चे गाउँपालिका–३ सल्लेरीमा २० देखि २२ वटा घर जोखिममा परेका छन् ।
पछिल्लो विवरणअनुसार सोही स्थानमा निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सातदेखि आठवटा घरसमेत बाढीले बगाएको छ ।
यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ अन्तर्गत मान्वु जोड्ने सोतीमा रहेको फलामे मोटरेबल पक्की पुल पनि बाढीले बगाएको छ ।
आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलका तीन भागमध्ये गोरखातर्फको एउटा भाग बाढीले बगाएर क्षति पुर्याएको छ । पुलमा क्षति पुगेपछि उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
उद्धार तथा बाढी अनुगमनसम्बन्धी विवरणअनुसार बिहान ८ बजे बाढी आरुघाट पुगेको थियो भने बिहान ८ बजेर ५५ मिनेटमा घ्यालचोक पुगेको थियो ।
बाढीबाट भएको क्षतिको थप विवरण संकलन तथा प्रभावित क्षेत्रमा उद्धार र अनुगमनको काम भइरहेको छ । मानवीय क्षति तथा विस्थापितको संख्याबारे भने अहिलेसम्म केही जानकारी नआएको डा. अधिकारीले जानकारी दिए ।