विकासन्युज

नेपाल व्यवस्थापन संघको कोषाध्यक्षमा चंकी क्षेत्री निर्विरोध

काठमाडौं । नेपाल व्यवस्थापन संघको प्रबन्ध समितिको कोषाध्यक्ष पदमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । दुई वर्षे कार्यकालका लागि उनीसहित पाँच सदस्यीय नयाँ प्रबन्ध समितिको चयन गरिएको हो । संघको सभापति पदमा हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएकी छिन् । यस्तै, उपसभापति पदमा जितेन्द्रप्रसाद धिताल र कृष्णप्रसाद आचार्य तथा महासचिवमा इन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । संघको विधानअनुसार प्रारम्भमा ६ जना संस्थागत र ११ जना व्यक्तिगत गरी १७ सदस्यीय कार्य समिति गठन गरिन्छ । यसरी चयन भएका कार्य समिति सदस्यहरूमध्येबाट निर्वाचनमार्फत पाँच सदस्यीय प्रबन्ध समितिका पदाधिकारीहरूको चयन हुने व्यवस्था रहेको छ । ४५औं राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरूलाई निर्वाचनको प्रमाणपत्र वितरण तथा सपथ ग्रहण गराइएको छ ।   

एनएलजी इन्स्योरेन्सद्वारा सिद्धकुमाख गाउँपालिकामा कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम

काठमाडौं । कृषकको घर–दैलोमा पुगेर बीमा सेवा विस्तार गर्ने उद्देश्यसहित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्यान शाखाले सिद्धकुमाख गाउँपालिका वडा नं ५ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सिद्धकुमाख गाउँपालिका वडा नं ५ को वडा कार्यालयमा आयोजित कार्यक्रममा कृषकलाई बीमाको दायरामा ल्याउने लक्ष्यसहित कृषि तथा पशुपन्छी बीमाका प्रावधान, दाबी प्रक्रिया तथा यसको महत्त्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेस कोअर्डिनेटर सुनील श्रेष्ठले कृषकलाई प्राकृतिक जोखिम तथा आर्थिक क्षतिबाट सुरक्षित गर्न कम्पनीले देशभरका गाउँ–गाउँमा पुगेर बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष चुडामणि रेउलेले बीमाले कृषकको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै प्राप्त जानकारीलाई टोल–टोलसम्म पुर्‍याउन आग्रह गरे । उनले आगामी दिनमा वडास्तरबाट बीमालाई उच्च प्राथमिकतामा राखी कृषकलाई बीमाको दायरामा ल्याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । एनएलजी इन्स्योरेन्स सल्यान शाखा प्रमुख अनुराग बोहराले कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै छलफलका क्रममा उठेका जिज्ञासाहरूको स्पष्ट जवाफ दिए । उनले पछिल्ला वर्षदेखि सञ्चालन गरिएको गाउँस्तरीय बीमा अभियान सकारात्मक र प्रभावकारी बन्दै गएको बताए । कार्यक्रमकै क्रममा कृषि तथा पशुपन्छी बीमा दाबी अन्तर्गत १२ जना कृषकलाई दाबी भुक्तानी वितरण गरिएको थियो। साथै, माघ १ गतेदेखि दाबी भुक्तानी अनलाइन माध्यमबाट मात्र उपलब्ध गराइने जानकारी पनि दिइएको थियो। नेपाल सरकारले उपलब्ध गराउँदै आएको ८० प्रतिशत बीमा शुल्क अनुदान सुविधाबारे पनि कृषकलाई जानकारी गराइएको थियो। कार्यक्रममा वडा नं ५ का विभिन्न टोलबाट ४० जना कृषकको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन एनएलजी इन्स्योरेन्सका अभिकर्ता हरिबहादुर रेउलेले गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य झुपलाल बोहरा, पशु प्राविधिक टिका बस्नेत र कृषि प्राविधिक तिला रेउलेलगायतको आतिथ्यता रहेको थियो । 

एलन मस्कको ट्रिलियनेयर बन्ने सपना, स्पेसएक्स मुख्य इन्जिन ?

काठमाडौं । एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर बन्ने यात्रामा छन् र यो यात्रा कारभन्दा पनि रकेटले अघि बढाउने सम्भावना बढी देखिन्छ । किनकि अहिले अन्तरिक्ष कम्पनी स्पेसएक्सले टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मस्कको नेटवर्थको करिब दुई–तिहाइ हिस्सा ओगटेको छ । फोब्र्सका अनुसार यस साता मस्कको कुल सम्पत्ति ८०० अर्ब अमेरिकी डलर नाघ्दै करिब ८४५ अर्ब डलर पुगेको छ । उनी अहिले गुगलका सहसंस्थापक ल्यारी पेज र सर्गेई ब्रिन तथा मेटाका सीईओ मार्क जुकरबर्ग—यी तीनै जना धनीहरूको संयुक्त नेटवर्थभन्दा पनि धनी छन् । सीएनबीसीले हेरेका वित्तीय कागजातअनुसार यस साता मस्कको स्पेसएक्सले उनको कृत्रिम बौद्धिकता (एआई) र सामाजिक सञ्जाल कम्पनी एक्सएआईलाई अधिग्रहण गरेपछि उनको सम्पत्ति झन् बढेको हो । सो सम्झौतामा एकीकृत कम्पनीको मूल्य १.२५ ट्रिलियन डलर आँकिएको छ । संयुक्त कम्पनीमा मस्कको स्वामित्व करिब ४३ प्रतिशत रहने अनुमान छ । यस आधारमा उनको हिस्साको मूल्य मात्रै ५३० अर्ब डलरभन्दा बढी हुन्छ, जुन उनको आर्थिक अवस्थाको तीव्र परिवर्तनलाई देखाउँछ । मस्कको प्राथमिकता पनि टेस्लाभन्दा बढी स्पेसएक्सतर्फ सर्दै गएको देखिन्छ । टेस्लाले आफ्नो पछिल्लो प्रोक्सी फाइलिङमा ‘मस्कको अधिकांश सम्पत्ति अब अन्य व्यवसायिक उपक्रमबाट आएको छ’ भनेर स्वीकार गरेको छ । गत वर्ष मस्कले २०२६ मा स्पेसएक्सलाई सेयर बजारमा सूचीकृत (पब्लिक) गर्ने इच्छा व्यक्त गरेका थिए । यसो भएमा टेस्ला उनको तरल सम्पत्तिमा अपेक्षाकृत कम महत्त्वपूर्ण हुने थियो । तर रक्षा ठेकेदार र स्याटेलाइट व्यवसायसँगै ठूलो घाटामा चलिरहेको एआई मोडल विकास गर्ने कम्पनीलाई समेटेको यस्तो संरचनामा सार्वजनिक लगानीकर्ताहरू लगानी गर्न हिच्किचाउन सक्छन् । खासगरी यो एआई कम्पनीले गुगल, ओपनएआई र एन्थ्रोपिकसँग प्रतिस्पर्धा गरिरहेको छ । फेडस्काउटका अनुसन्धानअनुसार स्पेसएक्सले संघीय सरकारसँगका ठेक्काबाट २० अर्ब डलरभन्दा बढी रकम पाइसकेको छ र अझै आकर्षक ठेक्काहरू आउने क्रममा छन् । मस्कले यस अधिग्रहणलाई ‘अर्बिटल डेटा सेन्टर’तर्फको अर्को कदमका रूपमा व्याख्या गरेका छन् । रेनमेकर सेक्युरिटिजका म्यानेजिङ डाइरेक्टर ग्रेग मार्टिन भन्छन्, ‘शुद्ध स्पेसएक्स सेयरधनीका रूपमा उनको कथा केही धमिलिएको देखिए पनि सम्भावनाको क्षितिज भने झन् फराकिलो बनेको छ । विशेषगरी पूँजीको अतृप्त आवश्यकता बोकेको एक्सएआईजस्ता परियोजनासँगै ठूलो पूँजी बजारतर्फ उनीहरूको आकर्षण स्वाभाविक देखिन्छ ।’ हाल एक्सएआई युरोप, एसिया, अष्ट्रेलिया र क्यालिफोर्नियामा अनुसन्धानको घेरामा छ । कारण, कम्पनीको ‘ग्रोक’ इमेज जेनेरेटरले बालबालिका र महिलाका ‘डिपफेक’ अश्लील तस्बिरहरू बनाउन र साझा गर्न अनुमति दिएको आरोप छ । मस्कको यो मर्जरलाई नियामक समीक्षा आवश्यक पर्छ कि पर्दैन भन्ने स्पष्ट छैन । यसै साता अमेरिकी डेमोक्र्याट सिनेटरहरूले स्पेसएक्समा गोप्य चिनियाँ लगानीकर्ता रहेको आशंकामा पेन्टागनलाई अनुसन्धान गर्न आग्रह गरेका छन् । मस्कका लागि टेस्लामा केन्द्रित रहन अझै ठूलो प्रोत्साहन छ । गत वर्षको अन्त्यतिर सेयरधनीहरूले नयाँ पारिश्रमिक प्याकेज स्वीकृत गरेका थिए, जसको मूल्य एक ट्रिलियन डलरसम्म हुन सक्छ । आगामी एक दशकमा टेस्लाले निश्चित लक्ष्यजस्तै बजार पुँजीकरण र सञ्चालन उपलब्धि हासिल गरेमा यो पारिश्रमिक १२ चरणमा दिइनेछ।  पहिलो चरणको सेयर भुक्तानी टेस्लाको बजार मूल्य २ ट्रिलियन डलर पुगेपछि मात्र हुनेछ, जुन हालको मूल्यांकनभन्दा करिब ४६० अर्ब डलर बढी हो । टेस्लाले उक्त योजनाबारे प्रोक्सी फाइलिङमा ‘उनले अन्य उपक्रमलाई प्राथमिकता नदिऊन् भन्ने उद्देश्य’ रहेको उल्लेख गरेको छ । तर कोलम्बिया ल स्कूलकी कर्पोरेट तथा सेक्युरिटीज कानुन विशेषज्ञ डोरोथी लन्डका अनुसार यो रणनीति सफल नहुन सक्छ । उनले भनेकी छन्, ‘मस्क अहिले प्रत्येक कम्पनीमा पारिश्रमिक प्याकेजबारे मोलतोल गरिरहेका छन् र हरेक बोर्ड उनलाई ध्यान दिन प्रेरित गर्न पैसा देखाइरहेको छ । यदि स्पेसएक्सरएक्सएआईले उनलाई बढी पैसा र ठूलो हिस्सा दिन्छ भने टेस्लाको प्याकेज कम आकर्षक देखिन सक्छ ।’ एक्सएआई अधिग्रहणअघिसम्म मस्कसँग स्पेसएक्सको करिब ४२ प्रतिशत स्वामित्व र ८० प्रतिशत मताधिकार थियो । सार्वजनिक कागजातअनुसार हाल टेस्लामा उनको स्वामित्व ११ देखि १५ प्रतिशतबीच छ । टेस्लाको ब्रान्ड मूल्य र मुख्य अटो बिक्री घट्दो क्रममा रहनुका साथै लामो समयदेखि घोषणा गरिएका रोबोट्याक्सी र मानवरूपी रोबोट अझै विकासमै रहेको कारण यस वर्ष टेस्लाको सेयर मूल्य करिब ९ प्रतिशतले घटेको छ । मस्क ट्रिलियनेयर बन्न टेस्लाको सेयर मूल्य स्थिर रह्यो भने उनको स्पेसएक्स स्वामित्वका आधारमा रकेट र एआई कम्पनीको मूल्यांकन करिब १.६ ट्रिलियन डलर पुग्नुपर्ने हुन्छ । गर्बर कावासाकीका सीईओ रोस गर्बरको अनुमान छ— मस्क स्पेसएक्सलाई एक्लै पब्लिक बनाउने पक्षमा कहिल्यै नहुन सक्छन् । बरु स्पेसएक्स र टेस्लाको मर्जर गरेर न्यूयोर्क स्टक एक्सचेञ्जमा ‘एक्स’ टिकरमार्फत सूचीकृत गर्ने सम्भावना देख्छन् । यो टिकर पहिले युएस स्टिलसँग थियो । गर्बर दीर्घकालीन टेस्ला लगानीकर्ता हुन् र २०२२ मा मस्कले ट्विटर (पछि एक्स) खरिद गर्दा गरेको लेभरेज्ड बाइआउटमा समर्थन गरेपछि उनीसँग स्पेसएक्सका सेयर पनि छन् । मस्कले ट्विटरलाई एक्स नाम दिएर गत वर्ष एक्सएआईसँग गाभेका थिए । गर्बरका अनुसार मस्कको साम्राज्य एकीकृत गर्नु तर्कसंगत छ, किनकि यसले ‘एक्स’ ब्रान्डअन्तर्गत एउटै विशाल कम्पनी चलाउने उनको सपना पूरा गर्न मद्दत गर्छ । अल्फाबेटले यस वर्ष पूँजीगत खर्चमा १८५ अर्ब डलरसम्म खर्च गर्ने घोषणा गरेपछि, मस्कले पनि ठूलो मात्रामा नगद जुटाउन सक्नुपर्ने गर्बरको भनाइ छ । उनले भने, ‘यस्तो विशाल संस्थाले पूँजी उठाउन र ऋण लिन सजिलो बनाउँछ । मस्कले ठूला एआई खेलाडी बन्न प्रतिस्पर्धा कसरी गर्ने त ?’ यस विषयमा टिप्पणीका लागि गरिएको अनुरोधमा मस्कले भने प्रतिक्रिया दिएनन् । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)

खोटाङमा बिहेभोज खाँदा करिब सय जना बिरामी

काठमाडौं । खोटाङमा बिहेभोज खादा करिब सयजना बिरामी भएका छन् । बुधबार जन्तेढुङ्गा गाँउपालिका ६ मा आयाेजित विवाह भोज खाएकाहरू बिरामी परेका हुन् । खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु विष्टले बिहे भोज खाएर फर्केकाहरूलाई एक्कासि पेट दुख्ने, ज्वरो र झाडाबान्ता जस्ता समस्याले सताएको बताए ।  उनका अनुसार ८ जनालाई फुड पोइजन भएको छ । चिसापानीको प्राथमिक स्वास्थ्य क्रेन्द्रमा उपचार भएकाहरूमा फुड पोइजनको पुष्टि भएको हो । केही बिरामीलाई स्थानीय सुजना राईको घरमा राखेर सामूहिक रूपमा उपचार गरिरहेको विष्टले जानकारी दिए ।  ‘बिहे भोज खाएको भोलिपल्ट १–२ जना मात्र बिरामी भएका थिए । हिजोदेखि ठूलो संख्यामा बिरामीको संख्या बढेका हुन्,’ विष्टले विकासन्युजसँग भने । बिरामीहरूलाई  बिहेघरको आसपासमै स्वास्थ्य शिविर सञ्चालन गरेर उपचार सुरु गरिएको विष्टले बताए ।  शिविरमा ४५ देखि ५० जनालाई राखेर उपचार गरिरहेको उनले उल्लेख गरे । केही बिरामीलाई घरमा स्लाइन दिएर उपचार भइरहेको उनको भनाइ छ । ९ देखि ६० वर्ष उमेर समूहका मानिसहरूमा यस्तो समस्या देखिएको उनले बताए । बिरामी अवस्था सामान्य रहेको विष्टले जानकारी दिए ।

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने क्रम बढ्दै गएको छ । यसैक्रममा पछिल्लोपटक औद्योगिक क्षेत्रमा थप दुईवटा उद्योग सञ्चालनमा आएको छ ।   यही माघको पहिलो सातादेखि प्रिसिअस ओइष्ट रिफायनरी प्रालिले पुराना इलेक्ट्रोनिक्स सामानको प्रशोधन गरी नयाँ धातुहरू उत्पादन गर्ने नयाँ उद्योगबाट परीक्षण उत्पादन सुरु गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए । यस्ता प्रकृतिको उद्योग सम्भवतः नेपालमै पहिलोपटक सञ्चालनमा आएको उनले बताए । त्यसैगरी, गत कात्तिकबाट राधाकृष्ण सेनथेटिक प्रालिले पूर्ण रूपमा प्लाष्टिकको बोरा उत्पादन गर्न सुरु गरिसकेको छ । सूचना अधिकारी नेपालका अनुसार लामो समयदेखि बन्द रहेका उद्योगमध्ये नेपाल ब्रोरीले नयाँ व्यवस्थापनसहित केही दिनभित्रै सञ्चालनको तयारीमा छ भने त्रिपुरा इन्डस्ट्रिजले नयाँ उद्योगका रूपमा टोबाको उद्योग सञ्चालन गर्न लागेको छ । औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगमध्ये पछिल्लो केही महिनादेखि लगानीको अभाव देखाउँदै रोटो प्रिन्टिङ उद्योग (प्लास्टिकमा प्रिन्ट गर्ने) र नोबोल प्याकेजिङले उत्पादन बन्द गरेको सूचना अधिकारी नेपालले बताए । औद्योगिक क्षेत्रमा हाल विभिन्न प्रकारका १३ वटा उद्योग सञ्चालनका लागि निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन अवस्थामा रहेकामध्ये अधिकांश उद्योग निर्माणको अन्तिम चरणमा रहेको उनको भनाइ छ । अमेरिका सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल १४७ उद्योग तथा प्रतिष्ठानहरूले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् ।   कुल तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन् । यस्तै, औद्योगिक क्षेत्र परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखालगायत कम्पनी सञ्चालनमा रहँदै आएको सूचना अधिकारी नेपालले बताए ।  कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६.५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निर्माण क्षेत्रफल ५९७ रोपनी रहेको छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ छन् ।   

सुनको मूल्य तोलामा ३ लाख ५०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ५०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य आइतबार तोलामा ५ हजार १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।    

एचपीभी खोप अभियान आइतबारदेखि सञ्चालन हुँदै

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान आइतबारदेखि सञ्चालन हुँदैछ । सरकारले आजदेखि सञ्चालन गर्न लागेको किशोरी लक्षित खोप अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । यो अभियान विद्यालय वा स्वास्थ्य संस्थामार्फत खोप केन्द्र सञ्चालन गरी सुरु हुने जनाइएको छ । कक्षा ६ मा अध्ययनरत बालिका, विद्यालयबाहिर रहेका १० वर्ष उमेरका बालिका, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका बालिका तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अत्यधिक चिसो हुने हिमाली जिल्लाहरूमा भने चैतदेखि वैशाखसम्म यो अभियान सञ्चालन हुनेछ। यो पूर्ण रूपमा निःशुल्क र सुरक्षित भएकाले अनिवार्य रूपमा लगाउन सरकारले आग्रह गरेको छ । एचपीभी खोप लगाएमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउँछ । गत वर्षको एचपीभी खोप अभियानमा खोप लगाएकाहरूले भने यो वर्ष खोप लगाउन पर्दैन ।