विकासन्युज

राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

चार विधेयक प्रमाणीकरणकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।  राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सङ्घीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए । 

बीपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने

काठमाडौं । पटक पटकको बाढी पहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बीपी राजमार्गको काभ्रेपलाञ्चोक-सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ । पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै अवरुद्ध हुने गरेको थियो । हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ  । ‘वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै खण्ड-खण्डमा पुनर्निर्मित ट्रयाकबाटै पूर्ण रूपमा सवारी आवागमन हुनेछ, विपद्का कारण अवरुद्ध भएमा आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ, यसका लागि आवश्यक उपकरण तम्तयार अवस्थामा राखिएको छ,’ कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने ।  उनका अनुसार साविककै स्थानमा पुनः निर्माण भएका अधिकांश खण्डबाट आवागमन भइरहेको छ । यसअघि भने खोलामै अस्थायी डाभइभर्सन बनाइएकाले रोसी खोलाको बहाव बढ्नेबित्तिकै डाइभर्सन बगाउने र सडक अवरुद्ध हुने गरेको थियो ।  सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्रयाकबाट सवारी चलाइएको छ । चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले-बर्खेखोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ । क्षतिग्रस्त स्थानमा ग्राभेलको काम तथा अन्य केही स्थानमा वर्षाका ठूला ढुङ्गा राखेर सडक तयार गरिएको छ । वि.सं २०८१ असोजको बाढी पहिरोले राजमार्गको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । सवारी सञ्चालन गर्न रोसी खोलामा अस्थायी रूपमा बनाइएको डाइभर्सन पनि बाढीले बगाउने गरेको थियो ।  क्षतिग्रस्त चार खण्डमध्येको खण्ड बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक निर्माणको काम जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गरिरहेको छ । जाइकाले उक्त खण्डमा माटो भरेर बोल्डर (ठूला ढुङ्गा) राख्ने काम गरिरहेको छ । राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ ।  ‘पुनः निर्माण हुने सडक खण्ड दुई लेनको छ । हाल सञ्चालनमा रहेको पुलसँगै अर्को नयाँ पुल निर्माण गरिन्छ,’ योगेशले भने । उनका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ । क्षतिग्रस्त कुल २९.५ किलोमिटर सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडकलाई जाइकाले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी भएको छ ।  जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो ।

मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं । फ्रान्सले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । पेनाल्टीमा चुकेका कप्तान केलियन एम्बाप्पेले दोस्रो हाफमा गोल गर्दै आफ्नो गल्ती सच्याए भने उस्मान डेम्बेलेको गोलसँगै फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। बोस्टन स्टेडियममा भएको खेलमा फ्रान्सका एम्बाप्पेले ६०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको जित सुनिश्चित गरे । जारी विश्वकपमा एम्बाप्पेले आफ्नो गोलसंख्या ८ पुर्‍याएका छन्, जुन अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग बराबरी हो । मोरक्कोले खेलभर संघर्ष गरे पनि फ्रान्सको सुदृढ रक्षापंक्तिलाई तोड्न सकेन ।  खेलमा जित निकालेसँगै फ्रान्सले आफ्नो तेस्रो विश्वकप उपाधि जित्ने अभियानलाई जीवित राखेको छ ।  फ्रान्सले यसअघि १९९८ र २०१८ मा विश्वकप जितेको थियो भने २०२२ को कतार विश्वकपमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । २०२२ को कतार विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरक्कोले यसपटक पनि उत्कृष्ट यात्रा तय गर्दै अन्ततः क्वार्टरफाइनलबाट बिदा भयो ।

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना पक्राउ गरेको छ । प्रहरी काठमाडौं, ललितपुर, कास्की, धनुषा, कञ्चनपुर, कपिलवस्तु, बर्दिया, पर्सा, सुर्खेत, सर्लाही, मकवानपुर, बाँके र सिन्धुलीबाट २३ जनालाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-३२ नरेफाँट डेरा गरी बस्ने सिन्धुली घर भएकी ५० वर्षीया कोमलमाया पाख्रिनलाई अवैध लागुऔषध गाँजा करिब २२ किलो र नगद आठ हजार ५०० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी, काठमाडौं महानगरपालिका-१४ कलङ्कीस्थित बाबा पेट्रोलपम्प नजिकबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब तीन ग्राम १५ मिलिग्रामसहित सोहीठाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-६ घर भएका ४२ वर्षीय नरेन्द्रकुमार थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका-१८ बाट एक, धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ बस्ने एक, कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बाट एक, भीमदत्त नगरपालिका-१८ भगतपुरबाट दुई, कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटबाट एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ । त्यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका८ नयाँबस्तीबाट एक, पर्साको वीरगञ्ज महानगरपालिका-१९ तिलावे पुलबाट एक, ललितपुरको गोदावरी नगरपालिका-८ हात्तीगौँडाबाट दुई र महालक्ष्मी नगरपालिका-१ बाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।       सिन्धुलीको दुधौली नगरपालिका-११ माथिल्लो धनसरीबाट एक, सुर्खेतको पञ्चपुरी नगरपालिका-११ बाट दुई, बाँकेको खजुरा गाउँपालिका-२ बाट दुई, सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुर गोरूबजारबाट नियन्त्रित लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयको सहायतामा निजहरूलाई पक्राउ गरिएको उल्लेख गर्दै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यात्रुलाई अनावश्यक दुःख दिने कार्यमा संलग्न १७ जना पक्राउ

काठमाडौं ।  सर्वसाधारण तथा यात्रुलाई दुःख, हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । उक्त अभियोगमा प्रहरीले काठमाडौं बल्खु बस्ने काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका(१ घर भएका ३५ वर्षीय सुमन लामासमेत १७ जनालाई पक्राउ गरेको हो । लामो समयदेखि बल्खु क्षेत्रमा हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबर्जस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजहरूलाई बल्खु क्षेत्रबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइनः प्रहरी प्रवक्ता काफ्ले

काठमाडौं ।  नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही नभएको स्पष्ट पारेका छन् ।  कैलाली जिल्लामा कार्यरत डिएसपी चौधरीले हालै सार्वजनिक गरेको एक अभिव्यक्तिका कारण उनीमाथि कारबाही गरी जिल्ला तानिएको भनी सार्वजनिक भएको समाचारमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।  प्रवक्ता काफ्लेले भनेका छन्, ‘उहाँलाई कुनै कारबाही गरिएको छैन, न त उहाँ निलम्वनमा पर्नुभएको छ । नेपाल प्रहरी चेन अफ कमान्डअनुसार सञ्चालन हुने संस्था हो । यस विषयमा सम्बन्धित प्रदेशमार्फत मौखिक रूपमा जानकारी लिन मात्र खोजेका हौँ । कुनै औपचारिक वा लिखित कारबाही प्रक्रिया अघि बढाइएको छैन ।’ प्रवक्ता काफ्लेले सरकारका कर्मचारीका रूपमा सार्वजनिक कार्यक्रममा बोल्दा पदको मर्यादा, व्यावसायिक आचरण र कानुनअनुसार प्रस्तुत हुनुपर्ने बताए ।  उनले भने, ‘विशेषगरी कुनै व्यक्तिको नाम लिएर अभिव्यक्ति दिँदा अझ बढी जिम्मेवार र संयमित हुनुपर्ने हुन्छ । विद्यार्थीसँगको कार्यक्रममा बोल्दा पनि शिष्ट र व्यावसायिक ढङ्गले प्रस्तुत हुनुपर्ने अपेक्षा रहन्छ । त्यसैले उहाँले कुन सन्दर्भमा के बोल्नुभएको हो भन्ने विषयमा सामान्य प्रशासनिक र व्यावसायिक रूपमा बुझ्न खोजेका हौं ।’ प्रवक्ता काफ्लेले यो जानकारी लिने नियमित प्रक्रिया मात्र रहेको स्पष्ट पार्दै यसलाई कारबाही वा अनुशासनको प्रक्रियाका रूपमा बुझ्नु उपयुक्त नहुने स्पष्ट पारे।   

३०८ केजी गाँजा बरामद

काठमाडौं । कोशी गाउँपालिका-७ भान्टाबारीस्थित केराबारी नजिकबाट ३०८ केजी गाँजा गएराति बरामद भएको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरीको टोलीले ३०८ केजी गाँजा बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए ।   बरामद भएको गाँजा र संलग्न व्यक्तिको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटालीमा रेकर्डसहित इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा मन्त्रालयमा सम्मानित

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अल्ट्रा धाविका सुनमाया बुढालाई सम्मान गरेका छन् । बिहीबार (आज) मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले मायाको चिनोसहित अल्ट्रा धाविका बुढालाई सम्मान गरेका हुन् ।  सो अवसरमा मन्त्री पोखरेलले विश्वस्तरका खेलकुद प्रतियोगितामा नेपाली खेलाडीहरूले हासिल गरेको सफलताले नेपालको पहिचान र गौरव बढाएको बताए ।  उनले खेलाडीहरूको सफलताले राष्ट्रिय एकताको भावना बलियो बनाउनुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । शिक्षामन्त्रीबाट सम्मान ग्रहणपछि अल्ट्रा धाविका बुढाले यस सम्मानबाट आफूलाई थप हौसला र ऊर्जा प्राप्त भएको बताए । जुम्ला पातारासी गाउँपालिकाकी अल्ट्रा धाविका बुढाले हालै इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी थिइन् ।  इटालीको कोर्टिना द आम्पेज्जोमा आयोजित १२० किलोमिटर दूरीको उक्त प्रतियोगितामा सुनमायाले १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गरेकी थिइन् ।