एमाले कमजोर छैन, झनै शक्तिशाली बनेको छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले झनै शक्तिशाली भएर उठेको दाबी गरेका छन् । ११औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले खरानीबाट उठेर एमाले अझै शक्तिशाली बनिरहेको बताए । महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेको घटनापछि एमालेमाथि संगठित र सुनियोजित रुपमा प्रहार भइरहेको बताए । उनले नेकपा एमाले सकियो भन्ने कतिपयलाई लागिरहेको भएपनि महाधिवेशनमा उपस्थित संख्याले एमाले झनै शक्तिशाली र बलियो बनेर आएको स्पष्ट हुने बताए । एमाले सरकारबाट मात्रै बाहिरिएको भन्दै नेपाली जनताको हृदयमा गहिरोसँग बसेको पाेखरेलले बताए। भदौ २३ र २४ पछि अध्यक्ष ओलीमाथि आक्रमण भइरहेको उनले बताए । नेपालको इतिहासमा भदौ २३ र २४ गतेको घटना नवयुवाहरूको भावनामाथि खेल्ने देशविरोधी तत्वहरूको काम भएको पाेखरेलले बताए । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ठूला आन्दोलनको नेतृत्व आफूहरूले गरेको बताए ।
'मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि निर्माणमा खबरदारी गरिरहन्छु'
रौतहट । मधेश प्रदेशका रौतहट र सर्लाहीका विभिन्न स्थानमा पुल समयमै निर्माण नहुँदा स्थानीय बासिन्दा सास्ती बेहोर्न बाध्य भएका छन् । पुल निर्माणका लागि ठेक्का लगाए पनि काम हुन नसक्दा अधिकांश पुल निर्माण अलपत्र अवस्थामा छन् । रौतहट र सर्लाही जिल्ला जोड्न बागमती नदीमा निर्माणाधीन दुईवटा पुल समयमै सम्पन्न नहुँदा यात्रुहरू वर्षौंदेखि जोखिमपूर्ण तथा कष्टकर यात्रा गर्न बाध्य छन् । यसले जनजीवन प्रभावित भएको छ । यी पुलले सर्लाही र रौतहट मात्र होइन, पर्सा र बारा हुँदै मधेश प्रदेशको राजधानी जनकपुरसँग पनि जोड्नेछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार साँझ पुलहरूको निरीक्षण गर्दै निर्माण प्रगतिबारे जानकारी लिए । पुल नहुँदा स्थानीयले बेहोर्नु परेको समस्याबारे उनले सरोकारवालासँग छलफल पनि गरे । पुल नबन्दा आम जनताले दैनिक रूपमा भोगिरहेको समस्या देख्दा आफू दुःखी भएको उल्लेख गर्दै मन्त्री घिसिङले आफू मन्त्री पदमा रहे वा नरहे पनि निर्माणमा निरन्तर खबरदारी गरिरहने बताए । स्थानीय बासिन्दाले पुल निर्माण तत्काल सम्पन्न गर्न आग्रह गरेका थिए । रौतहटको दुर्गाभगती गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिका जोड्ने बागमती नदी (गंगापिपरा) मा निर्माणाधीन करिब ७ सय मिटर लामो पुल अलपत्र अवस्थामा छ । उक्त पुल निर्माणका लागि असार २०७३ मा टुन्डी–रसुवा–पप्पु संयुक्त उपक्रम (जेभी) सँग ८६ करोड ३७ लाख रुपैयाँ (कर सहित) मा ठेक्का सम्झौता भएको थियो । पछिल्लो पटक थपिएको ठेक्का सम्झौताअनुसार पुल निर्माण २०८३ कात्तिक १३ भित्र सम्पन्न गर्नुपर्ने छ । गत वर्ष असोजमा बागमती नदीमा आएको बाढीले पुलको एक स्पान र एक जग (फाउन्डेसन) बगाएको थियो । हाल पुलको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको छ । हुलाकी राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती (बडरवा) मा ६३४ मिटर लामो पुल निर्माणका लागि सुरुमा जेठ २०६७ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर साढे १२ वर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीले काम गर्न नसकेपछि पुरानो ठेक्का तोडी वैशाख २०७९ मा ६५ करोड १६ लाख रुपैयाँमा नयाँ ठेक्का लगाइएको थियो । साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि हाल निर्माण प्रगति २० प्रतिशत मात्र रहेको छ । ठेक्काको म्याद चैत २०८३ सम्म थपिएको भए पनि निर्माण व्यवसायी हालसम्म निर्माणस्थलमा परिचालित भएको छैन । यसैगरी, रौतहटको चपुरबाट उत्तरतर्फ अवस्थित गैंडाटार–चाँदी पुल पनि करिब १० वर्षदेखि निर्माण अलपत्र अवस्थामा छ । मकवानपुरको बकैया गाउँपालिका जोड्दै धरान–चतरा–हेटौँडा सडक खण्डसँगसमेत जोडिने यो पुल पटक–पटक म्याद थपिए पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । पुल निर्माण तत्काल सम्पन्न गर्न माग गर्दै स्थानीयले अनशनसहित विभिन्न विरोध कार्यक्रमसमेत गरेका थिए । उक्त पुल निर्माणको ठेक्का पप्पु–शिवशंकर संयुक्त उपक्रम (जेभी) ले पाएको थियो ।
नेपाल र भियतनामबीच लगानी र व्यापार सहकार्यबारे छलफल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विभागबीच द्विपक्षीय लगानी र व्यापारका विषयमा छलफल भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विभागका प्रमुख होआङ थान्ह तामसँग भियतनामको हनोईमा शुक्रबार भेटवार्ता गरेको हो । भेटवार्तामा महासंघले नेपालमा लगानीमैत्री वातावरण रहेको र लगानीका सम्भाव्य क्षेत्रमा भियतनामी लगानीकर्ताका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो । सो अवसरमा अध्यक्ष ढकालले आफूहरू भियतनामी लगानीकर्तालाई लगानीका लागि नीतिगत सहजीकरण गर्न तयार रहेको बताए । 'नेपालमा लगानीका कैयौँ क्षेत्र छन्, ती क्षेत्रमा ठूलो सम्भावना पनि छ । म भियतनामी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्दछु । यसका लागि महासंघले सरकारसँगको समन्वय तथा सहकार्यका लागि आवश्यक सहजीकरण गर्नेछ,' अध्यक्ष ढकालले भने । उनले नेपालमा विशेष गरी पर्यटनअन्तर्गत होटल, रिसोर्ट, केबलकार, आरोग्य (वेलनेस) पर्यटन, जलविद्युत्, सूचना प्रविधि तथा चिया, कफी र हस्तकलाको व्यापारमा ठूलो सम्भावना रहेको उल्लेख गरे । नेपालले हाल भियतनामबाट धेरै आयात गर्ने र कम निर्यात गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले दुई देशबीचको व्यापार तथा औद्योगिक सहकार्यलाई अझ बलियो बनाउन दुवै पक्षको गहिरो चासो रहेको पनि बताए । भियतनामको लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विभागका प्रमुख होआङ थान्ह तामले भियतनामको आर्थिक अवस्था, प्रत्यक्ष वैदेशिक लगानी तथा लगानीका सम्भाव्य क्षेत्रबारे जानकारी दिँदै आफूहरू नेपालसँग आर्थिक कूटनीतिमार्फत सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताए । 'नेपालले विभिन्न क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि गरिरहेको प्रयास सराहनीय छ । हामीले निर्यातजन्य उद्योग, पर्यटन र जलविद्युत् क्षेत्रमा काम गर्न सक्छौँ,' उनले भने, 'यसका लागि नेपालमा लगानी गर्न चाहने भियतनामी लगानीकर्ताको सहजीकरणका लागि हामी तयार छौँ ।' साथै, उनले सन् २०२५ को अगस्टमा भियतनामका उपराष्ट्रपतिको नेपाल भ्रमण भएको तथा चीनमा भियतनामका राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबीच भेट भएको उल्लेख गर्दै आगामी दिनमा सम्बन्ध अझ बलियो बनाउनुपर्नेमा जोड दिए । सोही अवसरमा अध्यक्ष ढकालले महासंघको आगामी चैतमा हुने अधिवेशनमा सहभागिताका लागि विभागका प्रतिनिधि तथा भियतनामी लगानीकर्तालाई निम्तो पनि दिएका थिए । भेटवार्ताका क्रममा महासंघका उपाध्यक्ष हेमराज ढकालले निर्यातजन्य उद्योगमा लगानीका लागि नेपाल उपयुक्त गन्तव्य रहेको जानकारी गराउँदै लगानी र व्यापारका क्षेत्रमा रहेको ठूलो सम्भावनाको उपयोग गर्न सके दुवै देशले लाभ लिन सक्ने बताए । महासंघकी अर्की उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाल र भियतनामले अटोमोबाइल तथा पर्यटन क्षेत्रमा सहकार्य गरी लाभ लिन सक्ने बताइन् । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्तालाई नेपालमा विद्युतीय सवारीसाधनको एसेम्बली उद्योगमा लगानीको सम्भावना रहेको बताउँदै त्यसतर्फ ध्यान दिन आग्रह गरिन् । महासंघका कोषाध्यक्ष भरतराज आचार्यले दुई देशबीच लगानी, व्यापार तथा आर्थिक गतिविधि विस्तारका लागि कनेक्टिभिटी महत्वपूर्ण रहेको उल्लेख गरे । उनले नेपालमा ऊर्जा क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेकाले सो क्षेत्रमा लगानी बढाएर भियतनामी लगानीकर्ताले लाभ लिन सक्ने बताए । महासंघअन्तर्गतको स्टार्टअप एण्ड इनोभेसन फोरमकी सभापति जुना माथेमाले नवप्रवर्तनको क्षेत्रमा सीप, पुँजी र प्रविधिमा दुई देशबीच सहकार्य गर्न सकिने धारणा राखिन् । यसअघि महासंघको टोलीले बिहीबार भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका उपकार्यकारी अध्यक्ष न्युगेन क्याङ भिनसँग भेट गरी नेपाल र भियतनामबीच लगानीका सम्भावना तथा अवसरबारे छलफल गरेको थियो ।
अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन
अष्ट्रेलिया । अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन् । यो प्रतिबन्ध बुधबारदेखि लागू भएको हो । उमेर समूहअनुसार समर्थन फरक देखियो । १८/२४ वर्षका युवाहरूमा समर्थन ७२ प्रतिशत रहेको छ भने ५०/६४ वर्षका बीच ८० प्रतिशत र ६५ वर्षमाथिका समूहमा ८७ प्रतिशत पुगेको छ । मोनाश विश्वविद्यालयका प्रोफेसर मार्क आन्द्रेभिकका अनुसार, 'यो प्रतिबन्ध मुख्यतया केही शक्तिशाली विदेशी प्लेटफर्मलाई लक्षित गरेको हो, जसले युवा प्रयोगकर्तालाई ट्र्याक गरेर विज्ञापनमार्फत लाभ उठाउँछन् ।' उनका अनुसार यी एपहरूले युवा प्रयोगकर्तालाई अनियमित विज्ञापन, गलत सूचना र मनोवैज्ञानिक रूपमा प्रभावित गर्ने एल्गोरिदममार्फत शोषण गर्ने आरोपमा छन् । समर्थकहरूले यस प्रतिबन्धले युवाको मानसिक स्वास्थ्य, धम्की, चरमपन्थी सामग्री, गलत सूचना र यौन अपराधीबाट हुने जोखिम घटाउने बताएका छन् । विरोधकहरूले भने यसले अभिभावक अधिकारमा हस्तक्षेप गर्ने र सामाजिक जडानमा बाधा पुर्याउने आरोप लगाएका छन् । यो कदमले दुईपक्षीय समर्थन पाएको छ र विश्वव्यापी ध्यान आकर्षित गरेको छ, किनभने अन्य देशहरू पनि समान कानुन विचार गरिरहेका छन् । तर, रेडिटले उच्च अदालतमा चुनौती दायर गरेको छ । यसले आफ्नो प्रौढ प्रयोगकर्ता केन्द्रित फोरमहरूमा प्रतिबन्ध लागू नहुने तर्क गरेको छ । गत महिना, दुई जना १५ वर्षीय अष्ट्रेलियाली किशोरहरूले पनि उच्च अदालतमा संवैधानिक चुनौती दायर गरेका थिए । नयाँ कानुनअनुसार प्रभावित प्लेटफर्महरूले १६ वर्षमुनिका प्रयोगकर्ताले खाता सिर्जना गर्न वा पहुँच गर्न नदिने उचित कदम चाल्नुपर्नेछ । गम्भीर उल्लङ्घन पाएमा प्लेटफर्महरूले ४९.५ करोड अष्ट्रेलियाली डलर (३३ लाख अमेरिकी डलर) जरिवाना तिर्नुपर्नेछ । रासस
लुम्बिनीको शान्त र मनमोहक सुन्दरता (फोटो फिचर)
काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनी अहिले आफ्नो परम शान्ति र प्राकृतिक सुन्दरताको उत्कर्षमा छ । जाडोको मधुर मौसममा यहाँको पवित्र बगैंचा हरियालीले ढाकिएको छ । जहाँ मायादेवी मन्दिरको सेतो संरचना शान्त पोखरीको किनारमा झल्किरहेको देखिन्छ । अनन्त शान्तिको ज्वाला निरन्तर बलिरहेको छ । जसले वरपरको वातावरणलाई झन् रहस्यमय र आध्यात्मिक बनाउँछ । अन्तर्राष्ट्रिय मठ क्षेत्रहरूमा विभिन्न देशका भव्य मठहरू चिटिक्क परेका छन् । थाई, चिनियाँ, जापानी र जर्मन मठहरूको रंगीन वास्तुकला र सुन्दर बगैंचाहरूले लुम्बिनीलाई विश्व शान्तिको प्रतिक बनाएका छन् । सारस क्रेनहरूको बासस्थान बनेको सिमसार क्षेत्रमा पंक्षीहरूको कलरव र पर्यटकहरूको मन्द गतिले यहाँको वातावरणलाई अझ रमणीय बनाएको छ । यहाँको चौडा पदमार्गहरू, फुल्दै गरेका फूलहरू र शान्त पोखरीहरूले हरेक आगन्तुकलाई बुद्धको शान्त सन्देशको अनुभुति गराउँछन् । लुम्बिनीको यो अहिलेको सुन्दरता साँच्चै अवर्णनीय छ । अनि शान्ति र सौन्दर्यको पर्याय छ ।
एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड, दुई हजार ५०० सुरक्षाकर्मी तैनाथ
भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा शनिबारबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ । विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्णरूपमा सम्पन्न भइसकेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिए । उनका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन, बसाइँ व्यवस्था तथा व्यवस्थापनसम्बन्धी सबै तयारी तोकिएकै समयमै सम्पन्न गरिएको जानकारी दिँदै उनले शनिबार बिहानैदेखि आएका नेता तथा कार्यकर्तालाई गेट बाहिरै राखिएको बताए । उद्घाटनस्थलाई व्यवस्थित गर्न, सुरक्षा जाँचलाई दुरुस्त राख्नका लागि बिहान १०ः३० सम्मका लागि गेट बन्द गरिए ११ बजेबाट प्रवेश कार्यक्रमस्थलमा प्रवेश गर्नेको भीड लागेको छ । आज दिउँसो १२ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई रिमोटद्वारा बालेर उद्घाटन गर्ने गरी तयारी भएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ झण्डा राखिएकामा १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने गरी तयारी गरिएको छ । औपचारिक रूपमा उद्घाटन गर्न महाधिवेशनको शुभारम्भ गर्ने तयारी सम्पन्न भएको जानकारी दिँदै उनले महाधिवेशनस्थलमा सुरक्षाका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । दुई हजार ५०० सुरक्षाकर्मी तैनाथ महाधिवेशन उद्घाटनस्थलको सुरक्षालाई ध्यानमा राख्दै बम विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले आज बिहान जाँच गरेको जानकारी दिँदै सुरक्षा व्यवस्थालाई कडा पारिएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिए । उनले बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सुक्ष्म जाँच गरेको जानकारी दिँदै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरी गरी दुई हजार ५०० सुरक्षाकर्मी उद्घाटनस्थलमा तैनाथ गरिएको जानकारी दिए । सुरक्षाको व्यवस्थामा कुनै कमी नरहने गरी व्यवस्थापन गरेको जानकारी दिँदै उनले सिसी क्यामराबाट निगरानी गर्ने टोलीसमेत खटाएर सुरक्षा निगरानी गरिरहेको बताए । सभास्थलका साथै र्याली आउने स्थल, सडक, पार्किङस्थललगायत क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिए । कार्यक्रमस्थलमा कहिकतै शङ्कास्पद गतिविधि भएको देखिए तत्कालै पक्राउ गर्ने गरी तयारी गरेको उनले जानकारी दिए । ५० भन्दा बढी सिसी क्यामरा उद्घाटनस्थलको मञ्च, मञ्च प्रवेश गर्ने गेट, आसपासका क्षेत्र र सभास्थलको बीच तथा वरिपरिका क्षेत्रमा ५० भन्दा बढी सिसी क्यामरा जडान गरिएको छ । एमाले अध्यक्ष देउजाले कार्यक्रमस्थलमा ५० भन्दा बढी सिसि क्यामरा जडान गरिएको र त्यसको निगरानी एमालेको एक युवा टोली र सुरक्षाकर्मीले गरिरहेको जानकारी दिए । गाउँगाउँबाट र्याली सुरु महाधिवेशनको उद्घाटनस्थलमा आउनका लागि भक्तपुरका चारवटै पालिकाले गाउँगाउँबाट र्याली सुरु गरेको छ । सूर्यविनायक नगरपालिकाअन्तर्गत वडा नं १ देखि ५ सम्मल कटुञ्जेबाट, वडा नं ७ ले गुण्डुबाट, वडा नं ६ देखि १० सम्मले जगाती एवं सूर्यविनायक चोकबाट र्याली सुरु गरेको छ । चाँगुनारायण नगरपालिकाअन्तर्गत वडा नं. १ देखि ४ सम्मले दुवाकोटबाट, वडा नं ५ देखि ८ सम्मले कमलविनायकबाट र वडा नं ९ ले भक्तपुर नगरपालिकाबाट सुरु हुने च्यायामासिंहस्थित र्यालीमा मिसिएर ¥याली सुरु भएको छ । भक्तपर नगरपालिकाले नगर क्षेत्र परिक्रमा गर्दै कार्यक्रमस्थलमा आउने गरी र्याली सुरु गरेको छ भने मध्यपुथिमि नगरपालिकाले शङ्खधर चोकबाट र्याली सुरु गरेको छ । सबै र्यालीमा विभिन्न जाति, भेषभूषा एवं कला र संस्कृति झल्कने बाजा तथा झाकी एवं नृत्य प्रदर्शन गर्दै ¥याली सुरु भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीहरुको र्याली भने पूर्वतर्फ जगातीबाट र पश्चिमतर्फ गठ्ठाघरबाट सुरु हुँदैछ । यस्तो रहनेछ उपस्थिति महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहने जानकारी दिँदै महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट तीन लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने बताए । उनले कार्यक्रममा नेपालको एकताको प्रतिकका रुपमा २०० भन्दा बढी नेपाली विभिन्न जातजातिको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन हुने बताए । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस सभापति, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका १६ पार्टीका अध्यक्ष एवं नेताले शुभकामना दिने कार्यतालिका तय भएको जानकारी दिँदै उनले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइसकेको जानकारी दिए । त्यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ का जनसङ्गठनहरूको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ककड्रेसकोडमा खटिएको जानकारी दिए । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । एमालेले लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी नेपालकै इतिहासमा पहिलो पटक यति ठूलो र कलात्मक एवं ऐतिहासिकता झल्कने आकर्षक मञ्च निर्माण गरिएको छ । मञ्चलई धेरै सहभागीहरुले उत्कृष्ठताको नमूनाको संज्ञा दिएका छन् । टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुई वटा एलइडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरुका लागि २५ हजार कुर्सी राखिएको छ । यस्तो छ पार्किङको व्यवस्था महाधिवेशनको उद्घाटन सत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारीसाधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठारघमार रहेको नागरिक उड्डयन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको जानकारी दिँदै गठ्ठाघर र जगातीबाट भव्य ¥याली कार्यक्रमस्थल आउने गरि व्यवस्था गरिएको जानकारी दिएको छ । रासस
कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस
तनहुँ । नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार, समानुपातिक उम्मेदवार र राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित १० जना सिफारिस गरिएको पार्टीका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । यस्तै क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य शङ्कर भण्डारीसहित सात जनाको नाम सिफारिस गरिएको छ । खनालका अनुसार राष्ट्रियसभाका लागि केन्द्रीय सदस्य ध्रुव वाग्लेसहित सात जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ गोविन्द भट्टराई, रामचन्द्र पोख्रेल, सरिता गुरुङ, दीपक भट्टराई, डा जगदीशचन्द्र पोखरेल, रमेशबाबु भट्टराई, पुरुषोत्तम खनाल, उद्धव पौडेल र श्याम कुमारी मौराती सिफारिस भएका छन् । यस्तै समानुपातिकतर्फ दलिततर्फ डोबाटे विक र यमुना विक, महिलातर्फ चिनु पोखरेल, पवित्रा पौडेल, मीरा जोशी, चिजा श्रेष्ठ, एलिजा ढकाल, अपाङ्ग अल्पसङ्ख्यकतर्फ प्रकाश पन्थ, जब्बरदिन मिया मुन्ना, साहिदा खातुन र अन्यतर्फ समुन्द्र गोदार तथा हरिदत्त पौडेल सिफारिस भएका छन् । क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ शङ्कर भण्डारी, प्रदीप पौडेल, पुष्पराज पराजुली, चुडामणि खनाल, चामबहादुर थापा, डा यदुनाथ खनाल र नवीन खनालको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ मायादेवी राना, इन्दिरा खनाल र सन्तोष घिमिरेको नाम सिफारिस गरिएको छ । राष्ट्रियसभाका लागि कुलचन्द्र वाग्ले, धु्रव वाग्ले, रघुनाथ पौडेल, लक्ष्मी आचार्य, डा कृष्णप्रसाद गौतम, अर्जुन अधिकारी र विद्या खनालको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ र २ को संसदीय समितिको सिफारिस अनुसारको नामावली नेपाली कांग्रेस तनहुँमार्फत गण्डकी प्रदेश कार्यसमिति हुँदै केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको खनालले बताए ।
यामाहा नेपालको ब्लु स्क्वायर शोरूम बुटवलमा शुभारम्भ
बुटवल । यामाहा नेपालले बुटवलमा नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको भव्य शुभारम्भ गरेको छ । उक्त शोरूमको सञ्चालन बाइकर्ज बुटवल प्रालिले गर्नेछ । यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिअन्तर्गत यो शोरूम लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम रिटेल उपस्थितिलाई थप सुदृढ बनाउने महत्वपूर्ण माइलस्टोनका रूपमा लिइएको छ । उद्घाटन समारोहमा यामाहा मोटर इन्डिया सेल्स प्रालिका निर्देशक हिरोशी सेतोगवा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल विशेष अतिथि थिए भने यामाहा मोटर इन्डिया सेल्स प्रालिका जिएम (एक्सपोर्ट मार्केटिङ) राजदीप सिंह ग्रेवाल र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपक कुमार अग्रवालको पनि उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा प्रतिष्ठित बैंकर, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता थियो । नयाँ ब्लु स्क्वायर शोरूम यामाहाको विश्वव्यापी प्रिमियम सेल्स पहिचानलाई प्रतिबिम्बित गर्ने गरी डिजाइन गरिएको छ । शोरूममा यामाहाको थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) पूर्वाधार उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई एकै छानामुनि सम्पूर्ण सेवा प्रदान गर्नेछ । तालिमप्राप्त सर्भिस स्टाफ, आधुनिक उपकरण तथा जेनुइन स्पेयर पार्ट्सका लागि छुट्टै व्यवस्था गरिएको यस शोरूमले गुणस्तरीय आफ्टर सेल्स सेवा सुनिश्चित गर्ने यामाहाको दाबी छ । ‘ब्लु’ ले यामाहाको प्रतिष्ठित ब्रान्ड कलरलाई प्रतिनिधित्व गर्छ भने ‘स्क्वायर’ ले ‘वन–स्टप खरिद केन्द्र’ को अवधारणालाई जनाउँछ । ब्लु स्क्वायर शोरूममा ग्राहकहरूले मोटरसाइकल, स्कुटर, एक्सेसरीज तथा राइडिङ गियरहरू एकै स्थानबाट खरिद गर्न सक्नेछन् । आकर्षक र प्रिमियम रिटेल वातावरणले यामाहाको स्टाइल, प्रविधि र राइडर सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई झल्काउने कम्पनीको भनाइ छ । उद्घाटन कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले बाइकर्ज बुटवल टिमलाई बधाई दिँदै ब्लु स्क्वायरको अवधारणाले यामाहाको युथ, पर्फर्मेन्स, फन, प्यासन र बलियो रेसिङ डीएनएलाई प्रतिनिधित्व गर्ने बताए । उनले ब्लु स्क्वायर शोरूमले बिक्री र सेवासँगै यामाहाले परिकल्पना गरेको जीवनशैलीसमेत प्रस्तुत गर्ने उल्लेख गरे । यामाहा मोटर इन्डिया सेल्सका निर्देशक हिरोशी सेतोगवाले ग्राहक सन्तुष्टिप्रति यामाहाको प्रतिबद्धता दोहोर्‍याउँदै बाइकर्ज बुटवलले यस क्षेत्रका यामाहा ग्राहकहरूलाई प्रिमियम अनुभव र उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले ब्लु स्क्वायर शोरूमले यामाहाको विश्वस्तरीय मापदण्ड कायम राख्दै अघि बढ्ने बताए । कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले पनि ग्राहक सन्तुष्टि अभिवृद्धि, ब्रान्ड पहिचान सुदृढीकरण तथा नेपालमा विश्वस्तरीय सेवा विस्तारका लागि यामाहाले गर्दै आएको प्रयासको प्रशंसा गरे । उनीहरूका अनुसार ब्लु स्क्वायर अवधारणा केवल रिटेल स्पेस मात्र नभई पर्फर्मेन्स, स्टाइल र विश्वास खोज्ने आधुनिक राइडरहरूको जीवनशैलीसँग मेल खाने प्लेटफर्म हो ।