एमालेको ११ औं महाधिवेशनको उद्घाटन भव्य हुने, यस्तो छ तयारी (तस्बिरसहित)
काठमाडौं । नेकपा एमालेले आगामी ११ औं महाधिवेशनलाई ऐतिहासिक बनाउने दाबी गरेको छ । महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता राजन भट्टराईले उद्घाटन समारोहमा करिब ३ लाख सहभागी हुने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार यसअघि कुनै पनि राजनीतिक कार्यक्रममा नदेखिएको सर्वाधिक ठूलो एलईडी स्क्रिनसहितको आधुनिक मञ्च निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्क्रिनमा देशको सांस्कृतिक पहिचानका रूपमा चिनिने कालिन्चोक मन्दिरलाई मुख्य प्रतीकका रूपमा प्रस्तुत गरिनेछ । त्यसमाथि महाधिवेशनको सङ्केतात्मक प्रतिनिधित्वका लागि कालीन्चोक मन्दिरको दायाँतर्फ राष्ट्रिय झण्डा र धरहरा सहित ‘११’ अंक प्रदर्शन गरिने तयारी गरिएको छ । उद्घाटन समारोह व्यवस्थित र व्यवस्थापन प्रभावकारी बनाउन १० हजार स्वयंसेवक परिचालन गरिने उद्घाटन समारोह व्यवस्थापन समितिका संयोजक भट्टराईले बताए । तस्बिरहरू :
जुम्लामा ४ हजारभन्दा बढी साना तथा घरेलु उद्योग
जुम्ला । जुम्लामा ४ हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म विभिन्न प्रकृतिका ५ हजार २८६ उद्योग दर्ता भएका छन् । तीमध्ये ८२५ उद्योग खारेज भएका छन् । कार्यालय प्रमुख मन्दिरनाथ योगीले दर्ता खारेज भएका उद्योगबाहेक हालसम्म यहाँ चार हजार ४६१ उद्योग रहेका बताए । उनका अनुसार वाणिज्यतर्फ १० लाखभन्दा माथिका तीन हजार उद्योग उपभोक्ता हित संरक्षण कार्यालय र तीन लाखमुनिका दुई सय चार नयाँ साना उद्योग स्थानीय तहमा दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण र सूचना सञ्चार प्रविधितर्फ उद्योग दर्ता हुने गरेको कार्यालय प्रमुख योगीले बताए । यी उद्योगबाट गत आवमा ५२ लाख राजस्व सङ्कलन भएको उनले जानकारी दिए । उक्त कार्यालयले गत आवमा यहाँका आठवटै स्थानीय तहका २०४ जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ । जिल्लामा दर्ता भएका अधिकांश उद्योग कागजमै सीमित छन् ।
दिपल एस ०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ
काठमाडौं । दिपलको पर्फेक्ट एसयुभी दिपल एस ०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ प्राप्त गरेको छ । स्वतन्त्र परीक्षण नतिजाअनुसार दिपल एस ०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रदर्शन गरेको छ । यसमा एडल्ट पेसेन्जर सेफ्टीमा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशील सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत र सेफ्टी असिस्ट प्रणालीमा ७६ प्रतिशत प्राप्त गरेको छ । यी नतिजाले दिपल एस ०५ लाई नवीनतम र कडा युरो एनक्याप मापदण्ड अन्तर्गतको परीक्षण उत्कृष्ट एसयुभीका रूपमा आफूलाई उभ्याएको छ । युरो एनक्याप रेटिङले दिपल एस ०५ को मजबुत भेहिकल आर्किटेक्चर, उन्नत रेस्ट्रेन्ट प्रणाली तथा प्रत्यक्ष सुरक्षा प्रविधिलाई प्रमाणित गरेको छ । नेपालमा लक्जरी, स्टाइल र टेकमा पर्फेक्ट यस एसयुभीले सार्वजनिक भएको समयदेखि नै उपभोक्तामा लोकप्रियता हासिल गरेको थियो । नाडा अटो सो २०२५ मा यसले ग्राहकहरुको विशेष ध्यान आकर्षित गरेको थियो । यसमा सेग्मेन्टमै पहिलो पटक उपलब्ध रिमोट इन एन्ड आउट पार्किंग, एआर एचयुडी, आउटडोर स्पिकरसहितको १४ स्पिकर, इन्टरनेट कनेक्टिभिटी, क्विनको पाइलट सिट, फ्रेमलेस डोर र फ्लस ह्यान्डल जस्ता फिचर छन् । यसमा प्रयोग गरिएको गोल्डेन शिल्ड ब्याट्री सबैभन्दा सुरक्षित, सबैभन्दा छिटो चार्ज हुने र सबैभन्दा लामो आयु भएको ईभी ब्याट्री हो, जसले ५ हजारभन्दा बढी चार्जिङ साइकल प्रदान गर्छ ।
वातावरणीय उत्तरदायित्वमा अग्रसर माछापुच्छ्रे बैंक, पीसीएएफसँग जोडियो
काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा मूल्यांकन र यसको न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) सँग सहकार्य गरेको छ । पीसीएएफ विश्वव्यापी साझेदारीको रुपमा विश्वका विभिन्न देशमा रहेका ६०० भन्दा बढी वित्तीय संस्थाहरूसँग ऋण र लगानीसँग सम्बन्धित हरितगृह ग्यास (जीएचजी) उत्सर्जनको मूल्याङ्कन र सो को विवरण प्रकाशन गर्न एक सामंजस्यपूर्ण दृष्टिकोण विकास र कार्यान्वयन गर्न मुख्य भूमिका खेलिरहेको छ । पीसीएएफले विश्वव्यापी मान्यताप्राप्त मापदण्डमार्फत बैंक तथा वित्तिय संस्थाहरूलाई आफ्ना वित्तीय क्रियाकलापबाट हुने उत्सर्जन हरितगृह ग्यासको पहिचान गरी भरपर्दो जलवायु रणनीति अपनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । विश्वमा बढ्दै गईरहेको हरितगृह ग्यास र यसबाट भविष्यमा उत्पन्न हुनसक्ने जटिल समस्याका बारेमा सचेत रहेको माछापुच्छ्रे बैंकले पनि पीसीएएफमा सहभागी भएर आफ्नो व्यवसायिक कार्यप्रणाली तथा दीर्घकालीन रणनीतिमा वातावरणीय उत्तरदायित्वलाई अझ मजबुत बनाउने प्रतिबद्धता गरेको छ । यो कदमले बैंकको जलवायु एजेन्डालाई थप सुदृढ बनाउँदै, वित्तीय क्रियाकलापबाट पर्ने वातावरणीय प्रभाव बुझ्न, जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउनतथा नेपालले लिएको कम कार्बन उत्सर्जनको नीति तथा जलवायु–लचकदार अर्थतन्त्रतर्फको यात्रालाई सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ ।
हिरक जयन्तीका अवसरमा होटल एक्स्पो– २०२६ आयोजना हुने
काठमाडौं । होटल संघ नेपाल स्थापनाको ६०औं वर्ष पुगेको अवसरमा आगामी २०८२ माघ २ गते शुक्रबार काठमाडौंमा संघले हिरक जयन्ती मनाउने भएको छ । उक्त अवसरमा विगतदेखि हालसम्म पर्यटन तथा होटल क्षेत्रमा भए गरिएका सफलता, सम्भावना र चुनौतीहरूका बारेमा चर्चा हुनेछ । संघको स्थापना दिवसका अवसरमा विगत २ वर्षदेखि मनाइँदै आएको सत्कार दिवस समेत मनाइनेछ । सो अवसरमा माघ २ र ३ गते दुई दिने होटल एक्स्पो–२०२६ को आयोजना हुनेछन् । उक्त एक्स्पोमा होटलहरूमा आवश्यक पर्ने ५० भन्दा बढी विभिन्न सर सामानहरूको स्टलहरू रहनेछन् भने विभिन्न कम्पनीहरूले उक्त कार्यक्रमलाई प्रायोजनको समेत भूमिका निर्वाह गर्ने होटल संघ नेपालले जनाएको छ । ‘टेक पावरर्ड हस्पिटालिटी’ थिममा आयोजित हिरक जयन्तीका अवसरमा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूले आतिथ्य उद्योगमा भए गरेका असल अभ्यासहरुको जानकारी रहनेछ भने होटलहरूमा प्रयोग भइरहेका अटोमेसन, प्रविधिमैत्री व्यवसाय सञ्चालन तथा एआई सहितको सेवा प्रवाह लगायतका विषयलाई कार्यान्वयनमा ल्याउन प्रोत्साहित गरिने जनाएको छ । यसैगरी, नेपाल होटल इएर बुक–२०२६ का साथै सातै प्रदेशका विभिन्न ६० थरिका मौलिक रैथाने खानाहरूको संग्रह फुड बुक सार्वजनिक गरिनेछ भने उक्त अवसरमा आमन्त्रित स्वदेशी तथा विदेशी पाहुनाहरूलाई उक्त मौलिक परिकारबाट सत्कार गरिने पनि होटल संघ नेपालले जनाएको छ । कार्यक्रममा मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउने होटल तथा पर्यटन उद्योगले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदान, यसबाट सृजित रोजगारी चर्चा गरिनेछ । पर्यटनको व्यापक सम्भावना बोकेको हाम्रो मुलुकमा पछिल्लो समयमा देशैभरि द्रुत गतिमा नयाँ ठूला होटलहरू खुल्ने क्रमले यसलाई व्यापकता दिएको छ । अन्तर्राष्ट्रिय चेन ब्राण्डका होटलहरुको आकर्षणले अझ यसलाई उजागर गरेको छ । मुलुकका केही गन्तव्यहरू मात्र नभएर सातै प्रदेशमा पर्यटन चलायमान बनाउन पनि यस कार्यक्रमले मद्दत गर्नेछ । कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गरिने पनि संघले विज्ञप्तिमार्फत जनाएको छ । यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न संघसंस्थाहरूलाई संघले अपिल गरिसकेको छ ।
चार नयाँ मन्त्रीले लिए शपथ
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद् विस्तार भएको छ । थपिएका चार जना नयाँ मन्त्रीहरूले शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिए । नयाँ मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका यी मन्त्रीहरू (जेनजी) प्रतिनिधित्व गर्नेहरू हुन् ।
गोल्याण ग्रुपमा नेतृत्व हस्तान्तरण, ३७ वर्षीय अक्षय गोल्याण नयाँ अध्यक्ष
काठमाडौं । नेपालको प्रतिष्ठित र अग्रणी व्यावसायिक घराना गोल्याण ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्याण चयन भएका छन् । ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका उनले अब ६ दशक लामो विरासत बोकेको ग्रुपलाई नेतृत्व गर्नेछन् । नेतृत्वमा उनको चयनलाई गोल्याण ग्रुपभित्र नयाँ युगको पदचाप र परिवर्तनको चाहना प्रतिविम्बित भएको विश्लेषण गरिएको छ । ग्रुपले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्‌नो वार्षिक उत्सवको अवसरमा यस्तो घोषणा गरिएको जनाएको छ । पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष बासुदेव गोल्याणले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको औपचारिक घोषणा गरेका थिए । ‘अक्षय गोल्याण अब ग्रुपको अध्यक्ष र प्रवन्ध निर्देशकको भूमिकामा रहनुहुनेछ, कार्यकारी अधिकारसहित बोर्डको नेतृत्व एकै ठाउँमा केन्द्रित हुनुले गोल्याण ग्रुपको विकास, विस्तार र विश्वव्यापी उपस्थिति थप प्रभावशाली हुने विश्वास गरिएको छ,’ ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन्स प्रमुख ज्योति गैह्रैद्धारा जारी विज्ञप्तिमा भनिएको छ । अक्षयले विश्वका ‘उत्कृष्ट १० भित्र’ पर्ने स्पेनको इसेड यूनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका छन् । अध्ययन पश्चात ९ वर्षदेखि ग्रुपको प्रवन्ध निर्देशक रहेका उनले ग्रुप अन्तर्गतका अन्य कम्पनीहरुलाई समेत प्रत्यक्ष नेतृत्व प्रदान गरिरहेका विज्ञप्तिमा उल्लेख छ । गोल्याण ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो । ६ दशक लामो इतिहास बोकेको ग्रुपमा करिब १० हजार कर्मचारी कार्यरत छन् । ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको ग्रुपको वार्षिक कारोबारमात्र ४ सय मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ । नेपालको आर्थिक आत्मनिर्भरतामा टेवा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै आएको ग्रुपको शीर्ष नेतृत्वमा युवा पुग्नुले मुुलुकको आर्थिक समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ । ‘यो केबल पदभार ग्रहणमात्र होइन, यो एउटा विरासतलाई आधुनिक युगमा रुपान्तरण गर्ने जिम्मेवारी पनि हो,’ जिम्मेवारी ग्रहणपश्चात अध्यक्ष गोल्याणले भनेका छन्, ‘गोल्याण ग्रुपलाई अब नेपालको सिमानाभन्दा बाहिर एक अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित गर्न प्रतिवद्ध छौं । हाम्रो ध्यान अब नवप्रवर्तन, दिगो विकास र संस्थागत सुशासनमा केन्द्रित हुनेछ । गोल्याण ग्रुपका सञ्चालक समितिका पदाधिकारीहरु सञ्चालक समितिले ग्रुपका संस्थापक अध्यक्ष पवन गोल्याणलाई ‘सम्मानित अध्यक्ष’ र प्रमुख संरक्षकको सम्मान दिएको छ । नेपालको अर्थतन्त्र र ग्रुपको विकासमा पुर्याएको अतुलनीय योगदानको कदर सञ्चालक समितिले उक्त सम्मन दिएको जनाएको छ । नवनियुक्त अध्यक्ष अक्षय गोल्याणले संस्थापक अध्यक्षबाट प्राप्त हुने मार्गदर्शनले ग्रुपको मूलमर्ममा अडिग रहँदै आधुनिक रणनीतिहरू निर्माण र कार्यान्वयन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘पवन गोल्याणज्यू ‘अध्यक्ष एमरिटस’ को भूमिकामा रहनु आफैमा उत्कृष्टताको निरन्तरता हो, ग्रुपले उहाँको रणनीतिक सुझाव र अनुभवको लाभ लिइरहनेछ,’ उनले भनेका छन्, ‘यसले ऊर्जा, कृषि, उत्पादन र निर्यात लगायतका क्षेत्रमा गु्रपको विस्तारलाई थप मजबुत बनाउनेछ । निरन्तर नवप्रवर्तन विस्तार र नेपालको आर्थिक समृद्धिका लागि काम गरिरहनेछौं ।’
६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको हो । केन्द्रिय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा ५ अर्ब २८ करोड , विकास बैंकमा ९९ करोड र वित्त कम्पनीमा ३३ करोड मुद्दती निक्षेपमा लगानी गरिनेछ । १८ डिसेम्बर २०२५ देखि १८ डिसेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा/निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने शर्त राष्ट्र बैंकको छ । त्यसैगरी, निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि शर्त छ । त्यस्तै, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ । उक्त मुद्दति राख्न चाहने बैंक वित्त संस्थाले कात्तिक ४ भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पठाउन भनिएको छ ।