भाटभटेनीको कोटेश्वर शाखा पुन: सञ्चालनमा, गुरुङ भन्छन्- ‘अब नेपाल उठ्छ’
काठमाडौं । कुनै पनि विपत्ति वा दुर्घटनाले मानिसलाई कमजोर बनाउन सक्छ, तर दृढ संकल्प भएको नेतृत्व छ भने त्यसले खरानीबाट पनि नयाँ जीवन पाउन सक्छ भन्ने उदाहरण बनेको छ, भाटभटेनी सुपरमार्केट । गत भदौकाे आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको भाटभटेनीको कोटेश्वर शाखा शनिबारबाट पुनः सञ्चालनमा आएको छ । लामो समयको पुनर्निर्माणमा रहेको भाटभटेनी फेरि ग्राहकको सेवामा फर्किएको हो । कोटेश्वर शाखाको उद्घाटनका क्रममा भावुक तर उत्साहित देखिएका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले भने, ‘एउटा ठूलो दुर्घटनाबाट हामी उठ्न सफल भयौं । एक कदम अगाडि बढ्ने हिम्मत गर्दा आज खुसी महसुस भइरहेको छ ।’ करिब ३ महिनाको तीव्र मिहिनेत र पछिल्ला दुई महिनाको रात दिनको परिश्रमपछि कोटेश्वर शाखा पुरानो लयमा फर्काएको छ । कोटेश्वरबाहेक भाटभटेनीका बाँकी ११ वटा शाखाहरू पनि क्रमशः पुनः सञ्चालन हुने उनको भनाइ छ । नक्सालको शाखामा केही समय लाग्ने उनी बताउँछन् । उनका अनुसार फागुनको दोस्रो साताभित्र महाराजगञ्ज शाखा र बैशाख महिनामा बौद्धको चुच्चेपाटी शाखा पुनः सञ्चालनमा ल्याइने तयारी छ । जेनजी आन्दोलनमा पूर्ण रूपमा ध्वस्त बनेको कोटेश्वर शाखालाई यसपटक पहिलाभन्दा अझ अत्याधुनिक, सुरक्षित र व्यवस्थित बनाएर पुनः सञ्चालनमा ल्याइएको छ । शाखाको भुइँतलामा सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिँदै नयाँ र मजबुत संरचनाको भवन निर्माण गरिएको छ । गुरुङले विशेष पूजाआजा गरी भाटभटेनीको उद्घाटन गरेसँगै पाँच महिनादेखि ठप्प भाटभटेनी सेवा सुचारु भएको हो । भाटभटेनीमा ३०० भन्दा बढी कर्मचारी काममा फर्किएका छन् । यस्तै, देशभरका २८ शाखाहरूमध्ये आन्दोलनको मारमा परेका १२ वटा शाखाहरू अहिले पुनर्निर्माणको चरणमा छन् । गुरुङका अनुसार आउँदो भदौसम्ममा र दशैं अगावै सबै शाखाहरू पूर्ण क्षमतामा सञ्चालनमा आउनेछन् । आन्दोलनको निशानामा निजी क्षेत्र पर्नु दु:खद रहेको बताउँदै गुरुङले निजी क्षेत्र नै देश विकासको संवाहक भएको उल्लेख गरे । ‘निजी क्षेत्रलाई पछाडि धकेलेर देश अगाडि बढ्न सक्दैन । यो अज्ञानताको उपज हो, ’ उनले भने, ‘म भगवानसँग प्रार्थना गर्छु कि मेरो देशमा अब उप्रान्त यस्ता घटना कहिल्यै नदोहोरिउन् ।’ अध्यक्ष गुरुङले विनाश र त्रासको बीचबाटै समृद्धिको नयाँ मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे । भदौ २३ गतेको दु:खद आगजनी र आक्रमणको घटनालाई बिर्सिएर अब पुनर्निर्माण र राष्ट्रिय समृद्धिको यात्रामा अगाडि बढ्ने उनले बताए । उनले भने, ‘जसरी दोस्रो विश्वयुद्धको महाविनाशपछि जापान विश्वकै विकसित मुलुक बन्यो र खरानी भएको कारखानाबाट बीएमडब्लु जस्तो विश्व प्रख्यात ब्रान्ड जन्मियो, त्यसरी नै भाटभटेनी पनि अझ सशक्त भएर उठ्नेछ ।’ गुरुङले सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा भएको बमबारी तथा १९४४ मा जर्मनीको म्युनिखमा ध्वस्त भएको विमान इन्जिन कारखानाको उदाहरण दिए । ‘विनाश नै अन्त्य होइन, यो त नयाँ सुरुवातको अवसर पनि हो,’ उनले भने, ‘जसरी ती देश र कम्पनीहरूले पुरानो घाउलाई कोट्याउनुको साटो भविष्य निर्माणमा ध्यान दिए, हामी पनि त्यसै गर्नेछौँ ।’ भदौ २४ जेनजी आन्दोलनको दोश्रो दिनको घटनालाई नेपालको नकारात्मकता जलेको दिनका रूपमा व्याख्या गर्दै अध्यक्ष गुरुङले अबको १५ वर्षभित्र नेपाललाई सम्पन्न देशको सूचीमा पुर्याउने सपना सुनाए । उनले भने, ‘भाटभटेनी मात्र उठ्दैन, अब नेपाल उठ्छ । नेपालीहरू अब अर्काको देशमा काम गर्न जाने होइन, आफ्नै सिर्जना र क्षमताले देश बनाउनेछन् । हामीसँग हिम्मत छ, हामी गर्न सक्छौं ।’ विपद्को समयमा पनि भाटभटेनीले आफ्ना १० हजार कर्मचारीहरूको साथ छोडेन । संरचना जलेर व्यवसाय ठप्प हुँदा पनि कुनै पनि कर्मचारीले रोजगारी गुमाउनु परेन । गुरुङका अनुसार बन्द रहेको समयमा पनि कर्मचारीहरूले सेवा-सुविधा र तलब पाइरहे । भाटभटेनीले व्यवसाय मात्र नभएर सामाजिक उत्तरदायित्वमा पनि अग्रणी भूमिका खेल्दै आएको गुरुङको भनाइ छ । उनका अनुसार शिक्षण अस्पतालको भवन निर्माणदेखि दुर्गमका विद्यार्थीलाई डाक्टर बनाउनेसम्म र भूकम्प-बाढीजस्ता प्राकृतिक विपत्तिमा अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएको यो संस्था नेपालकै ठूलो करदाता र रोजगारदातामध्ये एक हो । गुरुङले युवाहरूलाई कडा परिश्रम र इमानदारिताको पाठ सिक्न आग्रह गरे । खोटाङबाट आएर शून्यबाट व्यवसाय सुरु गरेका उनले भने, ‘कडा परिश्रम बिना केही हुँदैन । हल्ला गरेर मात्र देश बन्दैन । यदि हामी इमानदार भएर लाग्यौं भने आगामी १५ वर्षभित्र नेपाललाई सम्पन्न मुलुक बनाउन सकिन्छ ।’ आगोले संरचना त जलायो, तर मीन बहादुर गुरुङको देशप्रतिको भक्ति र हिम्मत जलाउन सकेन । उनी भन्छन्, ‘मैले हार मानेको भए देशको अर्थतन्त्रमा ठूलो असर पर्थ्यो । तर, राष्ट्र प्रेमले मलाई अघि बढ्न प्रेरित गर्यो । अब नकारात्मकतालाई भदौ २३ सँगै जलाइ दिऊँ र देश निर्माणको सकारात्मक बाटोमा लागौँ । ’
रहेनन् अभिनेता सुनिल थापा, नेपाली कला जगत स्तब्ध
काठमाडौं । अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन भएको छ । आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेता थापाको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको बताए । ‘बिहान चलचित्रको छायाङ्कनमा जानुपर्ने भएकाले आफूसँगै रहेका सहयोगीलाई चाँडै उठाउन भन्नुभएको रहेछ, ती सहयोगी बिहान उठाउन जाँदा अभिनेता थापालाई अचेत पाएपछि अस्पताल ल्याइएको रहेछ । अस्पतालले प्रारम्भिक जाँच गरेपछि मृत घोषणा गरेको हो,’ अध्यक्ष निरौलाले भने । अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । ‘उहाँको परिवारका सदस्यहरू भारतको मुम्बईमा बस्नुहुन्छ, उहाँहरू आउँदै हुनुहुन्छ,’ अध्यक्ष निरौलाले भने । लामो समयदेखि नेपाली तथा भारतीय चलचित्रमा अभिनयमा सक्रिय रहेका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत स्तब्ध बनेको छ । चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय थिए । उनी शङ्खमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए ।
उम्मेदवारी पहाडमा प्रचार तराईमा
काठमाडौं । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै जाँदा लुम्बिनी प्रदेशका पहाडी जिल्लाका उम्मेदवार मतदाता फकाउन तराईका जिल्ला झर्न थालेका छन् । लुम्बिनी प्रदेशका पहाडी जिल्लाका गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठानका उम्मेदवार मतदातासँग भेटघाट र आफ्नो पक्षमा मतदाता फकाउन तराईका जिल्ला रूपन्देही र कपिलवस्तु केन्द्रित हुन थालेका छन् । उनीहरूले तराईका जिल्लामा आ-आफ्ना पार्टीका भेला, बैठक र मतदातासँग प्रत्यक्ष भेटेर मतदाता रिझाउने कार्यक्रम थालेका छन् । प्रदेशका १२ जिल्लामध्ये एउटा हिमाली जिल्ला पूर्वी रुकुम र अन्य पाँच पहाडी जिल्ला पर्छन् । पहाडी जिल्लाका धेरै मतदाता बसाइ सरेर रूपन्देही, कपिलवस्तु र काठमाडौँलगायत जिल्लामा आएका छन् । तर उनीहरूले मतदाता नामावली भने स्थानान्तरण नगरिसकेकाले निर्वाचनका समयमा उम्मेदवार मत माग्न यी जिल्लामा पुग्ने गरेका छन् । गुल्मी क्षेत्र न १ बाट नेकपा (एमाले)का उम्मेदवार प्रदीप कुमार ज्ञवाली, नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल र नेपाली कम्युनिष्ट पार्टीबाट सुदर्शन बराल लगायत १० राजनीतिक दलहरूसँगै ११ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यस क्षेत्रमा एक लाख २२ हजार १८६ मतदाता रहेका छन् । उम्मेदवारहरूले बुटवल र भैरहवामा कार्यकर्ता भेला तथा बैठक गरेर फागुन २१ को निर्वाचनमा मतदान गर्न जिल्ला फर्कन आह्वान गरेका छन् । नेकपा एमालेको तर्फबाट यस क्षेत्रमा उम्मेदवार बनेका ज्ञवाली विगतका निर्वाचनको तथ्याङ्कलाई हेर्दा रूपन्देही, नवलपरासी र कपिलवस्तुलगायत क्षेत्रमा गुल्मी जिल्लाका झण्डै १० हजारको सङ्ख्यामा मतदाता रहेको अनुमान गर्छन् । जिल्ला बाहिरका मतदातालाई निर्वाचनमा मतदानका लागि आउने वातावरण बनाउन अन्य जिल्लामा पुगेर भेटघाट, भेला, छलफलजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको उनी बताउँछन् । यसअघिका स्थानीय तह निर्वाचन र सङ्घीय तथा प्रादेशिक निर्वाचनमा यसरी नै उम्मेदवारहरूले बेजिल्लामा रहेका मतदातालाई भेटेर मत माग्ने कार्यलाई अहिले निरन्तरता दिएका छन् । तर यसवर्ष जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको घोषणा हुँदा उम्मेदवारलाई मतदाता खोज्न सकस परेको हो । नेपाली कांग्रेस गुल्मी क्षेत्र न। १ का उम्मेदवार चन्द्र भण्डारी विसं २०७९ को निर्वाचनमा नेकपा (एमाले) का नेता प्रदीप कुमार ज्ञवालीलाई पराजित गरेर निर्वाचित भएका थिए । विसं २०७९ को निर्वाचनमा रूपन्देही जिल्लाबाट मात्र आफूले ४ हजार ५०० मतदाता मतदानका लागि गुल्मी पुर्याएको बताउँछन् । यस पटक बुटवलमा एकपटक भेला गरी सकेको र यसलाई निरन्तरता दिने उनको भनाइ छ । जिल्लाको क्षेत्र नम्बर २ मा १० दल र १२ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रबाट एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री गोकर्ण विष्ट, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठ, नेकपाका श्रीराम महत र रास्वपाबाट गोविन्द पन्थी चुनावी मैदानमा रहेका छन् । उज्यालो नेपाल पार्टीबाट कर्ण बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक सेन, नेशनल रिपब्लिक नेपालबाट पदम थापामगर, मङ्गोल नेशनल अर्गनाइजेसनबाट बेदबहादुर थापा उम्मेदवार रहेका छन् । यस निर्वाचनमा १ लाख ७ हजार ३६३ जना मतदाता रहेका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका पार्टी उपाध्यक्ष विष्टले बुटवलमा तीन दिनसम्म आफ्नो निर्वाचन क्षेत्रका पालिका स्तरीय विभिन्न कार्यक्रम तथा मतदातासँग भेटघाट सकाएर बिहीबार जिल्ला फर्किएका छन् । उनले बुटवलमा तीन दिनसम्म झण्डै एक दर्जन कार्यक्रम सम्पन्न गरे । नेकपा एमाले पाल्पा क्षेत्र न २ का उम्मेदवार ठाकुर गैर आफ्नो क्षेत्रका धेरै मतदाता स्थायी बसोबास वा विभिन्न पेसाका लागि बुटवल, भैरहवा लगायतका क्षेत्रमा रहेकाले उनीहरूलाई निर्वाचनमा मतदानका लागि आउने वातावरण निर्माण गर्न पार्टीले कार्यक्रम गर्ने योजना रहेको बताउँछन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फ बाट पाल्पा क्षेत्र नं २ मा उम्मेदवार बनेका सोम प्रसाद पाण्डेले माघ १८ गते बुटवलमा पत्रकार सम्मेलन गरेर पाल्पाबाट बुटवललगायत क्षेत्रमा बसेका मतदातालाई निर्वाचनमा मतदानका लागि निमन्त्रणा गरे । यससँगै उनले रूपन्देहीका विभिन्न स्थानमा कार्यकर्ता भेटघाट र भेला आयोजना गरेर मतदातालाई रिझाउने काम गरेका छन् । पाल्पा क्षेत्र नं २ मा १ लाख ९ हजार ५३ जना मतदाता रहेका छन् । जसमा ५३ हजार ७७५ जना पुरुष र ५५ हजार २७८ जना महिला मतदाता रहेका छन् । क्षेत्र नं २ मा ११८ मतदानस्थल र २५१ वटा मतदान केन्द्र रहेका छन् । यस निर्वाचन क्षेत्रमा १४ वटा राजनीतिक दलसहित दुई स्वतन्त्र गरी १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिलासहित १५ जना चुनावी प्रतिस्पर्धामा छन् । विभिन्न पार्टीका १२ जना र ३ जना स्वतन्त्र गरी १५ जना प्रतिनिधिसभाको निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा छन् । यस जिल्लामा नेपाली कांग्रेसबाट विष्णुप्रसाद खनाल र नेकपा एमालेबाट पिताम्बर भुसालको उम्मेदवारी दिएका छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, नेकपा माओवादीबाट खीमबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुस्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाह उम्मेदवार रहेका छन् । अर्घाखाँची जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कूल १ लाख ७१ हजार ६५२ जना मतदाता रहेका छन् । जसमा पुरुष ८७ हजार १५७ जना र महिला ८४ हजार ४९५ जना रहेका छन् । यस जिल्लामा १०२ मतदानस्थल र २०९ मतदान केन्द्र रहेका छन् । उम्मेदवारहरूले जिल्लामा प्रचारप्रसारका कार्यक्रमसँगै बुटवल, भैरहवा, कपिलवस्तुलगायत ठाउँमा पुगेर मतदातासँग भेटघाट गरेका छन् । नेकपा एमालेका उम्मेदवार पिताम्बर भुसालले बुटवलमा एकचरण कार्यकर्ता भेला गरेर मतदाता रिझाउने काम सकाएको बताउँछन् । उनले आवश्यक परे फेरि विभिन्न कार्यक्रम आयोजना गरिने बताए । अर्घाखाँचीका धेरै मतदाता कपिलवस्तुमा बसोबास रहेको र यसबाहेक बुटवल, भैरहवा, काठमाडौं, दाङमा रहेका मतदातालाई निर्वाचनमा मतदानका लागि आह्वान गरिँदै आएको उनको भनाइ छ । उनले जिल्लाका कूल मतदातामध्ये झण्डै ४० प्रतिशत मतदाता जिल्ला बाहिर रहेको बताउँछन् । नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल जिल्लामा मात्र केन्द्रित रहेर सबै मतदातासँग पुग्न नसकिने बताउँछन् । उनी आफ्ना चुनावी मुद्दा लिएर जिल्ला बाहिरका मतदातासँग पुग्ने क्रममा रहेको यसैअन्तर्गत पहिलो चरणमा बुटवलमा कार्यक्रम सम्पन्न गरेको बताउँछन् । उनले पोखरा, काठमाडौं, रूपन्देही र कपिलवस्तुलगायत क्षेत्रमा धेरै मतदाता रहेकाले तीनलाई निर्वाचनमा मतदानका लागि आउने वातावरण निर्माण गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । निर्वाचन आयोगले जिल्ला बाहिर रहेका यस्ता मतदातालाई मतदानमा सहभागी हुन उत्प्रेरित गर्न निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको प्रदेश निर्वाचन कार्यालय, दाङका सूचना अधिकारी गेहेन्द्र कुँवर बताउँछन् । उनी मतदाता केन्द्रित निर्वाचन शिक्षा कार्यक्रम निर्वाचन आयोगले विभिन्न सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण गर्ने काम हुँदै आएको यसका साथै राजनीतिक दलहरूले यस्ता कार्यक्रम गरिरहेको बताउँछन् ।
आईटी ग्यारेजबाट ८ वटा मोटरसाइकल नियन्त्रणमा, प्रहरीले बढायो निगरानी
काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकललाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न क्षेत्रमा पछिल्लो समय चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण स्थानीय बासिन्दा हैरान भएको गुनासो बढ्दै गएपछि ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गर्दै आएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-८ अन्तर्गत नेपालटार र डाँडागाउँ सडक खण्डमा गरिएको विशेष चेकजाँचका क्रममा ती ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । ‘तारकेश्वर क्षेत्रमा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्दै मोटरसाइकल चलाउने गरेको भन्ने गुनासो आएपछि ट्राफिक प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा सम्बन्धित निकायमा दर्ता नभई सञ्चालन भइरहेको एक आईटी ग्यारेजमा चेकजाँच गर्दा ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो,’ उनले भने । उनका अनुसार ती मोटरसाइकलमा साइलेन्सर पाइप तथा अन्य संरचनामा अवैध रूपमा परिवर्तन गरिएको पाइएको र जसका कारण अत्यधिक ध्वनि उत्पन्न भई वातावरणीय प्रदूषण बढ्नुका साथै सर्वसाधारणको दैनिकीमा प्रतिकूल असर परेको थियो । चर्को आवाज निकाल्ने सवारीसाधनले ध्वनि प्रदूषण मात्र होइन, मानव स्वास्थ्यमा समेत गम्भीर नकारात्मक असर पुर्याउने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । ‘अत्यधिक ध्वनिका कारण बालबालिका, वृद्धवृद्धा, बिरामी तथा विद्यार्थीहरू बढी प्रभावित हुने गरेका छन् । त्यसैले स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सवारीसाधन नचलाउन सबै सवारी चालकलाई आग्रह गर्दछौँ,’ उनले भने । प्रवक्ता सुवेदीका अनुसार नियन्त्रणमा लिइएका ती सवारीसाधनलाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार आवश्यक कानुनी कारबाही गरिनेछ । नियन्त्रणमा लिइएका मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अहिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ । ट्राफिक प्रहरीले सवारीसाधनलाई कानुनले तोकेको मापदण्डअनुसार सञ्चालन गर्न र अवैध रूपमा स्वरूप परिवर्तन नगर्न सबै सवारी चालक तथा ग्यारेज सञ्चालकलाई सचेत रहन आग्रह गरेको छ ।
‘गाउँमै बस्ने वातावरण बनाइदिने नेतालाई भोट’
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारलाई मतदाता रिझाउन भ्याइनभ्याइ छ । बिहानैदेखि साँझसम्म मतदाताका घरदैलो र बारीमै पुगेर उम्मेदवारले मत मागी रहेका छन् । पटकपटक आश्वासन मात्रै पाएका मतदाताले यसपालि एजेन्डा र प्रतिबद्धता खोज्न थालेका छन् । बागलुङको काठेखोला गाउँपालिका-६ का कृष्णप्रसाद सापकोटाले किसानको उत्पादनलाई बजारीकरणको प्रबन्ध मिलाउन सक्ने नेतालाई भोट दिने बताए । हरेक वर्ष दसौँ लाखको तरकारी र फलफूल उत्पादन गर्न भए पनि बजारको अभावमा उचित मूल्य पाउन नसकेको उनको गुनासो छ । आफू विसं २०४८ देखि निरन्तर मतदानमा सहभागी हुँदै आएको सुनाउँदै अहिलेसम्म किसानका माग पूरा गर्ने नेता पाउन नसकेको कँडेलले बताए । कँडेलले भने, ‘पहिले-पहिले घरको काम छोडेर नेतालाई जिताउनुपर्छ भनेर हिँडियो, उनीहरूले चुनाव जितेर सांसद मन्त्री भए, हाम्रो समस्या जहाँको त्यही रहे, अहिले त किसानका काम गर्नु भन्नेलाई मात्रै मत दिने हो, पहिलेको जस्तो झुटा कुरा पत्याएर पछि हिड्न छोडियो, हाम्रा समस्या धेरै छन्, समयमा बीउ, मल पाइँदैन, उत्पादन गरेको वस्तुले मूल्य पाउँदैनन् ।’ बरेङ गाउँपालिका-१ का तमबहादुर थापाले गाउँको बसाँइसरा रोकेर उद्यमसँग जोड्न सक्ने उम्मेदवारलाई जिताउनु पर्ने बताए । बसाइँसराइले हरेक वर्ष गाउँबाट बजार झर्नेको संख्या बढ्दै गएको भन्दै यसलाई रोक्न कुनै नेताको ध्यान नगएको उनको भनाइ छ । गाउँमै कृषि, उद्यम गर्छ भन्ने किसान र युवालाई प्रोत्साहन नहुँदा विदेश पलायन र बसाइँसराइ हुने गरेको थापा बताउँछन् । ‘हामी गाउँका किसानले नेताबाट ठूलो अपेक्षा छैन, हामीहरूलाई गाउँमै बस्ने र उद्यम गर्ने वातावरण मिलाइ दिए हुन्छ, काम गरेर जीविका चलाउने कर्तव्य हाम्रो हो,’ थापाले भने, ‘अघिल्लो चुनावहरूमा नेताको चिल्ला कुरा धेरै सुनियो, अब हामीहरूलाई प्रतिबद्धता चाहिन्छ, हामी गाउँमै बस्न चाहन्छौं, यहीँ केही गर्न चाहन्छौं, त्यो वातावरण तयार बनाइ दिने नेताको खाँचो छ ।’ बागलुङमा सबैभन्दा बढी बसाइँसराइ हुने पालिका जैमिनी हो । जैमिनीबाट हरेक वर्ष बसाइँसराइ गर्नेको सङ्ख्या ठूलो छ । गाउँमा लघु उद्यम, कृषि र राम्रो शिक्षाको सुविधा दिलाउन सक्ने उम्मेदवारलाई भोट दिने स्थानीय तोषिका विकले बताइन् । हुने खानेहरू सबै बजार झरि सकेको सुनाउँदै अहिले गाउँमा सामान्य परिवार मात्रै रहेको उनको भनाइ छ ।
प्रधान सेनापति खुला म्याराथन सम्पन्न, प्रथमलाई ३ लाख रुपैयाँ
काठमाडौं । यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आज आयोजित समारोहमा प्रतियोगिताको प्रधानसेनापति अशोक राज सिग्देलले उद्घाटन गरे । प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको थियो । उक्त प्रतियोगिता अन्तर्गत ४२.१९ किमी दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किमी दूरीको हाफ म्याराथन आयोजना गरिएको छ । म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई आजै क्रमशः ३ लाख रुपैयाँ, २ लाख रुपैयाँ र १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमशः १ लाख रुपैयाँ, ७५ हजार रुपैयाँ र ५० हजार रुपैयाँ प्रदान गरिनेछ । सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय कार्यरत कर्मचारी, सेनाका अवकाश प्राप्त तथा सेवारत सकल दर्जा र गैर-सैनिकका कक्षा १० देखि १२ मा अध्ययनरत सन्तानको सहभागितामा १० किमी दुरीको दौड आयोजना गरिएको छ । ५ किमी दुरीको वाकाथनमा प्रधानसेनापति सिग्देल लगायत सैनिक तथा गैरसनिक व्यक्ति सहभागी थिए । सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित ५ किमी दूरीको दौड पूरा गरे । १० किमी र पाँच किमी दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः १० हजार, ७ हजार रुपैयाँ र ५ हजार रुपैयाँ नगद प्रदान गरिने छ । विसं २०७२ देखि प्रत्येक वर्ष महाशिवरात्री तथा सेना दिवसका अवसरमा आयोजना हुँदै आएको यस ११ संस्करणको प्रतियोगितामा विभिन्न पाँच विधामा करिब २ हजार ५०० धावकको सहभागिता थियो । यस वर्ष महाशिवरात्री तथा सेना दिवस आगामी फागुन ३ गते परेको छ ।
कालीगण्डकी कोरिडोरको म्याग्दी खण्डमा पहिरो रोकथाम सुरु
काठमाडौं । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना निर्माण थालिएको छ । बेनी-जोमसोम-कोरला सडक योजना कार्यालयले २५ करोड रुपैयाँको लागतमा सडकमा खस्ने पहिरो र नदी कटान रोकथाम गर्न योजना निर्माण थालेको हो । पहिरो र कटानका कारण सडकमा नियमित यातायात सञ्चालनमा समस्या हुने गरेको छ । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित परिचालित भएका योजना कार्यालयका सव-इञ्जिनियर बहादुर शाहले बताए । उनका अनुसार रघुगङ्गा गाउँपालिका-२ तल्लो र माथिल्लो बैसरी, नागढुङ्गा, गुइठेभिर, खामभित्ता, लाटोखोला, रूपसे, सेतोखोला र लार्जुङ खण्डमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन भएको हो । ‘रक एङ्करिङ’, ‘पलम पर्खाल’, ‘बायो इञ्जिनियरिङ’, ‘थिडिमेस’ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गर्न लागिएको शाहले बताए । अन्नपूूर्ण गाउँपालिका-३ दानाको खामभित्ता क्षेत्रको ३०० मिटर क्षेत्रमा पहिरो रोकथामका लागि रु सात करोडमा वाम्ती/कोण्डा/टिस्ता जेभीले ठेक्का पाएको छ । अन्नपूर्ण-३ कै गुइठेभिरमा ३०० मिटर दुरीको सडकको पहिरो रोकथामका लागि जिएसपिएल/वुद्धीसरा जेभीले ९ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । लाटोखोला, रूपसे, नागढुङ्गा, सेतोखोला खण्डको पहिरो रोकथामका लागि गजेन्द्र निर्माण सेवाले रु सात करोडमा ठेक्का पाएको छ । रूपसे खण्डमा १६० मिटर दुरीमा ढलान सकिएको छ । लाटोखोलामा ‘रक एङ्करिङ’ गरेर पहिरो रोकथाम र फराकिलो पार्ने काम अन्तिम चरणमा पुगेको छ । तल्लो र माथिल्लो बैसरीको पहिरो रोकथाम गर्न जिएसआई/हुटैराज जेभीले २ करोड रुपैयाँको ठेक्का लिएको छ । सडक मुनीको पहाडमा ‘ड्रिलिङ’ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । ‘रक एङ्करिङ’ गर्न फलामको रड राख्ने प्वाल (होल) बनाइएको छ । ‘रक एङ्करिङ’ गर्नुपर्ने ठाउँको ३.५ मिटर फराकिलो सडकमा हाल एकतर्फी मात्र सवारीसाधन चल्ने गर्छन् । यसलाई दुईतर्फी सवारीसाधन चल्ने बनाउन सातदेखि आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाउन लागिएको छ । अन्नपूर्ण गाउँपालिका-३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पहिरो रोकथाम भएपछि सडकमा सवारीसाधन आवतजावत सहज र जोखिममा परेका बस्ती तथा सार्वजनिक संरचनाको संरक्षण हुने अपेक्षा गरिएको बताए ।
निर्वाचन मतदान गर्ने प्रक्रिया मात्र होइन, सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो : डा. तुलाधर
काठमाडौं । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वसनीय हुनु आवश्यक रहेको बताएकी छिन् । निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उनले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन निर्वाचन प्रक्रियाको पर्यवेक्षणको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने उल्लेख गरिन् । आयुक्त तुलाधरले भनिन्, ‘निर्वाचन केवल मतदान गर्ने प्रक्रिया मात्र होइन, यो जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो ।’ उनले आममतदाताको विश्वास कायम राख, कानुनी व्यवस्था र आचारसंहिताको पालना सुनिश्चित गर्न तथा निर्वाचन व्यवस्थापनलाई थप सुधारोन्मुख बनाउन निष्पक्ष, वस्तुनिष्ठ र जिम्मेवार पर्यवेक्षणले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको बताइन् । आयुक्त तुलाधरले भनिन्, ‘निर्वाचन पर्यवेक्षण कार्यमा निर्वाचनसम्बन्धी प्रचलित कानुन, नियम, निर्देशिका तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना हुनु आवश्यक छ । पर्यवेक्षकहरू कुनै पनि राजनीतिक दल, उम्मेदवार वा सरोकारवाला पक्षको प्रभाव, आग्रह वा दबाबमा नपरी निष्पक्ष रूपमा आफ्नो कर्तव्यमा संलग्न हुनुपर्दछ ।’ पर्यवेक्षण कार्यमा संलग्न रहँदा तटस्थता, निष्पक्षता र व्यावसायिक आचरण अत्यावश्यक रहेको बताउँदै उहाँले व्यक्तिगत धारणा, पूर्वाग्रह वा अनुमानका आधारमा निष्कर्ष निकाल्ने कार्य नगरी तथ्यमा आधारित पर्यवेक्षण र अवलोकनमा केन्द्रित हुन आग्रह गरिन् । उनले भनिन्, ‘पर्यवेक्षणका क्रममा मतदान प्रक्रिया, मतगणना वा निर्वाचन व्यवस्थापनमा संलग्न कर्मचारीको नियमित कार्यमा कुनै किसिमको अवरोध, हस्तक्षेप वा प्रभाव पर्ने गतिविधि तथा कुनै पनि पक्षपातपूर्ण व्यवहार गर्न पाइने छैन । प्रचलित निर्वाचन कानुन र आचारसंहिताको उल्लङ्घनतर्फ सचेत रहनु जरुरी छ ।’ आयुक्त डा तुलाधरले निर्वाचन प्रक्रियालाई अझ पारदर्शी, विश्वासयोग्य र जनउत्तरदायी बनाउन सबैले उच्च नैतिकता, व्यावसायिकता र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह सुझाव दिइन् ।