एमालेको सचिवालय बैठक दिउँसो १ बजे च्यासलमा बस्ने
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअघि पार्टी सचिवालय बैठक बस्ने भएको छ। बैठक आज (शुक्रबार) दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ। बैठकमा पदाधिकारी, केन्द्रीय कमिटी संख्या विस्तार प्रस्ताव, साथै मनोनित प्रतिनिधि टुंग्याउनेजस्ता एजेण्डामा महत्वपूर्ण छलफल हुने पार्टी स्रोतले जनाएको छ। महाधिवेशन तयारीका अन्तिम चरणका विषयमा समेत सचिवालयले निर्णय गर्ने अपेक्षा गरिएको छ।
७ प्रतिशत लाभांश बाँड्ने नेशनलको घोषणा, २ जना स्वतन्त्र सञ्चालक
काठमाडौं । नेशनल क्यापिटलले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले चुक्ता पुँजी २० करोड रुपैयाँको ७ प्रतिशतका दरले १ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २० गते बिहान साढे १० बजे प्रथम (आर्थिक वर्ष २०८०/८१) र दोस्रो (आर्थिक वर्ष २०८१/८२) वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, सञ्चालकहरूको बैठक भत्ता निर्धारण, २ जना स्वतन्त्र सञ्चालक रहने सञ्चालक समिति गठन र नियमावली संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।
डिजिटल अर्थतन्त्र र प्रविधि नवप्रवर्तनलाई चीनको १५औँ पञ्चवर्षीय योजनामा प्राथमिकता
काठमाडौं । चीनले सन् २०२६ का लागि आर्थिक लक्ष्य र नीति निर्धारण गर्न वार्षिक केन्द्रीय आर्थिक कार्य सम्मेलन बुधबार र बिहीबार बेइजिङमा सम्पन्न गरेको छ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०२५ को आर्थिक कामको समीक्षा गर्दै हालको आर्थिक अवस्थाको विश्लेषण गर्नुभयो, र आगामी वर्षका लागि कार्यदिशा प्रस्तुत गरे । सम्मेलनले सन् २०२५ लाई ‘असाधारण उपलब्धिको वर्ष’ भन्दै आर्थिक तथा सामाजिक विकासका प्रमुख लक्ष्यहरू सफलतापूर्वक हासिल हुने निष्कर्ष निकाले । १४औँ पञ्चवर्षीय योजना ९२०२१-२०२५० अन्तिम चरणमा पुगेको र चीनले विविध चुनौतीहरू पार गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको पनि बैठकमा उल्लेख गरियो । बैठकले सुधार, नवप्रवर्तन र आन्तरिक क्षमतामा जोड दिँदै आर्थिक सम्भावनालाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दियो । यसै क्रममा, बजार गतिशीलता र सरकारी नियमन दुवैलाई सन्तुलित रूपमा अघि बढाउने आवश्यकतामा पनि बल दिइयो । चीनले आगामी वर्ष सक्रिय वित्तीय नीति लागू गर्ने, आवश्यक सरकारी खर्च र ऋण स्तर व्यवस्थित गर्ने, कर तथा अनुदान प्रणाली सुधार गर्ने र स्थानीय सरकारका वित्तीय चुनौतीहरूको समाधानमा ध्यान दिने योजना बनाएको छ । मौद्रिक नीतिमा चीनले मध्यम रूपमा खुकुलो नीति कायम राख्ने, ब्याजदर र आरक्षित अनुपात जस्ता उपकरण लचिलो रूपमा प्रयोग गर्ने र घरेलु माग, प्रविधि-नवाचार तथा साना तथा मध्यम उद्योगमा बैंकिङ समर्थन बढाउने जनाएको छ । सम्मेलनले रोजगारी, व्यवसाय र बजारमा स्थिरता कायम राख्दै सामाजिक अपेक्षालाई मजबुत बनाउने तथा यसै आधारमा १५औँ पञ्चवर्षीय योजना (सन् २०२६-२०३०) लाई सशक्त सुरुआत दिने लक्ष्य राखेको छ ।
क्यानडामा ब्याजदर स्थिर, वृद्धि दर बढ्ने अपेक्षा
काठमाडौं । क्यानाडाको केन्द्रीय बैंकले बुधबार आफ्नो मुख्य नीतिगत ब्याजदर हालको २.२५ प्रतिशतमा कायम राख्ने निर्णय गरेको छ । बैंकका गभर्नर टिफ म्याकलेमका अनुसार अमेरिकाद्वारा एलुमिनियम, अटोमोबाइल र काठमा लागू गरिएका कडा शुल्कले ती क्षेत्रहरूमा उल्लेखनीय असर परेको छ । साथै, अमेरिकी व्यापार नीतिमा रहेको अनिश्चितताले व्यावसायिक लगानीमा समेत दबाब सिर्जना गरेको छ । तर गभर्नर म्याकलेमले भने, ‘अहिलेसम्म क्यानडाको अर्थतन्त्र समग्रमा स्थिर र लचिलो देखिएको छ ।’ केन्द्रीय बैंकले तेस्रो त्रैमासिकमा क्यानडाको अर्थतन्त्र २.६ प्रतिशतको अपेक्षाभन्दा बढी वृद्धि भएको जनाएको छ । विश्वका अन्य ठूला अर्थतन्त्रहरूले अमेरिकी व्यापार संरक्षणवादको प्रभावको बाबजुद स्थिरता देखाइरहेका छन्, यद्यपि अनिश्चितता अझै उच्च रहेको छ । बैंकका अनुसार चौथो त्रैमासिकमा घरेलु माग बढ्ने अपेक्षा गरिएको छ, तर निर्यातमा सम्भावित कमीले सकल घरेलु उत्पादन (जीडीपी) लाई केही कमजोर बनाउने सम्भावना छ । ‘सन् २०२६ मा वृद्धि दर बढ्ने अपेक्षा छ, यद्यपि अनिश्चितता उच्च नै रहन सक्ने र व्यापारमा उतार–चढावले त्रैमासिक अस्थिरता ल्याउन सक्नेछ,’ बैंकले उल्लेख गरेको छ । मूल्यस्तरको अवस्थाबारे बैंकले आधारभूत मुद्रास्फीति अझै २.५ प्रतिशत आसपास रहेको भनेको छ । अर्थतन्त्रको वर्तमान कमजोरीले व्यापार पुनर्संरचनासँग सम्बन्धित लागत दबाबलाई केही हदसम्म समेट्ने अपेक्षा गरिएको छ, जसले उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीतिलाई २ प्रतिशत लक्ष्य नजिक राख्नेछ । केन्द्रीय बैंकले यस वर्ष जनवरी, मार्च, सेप्टेम्बर र अक्टोबरमा ब्याजदर २५ आधार अङ्कले घटाएको थियो भने अप्रिल, जुन र जुलाईमा यसलाई स्थिर राखेको थियो ।
मुग्लिन-पोखरा सडक: पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो
काठमाडौं । मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्ड अन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो । यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन । सडक छेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो । पश्चिम खण्ड अन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा दुईतर्फी नै कालोपत्र गर्न बाँकी रहेकामा यहाँ कालोपत्रको काम सुरु गरिएको सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । हाल २ लेनमा कालोपत्रको काम भइरहेको छ भने २ लेन सकिएपछि अर्को २ लेनमा कालोपत्र हुनेछ । पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक र ४७.८० प्रतिशत वित्तीय प्रगति भएको छ । ३८.८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.४ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९.६१ किलोमिटर खण्डमा ४ लेन र ७.७९ किलोमिटर खण्डमा २ लेन कालोपत्र सम्पन्न भएको छ । उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेको छ भने सेती नदीमा पुल निर्माणाधीन रहेको छ । पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३.०६ किलोमिटर कालोपत्र भएको छ । ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्य बमोजिम ११ वटै पुल बनेका छन् । ६६ कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१.५ किलोमिटर नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५.२ किलोमिटर नाला निर्माण सम्पन्न भएको कुँवरले जानकारी दिए । विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ । यो खण्डको ठेक्का एनहुई केयुएन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँमा पाएको थियो ।
एमालेको महाधिवेशनलाई ख्याल गर्दै नागढुङ्गा-मलेखु सडक २ दिन बन्द नहुने
काठमाडौं । दैनिक ५ घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडक खण्ड आज र भोलि (शुक्रबार र शनिबार) का लागि खुला गरिएको छ । नेकपा (एमाले) को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत नरोकिएको हो । नागढुङ्गा-मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ । २ दिनका लागि सडक बन्द नगरिने आयोजनाले जनाएको छ । त्यसपछि भने कार्यतालिका अनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा-मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए । उनले भने, ‘स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र काठमाडौंको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मङ्सिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०:३० देखि दिउँसो ३:३० सम्म दैनिक ५ घन्टा बन्द गरेर काम गरिरहेका थियौँ, एमालेको महाधिवेशनलाई ख्याल गर्दै सवारी चाप र सम्भावित सडक जामलाई मध्यनजर गरी सडक बन्द नगर्ने निर्णय लिएका छौँ ।’ युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि २ दिन सडक खुला गरिदिन आग्रह गरेका थिए । सडक विभागले काठमाडौं जिल्लाभित्र पर्ने नागढुङ्गा-पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे-मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्व दिएर काम अघि बढाएको छ ।
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३ सय बिरामीको उपचार गर्दै बूढानीलकण्ठ अस्पताल
काठमाडौं । बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक ३ सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि ३ जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले बहिरङ्ग सेवाबाट ३ जनाको उपचार गरेर अस्पताल सञ्चालनको सुरुआत गरे पनि अहिले सेवा विस्तार गरिएको जानकारी दिए । ‘सुरुमा अस्पताल चलाउन सक्दैनन् कि भनेर शङ्का गर्नेहरू थिए । अहिले हाम्रो नगर अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित बहिरङ्ग सेवाबाट समेत दैनिक तीन सय बिरामीलाई उपचार सेवा दिइरहेको छ । गत सोमबारदेखि बर्थिङ सेन्टरको समेत सुरुआत भएको छ,’ अधिकारीले भने । अस्पताल २०८१ वैशाखदेखि सञ्चालनमा आएको हो । सङ्घ, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोतबाट अस्पताल निर्माण गरिएको प्रमुख अधिकारीले जानकारी दिए । थप सेवा विस्तार गर्न मेडिकल सामग्री खरिद प्रक्रियामा रहेको पनि उनले बताए । त्यसैगरी, नगरपालिकाका उपप्रमुख अनिता लामाले बर्थिङ सेन्टरको सुरुआतले मातृशिुशु स्वाथ्यमा सुधार आउने विश्वास व्यक्त गरे । ‘हाम्रो नगरपालिका सहरी क्षेत्र भएको हुँदा घरमै बच्चा जन्माउने अवस्था त छैन तर नगर अस्पतालमा बर्थिङ सेन्टर थपिएपछि मातृशिशु स्वास्थ्यमा थप सुधार पक्का हुनेछ । यो सामुदायिक स्वास्थ्य सेवाको क्षेत्रमा कोशेढुंगा हो । अस्पतालमा थप सेवा विस्तार गरिरहेका छौँ,’ लामाले भने । आम्दानी पनि बढ्यो सेवा लिने नागरिकको सङ्ख्या बढेसँगै अस्पतालको आम्दानी समेत बढेको छ । गत आर्थिक वर्षमा अस्पतालले १ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल पोखरेलका अनुसार चालु आर्थिक वर्षको ५ महिनामै १ करोड ८० लाख रुपैयाँ आम्दानी गरिसकेको छ । ‘सेवासँगै आम्दानी बढ्दै जाँदा अस्पताल आर्थिक रूपमा सक्षम हुँदै गएको छ । तर सार्वजनिक स्वास्थ्य सेवामा नाफाघाटा मात्र हेरिँदैन । आवश्यकताअनुसार नगरपालिकाले भरपूर सहयोग गर्दै आएको छ,’ पोखरेलले भने, ‘अहिले अस्पतालमा ७० जना कर्मचारी कार्यरत छन् । थप सेवाहरू विस्तार गर्ने, प्राविधिक जनशक्ति थप्ने र आवश्यक मेडिकल सामग्री खरिद गर्ने प्रक्रिया चलिरहेको छ ।’
नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकियो
काठमाडौं । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकिएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको नारायणगढ-बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा एउटा पुलमात्र निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले जानकारी दिए । सूचना अधिकारी खनालका अनुसार लामा पुलमा पनि २ सय मिटरभन्दा लामा गिरुवारी खोला, अरुण खोला र विनयी खोलाको पुलमध्ये अरुण खोलाको पुलमात्र निर्माणको काम बाँकी छ । अरुण खोला पुलको काम अन्तिम चरणमा रहेको छ । निर्माण गरिएका पुलमध्ये कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुबारी खोलामा ‘एप्रोच’ सडकको काम भइरहेको छ । केही दिनमा यी पुलबाट सवारी सञ्चालन हुने छ । ‘पुलहरू बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ, एउटा अरुण खोलाको पुलमा केही काम बाँकी छ, त्यो पनि चाँडै सकिन्छ,’ सूचना अधिकारी खनालले भने । दाउन्ने खण्डमा केही कल्भर्टको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माणसमेत अन्तिम चरणमा चलिरहेको छ । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । पूर्वी खण्डमा दाउन्ने बाहेकका क्षेत्रमा कालोपत्रको धेरैजसो काम भएकाले यात्रा सहज बनेको छ । दाउन्ने क्षेत्रमा भने अझै सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुनसकेको छैन । नारायणगढ-बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । नारायणगढ-बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक २०८३ असारसम्म म्याद थप गरिएको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ लागत रहेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर ४ लेन, २९ किलोमिटरमा ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेको १४ किलोमिटर क्षेत्रमा ३ लेनको सडक निर्माण हुनेछ ।