एमालेको महाधिवेशनलाई ख्याल गर्दै नागढुङ्गा-मलेखु सडक २ दिन बन्द नहुने
काठमाडौं । दैनिक ५ घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडक खण्ड आज र भोलि (शुक्रबार र शनिबार) का लागि खुला गरिएको छ । नेकपा (एमाले) को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत नरोकिएको हो । नागढुङ्गा-मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ । २ दिनका लागि सडक बन्द नगरिने आयोजनाले जनाएको छ । त्यसपछि भने कार्यतालिका अनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा-मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए । उनले भने, ‘स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र काठमाडौंको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मङ्सिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०:३० देखि दिउँसो ३:३० सम्म दैनिक ५ घन्टा बन्द गरेर काम गरिरहेका थियौँ, एमालेको महाधिवेशनलाई ख्याल गर्दै सवारी चाप र सम्भावित सडक जामलाई मध्यनजर गरी सडक बन्द नगर्ने निर्णय लिएका छौँ ।’ युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि २ दिन सडक खुला गरिदिन आग्रह गरेका थिए । सडक विभागले काठमाडौं जिल्लाभित्र पर्ने नागढुङ्गा-पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे-मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्व दिएर काम अघि बढाएको छ ।
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३ सय बिरामीको उपचार गर्दै बूढानीलकण्ठ अस्पताल
काठमाडौं । बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक ३ सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि ३ जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले बहिरङ्ग सेवाबाट ३ जनाको उपचार गरेर अस्पताल सञ्चालनको सुरुआत गरे पनि अहिले सेवा विस्तार गरिएको जानकारी दिए । ‘सुरुमा अस्पताल चलाउन सक्दैनन् कि भनेर शङ्का गर्नेहरू थिए । अहिले हाम्रो नगर अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित बहिरङ्ग सेवाबाट समेत दैनिक तीन सय बिरामीलाई उपचार सेवा दिइरहेको छ । गत सोमबारदेखि बर्थिङ सेन्टरको समेत सुरुआत भएको छ,’ अधिकारीले भने । अस्पताल २०८१ वैशाखदेखि सञ्चालनमा आएको हो । सङ्घ, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोतबाट अस्पताल निर्माण गरिएको प्रमुख अधिकारीले जानकारी दिए । थप सेवा विस्तार गर्न मेडिकल सामग्री खरिद प्रक्रियामा रहेको पनि उनले बताए । त्यसैगरी, नगरपालिकाका उपप्रमुख अनिता लामाले बर्थिङ सेन्टरको सुरुआतले मातृशिुशु स्वाथ्यमा सुधार आउने विश्वास व्यक्त गरे । ‘हाम्रो नगरपालिका सहरी क्षेत्र भएको हुँदा घरमै बच्चा जन्माउने अवस्था त छैन तर नगर अस्पतालमा बर्थिङ सेन्टर थपिएपछि मातृशिशु स्वास्थ्यमा थप सुधार पक्का हुनेछ । यो सामुदायिक स्वास्थ्य सेवाको क्षेत्रमा कोशेढुंगा हो । अस्पतालमा थप सेवा विस्तार गरिरहेका छौँ,’ लामाले भने । आम्दानी पनि बढ्यो सेवा लिने नागरिकको सङ्ख्या बढेसँगै अस्पतालको आम्दानी समेत बढेको छ । गत आर्थिक वर्षमा अस्पतालले १ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल पोखरेलका अनुसार चालु आर्थिक वर्षको ५ महिनामै १ करोड ८० लाख रुपैयाँ आम्दानी गरिसकेको छ । ‘सेवासँगै आम्दानी बढ्दै जाँदा अस्पताल आर्थिक रूपमा सक्षम हुँदै गएको छ । तर सार्वजनिक स्वास्थ्य सेवामा नाफाघाटा मात्र हेरिँदैन । आवश्यकताअनुसार नगरपालिकाले भरपूर सहयोग गर्दै आएको छ,’ पोखरेलले भने, ‘अहिले अस्पतालमा ७० जना कर्मचारी कार्यरत छन् । थप सेवाहरू विस्तार गर्ने, प्राविधिक जनशक्ति थप्ने र आवश्यक मेडिकल सामग्री खरिद गर्ने प्रक्रिया चलिरहेको छ ।’
नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकियो
काठमाडौं । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकिएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको नारायणगढ-बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा एउटा पुलमात्र निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले जानकारी दिए । सूचना अधिकारी खनालका अनुसार लामा पुलमा पनि २ सय मिटरभन्दा लामा गिरुवारी खोला, अरुण खोला र विनयी खोलाको पुलमध्ये अरुण खोलाको पुलमात्र निर्माणको काम बाँकी छ । अरुण खोला पुलको काम अन्तिम चरणमा रहेको छ । निर्माण गरिएका पुलमध्ये कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुबारी खोलामा ‘एप्रोच’ सडकको काम भइरहेको छ । केही दिनमा यी पुलबाट सवारी सञ्चालन हुने छ । ‘पुलहरू बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ, एउटा अरुण खोलाको पुलमा केही काम बाँकी छ, त्यो पनि चाँडै सकिन्छ,’ सूचना अधिकारी खनालले भने । दाउन्ने खण्डमा केही कल्भर्टको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माणसमेत अन्तिम चरणमा चलिरहेको छ । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । पूर्वी खण्डमा दाउन्ने बाहेकका क्षेत्रमा कालोपत्रको धेरैजसो काम भएकाले यात्रा सहज बनेको छ । दाउन्ने क्षेत्रमा भने अझै सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुनसकेको छैन । नारायणगढ-बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । नारायणगढ-बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक २०८३ असारसम्म म्याद थप गरिएको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ लागत रहेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर ४ लेन, २९ किलोमिटरमा ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेको १४ किलोमिटर क्षेत्रमा ३ लेनको सडक निर्माण हुनेछ ।
१.५० अर्ब खर्च गरेर हुवासिन सिमेन्ट आफैंले बनायो सब स्टेसन, बिजुली जाने समस्याबाट मुक्त
रमेश लम्साल काठमाडौं । भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो खोल्छ । बेरोजगारीलाई रोजगारी, राज्यलाई कर तथा स्थानीयलाई अनेकन लाभ । एउटा उद्योग स्थापनापछि राज्यले कर मात्रै होइन, ठूलो धनराशि लगानी गर्नुपर्ने विद्युतीय सब स्टेसनको लाभसमेत पाएको छ । त्यो हो धादिङको मलेखुमा निर्माण भएको १३२ केभी क्षमताको सबस्टेसन । प्रक्रिया निकै लामो हुने हुँदा उद्योगले सरकारी प्रावधानअनुसार पछि सोध भर्ना गर्ने गरी आफ्नै लगानीमा मलेखु नजिकै सिद्धलेख गाउँपालिका वडा नम्बर ६ मा हुवासिन नारायणी सिमेन्ट उद्योगले १३२ केभीको सबस्टेसन निर्माण गरेको थियो । विद्युत् प्रसारण लाइनका अनगिन्ती टावर र तारले जेलिए पनि धादिङ जिल्ला विद्युतको भरपर्दो सुविधाबाट लामो समयदेखि वञ्चित थियो । जिल्लाभर विद्युत् नपुगेको, पुगे पनि सामान्य हुरीबतासमा बत्ती जाने समस्या थियो । हाइ भोल्टेजले विभिन्न विद्युतीय उपकरण जल्ने पड्किने जस्ता समस्याबाट पीडित थिए । स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरण तथा जिल्लामा क्रियाशील राजनीतिक नेतृत्वलाई पटकपटक गुनासो पोख्दै आएका थिए । ठूला उद्योगलाई विद्युत् उपलब्ध गराउनुपर्ने राज्यको दायित्व हो । लगानी बोर्डको संयोजनमा धादिङमा स्थापना भएको चिनियाँ लगानीको सिमेन्ट उद्योग हुवासिन सिमेन्टले पनि सरकारले सडक तथा विद्युत् उपलब्ध गराउने सर्तमा लगानी गर्ने निर्णय गरेको थियो । उद्योग आफैंले निर्माण गरेको सब स्टेसनका कारण जिल्लामा थप सहज भएको छ । मलेखु सब स्टेसनका कारण धादिङमा सहज रूपमा विद्युत् प्रवाहका अलावा अन्य प्रत्यक्ष फाइदा भएको हुवासिन नारायणी सिमेन्ट उद्योगका उप-महाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए । मलेखु सब स्टेसनका इन्चार्ज विश्व जीत यादवका अनुसार धादिङ र आसपासका क्षेत्रमा सहज बिजुली आपूर्तिका लागि ठूलो काम भएको छ । उनका अनुसार विगतमा सल्यानटारबाट धादिङ बेँसी र आसपासमा क्षेत्रमा बिजुली प्रवाह हुने गर्दथ्यो । अन्य कुनै विकल्प थिएन । यो सब स्टेसनको निर्माणपछि बिजुली कम हुनेबित्तिकै सहज प्रवाह हुने गरेको छ । यसबाट धादिङ बेँसी र अन्य क्षेत्रमा विद्युतको गुणस्तर तथा भोल्टेजको समस्यामा ठूलो सुधार आएको उनले बताए । मलेखु सब स्टेसनका कारण राजमार्गका अलावा धादिङका धेरै स्थानमा सहज बिजुली आप्रवाह भएको र यो खुसीको विषय भएको उनको भनाइ छ । उद्योगले निर्माण गरेको सब स्टेसनले अहिले धादिङमा मात्रै लाभ पुगेको छैन प्राधिकरणलाई समेत यसले ठूलो प्रतिफल दिएको छ । प्राधिकरणले लामो समयदेखि जिल्लाभरको गुनासो सम्बोधनका लागि सोही सब स्टेसनबाट जिल्लाभरको विद्युत् वितरण प्रणाली सुदृढीकरण गरेको छ । केही महिनाभित्र नै सोही सब स्टेसनबाट नै जिल्लाभर भरपर्दो विद्युत् वितरण गर्ने तयारी भइरहेको धादिङ वितरण केन्द्रले जनाएको छ । हाल सो वितरण केन्द्र मातहत ६६ हजार १८० ग्राहक छन् । १ अर्ब ५० करोड रुपैयाँको लगानीमा स्थापना गरेको उक्त सब स्टेसनले धादिङ जिल्लामा औद्योगिकीकरणको बाटो पनि खुलेको छ । विगतमा जिल्ला सदरमुकाम धादिङ बेँसीमा नुवाकोटको देवीघाटबाट प्रवाह भएको बिजुली लामो एवं कम क्षमताको प्रसारण लाइनका कारण गुणस्तरीयताको अभाव थियो । सामान्य हुरीबतास चल्ने बित्तिकै लाइन काटिने र लामो समयसम्म अँध्यारोमा बस्नुपर्ने अवस्था थियो । धादिङ र गोरखामा निर्माण भएका साना जलविद्युत् आयोजना जोड्न समेत समस्या थियो । उद्योग आफैंले सबस्टेसनदेखि उद्योगस्थल ताल्दीसम्म १४ किलोमिटर लामो प्रसारण लाइन र १३२ केभी/१० केभी सब स्टेसन निर्माण गरेको छ । सो उद्योग पूर्ण क्षमताका चलेको समयमा कुल २० मेगावाट विद्युत् खपत गर्छ । जिल्लाको बसेरी र सल्यानटारमा रहेको सब स्टेसनमा कुनै समस्या आएको खण्डमा वैकल्पिक रूपमा बिजुली प्रवाहका लागि समेत उपयुक्त छ । कुल ४.५ मेगावाट क्षमताको विकास हाइड्रोपावर, ४.९८ मेगावाट क्षमताको रिचेत र २ मेगावाट क्षमताको माथिल्लो रिचेतसमेत बसेरी, सल्यानटार सबस्टेसन हुँदै मलेखु सबस्टेसनमा जोड्न सकिने गरी व्यवस्था मिलाइएको छ । यस्तै, ८ मेगावाट क्षमताको आँखुखोला जलविद्युत् आयोजनाको बिजुली प्रवाहका लागि समेत सहज भएको छ । बेनीघाट रोराङ गाउँपालिकाको ताल्दीमा रहेका सो उद्योगले स्थानीय क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिएको छ । सो गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाका अनुसार उद्योगका कारण आफ्नो गाउँपालिकामा विकास निर्माणको काम सहज भएको छ । उद्योगका कारण स्थानीय कृषि उपजको बिक्री बढेको, स्थानीयले रोजगारी पाएको तथा होटल व्यवसायमा बढोत्तरी भएको गाउँपालिका अध्यक्ष थपलियाले उल्लेख गरे । सो उद्योगको दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ । लगानी बोर्डको संयोजनमा प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियाका माध्यमबाट नेपाल आएको सो उद्योग स्थापनाका सम्बन्धमा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ गते हस्ताक्षर भएको थियो । उद्योगमा ३५० जनाले प्रत्यक्ष र १ हजारले अप्रत्यक्षरूपमा रोजगारी पाएका छन् । नेपालमा हाल करिब ४० लाख मेट्रिक टन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कुल जडित क्षमता ५५ लाख मेट्रिक टन पुगिसकेको भए पनि पछिल्ला दिनमा सुस्तता आएको छ । रासस
उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने, कसले पाउला १.१० करोड रुपैयाँ पुरस्कार ?
काठमाडौं । काठमाडौंमा जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे हुने फाइनल खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ । गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ । लिग चरणमा भएको यी दुवबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो । एनपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ, तेस्रो टोलीले २५ लाख रुपैयाँ र चौथो १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियोे ।
साहस उर्जाको सभाले पारित गर्याे २२.१० प्रतिशत लाभांश र १ सय प्रतिशत हकप्रद सेयर
काठमाडौं । साहस उर्जाको साधारण सभाले लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको मंसिर २४ गते सम्पन्न १२औँ वार्षिक साधारण सभाले २२.१० प्रतिशत लाभांश र १ सय प्रतिशत हकप्रद सेयर प्रस्ताव पारित गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँको २१ प्रतिशतका दरले ७९ करोड ३८ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १.१० प्रतिशतका दरले ४ करोड १७ लाख ७८ हजार रुपैयाँ नगद गरी कुल २२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । सभाले बोनस सेयर प्रस्ताव पारित गरेपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुगेको छ । साथै कम्पनीले उक्त चुक्ता पुँजीको १ सय प्रतिशत अर्थात् १:१ अनुपातमा ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । साथै सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधनका लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ । यस्तै, संचालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आव २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गरेको छ ।
लुम्बिनी फाइनलमा प्रवेश, विराटनगर ४० रनले पराजित
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार विराटनगर किंग्सलाईलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो । अघिल्लो सिजनको पुछारमा रहेको लुम्बिनीले यसपटक उपाधि जित्ने सपना नजिक पुगेको हो । यो जितसँगै लुम्बिनीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँगको रोमाञ्चक भेट पक्का गरेको छ । एनपीएलको ‘ग्रान्ड फिनाले’ शनिबार हुनेछ । लुम्बिनीको लोभलाग्दो ‘कम्ब्याक’ लुम्बिनी लायन्सको फाइनल यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन। पहिलो सिजनमा अंक तालिकाको सबैभन्दा पुछारमा रहेर लिग सकाएको लुम्बिनीले दोस्रो सिजनमा भने गजबको पुनरागमन गरेको छ । एलिमिनेटरमा बलियो मानिएको काठमाडौं गोर्खाजलाई ४ विकेटले पाखा लगाएर आएको लुम्बिनीले दोस्रो क्वालिफायरमा पनि आफ्नो लय कायमै राख्दै ऐतिहासिक फाइनल स्थान सुरक्षित गर्यो । लिग चरणमा शानदार प्रदर्शन गरेको विराटनगर किंग्सका लागि भने ‘प्लेअफ’ दुर्भाग्यपूर्ण साबित भयो । लगातार दुईवटा क्वालिफायर खेल्ने मौका पाउँदा पनि विराटनगरले त्यसलाई सदुपयोग गर्न सकेन । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको फराकिलो हार बेहोरेको विराटनगरले दोस्रो मौका (क्वालिफायर-२) मा पनि लय समात्न सकेन। लिग चरणको उत्कृष्ट प्रदर्शनलाई नकआउट चरणमा निरन्तरता दिन नसक्दा विराटनगर उपाधि नजिक पुगेर पनि बाहिरिन बाध्य भयो । अब शनिबार हुने फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमने-सामने हुनेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमै विराटनगरलाई हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । गत सिजनको पुछारको टोली लुम्बिनी र लगातार फाइनल पुगेको सुदूरपश्चिमबीचको उपाधि भिडन्त निकै रोचक हुने अपेक्षा गरिएको छ ।
लगानीकर्ता त्रसित पार्ने समूह विरुद्ध रिलायन्स स्पिनिङ्ग कानुनी कारबाहीमा जाने, १.६० अर्ब रुपैयाँको आवेदन
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले अभियन्ताको भेषमा असुलीर्कताहरुको संगठित समूहले लगानीकर्तालाई त्रसित बनाएको आरोप लगाएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै अभियन्ताको भेषमा रहेका असुलीकर्ताहरूको एक सङ्गठित समूहले लगानीकर्ताहरूलाई त्रसित बनाउन र नियामक निकायलाई ब्याकमेल गर्न कपोलकल्पित र भ्रामक अफबाह फैलाएको आरोप लगाएको हो । कम्पनीको प्रतिष्ठामाथि आँच पुग्ने गरी फैलाइएका यी आरोपहरू सतप्रतिशत झूटा, बदनियत पूर्ण र केवल व्यक्तिगत लाभका लागि सेयर बजारमा चलखेल गर्ने उद्देश्यले नियोजित रूपमा सिर्जना गरिएको कम्पनीले जनाएको छ । ‘सर्वोच्च अदालतले उनीहरूको आधारहीन रिट निवेदन दर्ता गर्न अस्वीकार गरे लगत्तै यो चरित्र हत्याको अभियान सुरु गरिएको हो । अदालतको कानुनी लडाइँमा असफल भएपछि गिरोहले झुटको खेतीको सहारा लिएको स्पष्ट छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बजारमा वित्तीय आतङ्क फैलाएको र आपराधिक मानहानि गर्ने गिरोहलाई प्रचलित कानून बमोजिम राज्यका सम्बन्धित निकायहरूमा कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ । साथै बार्गेनिङ र ब्याकमेलिङ विरुद्ध ४ हजार कर्मचारी र २० हजार भन्दा बढी लगानीकर्ताहरूका साथ अझै उभिरहने कम्पनीले जनाएको छ । १.६० अर्बको रुपैयाँको आवेदन कम्पनीले गत मंसिर २२ गतेदेखि मंसिर २५ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्रीमा राखेको थियो । आवेदन दिने अन्तिम दिन विहीबारसम्म कम्पनीको आईपीओमा वैदेशिक रोजगारमा रहेका ३४ हजार २८७ जना लगानीकर्ताले १९ लाख ५२ हजार ४७० कित्ता सेयरका लागि १ अर्ब ६० करोड २५ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ । बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही निर्देशिकाको दफा (१४) मा भएको व्यवस्था बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य सर्वसाधारण लगानीकर्ताहरुका लागि तोकिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।