विकासन्युज

निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी अभिव्यक्ति दिएकाले साइबर ब्यूरोले उनलाई ललितपुरबाट पक्राउ गरेको हो । निर्वाचन आयोगले आचारसंहिता उंल्लघन गरेको भनी पत्र पठाएकाले पक्राउ गरिएको ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए । ब्यूरोका एक प्रहरी अधिकृतका अनुसार प्रसाईंले ‘निर्वाचन नहुने भन्दै’ अभिव्यक्ति दिएका थिए ।  सर्वसाधारणमा भ्रम छर्ने अभिव्यक्ति दिएकाले उनलाई ब्यूरोले नियन्त्रणमा लिएको हो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए ।  सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । आयोगले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

नबिल इन्भेस्टमेन्ट १६औँ वर्षमा प्रवेश, रक्तदान कार्यक्रम आयोजना

काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले १५ वर्षको सफल सेवा पूरा गर्दै शुक्रबार १६औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नक्सालस्थित नारायणचौरको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । स्थापना कालदेखि नै व्यावसायिकता, सुशासन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवाका माध्यमबाट संस्थागत विश्वास निर्माण गर्न सफल हुँदै आएको संस्थाले बदलिँदो वित्तीय परिवेशअनुसार आफूलाई निरन्तर परिमार्जन गर्दै आएको जनाएको छ । नबिल इन्भेस्टमेन्टले मर्चेन्ट बैंकिङ अन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धन, डिपी सेवा, सेयर रजिस्ट्रार, सेयर प्रत्याभूति लगायतका सेवाहरू प्रदान गर्दै आएको छ । साथै इन्भेस्टमेन्ट बैंकिङ अन्तर्गत लगानी व्यवस्थापन, सामूहिक लगानी कोष तथा संस्थागत परामर्श सेवासमेत सञ्चालन गर्दै आएको छ । यसका अतिरिक्त संस्थाले कर्पोरेट एडभाइजरी सेवाअन्तर्गत पुनर्संरचना, मूल्यांकन, व्यवसायिक योजना, लोन सिन्डिकेशन, सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्विजिसन तथा लगानीसम्बन्धी परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । निकट भविष्यमा विशिष्टिकृत लगानी कोषअन्तर्गत प्राइभेट इक्विटी फन्ड सञ्चालन गर्ने तयारीमा पनि संस्था रहेको जनाएको छ । १५औँ वर्षको उपलब्धिलाई संस्थागत गौरवका रूपमा मनाउँदै नबिल इन्भेस्टमेन्टले आगामी दिनमा नवीन सोच, सुदृढ जोखिम व्यवस्थापन, प्रविधिमैत्री सेवा तथा दिगो लगानी अभ्यासमार्फत नेपाली पूँजी बजारको विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाले आफ्ना ग्राहक, नियामक निकाय, सञ्चारकर्मी, संस्थापक कम्पनी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।  

देउरानीको कलेजोको टुक्राले जोगियो जेठानीको जीवन

‘हामी जेठानी–देउरानी सधैं सुख बाँड्दै आएका थियौं, आज दुःख पनि बाँडेका छौं । सुखमात्र होइन, दुःख पनि बाँड्न सकिँदो रहेछ,’ पोखरा–हेम्जाकी सुनिता खड्काले भनिन् । सुनिता जसले आफ्नो कलेजोको एक टुक्रा दान गरेर आफ्नी जेठानी गंगाकुमारी थापा कुँवरको जीवन जोगाइन् । आफ्नो कारण जेठानी, जेठाजुलगायत परिवारमा सबैको मुहारमा हाँसो देख्न पाउँदा आफै भाग्यमानी भएको अनुभूति गर्छिन् सुनिता । माघ ४ गते नेपाल मेडिसिटी अस्पतालमा गंगाको सफल कलेजो प्रत्यारोपण भयो । हाल दुवैको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ । बिहीबार सुनिता जेठानीको फलोअपसँगै आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि नेपाल मेडिसिटी अस्पताल पुगेकी थिइन् । अस्पतालको करिडोरमा हिँड्दा उनको अनुहारमा थकानभन्दा बढी सन्तोष झल्किन्थ्यो । ‘अहिले म शारीरिक रूपमा एकदमै ठीक छु,’ विकासन्युजसँग कुरा गर्दै उनी भन्छिन्, ‘तर डाक्टरले केही समय पूर्ण आराम गर्नुपर्ने भनेका छन् । त्यसैले दिदीसँगै काठमाडौंमा बसेकी छु । बेलाबेलामा अस्पताल आएर जाँच गराउनुपर्छ ।’ यस घटनाले देउरानी–जेठानीको सम्बन्ध केवल परम्परागत धारणा मात्र नभई माया, विश्वास र त्यागले भरिएको गहिरो बन्धन पनि रहेको देखिन्छ । नेपाली समाजमा देउरानी–जेठानीको सम्बन्ध निकै कम मात्रामा प्रगाढ भएको देखिन्छ । दुईबीच आपसी मनमुटाव, दूरी र असमझदारीको उदाहरण धेरै सुनिन्छ । तर सबै सम्बन्ध एउटै हुँदैनन् भन्ने कुरा गंगा र सुनिताको सम्बन्धले प्रमाणित गरेको छ । गंगाको स्वास्थ्यमा समस्या देखिँदा परिवारका अन्य सदस्यले पनि सहयोगी भावना नदेखाएका होइनन् । बुहारी, दिदी सबैजनाको जाँच गर्दा बिरामीसँग मेल खाएन तर सुनितासँग मेल खायो ।  सुनिता भन्छिन्, ‘भाग्यले नै होला, सबैको जाँच गर्दा दिदीसँग केही मिलेन, मेरो रगतदेखि सबैकुरा मेल खान गयो । घर परिवारबाट साथ पाएपछि ममा पनि आँट पलायो ।’ पोखराको हेम्जाकी ४८ वर्षीया गंगाकुमारी कुँवर लामो समयदेखि जन्डिसबाट पीडित थिइन् । विभिन्न अस्पतालमा उपचार गर्दा पनि रोग निको भएन । पोखरा, काठमाडौंका अस्पताल चहार्दौ गर्दा निको नभएपछि उनलाई ललितपुरको भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा पुर्‍याइयो ।   अस्पताल पुग्दा उनमा जन्डिसको मात्रा २५ पुगेको थियो भने पेट फुल्ने, पेटमा पानी जम्ने, हातखुट्टा सुन्निने समस्या देखा परिसकेको थियो । उनलाई खाना मन नलाग्ने र हिँड्न गाह्रो हुने जस्ता गम्भीर लक्षण देखिएका थिए । चिकित्सकीय परीक्षणपछि उनलाई अटो इम्युन हेपाटाइटिस भएको पत्ता लाग्यो, जसका कारण लिभर सिरोसिस भई कलेजो बिग्रिसकेको थियो । कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.रामबाबु शाहका अनुसार बिरामीमा अत्यधिक जन्डिस, लिभर फङ्सन टेस्ट असन्तुलित र पेटमा पानी जमेको थियो । यस्तो अवस्थापछि अस्पतालले तत्काल लिभर प्रत्यारोपण आवश्यक रहेको निष्कर्ष निकाल्यो। गंगाका परिवारलाई कलेजो दिने व्यक्तिको व्यवस्था गर्न भनियो । सुरुमा गंगाका दिदी, श्रीमान् र बुहारीको परीक्षण गरिएको भए पनि मेल नखाएपछि देउरानी सुनीताको परीक्षण गर्दा उनको रगतदेखि सबै कुरा मिल्न गयो । कलेजो दान गर्न मन भए पनि सुरुमा सुनितालाई निकै डर लागेको थियो । आफ्नो छाला चिरेर कलेजो निकाल्दा मलाई पो केही हुने हो कि भन्ने उनको मनमा थियो । तर उनको श्रीमान, छोरा माइतीपट्टीका आमाबुवा सबैले पूण्यको काम भनेपछि सुनिता पनि तयार भइन् । ‘सुरुमा त मलाई पनि डर लाग्यो नि, के हुन्छ कसो हुन्छ भन्ने भयो तर सबैले हौसला दिएपछि डर हरायो । त्यसपछि जे-जे अस्पतालले भन्यो, त्यो सबै गरियो, अहिले म पनि ठीक छु, दिदी पनि ठीक हुनुहुन्छ,’ सुनिताले भनिन् ।  प्रत्यारोपणपछि दाता सुनिता ८ दिनमा र जेठानी गंगा १५ दिनमा  डिस्चार्ज भए । हाल दुवै फलोअपमा छन् । नेपाल मिडिसिटी अस्पतालको कलेजो प्रत्यारोपण क्षेत्रमा कार्यरत शल्यचिकित्सक डा.रामबाबु शाह यो पारिवारिक बन्धन र चिकित्सा विज्ञानको उल्लेखनीय उदाहरण रहेको बताउँछन् । उनी यो घटनाले देउरानी–जेठानीबीच पनि गहिरो माया, त्याग र विश्वास हुन सक्छ भन्ने सन्देश समाजमा प्रवाह गरेको बताउँछन् ।  नेपार र भातका विभिन्न अस्पतालमा काम गरेका उनले दिदीले भाइ–बहिनी, छोराले आमा, आमाले छोराछोरीलाई अंगदान गरेर ज्यान जोगाएको देखे पनि देउरानीले जेठानीलाई अंग दान गरेको पहिलो पटक देखेको बताउँछन् ।   शाह भन्छन्, ‘मैले भक्तपुरमा रहेको शहिद धर्मभक्त अस्पतालमा २० वटा कलेजो प्रत्यारोपण गरेको थिएँ, त्यो बेला ज्वाइँले सासूलाई कलेजो दिएको देखेको थिएँ । भारतको अपोलोमा पनि चार वर्ष काम गरेँ तर त्यहाँ देउरानीले जेठानीलाई अंग दिएकोे देख्न पाइएन । यस्तो केस पहिलो पटक देखेको हुँ ।’ शाह देउरानीले जेठानीलाई पुनर्जन्म नै दिएको उल्लेख गर्दै यस घटनाले समाजलाई नयाँ सन्देश दिएको बताउँछन् । ‘हाम्रो समाजमा देउरानी–जेठानीको सम्बन्धलाई राम्रो नजरले हेरिँदैन । यो घटनाले सकारात्मक सन्देश दिने उनको भनाइ छ । नेपाल मेडिसिटीको हेपाटो–प्यान्क्रियाटो–बिलियरी तथा लिभर ट्रान्सप्लान्ट युनिटका प्रमुख डा.उमिदकुमार श्रेष्ठले कलेजो बिग्रिनुको कारण केवल मदिरा सेवन मात्र नभई  जन्डिस तथा पहिचान नभएका रोगहरूले पनि गम्भीर क्षति पुर्याउने बताए । फ्याटी लिभरले पनि समयमै उपचार नपाएमा कलेजो बिगार्न सक्ने भएकाले प्रारम्भिक पहिचानले गम्भीर क्षतिबाट जोगाउन सक्ने उनको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ ।           जिल्ला निर्वाचन कार्यालयमार्फत देशभभरका छ हजार ७४३ वटै वडामा स्वयंसेवक खटाउन लागिएको आयोगले जनाएको हो । बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये जो अनुभवी छ, तिनैलाई मतदाता शिक्षाका लागि स्वयंसेवक नियुक्ति प्रक्रिया सुरु भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।      यसका लागि आयोगले माघ १९ गते मतदाता शिक्षासम्बन्धी कार्यक्रम स्वीकृत गरिसकेको छ ।  स्वयंसेवकलाई मतदाता शिक्षामै केन्द्रित गर्नेगरी परिचालन गर्न लागिएको र मत बदर नहुनेगरी स्वयंसेवकले मतदातालाई शिक्षा दिइने सहायक प्रवक्ता जिसीले बताए ।       राष्ट्रियसभा सदस्य निर्वाचनमा खसेको मतसमेत बदर भएकाले पनि मतदाता शिक्षा दिनुपर्ने आवश्यकता आयोगले देखेको हो । मतदाता शिक्षा दिने स्वयंसेवकको छनोट र नियुक्ति गरेर सातै प्रदेशमा फागुन ३ गते अनुशिक्षण दिनेगरी तयारी गरिएको छ । अनुशिक्षणपछि फागुन पहिलो साता पुग्नेगरी देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा खटाइने आयोगले जनाएको छ ।    

बजारमा खानेतेल, ग्यास र चामलको मूल्य बढेपछि विभागले भन्यो-‘अनुचित नाफा नलिनू’

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेतेल, ग्यास र चामललगायत अत्यावश्यक उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गरी उपभोक्तालाई राहत दिन निर्देशन दिएको छ । बुधबार विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, पैठारीकर्ता र वितरकलाई बोलाएर अनुचित नाफा नलिई वस्तु तथा सेवा उपलब्ध गराउन निर्देशन दिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अवाञ्छित मूल्य वृद्धिलाई नियन्त्रण गरी बजारलाई प्रतिस्पर्धी र स्वच्छ बनाउने उद्देश्यले खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, पैठारीकर्ता र वितरकलाई बोलाई अनुचित नाफा नलिई वस्तु तथा सेवा उपलब्ध गराउन तथा अस्वाभाविक मूल्य वृद्धिलाई समायोजन गरी उपभोक्तालाई राहत दिन निर्देशन दिइएको हो । ’ विभागका अनुसार पछिल्लो समय दैनिक उपभोग्य वस्तु-खानेतेल, ग्यास र चामलमा अस्वाभाविक मूल्य वृद्धि र आपूर्तिमा कमी भएको भन्दै उपभोक्ता तह तथा सञ्चारमाध्यममार्फत गुनासोहरू बढ्दै आएका छन् । ती गुनासोप्रति विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न विभाग सधैं प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ । विभागले अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, बिक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवा प्रदायक फर्म तथा प्रतिष्ठानहरूमा अन्य सक्षम निकायसँग सहकार्य गरी निरन्तर संयुक्त अनुगमन गरिरहेको जनाएको छ ।  

बीमाको दायित्व बजेटभन्दा दोब्बर बढी, स्रोत सुनिश्चित नगरी खर्च नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमतिबिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताएकी छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिइन् । उनले बीमा बोर्डले स्रोतको सुनिश्चितता नगरी कार्यक्रम सञ्चालन गर्दा हाल वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । सरकारले रुखबाट पैसा नल्याउने र नागरिकले दुःखले कमाएर तिरेको करबाटै स्वास्थ्य सेवाको भुक्तानी हुने भएकाले बजेटको परिधिभित्र रहेर खर्च गर्नुपर्नेमा उनले जोड दिइन् । स्रोत सुनिश्चित नगरी जति मन लाग्यो त्यति सेवा दिँदै जाँदा प्रणालीमा समस्या आएको उनको भनाइ छ । उनले भनिन्, 'बीमाको पैसा मन्त्रालयले दिएको छैन भनेर समस्या देखाउनु भयो । अब मैले नेपाल सरकारले बीमाका लागि यो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्याएको रहेछ । वार्षिक बजेटको परिधिभित्र रहेर हामीले कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्यसभन्दा बाहिर जान पाइँदैन । त्यसभन्दा बाहिर जानुपर्‍यो भने अर्थ मन्त्रालयसँग सहमति लिनुपर्छ । अब हाम्रो बीमा बोर्डले स्रोतको सहमति पनि नलिने, स्रोत सुनिश्चित पनि नगर्ने र रकम खर्च गर्दै जाँदा दायित्व यति बढेको छ कि वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको छ ।' मन्त्री गौतमले संविधानले निःशुल्क स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा व्याख्या गरेको र यसको कार्यान्वयनको मुख्य जिम्मेवारी स्थानीय सरकारको भएको उल्लेख गरिन् । स्थानीय तहले स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउनुपर्ने धारणा राखिन् । स्वास्थ्य क्षेत्रको दिगो व्यवस्थापनका लागि वित्तीय अनुशासन र स्रोतको उचित बाँडफाँड आवश्यक रहेको उल्लेख गर्दै मन्त्री गौतमले बीमा बोर्डलाई जिम्मेवार बन्न आग्रह गरिन् ।

स्वास्थ्य बीमाको भुक्तानीमा समस्या देखिए महानगरले व्यहोर्ने मेयर महर्जनको घोषणा

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिकाले आफैं सो रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बीमाबापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै मेयर महर्जनले सरकारको ध्यानाकर्षण गराए । कुनै कारणवश भुक्तानी नभएर सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले व्यहोर्नुपर्ने उल्लेख गरे । महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पेमा महानगरपालिकाले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे । मेयर महर्जनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको र सो केन्द्र निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिए । उनका अनुसार यो केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले गुणस्तरीय सेवा प्राप्त गर्नेछन् र ललितपुर महानगर तथा पाटन अस्पतालबीचको यो सहकार्य मुलुकका अन्य ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यास हुनेछ । उनले भने, 'पाटन अस्पतालकै सुझाव र सल्लाहबमोजिम आवश्यक सुविधाहरू जडान गरिएको अर्को स्वास्थ्य केन्द्र निर्माण गरिरहेका छौं । निकट भविष्यमै सञ्चालनमा ल्याउने तयारी छ । त्यो केन्द्र खुलेपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानअन्तर्गत हामीले अझ राम्रो सेवा प्रवाह गर्न सक्छौं । मुलुकका ७५३ स्थानीय पालिकामध्ये ललितपुर महानगरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेर अघि बढाएको यो काम सम्पूर्ण पालिकाका लागि असल अभ्यास बनेको छ ।' मेयर महर्जनले ७५३ पालिकामध्ये ललितपुर महानगर उदाहरणीय पालिका बन्न सफल भएको पनि बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड एनसीएचएलमा आबद्ध, डिजिटल भुक्तानी सेवा सुरु

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सम्झौता गरी भुक्तानीसम्बन्धी कारोबारलाई स्वचालित बनाउँदै डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा वितरण सेवा सुरु गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा केयूकेएलका कार्यकारी निर्देशक अशोककुमार पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापछि केयूकेएलको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिएको छ । यसमार्फत केयूकेएलले आईपीएस र आरपीएस चेक प्रणाली प्रयोग गरी तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषलगायत विभिन्न प्रकारका भुक्तानी कारोबार सञ्चालन गर्न सक्नेछ । उक्त भुक्तानी केयूकेएलको बैंक खाताबाट सिधै लाभग्राही तथा ग्राहकको खातामा जम्मा हुने व्यवस्था गरिएको छ । साथै, आगामी दिनमा अन्य भुक्तानी सेवाहरू पनि क्रमिक रूपमा लागू गर्ने योजना रहेको जनाएको छ । एनसीएचएलका भुक्तानी प्रणालीहरूलाई एकीकृत इन्टरफेसका रूपमा ओपन एपीआई अवधारणामा विकास गरिएको एनपीआईमा हाल ५३ वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् । साथै, भुक्तानी सेवा प्रदायक, रेमिटेन्स कम्पनी, लघुवित्त, मर्चेन्ट बैंक तथा सरकारी तथा अर्धसरकारी संस्थासहित ११० भन्दा बढी गैर–बैंकिङ संस्था इन्डाइरेक्ट तथा प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । यस प्रणालीमार्फत सदस्य संस्थाहरूले आईपीएस र चेक क्लियरिङ सेवाको प्रयोग गर्न सक्नेछन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपत्यकाभित्र खानेपानी तथा ढल व्यवस्थापन सेवाको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएको छ । सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यसहित संस्थाले डिजिटाइजेशन अभियानलाई तीव्रता दिँदै आफ्नो बिलिङ तथा भुक्तानी प्रक्रिया स्वचालित बनाउने पहल थालेको जनाएको छ ।