विकासन्युज

शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न, १२.५० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा १०औँ साधारण सभा सम्पन्न भएको हो । सभाले सेयरधनीलाई कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै अब कम्पनीले सेयरधनीहरुलाई २.५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको हो । बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पुँजी बढेर ५ अर्ब ३९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ पुग्नेछ । पुँजीमा भएको वृद्धि आगामी वर्षका लागि उत्पादन तथा व्यवसाय विस्तार योजनामा उपयोगी हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ ।

रिलायन्सको आईपीओमा म्युचुअल फण्डको १८ गुणा बढी आवेदन

काठमाडौं । रिलाइन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को लागि निष्काशन गरेको आईपीओमा ‘ओभर सब्सक्राइभ’ हुँदै १८ गुणा बढी आवेदन परेको छ । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको ५ प्रतिशत अर्थात् ५७ हजार ७ सय ९८ कित्ता म्युचुअल फण्डको लागि छुट्याएको थियो ।  जसमा ९ लाख २४ हजार ७६८ कित्ताको लागि आवेदन परेको छ, जुन मागको १८ गुणा बढी हो । रिलायन्सले निष्काशन गरेको ५७ हजार ७ सय ९८ कित्ता सेयर प्राप्त गर्नका लागि सामूहिक लगानी कोषका ४५ वटा योजनाले आवेदन दिएका थिए । तीमध्ये ४१ योजनालाई सेयर वितरण गरिएको छ । नेपाली पुँजी बजारमा म्युचुअल फण्डलाई दक्ष र अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने एक वित्तीय औजार मानिन्छ । रिलायन्सको सेयर खरिद गर्न पुँजी बजारबारे जानकार संस्थाहरूमा देखिएको आकर्षणले कम्पनीको मजबुत वित्तीय अवस्था, भविष्यप्रतिको भरोसा र विश्वास पुष्टि गरेको छ । वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गरेको आईपीओमा पनि झण्डै गुणा बढी आवेदन परेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि सोमबार १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन गरेको थियो । निर्धारित अवधि (बिहीबार) सम्म ३६ हजार ८२ आवेदकले २० लाख १ हजार ४७० कित्ताको आवेदन परेको छ । नेपाली पुँजी बजारको इतिहासमा वैदेशिक रोजगारकर्ताहरूको आईपीओमा परेको यो सम्भवतः सबैभन्दा बढी आवेदन हो । रिलायन्सले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत वैदेशिक रोजगारकर्ताका लागि निष्काशन गरेको थियो ।  निर्धारित अवधिभित्र पूर्ण आवेदन नपरेमा पुस ७ सम्म लम्ब्याउन सकिने भए पनि मागभन्दा बढी आवेदन परेपछि निष्काशन अवधि लम्बिने छैन । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ । बुक बिल्डिङ निर्देशिका बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो ।  सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सोमबार आईपीओ निष्काशनको आधा घण्टामै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेर ‘ओभर सब्सक्राइभ’ भएको थियो । त्यसपछि पनि निर्धारित अवधिभर लगानीकर्ताको उत्साहमा कुनै कमी देखिएन ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिएका छन् । रिलायन्स स्पिनिङ मिल्स ३२ वर्ष लामो इतिहास बोकेको प्रतिष्ठित कम्पनी हो । कम्पनीले ४ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरेको छ, जसमध्ये करिब १ हजार ३०० महिला छन् ।  कम्पनीले वार्षिक ५० मिलियन अमेरिकी डलरभन्दा बढीको निर्यात गर्दै आएको छ ।  मंसिर पहिलो साता सार्वजनिक गरिएको लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कुल नाफा गरेको छ जबकि अघिल्लो आर्थिक वर्षमा यो अंक ८६ करोड ५० लाख ६० हजार ३२५ रुपैयाँ मात्र थियो ।  गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ थियो । खुद नाफामा साढे ९ गुणा बढी बृद्धि भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा अघिल्लो वर्षको तुलनामा करिब साढे ९ गुणा वृद्धि भएको छ । २०८०/८१ मा २.९५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी २०८१/८२ मा २७.८७ रुपैयाँ पुगेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौता बमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ ।  बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका हुन् ।  गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको घटनाको लागि जाँचबुझ आयोग गठन गरेको थियो ।  उनका अनुसार सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत नेपाल न्याय सेवा कानुन समूह राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई निजामति सेवा ऐन, २०४९ को दफा ९ को उपदफा १ बमोजिम नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।  जेन–जी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच मंसिर २४ गते भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ ।  साथै अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको बताए । उक्त सम्झौता सम्वद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय भएको पनि मन्त्री खरेलले जानकारी दिए । सरकारले समाजकल्याण परिषद्को रिक्त सदस्यसचिव पदमा नियुक्त गर्ने निर्णय भएको पनि उनले बताए ।

भिजिट भिसा प्रकरणः सहसचिव भट्टराई र अधिकृत अर्यालसहित ७ विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । भिजिट भिसा दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीवार अख्तियार भिजिट भिसा दुरुपयोग प्रकरणमा सहसचिव भट्टराईसहित ७ जना र दुईवटा कम्पनीलाई समेत प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले ७ चैत  २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो ।  विशेष अदालका उपरजिस्ट्रार तथा प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार सहसचिव भट्टराईसँगै अधिकृत यज्ञराज अर्याल, ग्रिन लाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिलि होलिडेका सञ्चालक दीपक भण्डारी, ग्रिन लाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल, जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ ।  अभियोगपत्रअनुसार प्रतिवादीहरुले २५७ जनालाई विदेश पठाएबापत बद्नियतपूर्वक सेटिङ गरी रिसवट लिई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको दाबी रहेको उनको भनाइ छ । उनले भने, ‘आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित ७ जना व्यक्ति र दुई वटा कम्पनी समेतलाई प्रतिवादी बनाई घुस, रिसवत तथा सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ । २५७ जनालाई विदेश पठाएवापत बद्नियतपूर्वक सेटिङ गरी रिसवट लिई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको मुख्य दाबी छ ।’ भिजिट भिसा दुरुपयोगको प्रकृतिअनुसार बिगो माग दाबी गरिएको समेत उनले जानकारी दिए ।

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  नेपालका लागि उज्वेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी राजदूत सेना लतिफ, ताजिकिस्तानका राजदूत लुक्मोर बोबोकालोन्जोदा, आइसल्याण्डका राजदूत बेनेडिक्ट हेओस्कुल्द्सन र क्युवाका राजदूत हुवान कार्लोस मार्सान अगुइलेराले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।  उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।  नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। 

नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा ऋषी प्रसाद न्यौपाने नियुक्त

काठमाडौं । काभ्रेपलाञ्चोकस्थित नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सहायक प्रमुख कार्यकारी अधिकृत ऋषी प्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले न्यौपानेलाई कायम मुकायम सीईओ पदको जिम्मेवारी दिने निर्णय गरेको हो । यस अघि कामु सीईओ भागनागरायण साहुले मंसिर २४ गते स्वैच्छिक अवकाश लिएपछि उक्त जिम्मेवारी न्यौपानेलाई सुम्पिएको हो । न्यौपानेले २०५५ सालमा लघुवित्त क्षेत्रमा सेवा प्रवेश गरी निर्घन उत्थान लघुवित्त वित्तीय संस्थामा फिल्ड सहायक पदबाट करियर सुरु गरेका थिए । २०६१ सालमा नेरुडे लघुवित्तमा अधिकृत पदमा प्रवेश गरेका न्यौपाने यसअघि जनशक्ति व्यवस्थापन विभाग प्रमुख र कम्पनी सचिवको रूपमा पनि कार्यरत रहेकाछन् । मर्जरपछि उनले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण विभागको प्रमुख लगायत कार्यकारिणी तहका जिम्मेवारीहरू सफलतापूर्वक बहन गरिसकेका छन् । करीब अढाई दशक लामो अनुभव भएका न्यौपाने लघुवित्त क्षेत्रका अनुभवी पेशेवर हुन् । सञ्चालक समितिको विश्वास अनुसार, प्रमुख कार्यकारी अधिकृतका रूपमा उनले नियामकीय निर्देशनहरू पालना गर्दै संस्थाले उत्कृष्ट सेवा प्रदान गर्ने, सेयरधनीलाई यथोचित प्रतिफल दिने र कर्मचारी व्यवस्थापनलाई सुदृढ बनाउने काम गर्नेछन् । न्यौपानेले आफ्नो कार्यकालमा लघुवित्तको सन्तुलित व्यापार विस्तार, ग्राहक सेवामा नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङ सुविधा उपलब्ध गराउने र लगानीकर्तालाई उचित प्रतिफलसहित बजारमा संस्थाको सम्मानजनक उपस्थिति अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारले अनुमोदन गर्यो जेनजी समूहसँग भएको सम्झौता

काठमाडौं । सरकारले जेनजी समूहसँग भएको सम्झौतालाई अनुमोदन गरेको छ ।  नेपाल सरकारले जेनजी समूहसँग बुधवार मात्रै सम्झौता गरेको थियो ।  उक्त सम्झौता राजपत्रमा प्रकाशन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

वेवारिसे अवस्थामा करिब एक टन गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।      इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए । घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उनले बताए ।