आगलागीको सूचना आएको एक मिनेटभित्रै दमकल परिचालन गरिने

काठमाडौं । दसैँ, तिहारलगायतका चाडपर्वमा हुनसक्ने सम्भावित आगलागी तथा विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

चाडपर्वका समयमा आगलागीको जोखिम बढ्ने भएकाले काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागअन्तर्गतको वारुण यन्त्र कार्यालयले विपद् व्यवस्थापनका उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ । महानगरका फायर कमाण्डर तथा नगर प्रहरी वरिष्ठ नायव निरीक्षक नरेशराज कुँवरले वारुण यन्त्र कार्यालयले हाल तीन वटा स्थानबाट सेवा सञ्चालन गरिरहेको जानकारी दिए ।

उनले तीन वटै स्थानमा दमकल, विपद् व्यवस्थापनका उपकरण तथा जनशक्तिलाई आवश्यक परेको समयमा तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको बताए। कुँवरकाअनुसार आगलागी वा अन्य विपद्को सूचना प्राप्त हुनासाथ प्रतिकार्यका लागि टोली एक मिनेटभित्र कार्यालयबाट परिचालन हुने व्यवस्था मिलाइएको छ । उपत्यकाका विभिन्न स्थानमा हुने आगलागी तथा विपद्का घटनामा पाँच मिनेटभित्र पुग्ने लक्ष्यसहित तयारी रहेको उनले बताए । उनले आगलागी भएको स्थान र महानगरपालिकाका दमकल स्टेसनबीचको दूरीका आधारमा घटनास्थलमा पुग्ने समय फरक पर्न सक्ने भए पनि विपद्को सूचना प्राप्त भएपछि तत्काल परिचालन हुने गरी जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखिएको दोहोर्याए। उनले चाडपर्वका समयमा घर, पसल तथा सार्वजनिक स्थानमा विद्युतीय बत्ती, दियो, ग्यासलगायतका सामग्रीको प्रयोग बढ्ने भएकाले आगलागीको जोखिम पनि बढ्ने बताए । विशेषगरी दसैँमा ग्यासका कारण आगलागी हुने सम्भावना बढी रहने र तिहारमा विद्युतीय उपकरण तथा बत्तीको प्रयोगका कारण आगलागी हुन सक्ने जोखिम बढ्ने समेत बताए ।

 उनले दसैँको समयमा खाना पकाउन ग्यासको प्रयोग बढी हुने भएकाले ग्यास चुहावट तथा त्यसबाट हुन सक्ने आगलागीप्रति पनि सचेत रहन सबेमा आग्रह गरे ।

उनले भने, ‘दसैँ, तिहारलगायतका चाडपर्वहरूमा नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिनको लागि हामीले सोहीअनुसारको ड्युटी व्यवस्थापन गरेका छौँ । काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन विभागअन्तर्गत रहेको वारुण यन्त्र कार्यालय हाल हामीले तीन वटा स्थानबाट सञ्चालन गरेका छौँ । आवश्यक परेको खण्डमा तीनै वटा स्थानमा विपद् व्यवस्थापनको जनशक्ति र वारुण यन्त्र उपकरणहरूलाई तयारी अवस्थामा रहेका छौँ । हामी अत्यावश्यक परेको खण्डमा विपद् व्यवस्थापनका लागि ६, ७ वटा दमकल र त्यसलाई चाहिने जनशक्ति समेत तयारी अवस्थामा राखेका छौँ । हाम्रा तीन वटा स्टेसनभन्दा आगलागी भएको घटस्थालको दुरीअनुसार हामी पुग्छौँ । यद्यपि हामीले आगलागी भएको घटना प्राप्त हुने बित्तिकै अथवा अन्य विपद्का घटना हुने बित्तिकै प्रतिकार्यको लागि हामी १ मिनेटभित्र त कार्यालयबाट कार्यालयबाट निस्किसकेका हुन्छौँ । उपत्यकाका जुनसुकै ठाउँमा त्यस्तो घटेको भए पनि पाँच मिनेटभित्र पुग्नेगरी हामीले तयारी गरेका छौँ । दसैँ, तिहारमा हामीले बढीभन्दा बढी इलेक्ट्रोनिक इक्युपमेन्ट्सहरू, बत्तीहरू, दियोहरू प्रयोग गरेका हुन्छौँ ।’

विद्युतीय उपकरण असुरक्षित रूपमा प्रयोग गर्दा आगलागी हुनसक्ने भएकाले बत्ती जडान तथा सञ्चालन गर्दा सुरक्षित विधि अपनाउन समेत सबैमा आग्रह गरे । 

Share News