लुम्बिनी विकास कोषको उपाध्यक्षमा छोइङको नियुक्ति विवादमा, निर्णय फिर्ता लिन माग

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाएका छन् । उनले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

खानले लुम्बिनीको विकास, संरक्षण र प्रवर्द्धनका लागि स्थानीय भावना बुझ्ने, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने बताए। लुम्बिनीको महत्त्व र स्थानीय जनताको भावनालाई बेवास्ता गर्दै सरकारले विवादित व्यक्तिलाई नियुक्त गरेको उनको आरोप छ । 

खानले डोल्माको नागरिकता र विदेशबाट आएको रकमको स्रोतबारे सार्वजनिक रूपमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले सन् २०१९ मा हङकङबाट १६ लाख ४९ हजार ९४० अमेरिकी डलर नेपाल भित्र्याइएको विषयमा प्रश्न उठाउँदै त्यसको स्रोत र वित्तीय पारदर्शिताबारे स्पष्ट पार्नुपर्ने बताए । उनकाअनुसार उक्त रकमको विषयमा विगतमा बैंक खाता रोक्का गरी अनुसन्धान अघि बढाइएको थियो । नागरिकतासम्बन्धी विवादमा समेत सम्बन्धित निकायले छानबिन गर्नुपर्ने उनको माग छ । खानले यी विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताउँदै कानुन सबै नागरिकका लागि समान हुनुपर्नेमा जोड दिए । 

खानले लुम्बिनीमा विगतदेखि नै अनियमितता हुँदै आएको आरोप समेत लगाए । उनले लुम्बिनी क्षेत्रका पुरातात्त्विक इँटा विक्री भएको, पीपलको बोट काटेर लगिएको, प्राचीन मन्दिरको मौलिक स्वरूप परिवर्तन गरिएको तथा सम्पदा संरक्षणमा लापरबाही भएको दाबी गरे । त्यस्तै, लुम्बिनीको जीवित सम्पदा क्षेत्रमा शुल्क उठाइएको र भगवान् बुद्धसँग सम्बन्धित अष्टधातु काठमाडौँको संग्रहालयमा राखिएको विषयमा पनि उनले प्रश्न उठाए । यी विषयमा सम्बन्धित निकायले छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । 

उनले भने, ‘लुम्बिनीवासीको चाहना, भावना, यहाँको माटोसँग जोडिएको र स्थानीय समस्या बुझेको व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ भन्ने हाम्रो सुझाव थियो । विरोधको अर्को कारण नागरिकता प्रकरण र स्रोत नखुलेको रकमसम्बन्धी विषय हो, जसलाई अघिल्लो सरकारले ढाकछोप गरेको हाम्रो आरोप छ । सरकारले भ्रष्टाचारका पुराना फाइल खोल्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयनमा प्रश्न उठेको छ । नेपालभरिका करिव ६०० व्यक्तिले आवेदन दिएको अवस्थामा निष्कलंक र विवादरहित व्यक्तिलाई छनोट गर्न सकिने विकल्प हुँदाहुँदै अन्तिम समयमा निर्णय गर्नु र छ महिनासम्म प्रक्रिया अघि नबढाउनु पनि शंकास्पद देखिन्छ ।’

खानले लुम्बिनीको विकासका नाममा हुने अनियमितता रोक्नुपर्ने बताउँदै बुद्धको नाममा राजनीति र आर्थिक लाभ लिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । उनले लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्व जोगाउनु नेपाली नागरिकको साझा दायित्व भएको उल्लेख गरे । खानले सरकारले डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय तत्काल खारेज गर्नुपर्ने माग गरे । सरकारले माग सम्बोधन नगरे आन्दोलनलाई निरन्तरता दिने उनले चेतावनी दिए । उनले लुम्बिनीको संरक्षण र विकासका लागि योग्य, निष्कलंक तथा पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिँदै नियुक्तिबारे सरकार गम्भीर हुनुपर्ने बताए । गायिका आनी छोइङ डोल्मालाई मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

Share News