दशैंमा यात्रुको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालन

काठमाडौं । दशैंको अवसरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । सार्वजनिक यातायातका साधन कम चल्ने समयमा यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले दुई वटा बस सञ्चालन गरिएको हो ।

सशस्त्र प्रहरी बलका अनुसार निःशुल्क बस सेवा आजदेखि लगातार तीन दिनसम्म सञ्चालन हुनेछ । बस बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म चल्ने व्यवस्था मिलाइएको छ ।

उपत्यकामा सञ्चालन हुने बसमध्ये एउटा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुटेर बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा दिनेछ ।

त्यस्तै, अर्को बस प्रधान कार्यालयबाटै छुटेर सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ।

दशैंका बेला सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुँदा यात्रुले आवतजावतमा समस्या भोग्नुपर्ने अवस्थालाई सहज बनाउन सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ। 

Share News