विकासन्युज

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ४ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ पुगेको छ । बिहीबार भने सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ कायम थियो । बिहीबार सुनको मूल्य ९ हजार ५ सयले घटेको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २ सय ७० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ८ सय २८ र त्यति नै परिमाणको सेतो धातु ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

वाणिज्य विभागले गर्‍यो दुई फर्मलाई नगद जरिवाना

काठमाडौं । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ ।  विभागले नियमित अनुमगनका क्रममा कैफियत देखिएपछि श्रेष्ठ खाद्य स्टोर काठमाडौं महानगरपालिका–३० मैतीदेवीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ भने घिमिरे रिजन किनारा स्टोर्स टोखा नगरपालिका–७ लाई पनि १० हजार रुपैयाँ नै जरिवाना गरेको छ ।   ब्लास्ट फेसन कलेक्सनलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, विभागले थप १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको समेत उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको जनाएको छ ।

यस्तो छ शुक्रबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रूपैयाँ ११ पैसा र बिक्रीदर १७० रूपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रूपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८६ रूपैयाँ ३२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रूपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ४३ पैसा र बिक्रीदर १०५ रूपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपैयाँ २८ पैसा र बिक्रीदर ११३ रूपैयाँ ७५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ७९ पैसा र बिक्रीदर २० रूपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५५ पैसा र बिक्रीदर चार रूपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८४ पैसा र बिक्रीदर नौ रूपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६ रूपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ७८ पैसा र बिक्रीदर २२ रूपैयाँ ८८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ४७ पैसा र बिक्रीदर १८ रूपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रूपैयाँ १२ पैसा र बिक्रीदर ४७४ रूपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ३० पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रूपैयाँ ७८ र बिक्रीदर ३७६ रूपैयाँ ३४ पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।   

म्याग्दीमा दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा महावीर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको पदबाट मनोनयन दर्ताका दिन राजीनामा दिएर पुख्यौली थलोमा चुनाव लड्न आएका पुनको सक्रियताले यहाँको राजनीतिमा तरङ्ग ल्याएको छ । राष्ट्रिय राजनीतिमा सृजना भएको फरक परिवेश, नयाँ राजनीतिक शक्तिहरूको उदय, प्रतिस्पर्धी उम्मेदवारको प्रभाव तथा सम्बद्ध राजनीतिक दल तथा उम्मेदवारहरूको रणनीतिले म्याग्दीको चुनावी परिणामप्रति चासो बढेको बेनीका धनञ्जयकुमार श्रेष्ठ बताउछन् । 'विगतका चुनावमा राष्ट्रियस्तरमा ओझेलमा पर्ने म्याग्दीको चुनावलाई यसपालि रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनको उम्मेदवारीले चर्चामा ल्याएको छ', उनले भने, 'राजनीतिक दलहरूको साङ्गठनिक आधार र स्वतन्त्र उम्मेदवारको प्रभावका कारण यसपालि म्याग्दीको चुनावलाई रोचक बनाएको हो ।' नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले द्वन्द्वकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति क्षेत्रबहादुर घिमिरेलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उम्मेदवार बनेका छन्। सार्वजनिक रूपमा स्वतन्त्र उम्मेदवार पुनलाई सघाउने घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाको उम्मेदवारी कायमै छ । एमालेका श्रेष्ठ दोस्रोपटक उम्मेदवार बनेका हुन् भने बाँकी सबै पहिलोपटक प्रतिस्पर्धामा उत्रिएका हुन् । विसं २०७४ यता यसपालि दलहरूबीच एक्लाएक्लै गठबन्धन नगरी प्रतिस्पर्धा हुनलागेको हो । विसं २०७९ मा प्रतिनिधिसभामा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका राजनीतिक दलहरूको गठबन्धनबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) विजयी भएका थिए । प्रदेशसभाको १ (१) र (२) मा गठबन्धनबाट माओवादीका हरि भण्डारी र रेशम जुग्जाली (सुविन) निर्वाचित भएका थिए । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका भूपेन्द्र थापा तत्कालीन वाम गठबन्धनबाट विजयी हुँदा प्रदेशसभाको १ (१) मा माओवादीका विनोद केसी र (२) मा एमालेका नरदेवी पुन विजयी भएका थिए । विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा एमालेका हालका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा विजयी भएका थिए। विसं २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा माओवादीका गोविन्द पौडेल, २०५६ को संसदीय चुनावमा नेपाली कांग्रेसका नारायणसिंह पुन र त्यसअघि एमालेकै निल पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले १८ हजार २७३, नेपाली कांग्रेसले १३ हजार ६९३, नेकपा (माओवादी केन्द्र)ले नौ हजार ७०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन हजार ५७९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक हजार २५३ र नेकपा एकीकृत समाजवादीले २८५ मत पाएका थिए । विसं २०७९ मा माओवादी, एकीकृत समाजवादी, जनमोर्चासहितका दलहरूको सर्मथन पाएका नेपाली कांग्रेसका गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले २० हजार १८९ मत पाएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकवटा निर्वाचन क्षेत्र र छवटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् । ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र रहेका जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले बताए । उम्मेदवारहरू मतदाता, कार्यकर्ता घेटघाट र घरदैलोका लागि गाउँ पसेका छन् । राजनीतिक गतिविधिले ग्रामीण क्षेत्रमा चहलपहल बढाएको छ । धवलागिरि गाउँपालिका–७ धारापानीका कर्णबहादुर थापा सबै दल र उम्मेदवारका कुरा सुनेर निर्णय लिने बताउछन् । 'भोट माग्न आउने सबै उम्मेदवारलाई स्वागत, सम्मान गर्ने र उनीहरूका योजना सुन्ने हो', उनले भने, 'हामी जनताको मन र विश्वास जित्ने उम्मेदवारले मत पाउँछ ।' अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका खगवीर पाइजा मतदाताहरू सबैका विचार र योजना सुनेर निर्णय लिने मनस्थितिमा रहेका बताउछन् । म्याग्दीका उम्मेदवारहरूले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने, ढिलासुस्ती हटाउने, कानुन, बजेट र योजनामा जिल्लावासीको भावना, माग र आवश्यकतालाई समेट्ने प्रतिबद्धता जनाएका छन् । रासस

बैतडी बस दुर्घटना : मृतकको सङ्ख्या १३ पुग्यो

बैतडी । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।   बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट  बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो ।  बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, सोही स्थानका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, बझाङको जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला, बैतडीको पुर्चौडी–७ निवासी ४० वर्षीया  पुष्पा अवस्थीको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको सनाखत हुन बाँकी छ ।  डडेल्धुरा अस्पतालमा बझाङको बित्थडचिर पालिका –७ का  १७ वर्षका विसनदत्त जोशी, सोही स्थानका २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षका किसनदत्त जोशी, केदारस्यु पालिका–७ बस्सीका  २७ वर्षका केशवराज भट्ट र बैतडीको पुर्चीडी नगरपालिका ७ का  १५ वर्षीय सुशील जोशीको मृत्यु भएको हो ।  दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ । उक्त बसमा वरवधु सवार थिएनन् । रासस  

किबी किलोको २६० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० छ ।  यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ७०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ४०, बन्दा (नरिबल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु ४५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ५०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २२, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।  त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु २२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १६०, टाटे सिमी प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १९०, लौका प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ७० तय गरिएको छ । रायोसाग प्रतिकिलो रु ३५, पालुंगो प्रतिकेजी रु ५०, चमसुर प्रतिकिलो रु ५०, तोरीसाग प्रतिकिलो रु २०, मेथी प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ८०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु २२०, रातो बन्दा प्रतिकिलो रु १३०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २२०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ७५, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रूखटमाटर प्रतिकेजी रु २५० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १८०, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३२०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ४४०, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १३०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यस्तै, अमला प्रतिकिलो रु ११०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु ८०, खुर्सानी हरियो ९अकबरे० प्रतिकिलो रु ५५०, भेडे खुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,००० ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० कायम छ ।

‘सिंहदरबार जलाएको’ भनी अन्तवार्ता दिने गौतम पक्राउ

काठमाडौं । सिंहदरबार जलाएको भनी सञ्चारमाध्यममा अन्तर्वार्ता दिने व्यक्ति पक्राउ परेका छन् । भदौ २४ गतेको प्रदर्शनमा सिंहदरबारमा आगजनी गरेको बताउने चितवनका ३६ वर्षीय महेन्द्र गौतम पक्राउ परेका हुन् । उनले अन्तर्वार्तामा भनेका छन्, ‘सिंहदरबारको गेट तोडेर युवाशक्ति सबै भित्र पसेर गृहमन्त्री कार्यालयमा सबैतिर आगो लगाएर भ्याइसक्यौं ।’ त्यसैगरी, काठमाडौं जिल्ला अदालतबाट उनलाई आपराधिक उपद्रव गर्न नहुने कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार आगजनी गर्न उक्साउने, भीडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिने अपराधमा संलग्न गौतमलाई पक्राउ गरिएको हो ।

सर्लाहीको लघुवित्तमा लुटपाट, लुटेराले सीसीक्यामेराको हार्डडिस्कसमेत लगे

काठमाडौं । सर्लाहीमा रहेको ‘छिमेकी’ लघुवित्तमा नकावधारीको समूहले लुटपाट गरेका छन् । बिहीबार अपरान्ह ४ बजे लालबन्दीमा रहको छिमेकी लघुवित्तमा करिब ८७ हजार रुपैयाँ लुटपाट  भएको हो । चार–पाँच जनाको समूह आएर कालो मास्क लगाएकाले लुटपाट गरेको सर्लाही प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार लुटेराको समूहले लघुवित्तका कर्मचारीलाई घाइते बनाई बाहिरबाट चाबी लगाएका थिए ।   लुटेराले कर्मचारीको एकथान मोबाइल लगेका छन् । लघुवित्तका एक कर्मचारी नवराज श्रेष्ठसमेत घाइते भएका छन् । लुटेराहरूले सीसीक्यामेराको हार्डडिस्कसमेत लिएर भागेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरीका अनुसार लुटेराको खोजी कार्य भइरहेको छ ।