सर्लाहीको विष्णु गाउँपालिकाबाट नक्कली नोटसहित एक जना पक्राउ
काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी टोलीले बुधबार राति खानलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एक वर्षमै सवा करोडले लिए सेवा, स्रोत अभावले स्वास्थ्य बीमा संकटमा
काठमाडौं । अघिल्लो आर्थिक वर्षमा १ करोड २५ लाखले अस्पतालमै पुगेर स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले औसतमा एउटै मान्छे ५ पटक अस्पताल गएर सेवा लिएको जानकारी दिए । २५ लाख मान्छेले एकपटक मात्र अस्पताल पुगेर सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डले आयोजना गरेका एक कार्यक्रममा उनले अस्पतालमा गएर स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिनेको संख्या ठूलो मात्रामा बढेको बताए । काफ्लेका अनुसार यो तथ्यांक प्रत्येक वर्ष बढ्दै गएको छ । कार्यकारी निर्देशक काफ्लेले गुणस्तरीय सेवा बढाउन र लागत घटाउन नेपालमा स्वास्थ्य बीमाले नै निर्णय भूमिका खेल्ने समेत बताए । उनका अनुसार बीमा कार्यक्रममार्फत कभरेज बढाउनका लागि कामहरू भइरहेको छन् । धेरै भन्दा धेरै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने प्रयास भइरहेको छ । स्वास्थ्य बीमा ऐन, २०७४ लाई सुधारेर लैजान कामहरु समेत भइरहेको उनले जानकारी दिए । काफ्लेका अनुसार नयाँ दररेटहरू निर्धारण गर्ने समेत तयारी छ । अहिलेका प्याकेजहरूलाई समेत सुधारेर अघि बढिनेछ भने अब प्रत्येक स्वास्थ्य सेवा सुविधाको बारेमा यसै आर्थिक वर्षबाटै क्याम्पेन सञ्चालन गरिनेछ । अहिले स्वास्थ्य सेवा उपलव्ध गराएका अस्पताललाई समयमै भुक्तानी गर्न स्रोतको चरम अभाव परिरहेको छ । बीमा कोषलाई बलियो बनाएर प्रभावकारी रूपमा सेवा सञ्चालनका लागि गृहकार्य भएको उनले बताए । स्रोतको अभावका कारण कार्यक्रम प्रभावकारी बन्न कठिन भइरहेको सरोकारवालाहरू बताउँछन् । धुलिखेल अस्पतालका डाक्टर बलाराम मल्लले स्वास्थ्य बीमामार्फत प्रवाह हुने स्वास्थ्य सेवा गुणस्तरीय गराउन बोर्ड लाग्नुपर्ने बताए । उनका अनुसार गुणस्तरीय सेवा दिन नसके बीमित निराश बन्नुपर्ने अवस्था आउने र स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन सक्दैन । उनले स्वास्थ्य बीमाले भुक्तानी गर्नुपर्ने रकम समयमै नदिँदा पनि समस्या हुने कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्य बीमा बोर्ड परनिर्भर बन्दा पनि कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए । उनका अनुसार वार्षिक पौने ४ अर्ब प्रिमियर बोर्डले उठाइरहेको छ तर १४ अर्ब अस्पतालहरूलाई तिर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष १० अर्ब स्वास्थ्य बीमाले तिर्दै जाँदा धान्नसक्ने स्थिति नरहेको उनको भनाइ छ । उनका अनुसार नेपालमा स्वास्थ्य सबैको पहुँचमा हुनुपर्छ । पहुँच विस्तारका लागि आवश्यक जनशक्ति हुन जरुरी छ भने स्वास्थ्य संस्थाहरूको पहुँच पनि विस्तार हुनुपर्छ । अहिले ६० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थाहरू सहरी क्षेत्रमा स्वास्थ्य संस्थाहरू छन् । बाँकी १५–२० प्रतिशत स्वास्थ्य संस्थाहरूं ग्रामीण क्षेत्रमा छन् । ग्रामिण भेगमा ६०–६५ प्रतिशत जनता छ । त्यहाँ अस्पतालको पहुँच नहुँदा सहरी क्षेत्रका स्वास्थ्य संस्थाबाट उनीहरुले सेवा लिनुपर्ने बाध्यता रहेको डाक्टर श्रेष्ठले बताए । स्वास्थ्य सेवा वितरणमा अहिले एकदमै असमानता रहेको उनको भनाइ रहेको छ । श्रेष्ठका अनुसार स्वास्थ्य विमाको प्रथम सेवा बिन्दुलाई स्थानीय तहसँग समन्वय गरेर विस्तार गर्नुपर्छ । प्रथम सेवा बिन्दुबाटै धेरै कुराहरु त्यही समाधान होस् भन्ने हिसावले राखिएको समेत उनले बताए ।
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण गरेसँगै मेडिकलतर्फको बिएससी नर्सिङको कक्षा सञ्चालन हुने भएको छ । नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार बिएससी नर्सिङ विषयको पाठ्यक्रम तयार गरिसकेकाले कोशी प्रदेश सरकारको प्रतिबद्धताअनुसार यथाशीघ्र धनकुटा जिल्ला अस्पतालमा मनमोहनले अगामी शैक्षिकसत्रदेखि उक्त कक्षा सञ्चालन गराउने तयारी गरेको हो । विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले प्रदेश सरकारले गत जेठमा निर्णय गरेर धनकुटा शिक्षण अस्पतालका लागि मनमोहनलाई हस्तान्तरण गर्न प्रक्रिया थालिसकेकाले सम्झौता गरेर टुङ्गो लागेपछि बिएससी नर्सिङको कक्षा आगामी शैक्षिक सत्रदेखि सञ्चालन गरिने जानकारी दिए । उनले भने, ‘आगामी माघभित्रमा हामीले धनकुटा अस्पताल प्राप्त गरिसक्छौं र वैशाखभित्र नर्सिङतर्फको पाठ्यक्रम पनि सञ्चालन गरिसक्नेछौं ।’ प्रदेश सरकारले विसं २०७६ मा स्थापना गरेको मुलुकको पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले शिक्षण अस्पताल प्राप्त गर्न ढिलाइ हुँदा मेडिकलतर्फका कार्यक्रम सञ्चालन गर्न नसकिएको जनाएको छ । स्वास्थ्य प्राविधिक कार्यक्रमका लागि पाठ्यक्रम निर्माण गरिसके पनि अस्पताल प्राप्त नहुँदा सरकारको अन्तिम सम्झौताको निर्णय पर्खेर बसेको उपकुलपति डा पोखरेलले बताए । ‘सम्झौताका लागि मनमोहनले कोशी सरकारलाई सम्झौतापत्रको खाका पनि बुझाइसकेको छ । तर, सरकारको स्वास्थ्य मन्त्रालयले उक्त सम्झौता प्रक्रिया अगाडि बढाएको छैन, उनले भने । मनमोहन प्राविधिक विश्वविद्यालयले स्कुल अफ मेडिकल एण्ड हेल्थ साइन्सबाट चार वर्षे बिएससी नर्सिङ कार्यक्रमका लागि नयाँ पाठ्यक्रम चिकित्सा सेवा आयोगले तोकेको मापदण्डअनुसार तयार गरिसकेको छ । पाठ्यक्रमको चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा सुजबाबु मरहठा उपस्थित भएर निरीक्षण पनि गरिसकेका छन् । मनमोहन प्राविधिक विश्वविद्यालयले हालसम्म आफ्नै आङ्गिक क्याम्पसमार्फत इञ्जिनिरिङतर्फ सिभिल, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सतर्फ स्नातक, फार्मेसी, पाँच वर्षे बीबीएरएलएलबी स्नातोकोत्तरतर्फ एलएलएम र हस्पिटल म्यानेजमेन्ट विषयको अध्यापन गराउँदै आएको छ ।
राजेश हमाल अभिनित चलचित्र ‘प्रवासी जीवन’ फागुन १४ गते सार्वजनिक हुने
काठमाडौं । महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ । नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा फिल्मले बोकेको छ । फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गरेका छन् । प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएर फिल्म तयार गरिएको निर्देशक मध्येका एक श्याम क्षेत्रीले बताए । उनले भने, ‘प्रवासमा पुग्ने जो कोहीले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ । हामीले भौतिक रूपमा देखिने दुःखका धेरै चर्चा गर्छौं तर मानसिक रुपमा भोहिरहेको यातनालाई वे–वास्ता गर्ने गरेका छौं । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौं ।’ उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने बताए । फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एन्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् । ‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको उक्त फिल्ममा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन् । अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको उक्त फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको छ । ‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’, ‘रोटन ब्लड’ जस्ता फिचर तथा छोटा फिल्म निर्माण तथा छायांकन गरेका रविन आचार्य निर्माता रहेको उक्त फिल्मको विषयवस्तुले नै कलाकारलाई आकर्षित गरेको हो । निर्माता आचार्यले अभिनेता हमाल फिल्मसँग जोडिनुलाई विषयवस्तुकै आकर्षणका रुपमा प्रस्ट्याए । ‘यसको विषयले एउटा सचेतना पनि दिन्छ, यो प्रवासी जीवनको उज्यालो र अध्यारोसँग जोडिएको कथा हो । हामीले निकै कम चर्चा गर्ने मानसिक स्वास्थ्यको समस्या र त्यसपछिको सुन्दर जीवनले प्रेरणा दिन्छ भन्ने हामीलाई लागेको छ । यो प्रवासमा रहेका आफ्नो परिवारको बारेमा बुझ्न पनि हेर्नु पर्ने एउटा फिल्म बनेको छ,’ निर्माता आचार्यले भने । सार्वजनिक पोस्टरको पृष्ठभूमिमा लेखिएको ‘मेन्टल हेल्थ’, ‘एञ्जाइटी’, ‘थेरापी’ जस्ता शब्दले फिल्मको विषयलाई सङ्केत गरेको छ । फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् । यसमा अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व सङ्गीत, देवी खतिवडाले शृङ्गार, राज शङकर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले सङ्गीत सिर्जना गरेका छन् भने प्रमोद खरेल र प्रताप दास जस्ता गायकले स्वर दिएका छन् । फागुन १५ देखि देशव्यापी प्रदर्शन हुने उक्त फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ
भियतनामका व्यवसायीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायीबीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ । बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरूले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् । सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्यलाई अगाडि बढाउनका लागि आग्रह गरे । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै उनले अब दुई देशबीच आर्थिक सहकार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘दुई देशबीच आर्थिक सहकार्यको क्षेत्रमा ठूलो सम्भावना छ, म भियतनामका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै नेपालबाट निर्यातको ठूलो सम्भावना रहेको जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु ।’ उनले दुई देशका अर्थतन्त्र एकआपसमा पूरक बन्न सक्ने पनि बताए । भियतनाममा कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको नेपाली बजारमा सम्भावना रहेको पनि उनको भनाइ थियो । नेपालमा पर्यटन क्षेत्रमा विशेष गरी होटल, रिर्सोट, केबलकार, साहसिक पर्यटन, वेलनेस सेन्टरहरूमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले भियतनामी लगानीकर्तालाई आफूहरू स्वागत गर्न चाहेको बताए। उनले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि पनि निमन्त्रणा दिए। भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरु पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिए । त्यस अवसरमा थाइल्याण्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गरे । त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
पुटिन-सुबियान्तो भेट : भारत, रूस र ग्लोबल साउथको शक्ति-समीकरणमा नयाँ संकेत
काठमाडौं । इन्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तो हाल रूसको भ्रमणमा छन्, जहाँ उनले दुबै देशबीचको सैन्य सहकार्यदेखि लिएर व्यापारसम्मका विषयमा छलफल गरेका छन् । यस दौरान मस्कोमा उनको भेट रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भयो । भेटवार्तामा सुबियान्तोले पुटिनलाई इन्डोनेशिया आउने निम्ता दिए र यस क्रममा भारतको पनि उल्लेख गरे । सुबियान्तोले भने, ‘म तपाईंलाई इन्डोनेशिया आउने निम्ता दिन चाहन्छु । तपाईंलाई जब समय मिल्छ, २०२६ वा २०२७ मा । तपाईं आउनुभयो भने हामीलाई धेरै खुसी हुनेछ । किनकि मात्र भारत नै त्यो देश हुनु हुँदैन जहाँ तपाईं जानुहुन्छ ।’ सुबियान्तोको यो कुरा सुनेर पुटिन पनि मुस्कुराए । पुटिन ४ र ५ डिसेम्बरमा भारतको दुईदिने औपचारिक भ्रमणमा थिए । यस क्रममा दुबै देशबीच धेरै सम्झौताहरू भए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई गरेको स्वागत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चा भयो । यो इन्डोनेशियाका राष्ट्रपतिको यस वर्षको रूस दोस्रो भ्रमण थियो । पुटिन केही समयदेखि ग्लोबल साउथका मुलुकहरूसँग सम्बन्ध सुधार्ने प्रयासमा छन्, ताकि युक्रेन युद्धपछि अमेरिका र पश्चिमी देशहरूले लगाएका प्रतिबन्धबीच रूसको अर्थतन्त्रलाई पुनः अघि बढाउन सकियोस् । पुटिनले भेटवार्तामा इन्डोनेशियासँग बढ्दै गएको सैन्य सम्बन्धबारे खुसी व्यक्त गर्दै भने कि रूस परमाणु ऊर्जा क्षेत्रमै पनि इन्डोनेशियालाई सहयोग गर्न तयार छ । यसभन्दा पहिला पुटिनले मंगलबार भारतको प्रशंसा गर्दै भनेका थिए कि भारत पनि रूसकै जस्तै ‘विविधतामा एकता’ भएको देश हो र यस ‘विशेषता’लाई जोगाएर राख्नु अत्यन्त महत्त्वपूर्ण छ । सिभिल सोसाइटी एन्ड ह्युमन राइट्स काउन्सिललाई सम्बोधन गर्दै पुटिनले भने, ‘म हालै भारत गएको थिएँ, जहाँ डेढ अर्ब मानिस बस्छन् । तर करिब एक तिहाइ अर्थात् झण्डै ५० करोडले मात्र हिन्दी बोल्छन् । बाँकी सबैले फरक–फरक भाषा बोल्छन् । कहिलेकाहीँ त उनीहरू एकअर्काको कुरा पनि बुझ्दैनन् । रूसमा पनि करिब २७० भाषा बोलिन्छन् । दुवै देशभित्र कति विविधता छ । भारत र रूसजस्ता देशहरूको यस बहुसांस्कृतिक पहिचानलाई हामीले बचाएर राख्नु छ ।’ पुटिनको भारत भ्रमण चर्चित बन्नुको कारण पुटिनको भारत भ्रमणका क्रममा दुबै देशबीच मिडिया, अन्तरिक्ष (स्पेस) र फर्मा क्षेत्रलगायत करिब एक दर्जन समझौतामा सहमति भएको थियो । यद्यपि कुनै ठूलो घोषणा नभए पनि विश्वभर अमेरिकी र युरोपेली प्रतिक्रिया तथा भारतको आतिथ्यका कारण यो भेटघाट निकै चर्चामा रह्यो । संयुक्त राज्य अमेरिकाले भारतले रूसी तेल किन्दै आएको भन्दै ५० प्रतिशत टैरिफ लगाएको छ । अमेरिका लगातार भारतलाई रूसबाट तेल खरिद बन्द गर्न दबाब दिइरहेको छ । धेरै युरोपेली देशहरूले पनि भारत–रूस व्यापारिक सम्बन्धप्रति आपत्ति जनाउँदै यसले ‘युक्रेन युद्धमा पुटिनलाई अप्रत्यक्ष सहयोग’ पुर्याइरहेको दाबी गरेका थिए । भारतले भने यो आरोपलाई सदैव अस्वीकार गर्दै आएको छ र आफ्नो नीति ‘घरेलु उपभोक्ताको हितअनुसार निर्णय लिनु’ रहेको बताउँदै आएको छ । यी सबै कारणहरूलाई लिएर नै पुटिनको भारत भ्रमणमा विश्वको ध्यान परेको थियो । चीनका विदेश मन्त्रालयका प्रवक्ता गुओ जाकुनले नियमित प्रेस ब्रिफिङमा भने, ‘चीन, भारत र रूस द्रुत गतिमा बढिरहेका अर्थतन्त्र हुन् र ग्लोबल साउथको महत्त्वपूर्ण हिस्सा हुन् । तिनबीचको राम्रो सम्बन्ध केवल तिनकै लागि होइन, विश्व शान्तिका लागि पनि अत्यन्त महत्त्वपूर्ण छ ।’ यसअघि रूसी मिडियाले पनि पुटिनको भारत भ्रमणलाई ट्रम्प र युरोपेली देशका लागि ‘असहज बनाउने घटना’ भनेर वर्णन गरेको थियो । ५ डिसेम्बर शुक्रबार रूसी सरकारी टिभीको करेन्ट अफेयर्स टक शोमा होस्टले पुटिनको भारत भ्रमणबारे युरोपेली मिडियामा आएका टिप्पणीकामाथि व्यङ्ग्य गरे । रसिया–१ च्यानलको ‘६० मिनेट्स’ कार्यक्रममा होस्ट ओल्गा स्काबेयेभाले भने कि प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई जुन तरिकाले स्वागत गरे त्यसले ‘रूसका विरोधीहरूलाई असहज बनाएको’ हुनुपर्छ । त्यसैगरी रूसी विश्लेषक भ्लादिमिर कोर्निलोभले पुटिनको भारत भ्रमणलाई ‘वास्तविक अर्थमा एउटा वैश्विक घटना’ भने । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का पूर्व अधिकारी माइकल रुबिनले एएनआईसँग कुरा गर्दै भने, ‘भारत र रूसलाई नजिक ल्याउन डोनाल्ड ट्रम्प नोबेल पुरस्कारका हकदार छन् ।’ ‘रूसको दृष्टिकोणले हेर्दा यो भ्रमण अत्यन्त सकारात्मक छ र भारतले पुटिनलाई जुन सम्मान दियो, त्यो उनलाई संसारका अन्य ठाउँमा पाउन कठिन छ । म त भन्छु, ट्रम्पलाई नोबेल पुरस्कार मिल्नै पर्छ किनकि भारत र रूस जसरी एकअर्कासँग नजिक आए, त्यो उनकै कारण सम्भव भएको हो,’ उनले भने । (बीबीसी हिन्दीबाट अनूदित तथा सम्पादित)
लाभांशसहित सीएसआरमा भएको खर्च अनुमोदन गर्न नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा
काठमाडौं । नेपाल एसबिआई बैंकले सीमा भन्दा बढी रकम संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर)मा खर्च गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १६ लाख ७० हजार १०५ रुपैयाँ खर्च गरेको छ । जुन कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा भन्दा बढी हो । बैंक सञ्चालक समितिले उक्त प्रस्ताव पारित गर्न पुस १८ गते भद्रकाली, काठमाडौंमा बिहान ११ बजे ३२औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले ४३ करोड ५९ लाख ६६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ५ प्रतिशतका दरले ५४ करोड ४९ लाख ५७ हजार रुपैयाँ नगद गरी कुल ९ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने तथा गाभिने वा प्राप्ति सम्बन्धी कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्नेछ । साथै बैंकको सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ । गत आव २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको वित्तीय विवरण र चालु आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ४ गतेको अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागीता जनाई लाभँंश प्राप्त गर्न सक्नेछन् ।
१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुन बिहीबार (आज) १ हजार रुपैयाँले बढेको हो। बुधवार प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीवार बढेर २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीवार चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ । बुधवार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।