विकासन्युज

सर्लाहीको लघुवित्तमा लुटपाट, लुटेराले सीसीक्यामेराको हार्डडिस्कसमेत लगे

काठमाडौं । सर्लाहीमा रहेको ‘छिमेकी’ लघुवित्तमा नकावधारीको समूहले लुटपाट गरेका छन् । बिहीबार अपरान्ह ४ बजे लालबन्दीमा रहको छिमेकी लघुवित्तमा करिब ८७ हजार रुपैयाँ लुटपाट  भएको हो । चार–पाँच जनाको समूह आएर कालो मास्क लगाएकाले लुटपाट गरेको सर्लाही प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार लुटेराको समूहले लघुवित्तका कर्मचारीलाई घाइते बनाई बाहिरबाट चाबी लगाएका थिए ।   लुटेराले कर्मचारीको एकथान मोबाइल लगेका छन् । लघुवित्तका एक कर्मचारी नवराज श्रेष्ठसमेत घाइते भएका छन् । लुटेराहरूले सीसीक्यामेराको हार्डडिस्कसमेत लिएर भागेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरीका अनुसार लुटेराको खोजी कार्य भइरहेको छ ।

बुढानीलकण्ठबाट स्रोत नखुलेको १८ लाखभन्दा बढी रकमसहित एक व्यक्ति पक्राउ

काठमाडौं । स्रोत नखुलेको रकमसहित काठमाडौंबाट एक जना व्यक्ति पक्राउ परेका छन् । बिहीबार (आज) साढे ४ बजे बुढानीलकण्ठ १ बाट ४५ वर्षीय प्रवीन किसनलाई १८ लाख ५० हजार रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।  प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले गस्तीको क्रममा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।  उनका अनुसार शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा उनलाई प्रकाउ गरिएको हो ।  उदयपुर घर भएका उनी कोटेश्वरमा बस्दै आएका थिए । पक्राउ गरिएको रकम आन्तरिक राजस्व कार्यालय हरिहरभवन पठाइएको प्रवक्ता भट्टराईले बताए ।

अमेरिकी ट्यारिफको मारमा भोल्भो कार, सेयर बजारमा ठूलो पहिरो

काठमाडौं । स्विडेनको भोल्भो कार्सको सेयर बिहीबार २५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । यससँगै कम्पनी इतिहासकै सबैभन्दा खराब एकदिने कारोबारतर्फ उन्मुख भएको छ । चीनको जिली होल्डिङ स्वामित्वमा रहेको उक्त अटोमेकरले चौथो त्रैमासिकमा सञ्चालन नाफामा ठूलो गिरावट आएको जनाएको छ । कम्पनीका अनुसार अमेरिकी भन्सार शुल्क (ट्यारिफ), मुद्रा विनिमयदरको नकारात्मक असर र कमजोर मागका कारण नाफा घटेको हो । भोल्भो कार्सले चौथो त्रैमासिक सञ्चालन आम्दानी १.८ अर्ब स्विडिस क्रोना (झन्डै २००.४६ मिलियन अमेरिकी डलर) रहेको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८ प्रतिशतले कम हो । ‘विशेषगरी चीनमा बजार निकै चुनौतीपूर्ण छ, प्रतिस्पर्धा अत्यन्त कडा छ । युरोपका हाम्रा सबै सहकर्मीहरूले पनि यही समस्या भोगिरहेका छन्,’ भोल्भो कारका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हाकान सामुएल्सनले भने । उनले अमेरिका र चीनमा विद्युतीय सवारीसाधन (ईभी) मा दिइँदै आएको प्रोत्साहन (इन्सेन्टिभ) हटाइनु पनि ‘बाह्य वातावरणलाई अझै चुनौतीपूर्ण बनाउने’ कारण भएको बताए । ‘आन्तरिक रूपमा हामीले लागत घटाउने र सकारात्मक नगद प्रवाह सुनिश्चित गर्ने काम निकै राम्रो गरेका छौं । यही नै वर्षभरि हासिल गरेका सबैभन्दा सकारात्मक उपलब्धि हुन्,’ उनले थपे । पछिल्लो कारोबारमा भोल्भो कारका सेयर २५.५ प्रतिशतले घटेका देखिएका छन् । एकै सत्रमा ११.२ प्रतिशतभन्दा बढी गिरावट आएमा त्यो कम्पनीको इतिहासकै सबैभन्दा खराब कारोबारी दिन हुनेछ । यूबीएसका विश्लेषकहरूले भोल्भो कार्सको नाफा अपेक्षाभन्दा कमजोर रहेकाले सन् २०२६ का लागि ब्याज र कर अघिको आम्दानी (ईबीआईटी) सम्बन्धी वार्षिक अनुमानमा १०–१५ प्रतिशतसम्म कटौती हुनसक्ने बताएका छन् । उनीहरूका अनुसार २०२५ को अन्तिम तीन महिनामा आधारभूत ईबीआईटी मार्जिन झन्डै शून्य प्रतिशत नजिक रहेकाले कटौती अझ बढी हुन सक्ने सम्भावना छ । चुनौतीपूर्ण वर्षको संकेत अमेरिका र युरोपेली संघ (ईयू) ले गत वर्ष जुलाईमा व्यापार सम्झौतासम्बन्धी एक प्रारूपमा सहमति जनाएका थिए । सो सम्झौताअनुसार ट्रम्प प्रशासनले अधिकांश ईयू वस्तुमा १५ प्रतिशतको समान ट्यारिफ लगाएको थियो । यो ट्रम्पले धम्की दिएको ३० प्रतिशतभन्दा धेरै कम हो र युरोपेली अटो क्षेत्रमा लाग्ने ट्यारिफ दरलाई २७.५ प्रतिशतबाट झन्डै आधा बनाएको हो । त्यतिबेला उद्योग समूहहरूले सम्झौतालाई सर्तसहित स्वागत गरे पनि नयाँ ट्यारिफका कारण बढ्ने लागतप्रति गहिरो चिन्ता व्यक्त गरेका थिए । भोल्भो कार्सलाई लामो समयदेखि अमेरिकी ट्यारिफको सबैभन्दा बढी असर झेल्न सक्ने युरोपेली अटोमेकरमध्ये एक मानिँदै आएको छ । आगामी दिनतर्फ हेर्दा भोल्भो कार्सले आफ्नो नयाँ तथा पूर्ण विद्युतीय ईएक्स ६० मिड–साइज एसयूभीको डेलिभरी वर्षको दोस्रो अर्धभागमा तीव्र बनाइने जनाएको छ । तर कम्पनीले २०२६ पनि चुनौतीपूर्ण वर्ष हुने चेतावनी दिएको छ । निरन्तर मूल्य दबाब, ट्यारिफको असर, नियामकीय अनिश्चितता र उपभोक्ताको कमजोर मनोभावनाले उद्योगलाई थप दबाबमा पार्ने सम्भावना रहेको भोल्भो कार्सको भनाइ छ।

शुक्रबारदेखि पुरानो गाडीसँग नयाँ ओमोडा-जेको साट्न पाइने, के-के छन् अफर ?

काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा सञ्चालन हुने ‘एक्सचेन्ज टु अपग्रेड’ नामक एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ । आगामी शुक्रबार (भोलि) देखि २६ गतेसम्म ४ दिन चल्ने विशेष क्याम्पमार्फत ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर सेग्मेन्टकै अत्याधुनिक ओमोडा एन्ड जेको गाडी खरिद गर्ने सुनौलो अवसर पाउनेछन् । कारप्रेमी तथा हाल सवारी साधन प्रयोग गरिरहेका ग्राहकलाई लक्षित गर्दै आयोजना गरिएको यस क्याम्पमा ओमोडा एन्ड जेइकोका कुनै पनि मोडल बुकिङ गर्ने ग्राहकले आकर्षक नगद छुट, विशेष एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क इन्स्योरेन्स र प्रत्येक बुकिङमा एक थान एमआइ मोबाइल फोन प्राप्त गर्नेछन् । यसका साथै, कम्पनीले एक भाग्यशाली जोडीका लागि चीन भ्रमणको ‘बम्पर अफर’ समेत सार्वजनिक गरेको छ, जसले क्याम्पलाई थप रोमाञ्चक बनाएको छ ।  हाल नेपाली बजारमा ओमोडा एन्ड जेकोका तीन अत्याधुनिक मोडल ओमोडा इ५, जेको जे५ र जेइको जे६ उपलब्ध छन् । यी मोडलहरूको मूल्य क्रमशः ओमोडा इ५को ५४ लाख ९९ हजार, जेइको जे५को ५६ लाख ९९ हजार र जेको जे६को ६५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, प्रभावशाली ड्राइभिङ रेन्ज, उन्नत सुरक्षा प्रविधि, उच्च कार्यक्षमता र समग्र प्रदर्शनका हिसाबले यी गाडीहरू सेग्मेन्टमै अग्रणी मानिन्छन्। क्याम्प अवधिभर सहभागीहरूले ओमोडा एन्ड जेकोका गाडीहरू नजिकबाट अवलोकन र अनुभव गर्न पाउनेछन्, जसले नयाँ पुस्ताको प्रविधि, डिजाइन र परफर्मेन्सको प्रत्यक्ष अनुभूति दिलाउने कम्पनीको विश्वास छ । एसपीजी अटोमोबाइल्स प्रा. लि. नेपालमा ओमोडा, जेको तथा ऋजभचथ ब्रान्डका सवारी साधनहरूको आधिकारिक वितरक हो । उच्च गुणस्तर, दिगोपन र वातावरणमैत्री प्रविधिमा आधारित सवारी साधनहरूको विविध पोर्टफोलियोमार्फत नेपालको हरित ऊर्जातर्फको यात्रालाई गति दिन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ। 

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ आजबाट सुरु

काठमाडौं । नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौं संस्करण बिहीबार (आज ) काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सुरु भएको छ । निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस प्रदर्शनीमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहेको छ ।  प्रदर्शनी स्थलमा २०० भन्दा बढी स्टलमार्फत निर्माण उद्योगका नवीनतम सेवा तथा सामाग्रीहरू प्रदर्शन गरिएको आयोजकले जनाएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर एक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा सम्पन्न हुँदै आएको नेपाल बिल्डकनले विगत एक दशकभन्दा लामो समयदेखि नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय अभ्याससँग जोड्दै आएको छ ।  यस प्रदर्शनीले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रचलित नयाँ प्रविधि र सेवाहरू नेपाली बजारमा भित्राउने काम गर्दै आएको छ । प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टाइल्स, सेनेटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रूफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका–झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप तथा प्लम्बिङ सामग्री, कन्स्ट्रक्सन केमिकल, पीभीसी तथा युपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिललगायत निर्माण क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सामग्री तथा सेवाहरू समेटिएका छन् । निर्माण व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवा प्रदायक, आर्किटेक्ट, इन्जिनियर, डिजाइनर तथा घर–भवन निर्माण योजना बनाइरहेका व्यक्तिहरूका लागि प्रदर्शनी अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ । प्रदर्शनीको मूख्य प्रायोजक फ्लाइबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाईमा लुम्बिनी सेरामिक्स – लेमिनार टाइल्स) रहेको छ । प्रदर्शनी माघ २५ गतेसम्म सञ्चालन हुनेछ ।

निर्वाचन : ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।      हालसम्म ६० निर्वाचन क्षेत्रका गरी ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । छापिएकामध्ये २५ जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि सकिएको छ ।      कर्णाली र सुदूरपश्चिम (एकाध जिल्लाबाहेक) प्रदेशको मतपत्र छपाइ सकिएको छ । प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने छ । समानुपातिकतर्फको २ करोड ४ लाख मतपत्र छपाइ सकेर माघ १६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको थियो ।      उच्च हिमाली र दुर्गम क्षेत्रका जिल्लालाई उच्च प्राथमिकता दिएर आयोगले मतपत्र छपाइलाई निरन्तरता दिइरहेको छ । मतपत्र माघ २५ गतेदेखि फागुन ३ गतेसम्म जिल्ला, जिल्ला पठाउने गरी आयोगले तयारी गरिरहेको छ । निर्वाचनका लागि आवश्यक पर्ने ३७ प्रकारका सामग्री निर्वाचन कार्यालयले सम्बन्धित जिल्लामै खरिद गर्ने व्यवस्था गरेको छ ।      विभिन्न किसिमका निर्वाचन सामग्री भने आयोगले नै खरिद गरेर जिल्ला, जिल्ला पठाउन लागेको हो । सडक पुगेको उच्च पहाडी र हिमाली जिल्लामा ट्रक र उच्च हिमाली जिल्लामा हेलिकप्टरका माध्यमबाट मतपत्रलगायत निर्वाचन सामग्री ढुवानी गरिने आयोगका सहायक प्रवक्ता जिसीले बताए ।      विसं २०७९ को निर्वाचनमा खरिद गरी बाँकी रहेका निर्वाचन सामग्री भने आयोगले काठमाडौं वरिपरि एवं नजिक, नजिकका जिल्लामा पठाइएको जनाएको छ । सेतो कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री यसअघिको निर्वाचनमै खरिद गरी बाँकी रहेको थियो ।

८८ तोला सुनसहित ‘जेलमुक्त’ चोर प्रेम थारु पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले ८८ तोला सुनसहित पक्राउ गरेको छ । सुनका गहना चोरी भएको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले बाँके घर भएका ४१ वर्षीय सुप्रिम विकास भन्ने प्रेम थारुलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार थारुको साथबाट ८८ तोला सुन, ९९ तोला चाँदी, २ तोला हीरा, विभिन्न देशका मुद्रा तथा करिब ३ करोड ६ लाख १४ हजार २०० रुपैयाँ बराबरको चोरीका सामग्री बरामद गरिएको छ । थारु यसअघि चोरी अभियोगमै तीन वर्षको कैद सजाय भुक्तान गरी केही समयअघि मात्र जेलमुक्त भएका थिए । उनी यसअघि बौद्ध क्षेत्रमा दुई स्थानमा चोरी गरी पक्राउ परिसकेको समेत प्रहरीको भनाइ छ । प्रहरीले उनलाई नागार्जुन नगरपालिका–६, पुरी गाउँस्थित सडक खण्डमा गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ । हाल उनी बाँके, नेपालगञ्ज उपमहानगरपालिका–३ स्थायी ठेगाना भई सितापाइला क्षेत्रमा बसोबास गर्दै आएका थिए । काठमाडौंका विभिन्न स्थानमा भएका चोरी घटनाबाट पीडित ९ जना व्यक्ति हालसम्म प्रहरीको सम्पर्कमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन् । साथै, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आफैलाई भोट हाल्न नपाउने प्रधानमन्त्रीका दाबेदारहरू

काठमाडौं । निर्वाचनमा हार/जित ह‍ुनु सामान्य विषय हो । एक मतको फरकले पनि हार/जितको अवस्था सिर्जना गर्छ । तर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीका दाबेदार उम्मेदवारहरूले आफै उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा आफैले मतदान गर्न नपाउने भएका छन् । आफू उठेको क्षेत्रभन्दा बाहिर मतदाता नामावली भएकाले उनीहरूले भोट हाल्न नपाउने भएका हुन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् ।  आफूलाई प्रधानमन्त्रीको दावी गर्नेहरूले आफ्नो निर्वाचन क्षेत्रमा आफैले मतदान गर्न नपाउनु विरोधाभासको उच्चतम दृष्टान्त भएको चर्चा हुन थालेको छ । यो पछिल्लो समय स्थापित हुँदै गएको अवसरवादी राजनीतिक प्रवृत्तिको प्रतिफल पनि हो । यसले नेपाली राजनीति अवसरवादतर्फ अग्रसर हुँदै गएको बताउँछन् वरिष्ठ अधिवक्ता शेरबहादुर केसी । आसन्न निर्वाचनका प्रमुख दाबेदारहरूको अवस्था हेर्दा दृश्य झन् स्पष्ट देखिन्छ । जस–जसले आफूलाई प्रधानमन्त्रीको दाबेदार भनिरहेका छन् तिनै तिनैको मतदाता नामावली एकठाउँ र उम्मेदवारी अर्कै ठाउँमा रहेको छ । प्रधानमन्त्रीका दाबेदार तथा विघटित संसदमा समानुपातिकतर्फ सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली भक्तपुरको सूर्यविनायक नगरपालिकामा छ । तर उनी उम्मेदवार बनेका छन् झापा–५ बाट । ओली सोही क्षेत्रका बासिन्दा हुन् । आफै हुर्केबढेको क्षेत्रबाट ओलीले आफ्नो नामावली भक्तपुरको सूर्यविनायक नगरपालिकामा ल्याएका छन् । यस्तै, प्रधानमन्त्रीका अर्का दाबेदार तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको मतदाता काठमाडौं महानगरपालिका कालोपुलमा रहेको छ । तर थापाले उम्मेदवारी भने सर्लाही–४ बाट दिएका छन् । थापाले तीन पटक जितेको काठमाडौं ४ छोडेर सर्लाही- ४ रोजेका छन् । थापाले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । थापा विघटित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलका सभापति हुन् । काठमाडौं महानगरपालिकामा लोकप्रिय मतसहित मेयर पदमा निर्वाचित बालेन्द्र साहको मतदाता नामावली काठमाडौं महानगरपालिकाको सिनामंगलमा रहे पनि उनी झापा–५ बाट चुनावी मैदानमा छन् । रास्वपाका वरिष्ठ नेतासमेत रहेका उनले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् । प्रधानमन्त्रीका अर्का दाबेदार पुष्पकमल दाहालको मतदाता नामावली चितवनको भरतपुर महानगरपालिकामा भए पनि उनी पूर्वी–रुकुमबाट उम्मेदवार बनेका छन् । नेकपाका संयोजक दाहालले २०६४ यता कुनै पनि निर्वाचन क्षेत्रमा दोहोरिएर विजय हासिल गरेका छैनन् । प्रधानमन्त्रीको दाबेदारीमा रहेका कुनै पनि उम्मेदवारको उम्मेदवारी आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा देखिँदैन ।  मतदातासम्बन्धी ऐनअनुसार उम्मेदवार बन्न देशभित्र जुनसुकै ठाउँमा मतदाता नामावली भए पनि पुग्छ, तर मतदान गर्न भने आफ्नो नाम सूचीकृत भएको मतदान केन्द्रमै पुग्नुपर्ने व्यवस्था छ । यही कानुनी संरचनाका कारण यी सबै नेताहरूले चुनावको दिन आफ्नो नाम रहेको ठाउँमै पुगेर मात्र मतदान गर्न सक्छन् तर आफ्नो क्षेत्र छाडेर अन्यत्र गएपछि उनीहरूले मतदान गर्न पाउने छैनन् । नेताहरूले आफूले मत हाल्न नपाउने अवस्था आउँदा पनि निर्वाचन क्षेत्र परिवर्तन गर्नुका पछाडि मुख्यतः चार कारण रहेको वरिष्ठ अधिवक्ता केसी बताउँछन् । केसीका अनुसार पहिलो कारण जितको खोजी नै हो । यही अंकगणितको खेलमा नेताहरूले स्थान बदल्छन् । केसीका अनुसार नेताहरूले कमजोर प्रतिस्पर्धी, अनुकूल मतदाता र पार्टी संगठन बलियो भएको क्षेत्र रोज्छन् । जित सुनिश्चित हुने सम्भावनालाई प्राथमिकता दिँदा व्यक्तिगत मताधिकार दोस्रो स्थानमा पर्ने गरेको केसीको बुझाइ छ । दोस्रो हो, सुरक्षित सिटको राजनीति । केसीका अनुसार स्थानीय स्तरमा अनिश्चितता देखिएपछि राष्ट्रिय हैसियतका नेताहरू सुरक्षित क्षेत्रतर्फ सर्ने प्रवृत्ति बढेको छ । यसले उनीहरूलाई संसद् प्रवेश त सजिलो बनाउँछ, तर स्थानीय प्रतिनिधित्व कमजोर बनाउँछ ।  तेस्रो, पार्टी रणनीति हो । पार्टी नेतृत्वले रणनीतिक रूपमा हेभीवेट उम्मेदवार पठाएर क्षेत्र सुरक्षित गर्न खोज्छ । त्यो नेता त्यही क्षेत्रको मतदाता हो कि होइन भन्ने प्रश्न त्यो बेला गौण बन्छ । चौथो, सत्ता–केन्द्रित राजनीति । आजको निर्वाचन प्रतिस्पर्धा स्थानीय आवश्यकता भन्दा पनि केन्द्रको शक्ति समीकरणमा केन्द्रित हुँदै गएको छ । प्रधानमन्त्री बन्ने सम्भावना भएका नेताका लागि कुन क्षेत्रबाट जितिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । उनीहरूका लागि कुन क्षेत्रमा मेरो मताधिकार छ भन्ने विषय गौण रहन्छ । यो प्रवृत्तिले छोटो अवधिमा नेताहरूलाई फाइदा दिए पनि दीर्घकालीन अवस्थामा गम्भीर प्रश्न उठाउँछ । राजनीतिक विश्लेषकहरू यसमा नैतिकताको प्रश्न महत्त्वपूर्ण रहेको बताउँछन् । राजनीतिक विश्लेषक परशुराम घिमिरे मतदातालाई मतदान गर्न आह्वान गर्ने नेता आफैले त्यो क्षेत्रमा मत हाल्न नपाउनु प्रतीकात्मक रूपमा कमजोर सन्देश रहेको बताउँछन् ।  यसले स्थानीय प्रतिनिधित्वमा यसले ठुलो क्षति पुर्‍याउँछ । क्षेत्र नबुझेका, स्थानीय सरोकारसँग प्रत्यक्ष सम्बन्ध नराख्ने प्रतिनिधि निर्वाचित हुँदा स्थानीय मुद्दा ओझेलमा पर्न सक्छन् । अर्का विश्लेषक तथा राजनीतिशास्त्रका उपप्राध्यापक अर्जुनध्वज अर्यालले यसले राजनीतिप्रति वितृष्णा उत्पन्न गर्न सक्ने सम्भावना रहेको बताउँछन् । अर्याल भन्छन्, ‘मतदाता नै नभएको नेता हाम्रो क्षेत्रमा आएर जित्ने, भन्ने धारणा बढ्दै जाँदा नागरिकमा राजनीति प्रति असन्तोष बढ्न सक्छ ।’ उनका अनुसार यसले नेतृत्व र जनताबीच दूरी बढ्न सक्छ । मतदाता नामावली र उम्मेदवारी क्षेत्र फरक–फरक हुँदा नेता र मतदाताबीचको भावनात्मक तथा उत्तरदायित्वको सम्बन्ध कमजोर हुन सक्छ । अधिवक्तासमेत रहेका विश्लेषक घिमिरे आफैलाई मतदान गर्न नपाउने गरी निर्वाचन क्षेत्र सर्ने प्रवृत्ति कानुनी रूपमा गलत नभए पनि राजनीतिक नैतिकता र प्रतिनिधित्वको मर्मसँग ठोकिने विषय रहेको बताउँछन् ।