आफैलाई भोट हाल्न नपाउने प्रधानमन्त्रीका दाबेदारहरू
काठमाडौं । निर्वाचनमा हार/जित हुनु सामान्य विषय हो । एक मतको फरकले पनि हार/जितको अवस्था सिर्जना गर्छ । तर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीका दाबेदार उम्मेदवारहरूले आफै उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा आफैले मतदान गर्न नपाउने भएका छन् । आफू उठेको क्षेत्रभन्दा बाहिर मतदाता नामावली भएकाले उनीहरूले भोट हाल्न नपाउने भएका हुन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् । आफूलाई प्रधानमन्त्रीको दावी गर्नेहरूले आफ्नो निर्वाचन क्षेत्रमा आफैले मतदान गर्न नपाउनु विरोधाभासको उच्चतम दृष्टान्त भएको चर्चा हुन थालेको छ । यो पछिल्लो समय स्थापित हुँदै गएको अवसरवादी राजनीतिक प्रवृत्तिको प्रतिफल पनि हो । यसले नेपाली राजनीति अवसरवादतर्फ अग्रसर हुँदै गएको बताउँछन् वरिष्ठ अधिवक्ता शेरबहादुर केसी । आसन्न निर्वाचनका प्रमुख दाबेदारहरूको अवस्था हेर्दा दृश्य झन् स्पष्ट देखिन्छ । जस–जसले आफूलाई प्रधानमन्त्रीको दाबेदार भनिरहेका छन् तिनै तिनैको मतदाता नामावली एकठाउँ र उम्मेदवारी अर्कै ठाउँमा रहेको छ । प्रधानमन्त्रीका दाबेदार तथा विघटित संसदमा समानुपातिकतर्फ सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली भक्तपुरको सूर्यविनायक नगरपालिकामा छ । तर उनी उम्मेदवार बनेका छन् झापा–५ बाट । ओली सोही क्षेत्रका बासिन्दा हुन् । आफै हुर्केबढेको क्षेत्रबाट ओलीले आफ्नो नामावली भक्तपुरको सूर्यविनायक नगरपालिकामा ल्याएका छन् । यस्तै, प्रधानमन्त्रीका अर्का दाबेदार तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको मतदाता काठमाडौं महानगरपालिका कालोपुलमा रहेको छ । तर थापाले उम्मेदवारी भने सर्लाही–४ बाट दिएका छन् । थापाले तीन पटक जितेको काठमाडौं ४ छोडेर सर्लाही- ४ रोजेका छन् । थापाले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । थापा विघटित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलका सभापति हुन् । काठमाडौं महानगरपालिकामा लोकप्रिय मतसहित मेयर पदमा निर्वाचित बालेन्द्र साहको मतदाता नामावली काठमाडौं महानगरपालिकाको सिनामंगलमा रहे पनि उनी झापा–५ बाट चुनावी मैदानमा छन् । रास्वपाका वरिष्ठ नेतासमेत रहेका उनले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् । प्रधानमन्त्रीका अर्का दाबेदार पुष्पकमल दाहालको मतदाता नामावली चितवनको भरतपुर महानगरपालिकामा भए पनि उनी पूर्वी–रुकुमबाट उम्मेदवार बनेका छन् । नेकपाका संयोजक दाहालले २०६४ यता कुनै पनि निर्वाचन क्षेत्रमा दोहोरिएर विजय हासिल गरेका छैनन् । प्रधानमन्त्रीको दाबेदारीमा रहेका कुनै पनि उम्मेदवारको उम्मेदवारी आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा देखिँदैन । मतदातासम्बन्धी ऐनअनुसार उम्मेदवार बन्न देशभित्र जुनसुकै ठाउँमा मतदाता नामावली भए पनि पुग्छ, तर मतदान गर्न भने आफ्नो नाम सूचीकृत भएको मतदान केन्द्रमै पुग्नुपर्ने व्यवस्था छ । यही कानुनी संरचनाका कारण यी सबै नेताहरूले चुनावको दिन आफ्नो नाम रहेको ठाउँमै पुगेर मात्र मतदान गर्न सक्छन् तर आफ्नो क्षेत्र छाडेर अन्यत्र गएपछि उनीहरूले मतदान गर्न पाउने छैनन् । नेताहरूले आफूले मत हाल्न नपाउने अवस्था आउँदा पनि निर्वाचन क्षेत्र परिवर्तन गर्नुका पछाडि मुख्यतः चार कारण रहेको वरिष्ठ अधिवक्ता केसी बताउँछन् । केसीका अनुसार पहिलो कारण जितको खोजी नै हो । यही अंकगणितको खेलमा नेताहरूले स्थान बदल्छन् । केसीका अनुसार नेताहरूले कमजोर प्रतिस्पर्धी, अनुकूल मतदाता र पार्टी संगठन बलियो भएको क्षेत्र रोज्छन् । जित सुनिश्चित हुने सम्भावनालाई प्राथमिकता दिँदा व्यक्तिगत मताधिकार दोस्रो स्थानमा पर्ने गरेको केसीको बुझाइ छ । दोस्रो हो, सुरक्षित सिटको राजनीति । केसीका अनुसार स्थानीय स्तरमा अनिश्चितता देखिएपछि राष्ट्रिय हैसियतका नेताहरू सुरक्षित क्षेत्रतर्फ सर्ने प्रवृत्ति बढेको छ । यसले उनीहरूलाई संसद् प्रवेश त सजिलो बनाउँछ, तर स्थानीय प्रतिनिधित्व कमजोर बनाउँछ । तेस्रो, पार्टी रणनीति हो । पार्टी नेतृत्वले रणनीतिक रूपमा हेभीवेट उम्मेदवार पठाएर क्षेत्र सुरक्षित गर्न खोज्छ । त्यो नेता त्यही क्षेत्रको मतदाता हो कि होइन भन्ने प्रश्न त्यो बेला गौण बन्छ । चौथो, सत्ता–केन्द्रित राजनीति । आजको निर्वाचन प्रतिस्पर्धा स्थानीय आवश्यकता भन्दा पनि केन्द्रको शक्ति समीकरणमा केन्द्रित हुँदै गएको छ । प्रधानमन्त्री बन्ने सम्भावना भएका नेताका लागि कुन क्षेत्रबाट जितिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । उनीहरूका लागि कुन क्षेत्रमा मेरो मताधिकार छ भन्ने विषय गौण रहन्छ । यो प्रवृत्तिले छोटो अवधिमा नेताहरूलाई फाइदा दिए पनि दीर्घकालीन अवस्थामा गम्भीर प्रश्न उठाउँछ । राजनीतिक विश्लेषकहरू यसमा नैतिकताको प्रश्न महत्त्वपूर्ण रहेको बताउँछन् । राजनीतिक विश्लेषक परशुराम घिमिरे मतदातालाई मतदान गर्न आह्वान गर्ने नेता आफैले त्यो क्षेत्रमा मत हाल्न नपाउनु प्रतीकात्मक रूपमा कमजोर सन्देश रहेको बताउँछन् । यसले स्थानीय प्रतिनिधित्वमा यसले ठुलो क्षति पुर्याउँछ । क्षेत्र नबुझेका, स्थानीय सरोकारसँग प्रत्यक्ष सम्बन्ध नराख्ने प्रतिनिधि निर्वाचित हुँदा स्थानीय मुद्दा ओझेलमा पर्न सक्छन् । अर्का विश्लेषक तथा राजनीतिशास्त्रका उपप्राध्यापक अर्जुनध्वज अर्यालले यसले राजनीतिप्रति वितृष्णा उत्पन्न गर्न सक्ने सम्भावना रहेको बताउँछन् । अर्याल भन्छन्, ‘मतदाता नै नभएको नेता हाम्रो क्षेत्रमा आएर जित्ने, भन्ने धारणा बढ्दै जाँदा नागरिकमा राजनीति प्रति असन्तोष बढ्न सक्छ ।’ उनका अनुसार यसले नेतृत्व र जनताबीच दूरी बढ्न सक्छ । मतदाता नामावली र उम्मेदवारी क्षेत्र फरक–फरक हुँदा नेता र मतदाताबीचको भावनात्मक तथा उत्तरदायित्वको सम्बन्ध कमजोर हुन सक्छ । अधिवक्तासमेत रहेका विश्लेषक घिमिरे आफैलाई मतदान गर्न नपाउने गरी निर्वाचन क्षेत्र सर्ने प्रवृत्ति कानुनी रूपमा गलत नभए पनि राजनीतिक नैतिकता र प्रतिनिधित्वको मर्मसँग ठोकिने विषय रहेको बताउँछन् ।
लुम्बिनी विकास बैंकद्वारा साहारा फुटबल एकेडेमीलाई २ लाख ५० हजार सहयोग
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले साहारा क्लब पोखराद्वारा सञ्चालित साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग स्वरूप २ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । बैंकले विगत वर्षदेखि गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै पोखरा–१७ दोबिल्ला, कास्कीस्थित एकेडेमीलाई उक्त सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, पोखरास्थित शाखा प्रबन्धकहरू, क्लबका निवर्तमान अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले साहारा एकेडेमीमा आश्रित बालबालिकालाई निरन्तर सहयोग गर्न पाउनु खुशीको विषय भएको बताए । साथै, साहारा क्लबले समाजमा उदाहरणीय तथा प्रशंसनीय कार्य गर्दै आएको भन्दै क्लबका पदाधिकारीहरूको प्रशंसा गरे । सहयोगका लागि आभार व्यक्त गर्दै साहारा क्लबका अध्यक्ष थापाले प्राप्त रकम एकेडेमीमा आश्रित बालकहरूको खाजा तथा खानामा खर्च गरिने जानकारी दिए । हाल एकेडेमीमा १५ जिल्लाका ३० जना कठिन तथा विपन्न परिस्थितिका बालकहरू आश्रित छन् । क्लबले उनीहरूको लालनपालन, शिक्षा तथा फुटबल प्रशिक्षणको व्यवस्था गर्दै आएको छ । साहारा क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गर्दै आएको छ । देशका सातै प्रदेशमा शाखा विस्तार गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडका हाल ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा सञ्चालनमा छन् । 'निरन्तर सहयात्रा' भन्ने नारासहित बैंकले आधुनिक प्रविधियुक्त सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत खातामा उच्च ब्याजदरको विशेष योजना पनि सञ्चालन गर्दै आएको जनाएको छ ।
भाडा नतिर्ने सहकारीलाई महानगरको चेतावनी, सात दिनभित्र सम्पर्क गर्न आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले आठ सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । कानुन तथा मानव अधिकार विभागले सो सूचना जारी गरी उक्त जानकारी गराएको हो । सूचनामा भनिएको छ, 'काठमाडौं महानगरपालिका, न्यायिक समितिबाट घर कोठा खाली गर्ने भनी भएका निर्णयमध्ये सहकारीले बहालमा लिएका घर कोठा खाली गर्नेसम्बन्धी मिति २०८२/१०/१५ मा निर्णय कार्यान्वयन समितिको बैठकमा भएको निर्णय अनुसार यो सूचना प्रकाशन गरिएको छ ।' कामपा सहकारी विभागका प्रमुख महेशकुमार काफ्लेकाअनुसार सूचनामा विवरण भएका सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा संस्थाका सदस्यले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र कामपाका, कानुन तथा मानव अधिकार विभागमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी, कर्मचारी, सदस्य सम्पर्कमा नआएमा सहकारीले बहालमा लिएका घर कोठा न्यायिक समितिको निर्णयानुसार खाली गरिने जनाइएको छ । 'उक्त घर कोठा खाली गर्दा सहकारी कार्यालयका सामान सम्बद्ध घरधनीको जिम्मामा दिइनेछ । पछि सहकारीका सम्पत्ति, सरसामान सम्बन्धमा कुनै दाबी विरोध नलाग्ने व्यहोरासमेत यसै सूचनामार्फत सूचित गरिन्छ', सूचनामा उल्लेख छ । नाम सार्वजनिक गरिएका सहकारीहरुमा वडा नं ३१ स्थित आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वडा नं ६ स्थित नव सवल र सन्दुप सहकारी संस्था लिमिटेड, सोही वडामा रहेको सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, वडा नं १७ मा सञ्चालित युनिफाइड बचत तथा ऋण सहकारी संस्था छन् । त्यसैगरी वडा नं २२ मा सञ्चालित महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, वडा नं ३२ मा रहेको ग्रेट गङ्गासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, वडा नं १० मा सञ्चालित प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् । लामो समयदेखि भाडा नतिरी कार्यालयमा ताला लगाएर सञ्चालक फरार भएपछि घरधनीबाट महानगरपालिकामा निवेदन प्राप्त भइरहेका छन् । यसरी आएका निवेदन फछ्र्यौट गर्ने क्रममा महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर सो प्रक्रिया अगाडि बढाएको हो ।
निर्वाचनका लागि भारतले दियो ६५० गाडी, ५३८ वटा नेपाल भित्रिए
काठमाडौं । भारत सरकारले आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई ६ सय ५० वटा गाडी अनुदान सहयोगस्वरूप उपलब्ध गराएको छ । सोमध्ये ५ सय ३८ वटा गाडी नेपाल भित्रिसकेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले भारतले प्रदान गरेका गाडीहरूमध्ये महिन्द्रा कम्पनीका स्कार्पियो र बोलेरो जीपलगायतका हल्का सवारीसाधन नेपाल आइपुगेको जानकारी दिए । उनका अनुसार अब बाँकी १ सय १२ वटा ठूला तथा हेभी गाडीहरू आउने क्रममा छन्, जसमा सुरक्षा निकायले प्रयोग गर्ने ट्रकहरू समेत समावेश छन् । ‘कुल ६ सय ५० गाडीमध्ये ५ सय ३८ वटा आइपुगेका छन्, बाँकी १ सय १२ वटा ठूला गाडी आउन बाँकी नै छन्,’ उनले विकासन्युजसँग भने । यो सहयोग पूर्णतः अनुदानमा आधारित भएको र निर्वाचन प्रयोजनका लागि दिइएको प्रवक्ता पाण्डेयले स्पष्ट पारे । निर्वाचन सम्पन्न भएपछि पनि ती गाडीहरू फिर्ता नभई नेपाल सरकारकै विभिन्न निकायहरूले प्रयोग गर्नेछन् । ‘यो निर्वाचनलक्षित अनुदान सहयोग हो । चुनावपछि गाडी फिर्ता गर्ने होइन, नेपालकै सरकारी निकायहरूले प्रयोग गर्नेछन्,’ उनले भने । गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्यले गाडीहरू चुनावपछि कुन निकायले प्रयोग गर्ने भन्ने विषय आवश्यकताका आधारमा निर्धारण गरिने जानकारी दिइन् । ‘सुरक्षा निकाय वा अन्य सरकारी कार्यालयहरूमध्ये जहाँ गाडीको अभाव छ र जसलाई आवश्यक पर्छ, उसैले प्रयोग गर्नेछ,’ उनले भनिन् । यस सहयोगले निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको सूचना अधिकारी आचार्यको भनाइ छ । अर्थ मन्त्रालयले उक्त गाडीहरूका लागि आवश्यक भन्सार तथा कर छुटको सहजीकरण गरेको थियो । अब यी गाडीहरूको प्रयोग, सञ्चालन र व्यवस्थापनको सम्पूर्ण जिम्मा गृह मन्त्रालय र निर्वाचन आयोगको समन्वयमा हुनेछ। भारतीय दूतावासको तथ्यांकअनुसार पछिल्ला १८ वर्षमा निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई करिब ३ हजार सवारीसाधन उपलब्ध गराइसकेको छ । हरेक निर्वाचनमा भारतले नेपाललाई सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।
कामना सेवा विकास बैंकद्वारा दरबार हाई स्कूलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) का गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयको १७२औँ स्थापना दिवस तथा अभिभावक दिवसका अवसरमा बैंकले उक्त सहयोग प्रदान गरेको हो । विद्यालयमा अध्ययनरत करिब १ हजार १०० भन्दा बढी विद्यार्थीमध्ये आर्थिक अभावका कारण पठनपाठन प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै बैंकले छात्रवृत्ति उपलब्ध गराएको जनाएको छ । उक्त छात्रवृत्ति बैंकका मार्केटिङ विभाग प्रमुख पर्मा ढुङ्गेलले विद्यालयका प्रधानाध्यापक शारदा कुमारी पौडेललाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले जेहेन्दार तथा अनुशासित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी उनीहरूको हौसला बढाउन र उज्ज्वल शैक्षिक भविष्य निर्माणमा सहयोग पुर्याएकोमा बैंक परिवारप्रति धन्यवाद व्यक्त गरिन् । त्यस्तै, बैंकका मार्केटिङ विभाग प्रमुख ढुङ्गेलले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
सेयर बजारमा हरियाली : नेप्से २७ अंकले बढ्यो, कारोबार ११ अर्ब नाघ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । दुई दिनदेखि घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज भने २७.१९ अंकले बढ्दै २७०८.७० विन्दुमा पुगेको हो । नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२६ स्टकको १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँबराबरको ३ करोड ५५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्य सर्किट लेभलमा पुगेको हो । त्यस्तै, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले उक्लिएको छ । यता, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, राधी विद्युत कम्पनीको साढे ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे ५३ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले बढेको छ । जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको छ ।
नेपालमा निट्को टायल्सको उत्पादन शुरू, घरेलु निर्माण उद्योगमा नयाँ अवसर
काठमाडौं । भारतीय ब्राण्ड निट्कोले नेपालमा टायल्सको उत्पादन तथा बिक्री वितरण सुरु गरेको छ । बिहीबारदेखि राजधानीको भृकुटिमण्डपमा सुरु भएको एघारौं संस्करणको नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोमा निट्कोले नेपालमा उत्पादित टायल्सको औपचारिक रूपमा बिक्री वितरण सुरु गरेको हो । नेपाली बजारमा निट्को ब्राण्डको लोकप्रियतालाई ध्यानमा राख्दै निट्को नेपाल प्रालिले नेपालमै टायल्स उत्पादन र बिक्री वितरण सुरु गरेको हो । यसले नेपाली उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय टायल्स उपलब्ध गराउने उद्देश्य राखेको कम्पनीले जनाएको छ । एक्स्पोमा निट्कोका नेपाल निर्मित टायल्सको औपचारिक बिक्री वितरणको सुरुवात गर्दै निट्को नेपालका प्रमुख कार्यकारी अधिकृत शुभम अग्रवालले नेपाली उपभोक्तालाई नेपालमै गुणस्तरीय टायल्स उत्पादन गरेर बिक्री वितरण गर्दा खरिद मूल्य कम हुने विश्वास व्यक्त गरे । उनले भने, 'हामीले यसअघि भारतमा निर्मित उत्पादन आयात गरेर बिक्री वितरण गर्दै आएका थियौं । अब नेपालमै निर्मित निट्को टायल्स उपभोक्ताले वही गुणस्तरमा कम मूल्यमा खरिद गर्न सक्नेछन् ।' यसअघि भारतमा उत्पादित निट्कोका टायल्स तथा मार्बल नेपाली बजारमा लोकप्रिय ब्राण्डका रूपमा स्थापित छन् । सन् १९५३ देखि भारतमा निट्को लिमिटेडले उत्पादन सुरु गरेको यस ब्राण्डका टायल्स, मार्बल र मोजाइक नेपालमा मात्र नभई दक्षिण एशियाली मुलुक तथा विश्वका ६० भन्दा बढी मुलुकमा रुचाइने ब्राण्डमा पर्छन् । निट्को नेपाल प्रालिले भारतस्थित निट्को लिमिटेडसँगको जोइन्ट भेञ्चरको रूपमा नेपालमा टायल्स उत्पादन सुरु गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शुभम अग्रवालले भने, 'नेपालमा टायल्स उत्पादन सुरु गर्दा उपभोक्तालाई सहजता मात्र प्राप्त हुने छैन, यसले नेपालको उत्पादन उद्योगलाई पनि टेवा पुर्याउने र समग्र अर्थतन्त्रमा योगदान पुग्ने हाम्रो विश्वास छ ।' साथै, निट्को नेपालले भारतमा उत्पादित गुणस्तरीय मार्बल तथा मोजाइक पनि सुलभ मूल्यमा उपलब्ध गराउने जनाएको छ । कम्पनीले देशभर ८० भन्दा बढी डिलर सञ्जालमार्फत आफ्ना उत्पादनहरू उपभोक्तासम्म सहज रूपमा पुर्याउने योजना बनाएको छ । नजिकैको हार्डवेयर पसलबाट पनि निट्कोका उत्पादनहरू सुलभ मूल्यमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
सभापति गगन कुमार थापा शुक्रबार पोखरा जाँदै
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा शुक्रबार पोखरा जाने भएका छन् । निर्वाचन प्रचारअन्तर्गत थापा पोखरा जाने कार्यक्रम रहेको पार्टी प्रवक्ता देवराज चालीसेले जानकारी दिएका छन् । चालीसेका अनुसार सभापति थापाले गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । उक्त भेलामा प्रदेशबाट प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्ने उम्मेदवार, प्रदेशका पदाधिकारी, जिल्ला सभापतिहरू तथा अगुवा कार्यकर्ताहरू सहभागी हुने र सभापति थापाले सबैलाई सम्बोधन गर्ने जनाइएको छ ।