काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले दशैंले नेपाली समाजमा एकता, आत्मीयता र सांस्कृतिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै दशैंलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्वका रूपमा व्याख्या गरेका छन् । उनले यस पर्वले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले दशैंको अवसरमा रसुवा, नुवाकोट, गोरखालगायतका स्थानमा भएका विनाशकारी घटनाबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । विपद्मा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रधानमन्त्री शाहले सरकारले विस्थापित नागरिकको पुनःस्थापनाका लागि काम गरिरहेको पनि बताएका छन् ।
उनले दशैंलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै सबैलाई सत्यको बाटोमा हिँड्न र आफूभित्रका नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्न आह्वान गरेका छन् । काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्न सके समाजमा सकारात्मक परिवर्तन आउने उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले रोजगारी र आर्थिक बाध्यताका कारण विदेशिनुपर्ने नेपालीको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन् । चाडपर्वका बेला परिवारसँग भेटघाट गर्ने चाहना हुँदाहुँदै पनि घर फर्कन नपाई विदेशमै बस्न बाध्य लाखौँ नेपालीको अवस्था बदल्न सामूहिक प्रयास आवश्यक रहेको उनले बताएका छन् ।
उनले देशको समृद्धि र नागरिकको सुखद जीविकोपार्जनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। आर्थिक अभावका कारण दशैंजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने भन्दै उनले नागरिकको आर्थिक सम्पन्नता र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् ।
प्रधानमन्त्री शाहले दशैंको मूल सन्देशलाई आत्मसात् गर्दै सत्य र सुशासनको मार्गमा अघि बढ्न सबैलाई आग्रह गरेका छन् । साथै, माता दुर्गाभवानीले सबैको रक्षा गरून् भन्दै उनले सभ्य र भव्य रूपमा दसैँ मनाउन शुभकामना दिएका छन् ।