घुससहित पक्राउ परे वन कार्यालयका प्रमुख राम केवल राय यादव
काठमाडौं । जिल्ला सिरहाको बन्दीपुरस्थित सव-डिभिजन वन कार्यालयका कार्यालय प्रमुख राम केवल राय यादव घुस रकमसहित पक्राउ परेका छन् । उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए–नभएको रुजु गरी आवश्यक कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार यादवले सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउका क्रममा उनीसँग घुसबापत लिएको १२ हजार रुपैयाँसहित स्रोत नखुलेको १ लाख ३३ हजार १२० रुपैयाँ बरामद भएको छ । यससँगै उनको साथबाट एक थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ । उनीलाई सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित मिर्चौयाबाट बन्दीपुर जाने महेन्द्र राजमार्गमा बुधबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
भुजुङ हाइड्रोको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा सकिने
काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लक–इन अवधि यही साउनमा समाप्त हुने भएको छ। कम्पनीका अनुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५० हजार कित्ता साधारण सेयरको लक–इन अवधि अवधि सेयर बाँडफाँट भएको मितिले ६ महिनापछि अर्थात् २०८३ साउन २६ गते समाप्त हुनेछ ।
विश्वकपको उपाधि होड थप रोमाञ्चक
काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेको सन् २०२६ को फिफा विश्वकप फुटबल अन्तिम आठ टोलीमा सीमित भएको छ । राउन्ड अफ १६ का रोमाञ्चक खेलपछि साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन, बेल्जियम, इङ्ग्ल्यान्ड, नर्वे, मोरक्को र स्विट्जरल्यान्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन् । तस्बिर : फिफा विश्वकप साविक च्याम्पियन अर्जेन्टिनाले राउन्ड अफ १६ मा इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो । २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटभित्र तीन गोल गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो । अब अर्जेन्टिनाले अन्तिम आठमा स्विट्जरल्यान्डको सामना गर्नेछ । स्विट्जरल्यान्डले भने कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो । यस्तै, स्पेनले छिमेकी राष्ट्र पोर्चुगललाई कठिन प्रतिस्पर्धामा १–० ले हराउँदै अन्तिम आठमा स्थान बनायो भने फ्रान्सले पनि पाराग्वेलाई १–० ले हराउँदै आफ्नो यात्रा निरन्तर राखेको छ । बेल्जियम, मोरक्को, इङ्ग्ल्यान्ड र नर्वेले पनि नकआउट चरणमा प्रभावशाली जित निकाल्दै उपाधि होडलाई थप प्रतिस्पर्धात्मक बनाएका छन् । बेल्जियमले अमेरिकालाई ४–१ ले हराएको हो भने मोरक्कोले आयोजक राष्ट्र क्यानडालाई ३–० ले हराएको हो । त्यस्तै, इङ्ल्यान्डले मेक्सिकोलाई ३–२ ले हराउँदा नर्वेले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्यो। क्वार्टरफाइनलमा पहिलो खेल फ्रान्स र मोरक्कोबीच जुलाई ९ (नेपाली समयअनुसार पर्सि शुक्रबार बिहान पौने २ बजे) हुनेछ । त्यसपछि स्पेन र बेल्जियमबीच नेपाली समयअनुसार शनिबार बिहान पौने १ बजे अर्को रोमाञ्चक भिडन्त हुनेछ । जुलाई ११ मा अर्जेन्टिना र स्विट्जरल्यान्डबीच (नेपाली समयअनुसार आगामी आइतबार बिहान पौने ७ बजे) खेल हुनेछ भने इङ्ग्ल्यान्ड र नर्वेबीच आइतबार बिहान पौने ३ बजे क्वार्टरफाइनल खेलिने तालिका छ । यी चार खेलका विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्। गोल्डेनबुटको प्रतिस्पर्धा पनि निकै रोचक बनेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी ८ गोलसहित प्रतिस्पर्धामा अग्रस्थानमा छन् । त्यस्तै, फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाप्पे र नर्वेका स्ट्राइकर अर्लिङ हालान्ड ७ गोलसहित उनीहरूलाई पछ्याइरहेका छन् । त्यस्तै, इङ्ग्ल्यान्डका ह्यारी केनले ६ गोल गरेका छन् । यस संस्करणको विश्वकपमा धेरै ठूला टोली बाहिरिँदा केही नयाँ टोलीले ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । विशेषगरी मोरक्को र नर्वेको प्रभावशाली प्रदर्शनले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ । अबको प्रत्येक खेल ‘गर वा मर’ को अवस्थामा हुने भएकाले सानो गल्तीले पनि उपाधि यात्रामा पूर्णविराम लाग्न सक्छ । विश्व फुटबलका समर्थकहरूको नजर अहिले क्वार्टरफाइनलतर्फ केन्द्रित छ । उपाधि दाबेदार टोलीबीच हुने कडा प्रतिस्पर्धाले यसपटकको विश्वकप झन् रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । सान्दर्भिक सामग्रीहरू : क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
नक्कली प्रमाणपत्र पेस गरेर शिक्षक बनेका गुन्जेश्वर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा सिरहाका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार सिरहाको धनगढीमाई नगरपालिका–स्थित जनता माध्यमिक विद्यालय, वेतहा भवानीपुरमा माध्यमिक तह तृतीय श्रेणीका शिक्षकका रूपमा कार्यरत गुन्जेश्वर मण्डलले नियुक्तिका क्रममा झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । अनुसन्धानका क्रममा मण्डलले भारतस्थित बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटनाबाट आईएससी तथा चौधरी चरण सिंह विश्वविद्यालय, मेरठबाट विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेको भन्दै पेस गरेका प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ । ती झुट्टा प्रमाणपत्रका आधारमा शिक्षक पदमा नियुक्ति लिई ओहदा, तलब तथा अन्य सुविधा प्राप्त गरेको देखिएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कैद र जरिवाना सजायको माग गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
२५ जनाको ज्यान लिने ध्रुवे हात्तीको दाह्रा काटिँदै
काठमाडौं । पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ । दुई वर्षअघि पनि उक्त हात्तीको दाह्रा काटिएको थियो । उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । उक्त हात्तीले गत शनिबार राति एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । उक्त घटनासहित २५ जनाको सोही हात्तीका कारण मृत्यु भएको अधिकृत पुर्जा पुनले बताए । उनका अनुसार त्यस घटनापछि हात्तीको निरन्तर अनुगमन भइरहेको छ । त्यस हात्तीले मेघौलीको गोलाघाटस्थित सामुदायिक वनको गेटमा हानेर सोमबार साँझ स्थानीय दुई घरको अन्न खाएको थियो । उनले भने, ‘हामी तयारी अवस्थामा छौं, भेटिनासाथ ‘डार्ट’ गर्छौ, त्यसपछि दाह्रा काट्ने र नयाँ रेडियो कलर लगाउने तयारी छ ।’ यसअघि लगाइएको रेडियो कलरले समयमा सूचना दिन नसक्ने भएपछि नयाँ जडानको तयारी गरिएको हो । हात्तीलाई लगाउने रेडियो कलर आइसकेको छ । उक्त उपकरण जडानपछि हात्ती बस्ती पसेको सूचना पाएसँगै स्थानीयलाई समेत खबर गरेर सतर्कता अपनाउन सहज हुनेछ । गत शनिबार राति ध्रुवेले भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो । आमाछोरालाई आक्रमण गरी भागेको ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको थियो। घरमै बसिरहेका बेला शनिबार राति अचानक जङ्गलबाट आएको ध्रुवेलाई धपाउन आशिकाका श्रीमान्ले आगो बाल्न खोज्दा घर नै जलेर नष्ट भएको छ । विसं २०७४ मा नेपाली सेनाका एक सेनानीलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झन्डै नौ वर्षपछि ती दुई आमाछोराको ज्यान लिएको हो । चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रूपमा परिचित ध्रुवेले २०६८/६९ सालताका दैनिकजसो मान्छेको ज्यान लिन थालेपछि मार्न आदेश दिइएको थियो । त्यस हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको ज्यान लिएपछि स्थानीय प्रशासनले मार्ने निर्णय गरेको थियो । विसं २०६६ माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको ध्रुवेले २०६९ सालसम्म आइपुग्दा १५ जनाको ज्यान लिसकेको थियो । ध्रुवेको घाँटीमा पटकपटक रेडियोकलर जडान गर्ने र दाह्रा काट्ने गरिँदै आएको छ । निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवेलगायत नाम गरेका जङ्गली भाले हात्ती छन् । निकुञ्जका पोथी हात्ती यिनै भाले हात्तीबाट प्रजनन हुँदै आएको छ । प्रमुख संरक्षण अधिकृत पुर्जा पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० वटा जङ्गली हात्ती छन् । अन्य हात्तीले त्यस क्षेत्रमा दुःख दिएका छैनन् । निकुञ्ज, विपद् व्यवस्थापन समितिलगायतका सरोकारवाला सङ्घसंस्था मिलेर हात्तीले भत्काएपछि आगोसमेत लागेको घर पुनर्निर्माण गर्ने तयारी गरिएको छ । रासस
बीमा कार्यक्रम बन्द : सेवाग्राही समस्यामा
भजनी । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमा योजना बन्द भएपछि सेवाग्राहीलाई उपचारमा समस्या परेको छ । प्राथमिक स्वास्थ्य केन्द्रले बीमा गरेबापत पाउनुपर्ने रकम नपाएपछि उपचारमा समस्या भएको हो । जेठ २९ गतेदेखि केन्द्रले फार्मेसी र प्रयोगशाला सेवामा बीमा कटौती गरेको केन्द्रका अधिकारी अमरसिंह चौधरीले जानकारी दिए । चौधरीले भने, 'सरकारबाट बीमावापत प्राप्त हुने रकम कटौती गरेपछि अस्पतालको स्रोतले व्ययभार थेग्न नसक्ने हुँदा सेवाग्राहीले पाउँदै आएको फार्मेसी र प्रयोगशाला सेवाको बिमा कार्यक्रम रोकेका छौँ ।' चालु आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्रमा चार हजार ३७६ जनाले स्वास्थ्य बीमामार्फत सेवा लिएका छन् । बीमा सेवा कटौती हुँदा ६५ जना मात्रै स्वास्थ्य केन्द्रमा सेवा लिन आएका छन् । 'स्थानीय सरकारसँग पटकपटक स्वास्थ्य केन्द्रलाई बजेटका लागि आग्रह गर्दा सुनुवाइ हुँदैन', केन्द्रका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले भने ।
सामुदायिक लघुवित्तको सञ्चालकमा निगेल प्याथ मनोनीत
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निगेल प्याथलाई मनोनीत गरेको छ । संस्थाको असार २३ गते बसेको सञ्चालक समितिको ४८औँ बैठकले भक्तपुरको मध्यपुर ठिमी निवासी प्याथलाई सञ्चालक पदमा मनोनीत गर्ने निर्णय गरेको हो । उनको नियुक्ति आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुने गरी बाँकी कार्यकालका लागि गरिएको संस्थाले जनाएको छ । यस सम्बन्धमा संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ । साथै, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, सीडीएस एण्ड क्लियरिङ लिमिटेड तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई समेत उक्त निर्णयबारे जानकारी गराइएको संस्थाले उल्लेख गरेको छ ।
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा पर्यटन र व्यापार प्रभावित
राधेश्याम विश्वकर्मा भैरहवा । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स–रे मेसिन, अध्यागमन डेस्क, प्रस्थान कक्ष र धावनमार्ग सबै तयारी अवस्थामा छन् तर यात्रुहरूको भीड छैन । कहिलेकाहीँ चार्टर उडान आउँछ, केही यात्रु ओर्लिन्छन् र फेरि तिनै उक्त विमानमा चढेर फर्किन्छन् अनि फेरि विमानस्थल पहिलेकै सन्नाटामा फर्किन्छ । चार वर्षअघि नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा ठूलो उत्साहका साथ सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज पनि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ । अर्बौं रुपैयाँको लगानी, आधुनिक पूर्वाधार र सरकारले दिएको आकर्षक सहुलियतका बाबजुद विमानस्थलले अपेक्षित गति लिन सकेको छैन । विमानस्थल प्रशासन, निजी क्षेत्र र पर्यटन व्यवसायीसँग गरिएको कुराकानीले एउटा साझा निष्कर्ष देखाउँछ । समस्या धावनमार्ग वा भवनको होइन, नीति, बजार व्यवस्थापन र निर्णय क्षमताको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार पछिल्लोपटक थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक रुटमा हप्ताको दुई दिन नियमित उडान सञ्चालन गरेको थियो तर त्यो मार्चसम्मको ‘विन्टर सिड्युल’सम्म मात्र सीमित रह्यो । अहिले ‘समर सिड्युल’ सुरु भइसकेकाले अक्टोबरसम्म कुनै नियमित अन्तर्राष्ट्रिय उडान छैन । बीचबीचमा चार्टर उडान भने भइरहेका छन् । साहका अनुसार वायुसेवा कम्पनीले नियमित सेवा बन्द गर्नुको मुख्य कारण यात्रु अभावलाई देखाएका छन् । 'जहाज आउँछ तर अपेक्षित ‘अकुपेन्सी’ हुँदैन । जानेबेला केही यात्रु भए पनि फर्कंदा जहाज खाली जस्तै हुन्छ । व्यावसायिक कम्पनीले नाफा हेर्ने भएकाले यस्तो अवस्थामा नियमित उडान टिकाउन कठिन हुन्छ', उनी भन्छन् । तर उहाँ यात्रु नै नभएको निष्कर्षसँग पूर्ण रुपमा सहमत हुनुहुन्न । 'लुम्बिनी प्रदेश मात्रै होइन, मधेस, कोशी, सुदूरपश्चिमलगायत विभिन्न प्रदेशबाट विगतमा यात्रु भैरहवा आउँथे । यात्रुको सम्भावना छ । समस्या यात्रु व्यवस्थापनमा भयो', उनले भने । साहका अनुसार अन्तर्राष्ट्रिय उडान सफल बनाउन एयरलाइन्स मात्र पर्याप्त हुँदैनन् । यात्रुलाई जहाजसम्म पुर्याउने सम्पूर्ण प्रणाली सक्रिय हुनुपर्छ । 'वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने म्यानपावर कम्पनी, टिकट बिक्री गर्ने ट्राभल एजेन्सी र जनरल सेल्स एजेन्ट (जिएसए) सबैले मिलेर काम गर्नुपर्थ्यो । त्यो हुन सकेन', उनले भने । उनका अनुसार कतिपय विदेशी वायुसेवा कम्पनी भैरहवामा उड्न इच्छुक भए पनि उनीहरुको नेपालस्थित जनरल सेल्स एजेन्ट काठमाडौंमै केन्द्रित छन् । उनीहरुको सम्पूर्ण व्यापारिक संरचना राजधानीमै भएकाले उनीहरुले यात्रुलाई पनि काठमाडौंबाटै उडाउन बढी जोड दिने गरेका छन् । 'काठमाडौंका जिएसएले स्थानीय ट्राभल एजेन्सीसँग पर्याप्त सहकार्य गरेनन् । भाडामा केही सहुलियत दिने, टिकट सहज उपलब्ध गराउने वा संयुक्त रुपमा बजार प्रवर्द्धन गर्ने काम हुन सकेन । त्यसैले जहाजमा यात्रु भर्न कठिन भयो', साहले भने । उनका अनुसार विमानस्थल सञ्चालनमा पूर्वाधारभन्दा ठूलो चुनौती अहिले यही बजार संरचना बनेको छ । साहको अर्को प्रश्न आफ्नै राष्ट्रिय ध्वजावाहकप्रति छ । नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सले भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको भए विदेशी वायुसेवा कम्पनीलाई पनि सकारात्मक सन्देश जाने थियो । 'नेपाली ध्वजावाहकले नै यहाँबाट उडान सुरु गरेको भए वातावरण बन्ने थियो कि ? त्यसपछि विदेशी कम्पनी आउन पनि सहज हुन्थ्यो', उनी भन्छन् । भैरहवाको भविष्य भारतसँग जोडिएका विषयमा पनि साह स्पष्ट देखिन्छन् । भारतीय वायुसेवा कम्पनीले दिल्ली, मुम्बई, कोलकाता, बेङ्गलोरलगायत विभिन्न सहरबाट भैरहवामा सहजै उडान गर्न सक्छन् । त्यसले भारतीय पर्यटक र बौद्ध तीर्थयात्रीको सङ्ख्या उल्लेख्य रुपमा बढाउन सक्नेछ तर यसका लागि सरकारी तहबाट आवश्यक पहल हुन नसकेको उनको गुनासो छ । नेपाल र भारतबीचको एयर सर्भिस एग्रिमेन्ट धेरै पुरानो भएकाले त्यसमा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेटिएको छैन । नयाँ यथार्थअनुसार उक्त सम्झौता पुनरावलोकन गर्नुपर्ने आवश्यकता उनी औँल्याउँछन् । 'भारतीय एयरलाइन्सले अहिले काठमाडौंमा दैनिक धेरै उडान गरिरहेका छन् । उनीहरुलाई भैरहवाबाट पनि उडान गर्न सरकारी तहबाट औपचारिक पहल हुनुपर्छ', उनको भनाइ छ । सरकारले भैरहवाबाट अन्तरराष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई आकर्षित गर्न विभिन्न आर्थिक सहुलियत उपलब्ध गराउँदै आएको छ । ल्यान्डिङ शुल्क, नेभिगेसन शुल्क र यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट तथा काठमाडौंको तुलनामा हवाई इन्धनमा पनि उल्लेखनीय सहुलियत दिइएको छ । यात्रु कम हुँदा एयरलाइन्सलाई हुने आर्थिक क्षति केही हदसम्म यी छुटले पूर्ति गर्ने उद्देश्य राखिएको हो तर उनको निष्कर्ष स्पष्ट छ, 'सहुलियतले मात्र पर्याप्त हुँदैन । यात्रु व्यवस्थापन र टिकट बजारको संरचना सुधारिएन भने छुटले मात्र नियमित उडान टिकाउन सक्दैन ।' विमानस्थलको अन्तर्राष्ट्रिय हवाई यातायात तथ्याङ्कले पनि उतारचढाव देखाउँछ । सन् २०२२ देखि सन् २०२६ को मे महिनासम्म अन्तर्राष्ट्रियतर्फ एक हजार २१८ विमान आवागमन भएका छन् भने ६९ हजार ३१६ यात्रुले सेवा लिएका छन् । सन् २०२३ मा यात्रु सङ्ख्या चार हजार ७५१ मा झरेको थियो । सन् २०२५ मा यो सङ्ख्या बढेर १९ हजार ५९० पुगे पनि अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताअनुसार यो अझै न्यून मानिन्छ । चालु वर्षको मे महिनासम्म चार हजार १५३ यात्रुले मात्र सेवा लिएका छन् । भैरहवा विमानस्थलको अर्को विशेषता यहाँ जडान गरिएको इन्स्ट्रमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) हो । साहका अनुसार कम दृश्यता भएका दिनमा पनि सुरक्षित अवतरण गर्न सहयोग गर्ने यो प्रणाली नेपालका लागि महत्वपूर्ण सम्पत्ति हो । अझ रोचक कुरा, यस्तो सुविधा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध छैन तर यसको ‘सेकेन्डरी प्रोटेक्सन जोन’को करिब १.३ किलोमिटर भाग भारतीय भूभागमा पर्ने भएकाले भारतसँग आवश्यक सहमति हुन बाँकी छ । यस विषयमा पहिले पत्राचार भए पनि त्यसपछि दुवै पक्षबाट पर्याप्त ‘फलोअप’ नभएको उनी स्वीकार गर्छन् । अहिलेसम्म सञ्चालन भएका अन्तर्राष्ट्रिय उडानमा यसले कुनै प्रत्यक्ष समस्या सिर्जना गरेको छैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नुले निजी क्षेत्रलाई पनि उत्तिकै निराश बनाएको छ । तर निजी क्षेत्रका प्रतिनिधिको बुझाइमा यसको मूल समस्या यात्रुको अभावभन्दा धेरै गहिरो छ । उनीहरुका अनुसार सरकारको नीतिगत अन्योल, काठमाडौं केन्द्रित हवाई बजार, भारतसँगको अपर्याप्त कूटनीतिक पहल र कमजोर समन्वयका कारण विमानस्थलले आफ्नो वास्तविक सम्भावना उपयोग गर्न सकेको छैन । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाइ हुनुमा सरकारको नीतिगत कमजोरीलाई मुख्य कारण मान्छन् । उनका अनुसार चार वर्षदेखि सरकारले ‘विमानस्थल चल्छ’ भन्ने आश्वासन मात्रै दिइरहेको छ । अब आश्वासन होइन, ठोस निर्णय आवश्यक छ । उनी भन्छन्, 'काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक अत्यधिक हवाई चाप छ । जहाजहरू अवतरणका लागि लामो समय आकाशमा होल्ड भइरहेका छन् । यस्तो अवस्थामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा प्रयोग गर्ने नीति सरकारले तत्काल ल्याउनुपर्छ ।' थापाको सुझाव छ, 'सरकारले हवाई नीतिमा संशोधन गरेर अन्तर्राष्ट्रिय उडानको स्पष्ट वर्गीकरण गर्नुपर्छ । ‘फुल–सर्भिस क्यारियर’ र ठूला वाइडबडी विमान काठमाडौंमा केन्द्रित रहन सक्छन् भने बुद्ध सर्किट, धार्मिक पर्यटन र क्षेत्रीय बजार लक्षित बजेट एयरलाइन्स तथा न्यारोबडी जहाजलाई भैरहवामा अवतरण गर्न प्रोत्साहन मात्र होइन, आवश्यक परे नीतिगत व्यवस्था गर्नुपर्छ ।' सरकारले सबै अन्तर्राष्ट्रिय उडान काठमाडौंमै केन्द्रित हुने वर्तमान अवस्था परिवर्तन नगरेसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अपेक्षित गति लिन नसक्ने उनको ठम्याइ छ । नेपालमा सञ्चालनमा रहेका अधिकांश अन्तर्राष्ट्रिय एयरलाइन्सका एजेन्ट काठमाडौंका सीमित व्यवसायीको नियन्त्रणमा रहेको उनको दाबी छ । टिकट बिक्री, बजार व्यवस्थापन, प्रचारप्रसार र यात्रु वितरणको सम्पूर्ण अधिकार केही कम्पनीमा केन्द्रित हुँदा भैरहवा र पोखराजस्ता नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले प्रतिस्पर्धा गर्ने अवसर नै पाएका छैनन् । 'काठमाडौंका जिएसएले आफ्नै व्यापारिक हितअनुसार जहाजको बजार व्यवस्थापन गर्छन् । स्थानीय ट्राभल एजेन्सीलाई पर्याप्त सहयोग, सहुलियत वा टिकटको समान पहुँच दिइँदैन', थापा भन्छन् । उनको प्रस्ताव छ– भैरहवा र पोखराका लागि स्थानीयस्तरका जिएसए नियुक्त गर्ने नीति सरकारले ल्याउनुपर्छ । उडानको सुनिश्चित भए लुम्बिनीका पर्यटन व्यवसायी र ट्राभल कम्पनी ठूलो लगानी गरेर पनि त्यो जिम्मेवारी लिन तयार रहेको उनको दाबी छ । लुम्बिनी आउने धेरै विदेशी पर्यटक भारतका बौद्ध तीर्थस्थल पनि भ्रमण गर्न चाहन्छन् तर अहिले भारतको इ–भिसा लिएर आएका तेस्रो मुलुकका पर्यटक बेलहिया नाका हुँदै भारत प्रवेश गर्न नपाउने व्यवस्था रहेको श्रेष्ठ बताउँछन् । यसले बुद्ध सर्किटको अवधारणालाई कमजोर बनाएको उनको भनाइ छ । नेपाल सरकारले भारतसँग उच्चस्तरीय कूटनीतिक पहल गरेर यो समस्या समाधान गर्नुपर्नेमा उनको जोड छ । पश्चिम नेपालका हजारौँ युवा हरेक वर्ष वैदेशिक रोजगारीमा जान्छन् तर मेडिकल परीक्षण, श्रम स्वीकृति, बायोमेट्रिक र भिसा प्रक्रियाका लागि उनीहरू अझै काठमाडौं जान बाध्य छन् । भैरहवामै श्रम डेस्क, मेडिकल सेन्टर र प्रमुख मुलुकका भिसा सेन्टर स्थापना गर्न सकियो भने यही क्षेत्रबाट ठूलो सङ्ख्यामा यात्रु अन्तर्राष्ट्रिय उडानमा जोडिनसक्ने उनको विश्वास छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ पनि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई केबल रुपन्देहीको परियोजना मान्न नहुने बताउँछन् । धनगढी, नेपालगञ्ज, दाङ, बर्दिया, कैलाली, कञ्चनपुरका नागरिकलाई काठमाडौं पुगेर जहाज चढ्नुभन्दा भैरहवा आउन समय र खर्च दुवै हिसाबले सहज हुन्छ । श्रेष्ठको विचारमा अरुलाई दोष दिनुभन्दा पहिले नेपाल सरकारले आफ्नै दायित्व पूरा गर्नुपर्छ । उनी प्रश्न गर्छन्, 'सरकारकै स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले दैनिक एउटा नियमित अन्तर्राष्ट्रिय उडान किन सुरु गर्न सक्दैन ?' उनका अनुसार नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले नियमित उडान सुरु गरे त्यसले बजारमा सकारात्मक सन्देश जानेछ । त्यसपछि विदेशी एयरलाइन्स पनि भैरहवाप्रति आकर्षित हुन सक्छन् । यदि यात्रु उडान तत्काल विस्तार गर्न कठिन छ भने कार्गो उडानलाई विकल्पका रुपमा अघि बढाउन सकिने सुझाव पनि निजी क्षेत्रले दिएको छ । विमानस्थलमा पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति र सञ्चालन क्षमता रहेका अवस्थामा अन्तर्राष्ट्रिय कार्गो सेवा सुरु गर्न सकिए कृषि उत्पादन, औद्योगिक वस्तु र निर्यात व्यापारले नयाँ बजार पाउन सक्छ । भारतसँग प्रत्यक्ष हवाई सम्पर्कलाई विमानस्थलको भविष्यसँग जोडेर हेरिएको छ । नयाँदिल्ली, मुम्बई, कोलकाता, बेङ्गलोर, वाराणसी वा लखनउबाट नियमित उडान सुरु भए भारतीय पर्यटक मात्रै होइन, बौद्ध धर्मावलम्बी, तीर्थयात्री तथा तेस्रो मुलुकका पर्यटक पनि सिधै लुम्बिनी आउन सक्नेछन् । यसले लुम्बिनीसँगै पाल्पा, पोखरा, मुक्तिनाथ र पश्चिम नेपालको पर्यटनलाई पनि प्रत्यक्ष लाभ पुग्नेछ । विसं २०२१ मा घाँसे हवाई मैदानबाट सुरु भएको यो विमानस्थल २०२३ सालदेखि आन्तरिक विमानस्थलका रुपमा हालको स्थानबाट सञ्चालनमा आएको छ । विसं २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्नु भई करिब ३५ अर्ब रुपैयाँको लागतमा निर्माण भएको विमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । करिब आठ सय बिघामा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रन–वे रहेको छ । ‘फोर ई क्याटेगरी’को विमानस्थलमा नवौँ क्याटेगरीको दमकलहरू रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान र अवतरण हुनसक्ने यहाँ चार न्यारोबडी र एक वाइडबडी जहाज पार्किङ गर्न सकिन्छ । रासस