विकासन्युज

झापामा बालेनको सम्पर्क कार्यालय तोडफोड

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालय भएको घरमा ढुंगा प्रहार भएको छ । कमल गाउँपालिका–२ स्थित जयराम अधिकारीको घरमा रास्वपाको कार्यालय रहेको छ । रास्वपाका उम्मेदवार शाहले स्थानीयसँग भेटघाट गर्न सम्पर्क कार्यालय स्थापना गरेका थिए ।  झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार गएराति अज्ञात समूहले अचानक ढुङ्गामुढा गरेको हो । ढुङ्गाले लागेर घरको एउटा झ्यालको सिसा फुटेको छ ।  ‘रास्वपाले एउटा कोठा भाडामा लिएको भए पनि तोडफोडबाट घरबेटी बस्ने तर्फका सिसाहरू समेत फुटेका छन्’ डीएसपी खड्काले भने,’ करिब सबा १२ बजे उक्त घटना घटेको हो ।’ झापा ५ बाट यस पटक रास्वपाका वरिष्ठ नेता बालेन शाहको उम्मेदवारी दिएका छन् । घटनास्थलको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक वर्षमै कर्जाको ब्याज २०.६३ प्रतिशत घट्यो, आधार दर ५.३३ प्रतिशतमा झर्‍यो

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बैंकिङ प्रणालीमा कर्जाको ब्याजदर उल्लेखनीय रूपमा घटेको छ । सार्वजनिक तथ्याङ्कअनुसार बैंकहरूको औसत आधार दर २०.६३ प्रतिशत अर्थात् १.३८ प्रतिशत बिन्दुले घटेपछि कर्जाको ब्याजदर पनि सोही अनुपातमा कम भएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा बैंकहरूको औसत आधार दर ५.३३ प्रतिशत बिन्दुमा झरेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको औसत आधार दर ६.७१ प्रतिशत बिन्दुमा रहेको थियो । निक्षेपतर्फको ब्याजदर निरन्तर घट्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव आधार दरमा परेको बैंकरहरू बताउँछन् ।  समीक्षा अवधिमा सबैभन्दा धेरै आधार दर घटाउने बैंकको रूपमा ग्लोबल आइएमई बैंक देखिएको छ । बैंकको आधार दर २५.७५ प्रतिशत घटेर ५.१६ प्रतिशत बिन्दुमा कायम भएको छ । अघिल्लो वर्ष पुस मसान्तसम्म बैंकको आधार दर ६.९५ प्रतिशत बिन्दुमा थियो । आधार दर घटेसँगै बैंकको कर्जाको ब्याजदर पनि स्वतः कम भएको छ ।  यसैगरी, पुस मसान्तसम्म सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । बैंकको आधार दर १९.८५ प्रतिशत घटेर ४.३६ प्रतिशत बिन्दुमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.४४ प्रतिशत बिन्दुमा थियो । आधार दर कम भएकाले यस बैंकको कर्जाको ब्याजदर पनि तुलनात्मक रूपमा सस्तो रहेको छ । अन्य बैंकहरूको आधार दरमा पनि उल्लेखनीय गिरावट देखिएको छ । प्रभु बैंकको आधार दर २४.०७ प्रतिशत घटेर ५.३६ प्रतिशत, कृषि विकास बैंकको २३.९३ प्रतिशत घटेर ५.०२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २३.७० प्रतिशत घटेर ५.४७ प्रतिशत, माछापुच्छ्रे बैंकको २३.२४ प्रतिशत घटेर ५.४८ प्रतिशत र सिटिजन्स बैंकको २३.०१ प्रतिशत घटेर ५.६२ प्रतिशत बिन्दुमा कायम रहेको छ । यस्तै, सानिमा बैंकको आधार दर २२.६८ प्रतिशत घटेर ५.२५ प्रतिशत, हिमालयन बैंकको २२.४६ प्रतिशत घटेर ५.६६ प्रतिशत, कुमारी बैंकको २१.५६ प्रतिशत घटेर ५.६० प्रतिशत, एनएमबि बैंकको २०.८० प्रतिशत घटेर ५.४८ प्रतिशत, नेपाल एसबीआई बैंकको २०.४४ प्रतिशत घटेर ५.६८ प्रतिशत र नबिल बैंकको २०.१२ प्रतिशत घटेर ५.०४ प्रतिशत बिन्दुमा रहेको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को आधार दर १९.७५ प्रतिशत घटेर ५.१६ प्रतिशत, प्राइम बैंकको १९.६६ प्रतिशत घटेर ५.७२ प्रतिशत, नेपाल बैंकको १९.४८ प्रतिशत घटेर ४.९६ प्रतिशत, सिद्धार्थ बैंकको १९.१९ प्रतिशत घटेर ५.६० प्रतिशत र एभरेष्ट बैंकको १६.४३ प्रतिशत घटेर ४.७३ प्रतिशत बिन्दुमा झरेको छ । एनआईसी एशिया बैंकको आधार दर १४.७६ प्रतिशत घटेर ६.४१ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७.२१ प्रतिशत घटेर ४.७६ प्रतिशत बिन्दुमा कायम रहेको छ । बैंकहरूको आधार दर घट्दै जाँदा कर्जाको ब्याजदर पनि थप सस्तो बनेको भए पनि कर्जाको माग भने अपेक्षाअनुसार बढ्न नसकेको बैंकरहरु बताउँछन् । बैंकरहरूका अनुसार बजारमा लगानीयोग्य परियोजना, उपभोग माग र निजी क्षेत्रको आत्मविश्वास कमजोर रहँदा सस्तो ब्याजको पूर्ण लाभ अर्थतन्त्रले लिन सकिरहेका छैनन् । 

एआई, डिजिटल र दीगो रणनीतिमा एनआईसी एसिया बैंकको फोकस, ४० लाख ग्राहक नै ठूलो सम्पत्ति

काठमाडौं । पछिल्लो दुई–तीन वर्षयता बैंकिङ क्षेत्रले भोग्दै आएका चुनौतीबीच एनआईसी एसिया बैंकले दीर्घकालीन रणनीतिसहित बैंकलाई सबल र सक्षम बनाउने योजना अघि बढाएको छ ।  बैंक परिवार एकताबद्ध भएर चुनौती स्वीकार्दै रिटेल, एसएमईसँगै कर्पोरेट र ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्दै कर्जा विविधिकरण र जोखिम व्यवस्थापनमा केन्द्रित भएको बैंकले जनाएको छ । बैंकले आक्रामक व्यवसायभन्दा पनि दिगो र जिम्मेवार बैंकिङलाई प्राथमिकता दिएको उल्लेख गर्दै दीर्घकालीन योजना अनुसार काम गर्दा आगामी वर्षहरूमा सुधार देखिने विश्वास व्यक्त गरेको छ । कोभिड–१९ पछिको अवस्थामा बैंकिङ कारोबार डिजिटलतर्फ सरेसँगै सञ्चालन खर्च घट्ने र सेवा छिटोछरितो हुने बैंकको ठहर छ । डिजिटल र एआईमा आधारित बैंकिङलाई भविष्यको आधार मान्दै बैंकले सेवा प्रवाह र आन्तरिक प्रणाली पूर्ण रूपमा डिजिटल र एआईमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । झन्डै ४० लाख ग्राहकलाई ठूलो सम्पत्ति मान्दै निक्षेप सुरक्षालाई प्रमुख दायित्वका रूपमा लिएको बैंकले जनाएको छ । यसैगरी, बैंकले आन्तरिक वातावरण स्वच्छ, पारदर्शी र उल्लासमय बनाउने लक्ष्यसहित नयाँ पहल सुरु गरेको र ३ हजार २ सय कर्मचारीको सामूहिक प्रयासबाट बैंकलाई थप सबल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । पुँजी व्यवस्थापन मजबुत बनाउन बैंकले राइट सेयर र नन–क्युमुलेटिभ प्रिफरेन्स सेयर जारी गर्ने रणनीति लिएको छ । यसबाट इक्विटी आधार बलियो बनाउँदै कर्जा लगानी विस्तार र व्यवसायलाई सहज बनाउने बैंकको उद्देश्य रहेको छ ।

४ करोड ६२ लाख रुपैयाँमा भोजपुरको कावा खोलामा पक्की पुल निर्माण

भोजपुर । कावा खोलामा चार करोड ६२ लाख ७४ हजार ९१० रुपैयाँको लागतमा पक्की पुल निर्माण भएको छ । निर्माण सम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ ।  स्टिल ट्रस ओपन फाउन्डेसन प्रविधिमा एक स्पानको उक्त पुल ४६ मिटर लामो र छ मिटर चौडा छ । पुलको दुवैतर्फ एक दशमलव २० मिटर चौडा पैदल मार्गसमेत निर्माण गरिएको छ ।  पुल सञ्चालनमा आएपछि आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाका सर्वसाधरण लाभान्वित भएका छन् । कावा खोलामा पुल नहुँदा सदरमुकामसम्मको यात्रा जोखिमपूर्ण थियो । यो पुलले हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङलाई जोडेको छ । रासस 

सुनको मूल्य तोलामा साढे ९ हजारले गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँ र चाँदी तोलामा ६२० रुपैयाँले घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार २०० सय रुपैयाँमा कारोबार भएको छ । बुधबार एक तोला सुनको कारोबार ३ लाख ४ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे थियाे । साथै चाँदी तोलामा ४ हजार ९८० रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको मूल्य बुधबार ५ हजार ६०० रुपैयाँ काराेबारमा भएको थियाे ।      अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

आइसीएफसी फाइनान्स ‘एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२५’ बाट सम्मानित

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा सन् २०२५ को वित्तीय संस्थाको विधामा ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२५’ बाट सम्मान गरिएको छ । सुदृढ वित्तीय प्रदर्शन, सुशासन, सेवा विस्तार तथा संस्थागत व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गरेबापत मनोनित वित्तीय संस्थामध्येबाट आइसीएफसी फाइनान्स उक्त प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको हो । ललितपुरमा आयोजित भव्य समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत तथा नायब महाप्रबन्धकले संयुक्त रूपमा उक्त सम्मान ग्रहण गरेका थिए । विभिन्न वित्तीय संस्थाहरूको वित्तीय विवरणको विश्लेषण, प्रमुख वित्तीय सूचकाङ्क, सुशासन अभ्यास, कर्जा प्रवाह तथा असुली अवस्था, चुक्ता पुँजीको स्थिति, व्यवसायिक विस्तारको दिगोपन, मानव संसाधन विकासमा गरिएको लगानी, लगानी विविधीकरण रणनीति तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमहरूको मूल्यांकनका आधारमा कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो । मूल्यांकन समितिका अनुसार पारदर्शी नीति, प्रभावकारी जोखिम व्यवस्थापन, ग्राहक–केन्द्रित सेवा, डिजिटल तथा भौतिक पहुँच विस्तार तथा आम जनमानसमा कायम विश्वासका कारण आइसीएफसी फाइनान्स वित्तीय क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको हो । अवार्ड ग्रहणपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले यस सम्मानलाई सञ्चालक समितिको मार्गदर्शन, कर्मचारीहरूको निरन्तर समर्पण, नियामक निकायको सहयोग, सेयरधनीको विश्वास तथा ग्राहकहरूको निरन्तर साथको परिणाम भएको बताए। उनले सबैप्रति हार्दिक आभार व्यक्त गरे । साथै, वित्तीय साक्षरता अभिवृद्धि, उद्यमशीलता प्रवर्द्धन, कर्जा पहुँच विस्तार तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यका साथ कम्पनी आगामी दिनमा पनि जिम्मेवार र नवप्रवर्तनमुखी वित्तीय संस्थाका रूपमा अघि बढिरहने प्रतिबद्धता जनाएको छ ।

केडिया र रिलायन्स ग्रुपको यति कार्पेट चम्किँदा यति पोलिकेमको आम्दानी घट्यो

काठमाडौं । केडिया अर्गनाइजेसन र रिलायन्स ग्रुपको संयुक्त लगानीमा सञ्चालनमा रहेका दुई कम्पनी- यति कार्पेट प्राइभेट लिमिटेड र यति पोलिकेम प्रालिले फरक- फरक बजार अवस्थाबीच व्यवसाय सञ्चालन गरिरहेका छन् । तथ्याङ्क अनुसार यति कार्पेटको आम्दानी निरन्तर बढ्दो क्रममा देखिएको छ भने यति पोलिकेम भने बढ्दो प्रतिस्पर्धा र बजार दबाबका कारण आम्दानी संकुचनमा परेको छ । यति कार्पेट यति कार्पेट प्राइभेट लिमिटेडले सन् २०२५ मा ६४ करोड ३० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.४० प्रतिशत अर्थात् ७ करोड ६० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी ५६ करोड ७० लाख रुपैयाँ रहेको थियो । सन् २०१८ फेब्रुअरीमा स्थापना भई तत्कालीन यति फ्याब्रिक्स प्रालिको उत्पादन व्यवसाय सम्हाल्दै सञ्चालनमा आएको यति कार्पेटमा केडिया अर्गनाइजेसन र रिलायन्स ग्रुपको ५०-५० प्रतिशत सेयर स्वामित्व छ । दुवै समूह नेपालका उत्पादन, व्यापार तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका स्थापित व्यावसायिक घरानाका रूपमा परिचित छन् । पछिल्लो तथ्याङ्कअनुसार कम्पनीमा अनिल कुमार केडियाको २५ प्रतिशत, आयुष केडियाको १५ प्रतिशत, नरेन्द्र कुमार अग्रवालको १३ प्रतिशत र लोकेश तोडीको १३ प्रतिशत सेयर स्वामित्व रहेको छ । अन्य लगानीकर्ताहरूको समेत सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीको आम्दानी पछिल्ला वर्षहरूमा क्रमशः बढ्दो क्रममा देखिन्छ । सन् २०२३ मा ४५ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ३० करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा १९ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । पर्सा जिल्लाको वीरगञ्जमा उत्पादन केन्द्र रहेको कम्पनीले आर्थिक वर्ष २०२० मा कोभिड-१९ महामारीको कठिन समयमा व्यावसायिक उत्पादन सुरु गरेको हो । महामारीका कारण प्रारम्भिक वर्षहरूमा व्यवसाय विस्तारमा चुनौती देखिए पनि पछिल्ला वर्षमा उत्पादन र बजार विस्तारमा कम्पनी केन्द्रित हुँदै अघि बढिरहेको छ । यति कार्पेटले नन-वोभन, टफ्टेड तथा ग्रास कार्पेट उत्पादन गर्दै आएको छ । उत्पादनका लागि आवश्यक फाइबर र यार्नजस्ता कच्चा पदार्थ आयातमार्फत ल्याइने गरिएको छ । कम्पनीले घरेलु बजारसँगै निर्यात बजारलाई समेत लक्षित गर्दै गुणस्तरीय कार्पेट उत्पादनमा जोड दिँदै आएको जनाएको छ । ‘यति’ ब्रान्डको बलियो पहिचान र स्थापित बिक्री सञ्जाल कम्पनीका प्रमुख सकारात्मक पक्ष मानिएका छन् । यही ब्रान्ड नाममा समूहकै सहायक कम्पनीले लामो समयदेखि पीभीसी आधारित कार्पेट उत्पादन गर्दै आएको अनुभवले बजारमा विश्वास र पहुँच विस्तार गर्न सहयोग पुगेको कम्पनीले दाबी गरेको छ । साथै, कम्पनीले अधिकांश ग्राहकबाट बैंक ग्यारेन्टी लिने नीति अपनाएको छ । सन् २०२५ को जुलाई मध्यसम्म करिब ७१ प्रतिशत ग्राहकबाट बैंक ग्यारेन्टी लिइएको कम्पनीको भनाइ छ । दीर्घकालीन माग दृष्टिकोणलाई भन्सार शुल्क संरक्षण र तुलनात्मक रूपमा सीमित प्रतिस्पर्धाले समेत समर्थन गरेको बताइएको छ । नेपालमा नन-वोभन, टफ्टेड र ग्रास कार्पेट उत्पादन गर्ने कम्पनीहरू ४-५ वटामा सीमित छन् । सस्तो आयातित कार्पेटबाट जोगिन तयार कार्पेट आयातमा ३० प्रतिशतसम्म भन्सार शुल्क लाग्ने व्यवस्था छ भने प्रमुख कच्चा पदार्थमा करिब ५ प्रतिशत मात्र शुल्क लाग्ने गरेको छ । यसले स्वदेशी उद्योगलाई संरक्षण दिएको जनाइएको छ । यसैबीच, सन् २०२५ मा ग्रास कार्पेटले कुल बिक्रीको करिब ११ प्रतिशत हिस्सा ओगटेको छ, जुन सन् २०२४ मा करिब १ प्रतिशत मात्र थियो । उच्च मुनाफा दिने यो उत्पादन लाइनले कम्पनीको आम्दानी वृद्धिमा उल्लेखनीय योगदान दिएको देखिन्छ । यद्यपि, कम्पनीले नियामक तथा कच्चा पदार्थको मूल्य उतारचढाव जोखिम पनि सामना गरिरहेको छ । भन्सार संरक्षणमा निर्भर रहेकाले आयात शुल्क संरचनामा कुनै परिवर्तन आएमा कम्पनी प्रत्यक्ष प्रभावित हुन सक्ने जोखिम रहेको छ । साथै, फाइबर र यार्नजस्ता कच्चा पदार्थ आयातमा निर्भर रहनुपर्दा आपूर्ति शृंखला अवरोध र अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढावले लागत र नाफामा असर पार्न सक्ने चुनौती कायमै रहेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६० करोड ९० लाख रुपैयाँ ऋण लिएको छ । जसमा ३२ करोड ९० लाख रुपैयाँ दीर्घकालीन र २८ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।  यती पोलिकेम यति पोलिकेम प्रालिमा पनि केडिया अर्गनाइजेसन र रिलायन्स ग्रुपको ५०-५० प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको उत्पादन केन्द्र मकवानपुर जिल्लाको हेटौँडा औद्योगिक क्षेत्रमा अवस्थित छ । यहाँबाट पीभीसी कार्पेट, पीभीसी कोइल म्याट, रेक्सिन कोटेड फेब्रिक तथा हालै थपिएको लक्जरी भिनाइल टायल उत्पादन हुँदै आएको छ । आवश्यक कच्चा पदार्थ भारत तथा अन्य तेस्रो मुलुकबाट आयात गरी उत्पादन गरिँदै आएको छ ।  उत्पादन क्षमताका हिसाबले यति पोलिकेमको वार्षिक जडित क्षमता उल्लेखनीय छ । कम्पनीसँग पीभीसी कार्पेटतर्फ करिब १४ हजार ४ सय मेट्रिक टन, रेक्सिन कोटेड फेब्रिकतर्फ ३ हजार ६ सय मेट्रिक टन, कोइल म्याटतर्फ ४ हजार मेट्रिक टन र नयाँ एलभीटी उत्पादनतर्फ पनि ४ हजार मेट्रिक टन वार्षिक उत्पादन क्षमता रहेको छ । कम्पनीको आम्दानीमा पीभीसी फ्लोरिङ उत्पादन नै प्रमुख आधारका रूपमा रहेको छ । मुख्यतः स्वदेशी बजारलाई लक्षित गर्दै उत्पादन गर्दै आएको यति पोलिकेमले गुणस्तरीय र प्रतिस्पर्धी मूल्यका उत्पादनमार्फत घरेलु बजारमा आफ्नो पकड बलियो बनाउँदै लगेको जनाएको छ । कम्पनीले सन् २०२५ मा १ अर्र्ब १३ करोड ८० लाख रुपैयाँ बराबर सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १५.३९ प्रतिशत अर्थात् २० करोड ७० लाख रुपैयाँ कम हो । सन् २०२४ मा कम्पनीले १ अर्ब ३४ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । पीभीसी फ्लोरिङ उद्योगमा दोस्रो उत्पादक प्रवेश गरेपछि प्रतिस्पर्धा बढ्नु आम्दानी घट्नुको प्रमुख कारणका रूपमा देखिएको छ । कम्पनीको आम्दानीको ७० प्रतिशतभन्दा बढी हिस्सा पीभीसी फ्लोरिङबाट आउने गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा प्रतिस्पर्धी कम्पनीले पूर्ण क्षमतामा उत्पादन सुरु गरेपछि बजारमा थप प्रतिस्पर्धा बढ्ने र त्यसले नाफा मार्जिनमा दबाब सिर्जना गर्न सक्ने चिन्ता कम्पनीले व्यक्त गरेको छ ।  साथै, उद्योग भन्सार संरक्षणमा निर्भर रहेकाले आयात शुल्क संरचनामा कुनै पनि परिवर्तन भयो भने झनै समस्या आउन सक्ने कम्पनीले जनाएको छ । कच्चा पदार्थको ठूलो हिस्सा आयातमा आधारित भएकाले आपूर्तिकर्ता जोखिम र विदेशी मुद्रा उतारचढावको जोखिम पनि कायमै रहेको कम्पनीको भनाइ छ ।  यद्यपि, केही सकारात्मक पक्षहरू पनि रेटिङमा समेटिएका छन् । दुई ठूला व्यापारिक घारना प्रवद्र्धक रहेकाले कम्पनीलाई दीर्घकालीन रूपमा व्यवसाय गर्न सहज हुने विश्वास पनि कम्पनीले गरेको छ । नेपालमा पीभीसी फ्लोरिङ उद्योग तुलनात्मक रूपमा सीमित खेलाडीमा केन्द्रित हुनु र सरकारले स्वदेशी उत्पादकलाई तयार पीभीसी कार्पेट आयातमा भन्सार अवरोधमार्फत संरक्षण दिनु पनि कम्पनीका लागि सकारात्मक पक्ष मानिएको छ । साथै, तयार पीभीसी उत्पादनमा करिब ४० प्रतिशत भन्सार शुल्क र कच्चा पदार्थमा ५-६ प्रतिशत मात्रै शुल्क लाग्ने व्यवस्थाले स्वदेशी उद्योगलाई उल्लेखनीय भन्सार संरक्षण प्रदान गरेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९२ करोड १० लाख रुपैयाँ ऋण लिएको छ । जसमा ३२ करोड १० लाख रुपैयाँ दीर्घकालीन र ५८ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । 

गरिमा सुवर्ण योजनाको सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचुअल फन्ड’ अन्तर्गत विकास बैंकबाट प्रवर्द्धित पहिलो खुलामुखी योजनाको रूपमा ‘गरिमा सुवर्ण योजना’ ले सार्वजनिक निष्काशनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले माघ २१ गते उक्त योजनाको सार्वजनिक निष्काशनका लागि स्वीकृति दिएको हो । यो योजना एक अर्ब रुपैयाँ बराबरको रहेको छ । गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले सामूहिक लगानी कोष व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहकसम्म सहज रूपमा पुर्‍याउन गरिमा विकास बैंक लिमिटेडका सबै शाखा कार्यालयमार्फत सहजीकरण हुँदै आएको छ । संस्थाले आफ्ना सेवाहरूलाई अझ परिस्कृत, प्रभावकारी तथा ग्राहकमैत्री बनाउन विभिन्न नवीनतम प्रविधिको प्रयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।