बैंकबाट साढे १६ करोड रुपैयाँ ऋण, १:५ अनुपातमा हकप्रद सेयर
काठमाडौं । फुल्योर हिमालयनले बैंकबाट लिएको साढे १६ करोड रुपैयाँ ऋण अनुमोदन गर्ने भएको छ । संचालक समितिको निर्णय अनुसार कम्पनीले लक्ष्मी सनराइज बैंकबाट १३ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट ३ करोड ५२ लाख रुपैयाँ ऋण नवीकरण गर्ने भएको हो । बैंकबाट लिएको उक्त ऋण कम्पनीको ३०औं वार्षिक साधारण सभाबाट पारित गर्ने गरी सञ्चालक समितिले प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले पुस १८ गते पूलचोक ललितपुरमा साढे २ बजे साधारण सभा डाकेको छ । अघिल्लो साधारण सभाबाट पारित १:५ दरको हकप्रद सेयर निष्कासनको निर्णय पुन पारित गर्नेछ । साथै हकप्रद सेयर नबिकेको खण्डमा बिक्री गर्न संचालक समितिलाई पूर्ण अख्तियारी ३०औँ सभाले दिनेछ । यस्तै, संचालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र संचालक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरिक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म रिलायन्स स्पिनिङ्ग मिल्समा लगानी गर्न सक्ने
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज मंसिर २५ गते अन्तिम दिन रहेको छ । मंसिर २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्रीमा राखेको हो । बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही निर्देशिकाको दफा (१४) मा भएको व्यवस्था बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य सर्वसाधारण लगानीकर्ताहरुका लागि तोकिएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
२१२ जना किसानबाट १.४४ करोडको धान खरिद, प्रतिक्विन्टल ३ हजार ४६३ रूपैयाँ
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस वर्ष दाङको देउखुरी क्षेत्रका तीन पालिकाका २१२ जना किसानले उत्पादन गरेको ५ हजार क्विन्टल धान खरिद गरेको छ । लमही, गढवा र राप्ती गाउँपालिकाका किसानले उत्पादन गरेको धान खरिद गरिएको कार्यालय प्रमुख तुलमाया लोवाले जानकारी दिए । उक्त धान १ करोड ४४ लाख ८९ हजार ८०० रुपैयाँमा खरिद गरिएको उनले बताए । गढवाबाट २ हजार क्विन्टल, लमही र राप्ती गाउँपालिकाबाट१ हजार ५०० क्विन्टल धान खरिद गर्ने कार्यालय र पालिकाबीच भएको सहमतिअनुसार धान खरिद गरिएको कार्यालयले जनाएको छ । सरकारले निर्धारण गरेको धानको मूल्यअनुसार प्रतिक्विन्टल ३ हजार ४६३ रूपैयाँका दरले मोटो धान किसानबाट खरिद गरिएको कार्यालयका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिए । उनका अनुसार १ जना कृषकबाट अधिकतम ४० क्विन्टल धान खरिद गर्ने भनिए तापनि धेरै किसानलाई समेट्ने गरी १५ देखि २० क्विन्टल प्रतिकिसानका दरले धान खरिद गरिएको हो । गत वर्ष खाद्यले जिल्लाबाट ८ हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएको थियो । तर, गत वर्ष लक्ष्यअनुसार धान खरिद हुन नसक्दा यस वर्ष केन्द्रबाट धान खरिदको कोटा घटेको छ । यसैबीच, दाङमा यस वर्ष १ लाख ८६ हजार ५३ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष ३.०६२ प्रतिशत बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिए ।
खुला प्रतिस्पर्धाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति छान्ने, दरखास्त आह्वान
काठमाडौं । सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खुला प्रतिस्पर्धाका माध्यमबाट उपकुलपति छनोट गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि उपकुलपति खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्ने भएको हो । मन्त्रालयले सूचना प्रकाशित गर्दै योग्य र इच्छुक उम्मेदवारले ७ दिन भित्र आफ्नो आवेदन पेस गर्न आह्वान गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ तथा प्रतिष्ठानका विभिन्न निकाय र पदाधिकारीका कार्य, कार्यक्षेत्र र अधिकार सम्बन्धी नियमावली, २०७४ मा उल्लेखित योग्यता पूरा गर्ने व्यक्तिहरूले दरखास्त दिन सक्नेछन् । आवेदन सिंहदरबारस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेश गर्नुपर्नेछ । आवश्यक कागजातहरूसहित कार्ययोजना तथा सम्बन्धित दस्तावेज संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ । आवेदन फारम मन्त्रालयको वेबसाइट बाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ । समितिले तोकिएको समयसीमाभित्र प्राप्त दरखास्तहरूको मूल्यांकनपछि योग्य उम्मेदवारहरूको सूची तयार गरी सिफारिस प्रक्रिया अघि बढाउने जनाएको छ ।
दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै, बेरोजगार सङ्ख्या ६ लाख ६१ हजार
काठमाडौं । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ । विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहकाे अवसर बढेसँग जोडेर व्याख्या गरेका छन् । यसले आर्थिक स्थिरता र समाजमा वृद्ध व्यक्तिहरूको सक्रिय सहभागितालाई देखाउँछ । १५ वर्षभन्दा माथिका कुल रोजगारी वर्षैपिच्छे ०.८ प्रतिशतले बढेर २ करोड ९० लाख ४६ हजार पुगेको छ, जसअन्तर्गत ६० वर्षभन्दा माथिका व्यक्तिहरूका रोजगारी मात्र ३ लाख ३३ हजारले बढेका छन् । तर १५-२९ वर्ष उमेर समूहमा १ लाख ७७ हजार र ४० को दशकमा ९ हजारले रोजगारी घटेको छ । स्वास्थ्य तथा सामाजिक सेवा, व्यवसाय व्यवस्थापन, खेलकुद तथा मनोरञ्जन क्षेत्रमा क्रमशः २ लाख ८१ हजार, ६३ हजार र ६१ हजार रोजगारी बढेका छन्, भने निर्माण र उत्पादन क्षेत्र क्रमशः १ लाख ३१ हजार रहेका छन् । नियमित र अनियमित कर्मचारी सङ्ख्या बढे पनि दैनिक मजदुर र एक्लै व्यवसाय गर्ने स्वरोजगार घटेका छन् । रोजगार दर १५ वर्षमाथिका जनसङ्ख्यामा ०.२ प्रतिशतले बढेर ६३.४ प्रतिशत पुगेको छ, जबकि ओईसीडी विधिअनुसार १५-६४ वर्ष समूहको दर ७०.२ प्रतिशतमा उक्लिएको छ । बेरोजगारी दर २.२ प्रतिशतमै स्थिर रहे पनि बेरोजगार सङ्ख्या ५ हजारले बढेर ६ लाख ६१ हजारमा पुगेको छ । आर्थिक रूपमा निष्क्रिय जनसङ्ख्या अलि घटेको छ ।
सन् २०२५ मा विश्वव्यापी व्यापार ३५ खर्ब अमेरिकी डलर भन्दा बढी पुग्ने
काठमाडौं । संयुक्त राष्ट्र व्यापार र विकास निकायले विश्वव्यापी व्यापार सन् २०२५ मा पहिलो पटक ३५ खर्ब अमेरिकी डलर भन्दा बढी पुग्ने अपेक्षा गरिएको जनाएको छ । विश्वव्यापी व्यापारमा भौगोलिक र राजनीतिक तनाव, लागत वृद्धि र असमान मागका बाबजुद पनि व्यापार निरन्तर बढ्दै गएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार, यस वर्ष विश्वव्यापी व्यापार वर्षैपिच्छे करिब ७ प्रतिशतले वृद्धि हुने अनुमान छ । मूल्य वृद्धिले नभई व्यापारको मात्रा वृद्धि मुख्य कारण रहेको देखिन्छ, जसले विश्वव्यापी माग स्थिर रहेको सङ्केत गर्दछ । पूर्वी एशियामा निर्यात वृद्धि सबैभन्दा धेरै देखिएको छ, जहाँ व्यापार नौ प्रतिशतले बढेको छ, र क्षेत्रीय भित्रको व्यापार १० प्रतिशतले बढेको छ । अफ्रिका र दक्षिण व्यापारमा पनि बलियो वृद्धि देखिएको छ, जसले उदाउँदो अर्थतन्त्रहरूको विश्वव्यापी व्यापारमा भूमिका बढ्दै गएको देखाउँछ । प्रतिवेदनले मित्र राष्ट्रहरूसँग र नजिकका भौगोलिक साझेदारसँगको व्यापार बढाउने प्रवृत्ति बढिरहेको उल्लेख गरेको छ, जसले विश्वव्यापी व्यापारको ढाँचा फेरबदल गर्दैछ । आगामी वर्ष सन् २०२६ मा व्यापार वृद्धिदर अलि सुस्त हुने पनि प्रतिवेदनले अनुमान गरेको छ, जसका कारणमा विश्वव्यापी आर्थिक क्रियाकलापमा कमी, ऋण वृद्धि, व्यापार लागत बढ्नु र अनिश्चितता रहनु समावेश छ ।
पोखरामा १ सय बेड क्षमताको जलन अस्पताल बन्दै, १७ जना कोरियाली टोलीले अध्ययन गर्दै
काठमाडौं । देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि आवश्यक परामर्श तथा सम्भाव्यता अध्ययन सुरु भएको छ । पोखरा-२७ स्थित साविक लेखनाथ नगरपालिका कार्यालय रहेको जमिनमा महानगरले १ सय बेड क्षमताको जलन र विशेषज्ञ अस्पताल निर्माणको योजना अघि सारेको हो । यस योजनामा कोरियन सहयोग नियोग (कोइका) ले सहयोग गर्ने र त्यसका लागि सम्भाव्यता अध्ययन गर्न कोइकाको टोली पोखरा आएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । उनका अनुसार कोइकाका देशीय निर्देशक मुहोन कोङसहित विभिन्न विषयका १७ जना कोरियाली विज्ञहरूको टोलीले पोखरामा रहेर अस्पताल निर्माण सम्बन्धमा आवश्यक परामर्श गरिरहेको छ । महानगर प्रमुख आचार्यले भने, ‘पोखरामा विशिष्टिकृत बर्न हस्पिटल बन्ने पक्का भएको छ । यो अस्पताल बनेपछि पोखरा र यस वरपरका बासिन्दालाई अत्याधुनिक विशेषज्ञसहितको स्वास्थ्योपचार सुविधा प्राप्त हुनेछ । कोइकाको उच्चस्तरीय टोलीले यसका लागि विस्तृत अध्ययन सुरु गरिसकेको छ ।’ विसं २०८१ फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा तत्कालीन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र महानगर प्रमुख आचार्य जलेर घाइते भएका थिए । पोखरामा जलनको अस्पताल नभएपछि उनीहरूलाई काठमाडौंमा उपचार गरिएको थियो । सोही घटनापछि महानगर प्रमुख आचार्यले पोखरामा सुविधा सम्पन्न बर्न अस्पतालको खाँचो महसुस गरी अस्पताल बनाउने घोषणा गरेका थिए । महानगरको चालु वर्षको नीति तथा कार्यक्रममा समेत अस्पताल बनाउने विषय समेटिएको छ । महानगरका अनुसार साबिक लेखनाथ नगरपालिका कार्यालय रहेको क्षेत्रमध्ये ३ रोपनीमा वडा नं २७ को कार्यालय निर्माण भइसकेको छ । त्यसैगरी, पाँच रोपनीमा एसियाली विकास बैंकको सहयोगमा विपद् व्यवस्थापन केन्द्र निर्माण प्रक्रिया अघि बढेको छ । नगरपालिकाको बाँकी रहेको २८ रोपनी जमिनमा जलन अस्पतालसँगै प्रसूति तथा स्त्रीरोग, बालबालिका, ट्रमा, मिर्गौला तथा अन्य आवश्यक विशिष्ट सेवा समावेश गरी ‘स्पेशलाइज्ड हस्पिटल’का रूपमा विकास गर्ने योजना रहेको छ ।
आज अन्तर्राष्ट्रिय पर्वत दिवस, २ अर्ब मानिस पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घको आव्हानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्र सङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ । रोमस्थित राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को प्रधान कार्यालयमा आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुँदैछन् । राष्ट्र सङ्घका अनुसार विश्वको २ अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् । पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले पानी स्रोत जोखिममा परेका छन् । द्रुत गतिमा हिमनदी पग्लिएका छन् । विश्व तापक्रम बढ्ने क्रम जारी रहे अरु हिमनदी हराउने छन् । यसैगरी विश्वको १ करोड ५० लाखभन्दा बढी जनसङ्ख्या हिमनदीहरूको पग्लेर बनेका ताल फुट्ने सम्भावित जोखिमका कारण अत्यधिक संवेदनशील अवस्थामा छन् । यो दिवसले यस्ता जोखिम र चुनौतीबारे विश्व समुदायलाई सतर्क गराउँदै पहाड-पर्वत संरक्षण, दिगो विकास तथा सुरक्षित भविष्यका लागि सहकार्यमा जोड दिएको छ ।