विकासन्युज

१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुन बिहीबार (आज) १ हजार रुपैयाँले बढेको हो।  बुधवार प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीवार बढेर २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  बिहीवार चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ ।  बुधवार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  

किसानलाई भिमाद नगरपालिकामा दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।  दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।   नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ ।  नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ । भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर ११० रुपैयाँ, थोक बिक्री मूल्य प्रतिलिटर १२० रुपैयाँ र खुद्रा बिक्री मूल्य प्रतिलिटर १३० तोकिएको छ ।  यसैगरी, फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य रु ११५, थोक बिक्री मूल्य रु १३० र खुद्रा बिक्री मूल्य रु १४० निर्धारण भएको छ ।   

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँको करसहित ५ प्रतिशतका दरले १५ करोड १४ लाख ६६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव उमा जोशीले जानकारी दिए ।

१५ प्रतिशत लाभांश दिने डिप्रोक्स लघुवित्तको घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  उक्त लाभांश मध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।  

नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंसिर २४ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनी सचिव विनोदकुमार भुजेलका अनुसार यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित सेयरधनीहरूमा वितरण गरिने छ ।

फर्स्ट माइक्रोफाइनान्सको ६.५ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । २०८२ असार मसान्तसम्म संस्थाको कुल चुक्ता पूँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रूपैयाँ रहेको छ । प्रस्तावित ६.५ प्रतिशत नगद लाभांश (करसहित) रकम ८ करोड ७४ लाख १६ हजार ६३६ रूपैयाँ बराबर हुनेछ । संस्थाले यसपटक बोनस सेयर नदिने निर्णय गरेको छ । लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि आगामी वार्षिक साधारण सभामा पेश गर्ने संस्थाले जनाएको छ ।  कम्पनी सचिव विजय शर्माले लाभांश स्वीकृतिपछि आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन् ।

दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै, २० हजारले गरे अवलोकन

बागलुङ । एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या एक वर्षमै २० हजार पुगेको छ । यहाँको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबारको संरक्षणसँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । दरबार संरक्षण अभियानमा लागिरहेका मन्जेस बम मल्लका अनुसार दरबारको सौन्दर्यीकरण र यहाँ खाने तथा बासोबासको व्यवस्थापनसमेत भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार हाल पुरानै स्वरूपमा फर्काइएको छ । दरबारका झ्यालढोका पुरानै स्वरूपमा बनाइएका छन् भने रङरोगन र मर्मतपछि चिटिक्क बनाइएको छ । दरबार क्षेत्रमै तीन वर्षदेखि रेष्टुराँ सञ्चालनमा ल्याइएको छ । दरबार क्षेत्रमा रहेको पुरानो घर र गोठलाई मौलिक रूपमा पुनर्निर्माण गरी रेष्टुराँ सञ्चालनमा ल्याइएको हो । गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास रहेको दरबार संरक्षणसँगै पर्यटक आर्कषण गर्ने प्रमुख माध्यम बनेको तत्कालीन राजा भरतबम मल्लका नाति मञ्जेश बम मल्लले बताए । उनले पुर्खाको नासोलाई संरक्षण गरेर पर्यटक लोभ्याउने नीतिअनुसार काम गर्दा गत वर्ष मात्र २० हजारले दरबार अवलोकन गरेको बताए। दरबारमा तस्बिर खिच्न, भिडियो बनाउन, अध्ययन तथा अवलोकन गर्न आउनेको संख्या दैनिक रूपमा बढ्दै गएको मल्लले जानकारी दिए । मल्लसहितका चार युवाले रु ५० लाख लगानीमा यहाँ रेष्टुराँ सञ्चालनमा ल्याएका छन् । दरबार परिसरमा माछापोखरी बनाएर विभिन्न प्रजातिका माछा पाल्न थालिएको छ । उक्त गलकोट दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधव मल्ललाई दिइएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्ल द्वन्द्वको समयमा सोही दरबारमै मारिएका थिए । विसं २०५९ वैशाखमा भएको हत्यापछि मल्ल परिवार त्यहाँबाट विस्थापित भएर काठमाडौंमा बस्न थालेपछि दरबार जीर्ण बनेको थियो । पछिल्लो समय नाति मन्जेशले दरबारको संरक्षण गरेपछि पर्यटकहरू आउने क्रम क्रमशः बढिरहेको छ। रासस

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको यात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना हुँदा २२ जना यात्री घाइते भएका छन् ।         लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार बिहीबार बिहान पुलबाट खोलामा बस खसेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पुर्याइएको छ । बसमा ३८ जना यात्री थिए ।