विशाल बजारबाट घोषणा हुँदैछ करदाता प्रोत्साहन उपहारका १७ विजेता

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेताको घोषणा आज काठमाडौंको न्युरोडस्थित विशाल बजार परिसरबाट हुँदैछ । असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका विजेताको नाम सार्वजनिक गर्न लागिएको हो ।

कार्यक्रममार्फत १६ जनाले जनही एक लाख रुपैयाँ र एक जनाले बम्पर पुरस्कारस्वरूप ७ लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । अर्थ मन्त्रालयका अनुसार करकट्टीअघि दैनिक पुरस्कारको रकम एक लाख ३४ हजार ३३४ रुपैयाँ र बम्पर पुरस्कारको रकम १० लाख रुपैयाँ रहेको छ । यसअनुसार यसपटक कुल १७ जना विजेता छनोट हुनेछन् ।


उपहार कार्यक्रमका विजेताको घोषणा लोकप्रिय कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले गर्नेछन् । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका उच्चपदस्थ अधिकारीहरूको समेत सहभागिता रहने जनाइएको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रम करदातालाई प्रोत्साहित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो । यस कार्यक्रमअन्तर्गत उपहार विजेताको छनोट र घोषणा गरिँदै आएको छ ।

विजेता घोषणा कार्यक्रम आज कात्तिक १ गते बिहान १० बजे विशाल बजार परिसर, न्युरोडमा हुनेछ ।

Share News