काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गरेकी छन् । दसैँका लागि ३ हजार रुपैयाँको सामान खरिद गरेर बिल लिएकी तामाङको भाग्य चिठ्ठामार्फत खुलेको हो ।
नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान किनेपछि तामाङले प्राप्त गरेको बिलको कुपन नम्बर ०८१६३२५१५८४९ बम्पर पुरस्कारका लागि छनोट भएको हो ।
काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत बम्पर र दैनिक उपहारका विजेता घोषणा गरेका थिए । विजेता छनोट भएपछि कलाकारद्वयले तामाङलाई टेलिफोन गरेर १० लाख रुपैयाँको पुरस्कार परेको जानकारी दिएका थिए ।
अचानक आएको फोनमा आफूले ठूलो रकमको उपहार जितेको खबर सुन्दा सुरुमा तामाङले विश्वास गर्न सकिनन् । कसैले ठट्टा गरेको हुन सक्ने ठानेकी उनलाई यो नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको जानकारी दिएपछि मात्रै पुरस्कार परेको विश्वास लागेको थियो ।
आन्तरिक राजस्व विभागका अनुसार बम्पर पुरस्कारसँगै असोज १६ देखि ३१ गतेसम्मका लागि १६ जना दैनिक विजेता पनि छनोट भएका छन् । उक्त अवधिका प्रत्येक दिन एक जनाका दरले विजेताले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
दैनिक पुरस्कारको घोषित रकम जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ हो । तर, कर कट्टीपछि प्रत्येक विजेताको बैंक खातामा एक लाख रुपैयाँ जम्मा गरिने विभागले जनाएको छ ।
विभागका महानिर्देशक डा। भीष्मकुमार भूसालले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । बिल लिने र कारोबारलाई औपचारिक प्रणालीमा ल्याउने अभ्यासले कर प्रणालीलाई पारदर्शी बनाउन सहयोग पुग्ने विभागको अपेक्षा छ ।
भूसालका अनुसार असोज १६ देखि ३१ गतेसम्मको अवधिमा २ लाख ७५ हजार ८८४ वटा कारोबारका बिल प्रविष्ट गरी उपहार कार्यक्रममा सहभागी भएका थिए । यसबाहेक क्यूआर भुक्तानीबाट स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबार पनि छनोट प्रक्रियामा समेटिएका थिए ।
दुवै माध्यमबाट दर्ता भएका कारोबार जोड्दा उपहार छनोटमा सहभागी कुल कारोबारको संख्या ३ करोड ७७ लाख ५५ हजार २६४ पुगेको विभागले जनाएको छ ।
बम्पर तथा दैनिक उपहारका लागि छनोट भएका सबै विजेताले आगामी कात्तिक १५ गतेभित्र पुरस्कार दाबी गरिसक्नुपर्नेछ । त्यसका लागि आफूले सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित नजिकको आन्तरिक राजस्व कार्यालयमा उपस्थित हुन विभागले आग्रह गरेको छ ।