यस वर्ष दशैंमा उपत्यकामा सवारी दुर्घटना घट्यो

काठमाडौं । दशैंका समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा उल्लेख्य कमी आएको छ । गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको सङ्ख्या घटेर १०५ पुगेको छ । यस वर्ष दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको छ । त्यस्तै, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जनाले कम भएको छ । चाडपर्वका समयमा ट्राफिक व्यवस्थापन, सुरक्षा निगरानी र प्रहरी परिचालनलाई प्रभावकारी बनाइएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको ट्राफिक प्रहरीको भनाइ छ ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस वर्ष भएका अधिकांश दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित छन् । तीव्र गतिमा सवारी चलाउँदा नियन्त्रण गुम्ने र दुर्घटना हुने गरेको उनले बताए ।

सुवेदीले ट्राफिक प्रहरीले पूर्वतयारीसहित योजनाबद्ध रूपमा काम गरेकाले सडक सुरक्षामा सुधार आएको बताए । यातायात व्यवसायी, मजदुर तथा अन्य सरोकारवालाको समन्वय र सहकार्यले यात्रुलाई सुरक्षित यात्रा गर्न सहज भएको उनको भनाइ छ ।

त्यसैगरी, दुर्घटना भएपछि तत्काल उद्धार र प्रभावकारी उपचारको व्यवस्था गरिएकाले घाइतेको ज्यान जोगाउन सहयोग पुगेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।

उनका अनुसार सडक सुरक्षालाई प्राथमिकतामा राख्दै ट्राफिक प्रहरी र जनपथ प्रहरीले नियमित सुरक्षा जाँच, अनुगमन तथा संयुक्त जाँचलाई प्रभावकारी रूपमा सञ्चालन गरेका थिए ।

चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने भएकाले चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटनाको जोखिम पनि बढ्ने गर्छ । यही जोखिमलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले दसैँका लागि विशेष सुरक्षा योजना लागू गरेको थियो । विभिन्न स्थानमा गरिएको जाँच, निगरानी र प्रहरी परिचालनले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरीले जनाएको छ ।

यस वर्ष दशैंका समयमा दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आउनु सकारात्मक भए पनि दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित दुर्घटना र तीव्र गतिको समस्या अझै चुनौतीका रूपमा रहेको छ । ट्राफिक प्रहरीले चालकलाई गति नियन्त्रण गर्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित रूपमा सवारीसाधन चलाउन आग्रह गरेको छ । 

Share News