काठमाडौं । विजयादशमीको तेस्रो दिन आज द्वादशीमा पनि मान्यजनबाट टीका र जमरा लगाएर बडादसैँ मनाउने क्रम जारी छ ।
नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिने परम्पराअनुसार आज पनि आफन्त तथा मान्यजनकहाँ पुगेर दसैँको टीका लगाउने क्रम जारी रहेको हो । विजयादशमीका दिन रातो टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने गरिन्छ ।
यस वर्ष बुधबार बडादसैँको मुख्य दिन विजयादशमी परेको थियो । उक्त दिन टीका थाप्न नभ्याएका तथा अन्यत्र रहेका आफन्त र मान्यजनकहाँ जानुपर्नेहरू बिहीबार एकादशी र आज द्वादशीमा पनि टीका लगाउन जाने गरेका छन् ।
बडादसैँको मुख्य दिन विजयादशमी भए पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाएर दसैँ मनाउने प्रचलन छ ।
दसैँका कारण सुनसान बनेको काठमाडौं उपत्यकामा आज भने सर्वसाधारणको चहलपहल केही बढेको छ । टीका लगाउन आफन्त तथा मान्यजनकहाँ जाने र फर्किने मानिसको सङ्ख्या बढेसँगै उपत्यकाका सडकमा पनि चहलपहल देखिन थालेको हो ।
काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीसाधनको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा बढेको छ । सवारीसाधनको आवागमन बढेसँगै आफन्तकहाँ टीका लगाउन जाने सर्वसाधारणलाई सहज भएको छ ।
दसैँ मनाउन उपत्यकाबाट बाहिरिएका मानिस फर्किन थालेसँगै सडकमा सवारीसाधन र सर्वसाधारणको चहलपहल बढ्दै गएको छ ।