जलवायु हानिनोक्सानी कोषबाट नेपाललाई ३ अर्ब सहयोग स्वीकृत

काठमाडौं । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपालले २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) अनुदान सहयोग पाउने भएको छ ।

जलवायु हानिनोक्सानी कोष (लस एन्ड ड्यामेज फन्ड) को बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालका अनुसार बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई सम्बोधन गर्न नेपाल सरकारले गत अगस्ट ३१ मा कोषको बोर्डसमक्ष सहयोगका लागि औपचारिक अनुरोध गरेको थियो ।

कोषका लागि नेपालका राष्ट्रिय सम्पर्क अधिकृत तथा वैकल्पिक बोर्ड सदस्यसमेत रहेका ढकालले नेपालको प्रस्ताव स्वीकृत गराउन विकसित तथा विकासशील राष्ट्रका बोर्ड सदस्यहरूसँग विभिन्न चरणमा छलफल र समन्वय गरिएको जानकारी दिए ।

स्वीकृत कार्यविधिअनुसार नेपालले अब भोटेकोशी र त्रिशूली क्षेत्रका बाढीप्रभावित समुदायलाई लक्षित गरी छुट्टै आयोजना प्रस्ताव तयार पारेर पेस गर्नुपर्नेछ। उक्त प्रस्ताव कोषबाट अन्तिम स्वीकृत भएपछि प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट करिब १५ हजार घरधुरीका ६० हजारभन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित भएको मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ। उक्त विवरणअनुसार विपद्मा करिब १ हजार ५०० जनाले ज्यान गुमाएका छन् भने ५ हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्।

बाढीबाट करिब २ अर्ब ७० करोड अमेरिकी डलर बराबरको प्रारम्भिक भौतिक तथा आर्थिक क्षति भएको अनुमान गरिएको छ। क्षतिग्रस्त संरचनाको पूर्ण पुनर्निर्माण र पुनर्स्थापनाका लागि कम्तीमा ४ अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने मन्त्रालयको आकलन छ।

जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालजस्ता विकासशील मुलुकका लागि कोषको यो निर्णय महत्त्वपूर्ण मानिएको छ। यसले जलवायु परिवर्तनका कारण ठूलो क्षति बेहोरेका मुलुकलाई अन्तर्राष्ट्रिय सहयोग उपलब्ध गराउने र जलवायु न्यायको अवधारणालाई व्यवहारमा उतार्ने दिशामा योगदान पुग्ने अपेक्षा गरिएको छ। 

Share News