एजेन्सी । अस्ट्रेलियामा विद्युतीय स्कुटर (ई–स्कुटर) दुर्घटनामा परी अस्पताल भर्ना हुनेको संख्या सन् २०१९ यता तीन गुणाभन्दा बढीले बढेको छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआईएचडब्ल्यू) ले सार्वजनिक गरेको सरकारी प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार, सन् २०२४–२५ मा ई–स्कुटरबाट लडेर घाइते भएका चार हजार ८९ जना अस्पताल भर्ना भएका थिए । यो संख्या सन् २०१९–२० मा अस्पताल भर्ना भएका एक हजार २९१ जनाको तुलनामा २१६.७ प्रतिशतले बढी हो ।
ई–स्कुटरबाट लडेर अस्पताल भर्ना हुनेको जनसंख्यामा आधारित दर पनि उल्लेख्य रूपमा बढेको छ । सन् २०१९–२० मा प्रतिएक लाख जनामा ५.१ रहेको यस्तो दर सन् २०२४–२५ मा बढेर १४.९ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
यसको विपरीत, विद्युतीय शक्ति प्रयोग नगर्ने सामान्य स्कुटरबाट लडेर अस्पताल भर्ना हुनेको दर भने घटेको छ । सन् २०१९–२० मा प्रतिएक लाख जनामा ६.८ रहेको यस्तो दर सन् २०२४–२५ मा घटेर ४.९ मा झरेको छ ।
एआईएचडब्ल्यूकी प्रवक्ता ज्याकलिन रेकले अस्पताल भर्ना हुनेको संख्या बढ्नुमा ई–स्कुटरको प्रयोग विस्तारको योगदान कति छ भन्ने कुरा उपलब्ध तथ्यांकबाट यकिन गर्न नसकिने बताएकी छन् । यद्यपि, पछिल्ला वर्षमा अस्ट्रेलियामा ई–स्कुटरको लोकप्रियता बढ्दै गएको प्रवृत्तिसँग दुर्घटनासम्बन्धी तथ्यांक मेल खाने उनको भनाइ छ ।
प्रतिवेदनमा दुर्घटनासम्बन्धी तथ्यांकलाई थप स्पष्ट रूपमा वर्गीकरण गर्न नयाँ व्यवस्था लागू गरिएको पनि उल्लेख छ । गत जुलाईदेखि लागू गरिएका नयाँ अस्पताल कोडमार्फत ई–स्कुटर, विद्युतीय साइकल तथा अन्य आवागमनका साधनसँग सम्बन्धित दुर्घटनालाई छुट्टाछुट्टै पहिचान गर्न सकिनेछ ।
नयाँ व्यवस्थाले विद्युतीय सवारीसाधनसँग सम्बन्धित दुर्घटना र त्यसबाट उत्पन्न स्वास्थ्य जोखिमको विश्लेषण गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।