काठमाडौंमा प्रदूषण बढ्यो
काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउँदै यसले प्रदूषण बढाउन मद्दत गरेको उल्लेख गरे । 'लामो समयदेखि वर्षा हुन सकेको छैन, हावा पनि चलेको छैन । त्यसैले केही दिनयता मौसम धुम्मिएको छ', उनले भने, 'गत वर्षको तुलनामा यस वर्ष प्रदूषण केही कम छ । वन डढेलो नलागेसम्म प्रदूषण अत्यधिक रूपमा भने बढ्ने छैन ।' एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १८६ पुगेको छ । यससँगै काठमाडौं विश्वको चौथो प्रदूषित सहरका रूपमा सूचीकृत भएको वातावरणविद् भूषण तुलाधारले जानकारी दिए । प्रदूषण नियन्त्रणका लागि समयमा पूर्वतयारी आवश्यक पर्ने बताउँदै उनले घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धुँवा परीक्षण, मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके प्रदूषण नियन्त्रणमा मद्दत पुग्ने धारणा राखे । एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ । त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने भएकाले सचेतना अपनाउन विभागका महानिर्देशक सुवेदीले आग्रह गरे । उनका अनुसार १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।
मकवानपुर-१ मा प्रकाश रास्वपाका गौतम विजयी
हेटौँडा । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम विजय भएका छन् । यस क्षेत्रको कुल मत ९५ हजार ३१० मध्ये ३६ हजार ३३ मतका साथ गौतम विजयी भएका हुन् । नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय (डिना)ले १४ हजार ३८, नेकपा (एमाले)का रामेश्वर रानाले १२ हजार ७८३ मत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)पा विजय गौतमले १० हजार ७८८, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका दीपकबहादुर सिंहले चार हजार ५७४ प्राप्त गरेका छन् । त्यसैगरी उज्यालो नेपालका सुरेन्द्र लामाले १० हजार २ सय ५ मत प्राप्त गरे । मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार जिल्लामा रहेका कुल तीन लाख १५ हजार ४३४ मतदातामध्ये ५९ प्रतिशत अर्थात् करिब १ लाख ८६ हजार ५५१ मत खसेको हो ।
समानुपातिकतर्फ रास्वपाले १७ लाख कटायो मत
काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार समानुपातिकतर्फ करिब ३३ लाख मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म ३२ लाख ९३ हजार ९४५ मत गणना भइसकेको छ । गणनाको पछिल्लो तथ्यांकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट अग्रस्थानमा देखाएको छ । रास्वपाले कुल गणनाको ५० प्रतिशत अर्थात् १७ लाख ४१ हजार १५३ मत प्राप्त गर्दै पहिलो स्थानमा आफ्नो पकड बलियो बनाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ५५ हजार ९०० मत प्राप्त गरेको छ भने नेकपा एमाले ४ लाख ६४ हजार ३४१ मतसहित तेस्रो स्थानमा रहेको छ । यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २ लाख २५ हजार ७८१ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख १९ हजार ७६७ मत पाउँदै पाँचौं स्थानमा रहेको छ । अन्य दलमध्ये श्रम संस्कृति पार्टीले ६८ हजार ८४६ मत पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ४० हजार २४६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फको मतगणना अझै जारी रहेको आयोगले जनाएको छ । आगामी मतपरिणामसँगै दलहरूको स्थानमा थप परिवर्तन आउन सक्ने सम्भावना रहेको छ ।
दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी
काठमाडौं । दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले १८ हजार ८९१ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम् प्रतिस्पर्धी नेपाल कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत ल्याएका छन् । रास्वपाका राजेश सिंह सामन्तले ८ हजार ९३६ र नेकपाका लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत पाए । प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ११ जना चुनावी मैदानमा रहेका थिए । दार्चुलामा ४९ हजार ९६८ मत खसेको थियो । यहाँ ९२ हजार ९ सय ४८ मतदाता रहेका छन् ।
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
बाजुरा । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १७३ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लालबहादुर थापालले १६ हजार ६३३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हेमराज थापाले छ हजार ३५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रकाशबहादुर शाहले तीन ४२८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केशरबहादुर शाहीले ३५२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का भूपेन्द्र विकले ३३३ मत प्राप्त गरे । यहाँ ८७ हजार ८६१ मतदाता रहेकामा ४५ हजार ३९० मत खसेको थियो । खसेको मतगणना गर्दा ४३ हजार ८९६ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
बर्दिया क्षेत्र नम्बर १ मा रास्वपाका ठाकुर सिंह थारु निर्वाचित
काठमाडौं । बर्दिया क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार ठाकुर सिंह थारु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई ३४ हजार ९८८ मतअन्तरले हराए । निर्वाचन आयोगका अनुसार ठाकुरसिंहले ४९ हजार ६३१ मत पाएर निर्वाचित हुँदा एमाले उम्मेदवार अधिकारीले १४ हजार ६४३ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सन्जय कुमार गौतमले १२ हजार ७२२ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन् ।
जेनजी आन्दोलन छानबिनको प्रतिवेदनको निश्कर्ष सार्वजनिक गर्छौं : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको विषयमा जाँचबुझका लागि गठित आयोगको प्रतिवेदन बुझ्दै निचोड भए पनि सार्वजनिक गर्ने बताएकी छन् । उनले स्रोत र साधनको सिमितताले आयोगको म्याद पटक पटक थप्नुपरे पनि यसले दुधको दुध पानीको पानी छुट्याएको विश्वास व्यक्त गर्दै पूरै प्रतिवेदन सार्वजनिक नगरे पनि निचोड भए पनि सार्वजनिक गर्ने बताएकी हुन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरु आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएको छ । गत भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको सो आयोगको तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिन अघि आयोगले प्रतिवेदन बुझाएको हो ।
जेनजी आन्दोलनमा ठूलो सुरक्षा कमजोरी देखियो, कारवाहीको सिफारिस
काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोलीले प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्माले २०० जना बढीसँग सोधपुछ गरेर ९०० पेजको प्रतिवेदन तयार भएको बताए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा गल्ती गर्नेलाई अभियोग कारवाही सिफारिस भएको उनले बताए । ‘सुरक्षा कमजोरी देखिएको छ । नाम म भन्दिनँ । २०० बढीसँग सोधपुछसँगै विज्ञसँग राय सुझाव लिइएको हो,’ ती सदस्यले भने ।