विकासन्युज

जाँचबुझ आयोगको प्रतिवेदन दराजमा थन्किदैन : अध्यक्ष कार्की

काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहादुर कार्कीले देश र जनता तथा जेनजी सहिदको लागि काम गरेको  बताएका छन् । आइतबार उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगको प्रतिवदेन बुझाएका छन् ।  सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै देशका लागि काम गरेकाले सन्तोष मान्नुपर्ने बताएका थिए । कारबाही गर्न कसैलाई पनि नबचाएको कार्कीको भनाइ छ । ‘जो देखेको छ । त्यहीँ गर्या छ । हामीले केही काम नसकेकाले मात्र ढिला भएको हो,’ उनले भने,’ निर्वाचन नसकी रिपोर्ट सार्वजनिक गरेको भए इलेक्सनलाई पनि असर पर्ने भन्ने आएको छ ।‘ जाँचबुझ आयोगको प्रतिवेदन दराजमा नथन्किने उनले दाबी गरे । ‘आयोगको प्रतिवेदन सार्वजनिक गर्नुहोस र प्रतिवेदनलाई कार्यान्वयनमा लैजानुपर्छ भनेर सरकारलाई भनेर आएको छु,’  उनले अगाडि थपे ।  

अभियन्तादेखि मेयर हुँदै संसदीय यात्रा तय गरेका हर्क साम्पाङ

काठमाडौं । सुनसरी- १ मा श्रम संस्कृतिका उम्मेदवार हर्क साम्पाङ राई निर्वाचित भएका छन्  । उनले ३५ हजार ७४१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी शरिन तामाङले २७ हजार २४९ सय मत पाएकी छन् । नेकपा एमालेका टिकाराम लिम्बुले ६ हजार ४६३ मत र नेपाली कांग्रेसका सुजेन्द्र गोले तामाङले ३ हजार ९९० मत पाए । गत स्थानीय तहको निर्वाचनमा हर्क साम्पाङ राई २० हजार ८२१ मतसहित धरान उपमहानगरपालिकामा मेयर निर्वाचित भएका थिए । संघीय सांसद बन्न राईले मेयरबाट गत माघ ४ गते राजीनामा दिएका थिए । विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मेका हर्क राई त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् । अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यसको केही समयपछि साम्पाङ अफगानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनी स्वदेश फर्किएर सामाजिक अभियन्ता बनेका थिए । साम्पाङले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाईको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट अभियन्ताको रूपमा परिचय बनाएका थिए । । सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको ख्याति फैलिँदै गएको थियो । सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्यूँ का त्यूँ रह्यो । साम्पाङले नै आयोजनाप्रति प्रश्न गरेका थिए । खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रे । उनले श्रमदान गरेरै भए पनि पानी खुवाउन सफल भए । धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथितिविरुद्ध साम्पाङले आवाज बुलन्द पार्दै गए । अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि उनी निरन्तर खबरदारीमा लागि रह्यो । नागरिकका सानातिना समस्यामा उनले आवाज उठाइरहँदा अरूको साथ नपाए पनि धरानका स्थानीयको भने पूर्णसाथ पाए । साम्पाङको सर्दु जलाधार क्षेत्र संरक्षण अभियानमा पनि योगदान रहेको छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका स्थानीयले केही व्यक्तिसँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । कृष्णनारायण पालिखेको मृत्यु भएपछि त्यस अभियानको काम साम्पाङले सम्हालेका थिए ।   साम्पाङ २०७६ को धरानको मेयरको उपनिर्वाचनमा पनि उठेका थिए । उनले ४२२ मत पाएका थिए ।  एक दशकदेखि धरानका सडकमा कहिले एक्लै त कहिले सानो समूह लिएर प्ले कार्ड, व्यानर, पर्चा लिएर भेटिइरहने साम्पाङले संसदीय यात्रासमेत सुरु गरेका छन् ।

अझै तीन दिन बादल लाग्ने

काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज (आइतबार) प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।  हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । ‘यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ’, मौसमविद् लामिछानेले भने ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली हुने छ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ ।  कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान छ ।   

रौतहट-३ मा रास्वपाका रवीन्द्र पटेल विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवीन्द्र पटेल विजयी भएका छन् ।  पटेलले २७ हजार ३१८ मत प्राप्त गरेको निर्वाचन अधिकृत अबधेशप्रसाद कुशवाहले जानकारी दिए ।  सो क्षेत्रमा जनता समाजबादी पार्टीका गोबिन्द चौधरीले ११ हजार ९५४ प्राप्त गरे । साथै नेकपा (एमाले)का कुन्दन कुशवाहले छ हजार ६०५, नेपाली कांग्रेसका रामकृपाल यादबले छ हजार ४२० मत प्राप्त गरे ।  यस क्षेत्रमा कूल एक लाख ८ हजार ६९९ मतमध्ये ७६ हजार ६६९ मत खसेको थियो । 

काठमाडौंमा प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो ।      वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउँदै यसले प्रदूषण बढाउन मद्दत गरेको उल्लेख गरे । 'लामो समयदेखि वर्षा हुन सकेको छैन, हावा पनि चलेको छैन । त्यसैले केही दिनयता मौसम धुम्मिएको छ', उनले भने, 'गत वर्षको तुलनामा यस वर्ष प्रदूषण केही कम छ । वन डढेलो नलागेसम्म प्रदूषण अत्यधिक रूपमा भने बढ्ने छैन ।'     एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १८६ पुगेको छ । यससँगै काठमाडौं विश्वको चौथो प्रदूषित सहरका रूपमा सूचीकृत भएको वातावरणविद् भूषण तुलाधारले जानकारी दिए । प्रदूषण नियन्त्रणका लागि समयमा पूर्वतयारी आवश्यक पर्ने बताउँदै उनले घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धुँवा परीक्षण, मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके प्रदूषण नियन्त्रणमा मद्दत पुग्ने धारणा राखे ।      एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ । त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने भएकाले सचेतना अपनाउन विभागका महानिर्देशक सुवेदीले आग्रह गरे । उनका अनुसार १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।   

मकवानपुर-१ मा प्रकाश रास्वपाका गौतम विजयी

हेटौँडा । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम विजय भएका छन्  । यस क्षेत्रको कुल मत ९५ हजार ३१० मध्ये ३६ हजार ३३ मतका साथ गौतम विजयी भएका हुन् । नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय (डिना)ले १४ हजार ३८,  नेकपा (एमाले)का रामेश्वर रानाले १२ हजार ७८३ मत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)पा विजय गौतमले १० हजार ७८८, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका दीपकबहादुर सिंहले चार हजार ५७४ प्राप्त गरेका छन् । त्यसैगरी उज्यालो नेपालका सुरेन्द्र लामाले १० हजार २ सय ५ मत प्राप्त गरे ।  मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार जिल्लामा रहेका कुल तीन लाख १५ हजार ४३४ मतदातामध्ये ५९ प्रतिशत अर्थात् करिब १ लाख ८६ हजार ५५१ मत खसेको हो ।    

समानुपातिकतर्फ रास्वपाले १७ लाख कटायो मत

काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार समानुपातिकतर्फ करिब ३३ लाख मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म ३२ लाख ९३ हजार ९४५ मत गणना भइसकेको छ ।  गणनाको पछिल्लो तथ्यांकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट अग्रस्थानमा देखाएको छ । रास्वपाले कुल गणनाको ५० प्रतिशत अर्थात् १७ लाख ४१ हजार १५३ मत प्राप्त गर्दै पहिलो स्थानमा आफ्नो पकड बलियो बनाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ५५ हजार ९०० मत प्राप्त गरेको छ भने नेकपा एमाले ४ लाख ६४ हजार ३४१ मतसहित तेस्रो स्थानमा रहेको छ । यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २ लाख २५ हजार ७८१ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख १९ हजार ७६७ मत पाउँदै पाँचौं स्थानमा रहेको छ । अन्य दलमध्ये श्रम संस्कृति पार्टीले ६८ हजार ८४६ मत पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ४० हजार २४६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फको मतगणना अझै जारी रहेको आयोगले जनाएको छ । आगामी मतपरिणामसँगै दलहरूको स्थानमा थप परिवर्तन आउन सक्ने सम्भावना रहेको छ ।

दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी

काठमाडौं । दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले १८ हजार ८९१ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम् प्रतिस्पर्धी नेपाल कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत ल्याएका छन् ।  रास्वपाका राजेश सिंह सामन्तले ८ हजार ९३६ र नेकपाका लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत पाए । प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ११ जना चुनावी मैदानमा रहेका थिए । दार्चुलामा ४९ हजार ९६८ मत खसेको थियो । यहाँ ९२ हजार ९ सय ४८ मतदाता रहेका छन् ।